देवकोटेली सनेट, सनेटमा प्रयोग

लक्ष्मी गीति संग्रह

देवकोटेली सनेट, सनेटमा प्रयोग
सुन्नुहोस्

विषयवस्तुको प्रयोगका दृष्टिले हेर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाका माथि उल्लेख गरिएका सबै सनेट पिट्रार्केली, स्पेन्सरेली तथा सेक्सपियरेली प्रविधिबाट प्रभावित छन्।

लक्ष्मीप्रसाद देवकोटा महान् कवि तथा निबन्धकारमात्र नभएर आख्यानकार तथा नाटककार पनि हुन् । उनले कविताका अनेक उपविधामा पनि आफ्नो कलम चलाएका छन् । यी उपविधामध्ये पनि गीतको लेखनमा उनको कलम अझ सशक्त रूपले चलेको छ ।

गीतकै निकट मानिने सनेटको लेखनतर्फ पनि उनको कलम चलेको छ भने उनले कतिपय सनेटमा आफ्नो निजत्व पनि प्रस्तुत गरेका छन् । देवकोटाको लक्ष्मी गीति संग्रहमा सातवटा सनेट (यसलाई नेपालीमा चौध हरफे गीति कविता वा चतुर्दशपदी पनि भन्ने गरिन्छ) पनि संकलन गरिएका छन् । यहाँ सनेटको परिचय दिनाका साथै देवकोटाले लेखेका सनेटबारे छोटकरीमा चर्चा गरिएको छ ।

सनेटको तात्पर्य र प्रकार  :  सनेट निश्चित संरचना भएको काव्यरूप हो । यसमा १४ पंक्ति हुन्छन् भने आफ्नै प्रकारको अन्त्यानुप्रासको व्यवस्था हुन्छ । यसभित्र आउने अनुच्छेदमा खास प्रकारका विषयहरू प्रस्तुत गरिने गर्छ । ‘सानु (मधुर) आवाज वा गीत’ भन्ने अर्थ दिने ल्याटिन भाषाको ‘सोनस’बाट विकसित इटालेली शब्द ‘सनिटो’बाट अंग्रेजीमा आएको सनेटका इटालेली अथवा पिट्रार्केली, स्पेन्सरेली तथा सेक्सपियरेली गरी तीन भेद छन् ।

पिट्रार्केली सनेटको संरचना दुई भागमा विभक्त हुन्छ भने यसको अघिल्लो भागमा आठ पंक्ति र पछिल्लो भागमा छ पंक्ति हुन्छन् । अघिल्ला भागमा भएका पंक्तिमा ‘एबीबीए एबीबीए’का क्रममा र पछिल्ला भागमा रहेका पंक्तिहरूमा ‘सीडीई सीडीई’ र कहिलेकाहीँ ‘सीडीई सीडीई’को क्रममा पनि अनुप्रास प्रयोग गरिएको देखिन्छ । स्पेन्सरेली सनेटमा चारचार पंक्तिका तीन श्लोक र दुई पंक्तिको एक अर्धश्लोक रहन्छन् भने यसमा क्रमश :  ‘एबीबीए बीसीबीसी सीडीसीडी र ईई’का क्रममा अन्त्यानुप्रासको प्रयोग हुन्छ ।

सेक्सपियरेली सनेटमा पनि स्पेन्सरेली सनेटमा जस्तै चार चार पंक्तिको तीन श्लोक र दुई पंक्तिको एक अर्धश्लोकको व्यवस्था देखिन्छ । यसमा प्रयुक्त पंक्तिहरूमा चाहिँ ‘एबीएबी सीडीसीडी ईएफईएफ र जीजी’का क्रममा अन्त्यानुप्रासको प्रयोग हुने गर्छ ।

विषयवस्तुको प्रयोगका दृष्टिले हेर्दा पिट्रार्केली सनेट र स्पेन्सरेली तथा सेक्सपियरेली सनेटमा निकै भिन्नता देखिन्छ । पिट्रार्केली सनेटमा प्रयुक्त अघिल्लो भागमा कुनै एक विचारको बीजारोपण हुन्छ भने पछिल्लो भागमा त्यस विषयलाई विस्तार गरिएको हुन्छ । स्पेन्सरेली तथा सेक्सपियरेली सनेटमा चाहिँ तीन श्लोकमध्ये पहिलोमा कुनै एक विषयवस्तुको प्रवेश हुन्छ र दोस्रोमा तर्कवितर्क तथा तेस्रोमा सारवस्तु प्रस्तुत गरिन्छ । यी सनिटमा प्रयुक्त चौथो अर्धश्लोक वा दुई पंक्तिमा चाहिँ तीन श्लोकमा प्रयुक्त विषयवस्तुको निचोड प्रस्तुत गरिन्छ ।

देवकोटाका सनेटहरूको चिनारी  :  देवकोटाका सनेटहरूको संरचना माथि चर्चा गरिएका सनेटहरूको भन्दा केही भिन्न पनि छ । उनले दुई भिन्न प्रकारका सनेटलाई मिलाएर पनि यसको संरचना निर्माण गरेका छन् । उनले प्रस्तुत गरेको सनेटको संरचनालाई लक्ष्मी गीति संग्रहमा संकलित ‘विश्लेषिक दृष्टि’का आधारमा देखाउने प्रयास गरिएको छ ।

पंक्तिसंख्या, पंक्तिहरू र अन्त्यानुप्रासको क्रम
 १.    कहिलेकहिले रिस उठ्छ काँध बटारेर     —ब
 २.    उचालूँ झैं लाग्छ आकाश, ढकनी यो नीलो     —द
 ३.    घर अज्म्यो चट्टानमा, ढल्छ बनी गिलो     —द
 ४.    प्रयत्नको फल, आँधी खोस्छ झटारेर     —ब
 ५.    सच्चाइमा श्राप पर्छन्, श्रद्धा बिगारेर     —ब
 ६.    सत्य बग्छ आँसु जलमा मिथ्या गाड्छ किलो —द
 ७.    कमलले रोई मर्नू जिइरहनू हिलो     —द
 ८.    च्याती आँखा हेर्न खोज्छु माथि निहालेर     —ब
 ९.    को छ त्यहाँ ? छ कि छैन ? के छ त्यसको नीति    —भ
१०.    कल्ले छोप्छ हामीलाई ? सद्दे छ कि पागल    —म
११.    प्रयासले बुद्धि थाक्छे, सकार्दछे रीति    —अ
१२.    संसार नै भन्नु यही छटपट सजल    —म
१३.    विवेकको सुन्छ ध्वनि क्षणक्षण चिनी     —भ
१४.    अतीतको ढुकढुकी नै दृष्टिपूर्ण बनी     —भ

माथि उदाहरणमा दिइएका ‘विश्लेषिक दृष्टि’ शीर्षकको सनेट एक अनुच्छेद र चौध पंक्तिको संरचनामा आबद्ध देखिन्छ भने यसमा ‘एबीबीए एबीबीए तथा सीडीसीडीईई’का क्रममा अन्त्यानुप्रासको प्रयोग भएको देखिन्छ । यसरी हेर्दा यसको अघिल्लो भाग अर्थात् आठ पंक्तिमा पिट्रार्केली प्रविधिअनुरूप वा ‘एबीबीए एबीबीए’ र दोस्रोे भाग अर्थात् पछिल्ला ६ पंक्तिमा स्पेन्सरेली प्रविधिअनुरूप वा ‘सीडीसीडीईई’का क्रममा अन्त्यानुप्रासको प्रयोग गरिएको छ । यस भागमा भएका पछिल्ला दुई पंक्ति चाहिँ अर्धश्लोकका रूपमा छन् । यसरी हेर्दा देवकोटाको प्रस्तुत सनेट पिट्रार्केली र स्पेन्सरेली दुवै प्रविधिलाई मिलाएर रचना गरिएको छ । यसलाई हामी देवकोटेली सनेटको नाम दिन सक्छौं ।

लक्ष्मी गीति संग्रहमा संकलित ‘खोलो’मा पनि ‘विश्लेषिक दृष्टि’को जस्तै संरचना पाइन्छ । उनको ‘तुलारामको सिद्धान्त’ र ‘भाद्रान्ततिर’का अघिल्ला भागमा पिट्रार्केली शैलीको प्रयोग भए तापनि दोस्रो भाग भने अन्त्यानुप्रासको प्रयोगका दृष्टिले कमजोर देखिन्छन् । अन्य सनिटहरूमा भने अन्त्यानुप्रासको पालना राम्ररी गरिएको पाइँदैन । उनले आफ्ना सनेटका अन्त्यमा अर्धश्लोकको प्रयोग पनि गरेको देखिन्छ र यी सनेटमध्ये ‘विश्लेषिक दृष्टि’, ‘तुलारामको सिद्धान्त’ र ‘खोलो’मा स्पेन्सरेली प्रविधिअनुरूप र ‘बाबु तिनको को हो ?’ र ‘भाद्रान्ततिर’मा सेक्सपियरेली प्रविधिअनुरूप अर्धश्लोकको प्रयोग गरेका छन् ।

विषयवस्तुको प्रयोगका दृष्टिले हेर्दा देवकोटाका माथि उल्लेख गरिएका सबै सनेट पिट्रार्केली, स्पेन्सरेली तथा सेक्सपियरेली प्रविधिबाट प्रभावित छन् । उनका सनेटहरू नेपाली गीतिकविताका आकाशमा बेग हानी नवीन प्रयासका रूपमा आएका छन् र जसले पाश्चात्य जगत्मा चलेको सनेटको शैलीसँग परिचय गराउन भूमिका बहन गरेका छन् ।

निष्कर्ष  :  देवकोटाले धेरै सनेटको रचना त गरेका छैनन् तर जति गरेका छन्, तिनले यस क्षेत्रमा नयाँ मार्ग भने खोलेका छन् । पिट्रार्केली, स्पेन्सरेली तथा सेक्सपियरेली सनेटकै प्रभावमा यस क्षेत्रमा कलम चलाए तापनि आफ्नै प्रकारको संरचनामा सनेटलाई डोहोर्‍याउनु उनको महत्त्वपूर्ण विशेषता हो भने कल्पना तथा भावको उच्चतम् प्रयोग गरेर सौन्दर्यको सृष्टिमा आफ्नो प्रतिभा देखाउनु अर्को विशेषता हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.