देवकोटाको काव्यिक उडान असीम र अभिव्यक्ति कला अनुपम छ। नेपालमा पनि विश्वस्तरको शानदार कविता लेखिएको छ।
फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ।
नेपाली कवितामध्ये एउटै मात्र रोज्नुपरे निश्चिन्त भएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘यात्री’ रोज्छु। यसलाई म संसारकै थोरै श्रेष्ठ कवितामध्ये एक मान्छु। रोबर्ट फ्रस्टको ‘द रोड्स नट टेकन’ वा वाल्ट ह्विटमनको ‘सङ अफ माइसेल्फ’ जतिकै गहन र भावप्रधान ठान्छु। यति गहिरो तर स्पष्ट भाव संसारकै कवितामा लगभग दुर्लभ छ। सनातन धर्मले हामीलाई भक्ति र पूजापाठ गर्नु परम धर्म हो भनेर सिकायो। ‘यात्री’ कविताले त्यसलाई उल्ट्याएर मानवीय करुणा र प्रेमलाई सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देश दियो। यसले ईश्वर मन्दिर वा मूर्तिमा होइन, तिमीभित्रै छ, दुःखी र घाइतेहरूको घाउमा मलम लगाउनु नै सबैभन्दा ठूलो धर्म हो भन्ने ठोकुवा गर्यो। सनातन ब्राह्मण परिवारमा हुर्केको कविमा महान् आत्मिक परिवर्तन नआई यस्तो अभिव्यक्ति आउनु सम्भव नै थिएन।
धर्मको अन्तर्य : धर्म अचेलभरि कर्मकाण्डको अर्को नाम भएको छ। सुरुवातमा हरेकजसो धर्म यथास्थितिविरुद्ध सामाजिक परिवर्तनको कडी थियो। यसको मूल चिन्ता मान्छेको दुःख हटाउनु र जीवनलाई उन्नत बनाउनु थियो। हरेकजसो धर्मको उत्पत्ति सामाजिक परिवर्तनको आवश्यकताबाट भएको थियो। स्वामी विवेकानन्द र महात्मा गान्धीले चालेका सामाजिक अभियान हेर्ने हो भने धर्मलाई सामाजिक विकास, परिवर्तन र भाइचारामा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने महान् प्रेरणा लिन सकिन्छ। तर, धर्म प्रकारान्तरमा सामाजिक परिवर्तनकै बाधक बनेका अनेक उदाहरण भेटिन्छन्।
बुद्धको समयमा थोरै मान्छे अति सम्पन्न अनि बहुसंख्यक जनता अति शोषित थिए। उनले यो सामाजिक तथा आर्थिक व्यवस्थाप्रति विद्रोह गर्दै भने, ‘अति भोग र अति त्याग दुवै गलत छ, मध्यमार्ग अँगाल।’ बुद्धको कल्पना खासमा समाजवादको नजिक थियो। तर, उनका अनुयायीले यस भौतिक दुःखलाई आध्यात्मिक दुःखमा बदलिदिए। त्यहाँ पुरोहितवाद छिर्यो। अनेक कर्मकाण्ड भित्रियो। मूर्तिपूजा विरोधी बुद्धकै मूतिहरू संसारमा सबैभन्दा बढी बिक्न थाले। बुद्धका अनेक अवतारका कथा बुनिए। तन्त्रमन्त्र र भ्रष्ट साधनातिर लहसिएको यो धर्म पनि पुरोहित वर्गले सर्वसाधारणको विश्वासको अनुचित लाभ उठाउने माध्यम बन्यो। मान्छेको दुःख निवारणको मुद्दा थाँती रह्यो।
क्राइस्टको विचार गरिब, दलित र दासहरूको मुक्तिका लागि अचुक वाण थियो। प्रारम्भिक युगमा यसले त्यस्ता कामहरू गर्यो। पछि रोमन साम्राज्यवादीले यसलाई कब्जामा राखे र पूरै युरोपका सामन्तहरूको हतियार बनाए। यसरी यो धर्म पनि मुक्तिको उद्देश्यबाट विचलित भएर दासता र दमनको माध्यम हुन पुग्यो। शक्तिशाली वर्गमा रूपान्तरित पादरीहरूले सर्वसाधारणलाई ठगेर स्वर्गमा सुखसाधनको बुकिङ गर्न थाले। यसरी यो धर्म युरोपका साम्राज्यवादीको सहायक भयो। यसकै विरुद्ध मार्टिन लुथर किङले विद्रोह गर्नुपरेको थियो।
इस्लाम धर्मका संस्थापक पैगम्बरको विचार पनि भ्रष्ट र अन्यायी समाजविरुद्ध विद्रोह थियो। मूर्तिपूजा, सूदखोरी, नैतिक मूल्यको पतन र शोषणविरुद्ध उनले नयाँ सामाजिक तथा अर्थव्यवस्था सुरु गरे। समूहका प्रधान ‘ढाई’ले सबैलाई सबै कुराको समान वितरण गथ्र्यो। एक खालको कम्युन व्यवस्था थियो। ‘खलिफा’को हैसियत पनि सर्वसाधारणको जस्तै हुन्थ्यो। उसको पनि सार्वजनिक आलोचना हुन्थ्यो। हरेक मुसलमानले आम्दानीअनुसार जाकात (आयकर) तिर्नुपथ्र्यो। यो गरिब समुदायलाई वितरण गरिन्थ्यो। यो न्याय व्यवस्था चार खलिफाको कालसम्म जम्माजम्मी ६० वर्ष चल्यो। पछि इसाई धर्मजस्तै यो पनि सामन्तकै कब्जामा पुग्यो। गरिबका लागि बटुलिने जाकात सामन्तको खजानामा पुग्न थाल्यो। सामन्तहरूले साम्राज्य फैलाउन
इस्लाम धर्मलाई प्रयोग गर्न थाले।
बुद्धको समयमा थोरै मान्छे अति सम्पन्न अनि बहुसंख्यक जनता अति शोषित थिए। उनले यो सामाजिक तथा आर्थिक व्यवस्थाप्रति विद्रोह गर्दै भने,
‘अति भोग र अति त्याग दुवै गलत छ, मध्यमार्ग अँगाल।’
कर्मकाण्ड : धर्मका नाममा बलिप्रथा वा अन्धविश्वासयुक्त अतिवादको जुन अभ्यास गरिन्छ, त्यसले सभ्यता नै लज्जित हुन्छ। संस्कार र परम्पराका नाममा कति ठाउँमा अहिले पनि लुकिछिपी नरबलि दिइएका घटना समेत बाहिर आउँछन्। धर्मका नाममा पशुपन्छीमाथिको अत्याचार शब्दमा बर्णन गरी साध्य छैन। धार्मिक समाजमा भगवान्को भक्ति गरे, पुराण कथा सुने सबै पाप फच्चे हुने विश्वास गरिन्छ। अनि त मानिसहरू जानीजानी गरेको पाप भगवान्को दर्शन गरेर, बोका, कुखुरा, राँगा वा पन्छीको बलि चढाएर ‘कट्टा’ गर्छन् र भगवान्सँग यस्तो पाप गरिरहन पाउने सुविधा माग्छन्। दिनभरि सरकारी अड्डामा अनियमितता गर्नेहरू, सेवाग्राहीलाई दुःख दिनेहरू, साँध मिचेर आफ्नो जग्गा बढाउनेहरू, जालझेल गरेर जग्गा कुम्ल्याउने दलालहरू पनि भगवान्का नाममा थोरै दान गरेर ‘मुक्त’ हुन्छन्। परोपकारका लागि चुनादाम लगाउन नमान्नेहरू धार्मिक काममा दान गरेर आफ्ना सबै पापबाट ‘सफाइ’ पाउँछन् र भगवान्सँग यस्ता पाप गरिरहन पाउने लाइसेन्स माग्छन्। ‘यात्री’ कविताले मानव समाजको यही पाखण्डलाई खारेज गरी करुणा र मानवता स्थापनाको आह्वान गर्छ।
महान करुणा : संयुक्त राष्ट्र संघको साधारणसभाले सन् १९४८ मा विश्वव्यापी मानवअधिकार घोषणालाई पहिलोपल्ट ग्रहण गर्यो जसमा व्यक्तिका स्वतन्त्रता र अधिकारका कुराहरू छन्।
करिब २६ सय वर्षअघि नै बुद्धले यी कुरा उद्घोष गरिसकेका थिए। मानवअधिकार घोषणाभन्दा दुई कदम अघि बढेर उनले आत्मअनुशासन र अरूप्रति गर्नुपर्ने करुण व्यवहारका परिणामबारे देशना गरिसकेका थिए। उनले सिकाएको चतुर्ब्रह्म बिहार जीवन यापनका क्रममा अत्यन्त उपयोगी थियो। सबैप्रति मित्रभाव राख्नसके व्यक्तिमा करुणाभाव जाग्छ र करुणाभावले व्यक्तिभित्रैदेखि खुसी हुन्छ अनि कसैको प्रशंसाबाट अनावश्यक पुलकित हुँदैन र कसैको गाली वा आलोचनाबाट हतोत्साहित पनि हुँदैन। ‘यात्री’ कविताले पनि सारमा यही भनेको हो। मूलतः यसले मान्छेको शरीरलाई नै महान् मन्दिर भन्छ र करुण चित्तलाई ईश्वरको रूप।
देवकोटाको काव्यिक उडान असीम र अभिव्यक्ति कला अनुपम छ। नेपालमा पनि यस्तो विश्वस्तरको शानदार कविता लेखिएको छ भन्न पाउँदा गर्वले छाती फुल्छ।
‘वासुदेव’ फिल्ममा प्रयुक्त रञ्जित गजमेरको संगीत र रविन शर्माको स्वरमा जब यो कविता गुन्जन्छ, मलाई एकाएक आफूभित्रका अज्ञान र अहंकारका सारा क्लेस बढारिएर गए झैं लाग्छ। संसारका सारा मानिसले यो महान् कविता बारम्बार पढून् र पढिरहून् भन्न मन लाग्छ।
यात्री
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी कुन देवपुरीमा जाने हो ?
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार,
मस्तिष्कको यो सुनको छानो, इन्द्रियहरूका द्वार,
नशा–नदीका तरल तरंग, मन्दिर आफू अपार,
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा जगदीश्वरको राज
चेतनको यो ज्योतिहिरण्मय, उसको शिरको ताज
शरीरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ।
भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिँडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ ? हृदय उगाऊ, बत्ती बाली तेज प्रचुर।
साथी यात्री ! बीच सडकमा, ईश्वर हिँड्छ साथ
चुम्दछ ईश्वर काम सुनौला गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले, सेवकहरूको माथ।
सडक किनारा गाउँछ ईश्वर, चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको पीडा, दुःखको गानामा
दर्शन किन्तु कहीँ दिँदैन, चर्म–चक्षुले कानामा
कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ।
प्रतिक्रिया दिनुहोस !