धन र मनको नभएर पतिपत्नीको प्रेम तथा आर्थिक अभावका कारण उत्पन्न समस्याका बीचमा द्वन्द्व भएको छ। परिस्थितिजन्य द्वन्द्वको सिर्जना आर्थिक विपन्नता वा आवश्यकताले गरेको छ।
नेपालीमा थुप्रै प्रगीतात्मक र आख्यानात्मक काव्यकृतिका सर्जक महाकविका रूपमा सुपरिचित लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) स्वयंले समेत विशेष मन पराएको आख्यानात्मक कृति हो, मुनामदन (१९९२ साल) हो । नेपालीको अत्यन्तै लोकप्रिय कृति मुनामदनका अहिलेसम्म थुप्रै संस्करण प्रकाशित छन् र तिनमा कतिपय पंक्ति र चिह्नहरूसमेत हेरफेर भएका छन् । आफ्ना रचनालाई परिष्कार–परिमार्जन गर्न खास रुचि नराख्ने देवकोटाले २०१५ सालतिर मुनामदनको चाहिँ परिष्कार–परिमार्जन गरी पहिलेको मुनामदनका ठाउँठाउँमा विभिन्न पंक्ति थप गरेर आयाम विस्तार गरेका छन् र तिनलाई पछिल्ला संस्करणमा चिह्नाङ्कनका साथ स्पष्ट छुट्टिने गरी प्रस्तुत गरिएको छ ।
पहिले ६७५ पंक्तिमा संरचित मुनामदनलाई पछि ३३१ पंक्ति थप गरी १,००६ पंक्तिको बनाइएको छ । सानाठूला गरी १८ भागमा विभाजित यस कृतिका कतिपय ठाउँमा दुईवटा पंक्तिका बीचमा अनुप्रास नमिलेको एउटा छुट्टै पंक्ति पनि भेटिन्छ र ती ठाउँमा कविताको लय भंग भएको छ । मुनामदनका क्रमश : पछिल्ला संस्करणमा पहिलेको एउटा पूरै पंक्ति छुटेको वा एउटा पंक्तिको केही अंश अर्को पंक्तिमा मिसिई अर्को छुट्टै पंक्ति बन्न पुगेको हुँदा त्यहाँ लय भंग भएको हो छुट्टै पंक्तिको प्रयोगले होइन ।
मुनामदनमा नेपालीहरू आर्थिक दुरवस्थाका कारण सम्पत्ति कमाउन बिदेसिन बाध्य भएको तथ्यलाई मार्मिक ढंगले चित्रण गरिएको छ । आर्थिक अभावका कारण बिदेसिनुपर्ने बाध्यात्मक परिस्थिति नेपालीको नियति नै भएको र यसको परिणाम अधिकांशत : दुखद् नै हुने कुराको यथार्थ प्रस्तुति मुनामदनकालीन अन्य कतिपय कृतिमा पनि पाइन्छ । अन्य कृतिमा आर्थिक समस्याका कारण तिनका सहभागी विभिन्न पेसा अँगालेर प्राय : दक्षिणतिर प्रवासिने प्रवृत्तिको वर्णन पाइन्छ भने यसको प्रमुख सहभागी मदनलाई व्यापार पेसा लिई उत्तरतर्फ पठाउने काम भएको छ ।
जता गए पनि र जति सम्पत्ति कमाएर ल्याए पनि अन्तत : उनीहरूको दुर्दशा नै भएका तथ्यको मार्मिक अभिव्यञ्जना तत्कालीन विभिन्न कृतिमा पाइएजस्तै मुनामदनमा पनि पाइन्छ । धन कमाउन जाने व्यक्तिमध्ये कतिपय घर फर्केको र कतिपयको उतै जीवन समाप्त भएको तथ्य पनि भेटिन्छ । यो क्रम अद्यावधि कायमै छ तर अहिले छिमेकी मुलुकमा मात्र नभई टाढै जाने प्रचलन बढ्दो छ ।
यस काव्यको नायक मदनलाई नेपाली निम्नमध्यम वर्गीय सहरिया समाजको जिम्मेवार युवाको प्रतिनिधि पात्रका रूपमा तथा नायिका मुनालाई पतिको साथ छोड्न नचाहने र दुखजिलो गरेरै भए पनि पतिसँगै बस्न चाहने नेपाली युवतीको प्रतिनिधि पात्रका रूपमा अघि सारिएको छ । यसमा मुना र मदनका वार्तालापका माध्यमबाट मदन धन कमाउन विदेश जानुपर्ने कारण प्रस्तुत गरिएको छ । मदन सम्पत्ति कमाएर मोजमस्ती गर्ने उद्देश्यले नभई घरायसी जिम्मेवारीका कारण बिदेसिन बाध्य छ, जसरी अहिले पनि बाध्य छन् । ऊ धन कमाउन जानको उद्देश्य आमाको घाँटी दूधले रसाउन, उनको धारा र पाटी बनाउने इच्छा पूरा गर्न, मुनाका हातमा सुनका बाला लगाइदिन तथा घरायसी ऋण तिर्नका लागि देखाइएको छ ।
काव्यको प्रारम्भमा मुना पति मदनसँग आफूलाई छोडेर विदेश नजान र जाने नै भए आफूलाई पनि साथैमा लैजान आग्रह गर्छे । उसले नजानु भन्नु र जाने नै भए सँगै लानु भन्नाको तात्पर्य ऊ पतिसँग छुट्टिन चाहन्न र सधैं साथैमा जीवनयापन गर्न चाहन्छे भन्ने हो । मुनाले धन कमाउन विदेश जानुभन्दा साग र सिस्नु खाएर आनन्दी मनले बस्नु बेस भन्नाको अभिप्राय धन चाहिँदै चाहिँदैन भन्ने होइन र यति भनेकै आधारमा उसलाई पूरै धन विरोधी भन्न पनि मिल्दैन । साग र सिस्नु नै जुटाउन पनि केही न केही धन अवश्यै चाहिन्छ । उसले धनलाई भन्दा पतिपत्नी नबिछोडिई साथैमा बस्नुलाई बढी महत्व दिए पनि ऊ पूरै धनको विपक्षमा छैन । मुना सुरुमा भावुकतावश विदेश नजाने, सँगै लाने, साग र सिस्नु खाएर बस्नेजस्ता कुरा गरे पनि मदनले धनको आवश्यकताबारे बताउँदा ऊ त्यसका विपक्षमा तर्क गर्दिन र उसलार्ई बिदा दिन्छे ।
थोरैमा सन्तोष गरेर साथ छोड्न नचाहने र सँगै बस्न रुचाउने मुनालाई मदनले धन कमाउन जानैपर्ने कारण बताएपछि निरुत्तर भई बिदा दिनाको अभिप्राय ऊ पनि धनलाई अनावश्यक वस्तु ठान्दिनँ भन्ने हो । पतिपत्नी दुवै एकअर्कालाई असाध्यै माया गरे पनि दुवैलाई धनको आवश्यकताबोध छ । यही कारण मदन बिदेसिन बाध्य छ र मुना मुटु मिचेर बिदा दिन विवश छ । यस सन्दर्भमा मुनाले नबिछोडिनका लागि अलि बढी प्रयास र बिलौना गर्नु नारीसुलभ कोमलता र भावुकता हो भने मदनले सम्झाउँदै हिँड्नु पुरुष स्वभावमा पाइने केही बढी कठोरता र जिम्मेवारीबोध हो ।
धन कमाउने मर्दको इरादा पूरा गर्नाको लागि ल्हासा जान तम्सेको मदन पनि धनलाई नै सर्वोपरि नठानी धनलाई पापी वस्तु ठान्छ तर उत्तरदायित्व र आवश्यकताबोधका कारण ऊ धन कमाउन विदेश जान विवश छ । उसले धन कमाउनाका लागि विदेश जानुपर्ने कारण स्वरूप अघि सारेका तर्क यथार्थमूलक छन् ।
एउटा उत्तरदायी युवाले आमाका इच्छा पूरा गर्न, घरलाई ऋणमुक्त तुल्याउन तथा श्रीमतीका आकांक्षा पूरा गर्न प्रयास गर्नु स्वाभाविक हो । मदनले धनलाई सर्वोपरि वस्तु नठानी आवश्यक वस्तु ठानेको छ र त्यो स्वाभाविक यथार्थ पनि हो । स्पष्ट उद्देश्य राखेर धन कमाउन विदेश जान लागेको मदन मनविहीन अतिशय कठोर व्यक्ति अवश्य नै होइन । ऊ पत्नीलाई अत्यन्तै माया गर्छ । यसैकारण ऊ जाने बेलामा पनि आमासँग बिदा नमागी आँखामा आँसु झार्दै पत्नी मुनासँगै बिदा माग्छ ।
यहाँ मदन र मुना कुनै पक्ष विशेषमा केन्द्रित छैनन् र धन र मनको द्वन्द्व भएको पनि छैन । मदनले धन सबथोक हो मन चाहिँदैन भनी मुनालाई लत्याएर धन कमाउन बिदेसिएको भए अनि मुनाले मन नै सबथोक हो धनको आवश्यकतै छैन भनेर मदनको साथ छोड्दै नछोड्ने जिद्दी गरेकी भए धन र मनको द्वन्द्व भएको मान्न सकिन्थ्यो तर यहाँ यी दुवैको दृष्टिकोण यस्तो एकांगी छैन । दुवैले धनलाई सर्वोपरि वस्तु नभएर आवश्यक वस्तु ठानेका छन् र मनलाई पनि उत्तिकै महत्व दिएका छन् । झट्ट हेर्दा मदन पूरै भौतिकवादी वा धनवादी र मुना पूरै अभौतिकवादी वा मनवादीजस्ता देखिन्छन् तर दुवैजना दुवै पक्षका हिमायती रहेको स्पष्टै छ । मदनलाई घरायसी आर्थिक समस्याका कारण धनको आवश्यकताबोध बढी भएको छ र ऊ अन्य केही विकल्प नभएका कारण बिदेसिन बाध्य भएको छ भने मुना पूरै धनविरोधी नहुँदा नहुँदै पनि पतिसँगको बिछोडको पीडाबोधका कारण कहालिएर अभौतिकवादीजस्ती देखिएकी छ । ऊ नारी सुलभ कोमलताका कारण मदनभन्दा बढी विरही र भावुक भएकी छ । एउटी नवविवाहित नारी पतिको साथ छुट्ने भयले विह्वल भई भावुक हुनु स्वाभाविकै हो ।
यति भएर पनि उसले मदनका तर्कको खण्डन नगरी उसलाई बिदा दिएकी छ । बिदाका बेला ऊ मदनभन्दा बढी रोएकी छ तर त्यस रुवाइलाई धनको विरोध र मनको पक्षधरता भन्न मिल्दैन । त्यो त केवल वियोगजन्य विरह र नारी सुलभ कोमलता हो । मदन मर्दको इरादा पूरा गर्ने, पुरुषका लागि पौरुष चाहिनेजस्ता कुरा गरे पनि ऊ पूरै भौतिकवादी र मन नभएको कठोर व्यक्ति होइन । उसले हाम्रो सामाजिक परम्पराअनुसार घर चलाउनुपर्ने भएकाले मुनाजस्तो बढी भावुक हुन नमिलेको मात्र हो । ऊ उत्तरदायित्वबोधका कारण विवशतापूर्वक आँखामा आँसु र मुटुमा
मुनाको सम्झना बोकेर बिदेसिन बाध्य भएको छ ।
- आत्मिक प्रेम, मानवतावादी–आदर्शवादी चिन्तनको प्रस्तुति, धन आवश्यक भएर पनि सर्वोपरि नभएको र मानव जीवनमा धन र मन दुवै अपरिहार्य वस्तु भएका तथ्यको अभिव्यक्ति, कर्मद्वारा ईश्वर प्राप्तिसम्बन्धी मान्यता आदि मुनामदन खण्डकाव्यले सञ्चरण गर्ने मुख्य सन्देश हुन्।
- धन आवश्यक वस्तु भए पनि यसैका लागि मरिमेट्नु हुँदैन, सकेसम्म पतिपत्नी नछुट्टिई सँगै बस्नुपर्छ, परिस्थितिवश छुट्टिनु परेर त्यसबाट कुनै ठूलै दुर्घटना भए पनि त्यसलाई सहन गरेर कर्मतर्फ प्रवृत्ता भइरहनुपर्छ र कर्मबिनाको मानव जीवन निरर्थक हुन्छ भन्ने कुरा मुनामदनमा अभिव्यक्त गरिएको छ।
यस काव्यमा धन र मनको नभएर पतिपत्नीको प्रेम तथा आर्थिक अभावका कारण उत्पन्न समस्याका बीचमा द्वन्द्व भएको छ । यसमा परिस्थितिजन्य द्वन्द्व छ र यस द्वन्द्वको सिर्जना आर्थिक विपन्नता वा आवश्यकताले गरेको छ । यहाँ आर्थिक अभावका कारण प्रेमको बलिदान गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ । यसमा धनवादी मदन पराजित भएको र मनवादी मुना विजयी भएको भन्ने अभिव्यक्ति पनि पाइन्छ । यसमा धन वा मन कुनै पक्षको हारजित भएको होइन । यहाँ धन र मन भन्ने पक्ष–विपक्ष नै नभएपछि हारजितको प्रश्नै उठ्दैन । यदि यहाँ मदनले हारेको मान्ने हो भने उसले आपूm मृत्युशय्यामा पुगेका बेला दिदीलाई घरजम चलाउन र पाटी, धारा बनाउने आमाको इच्छा पुर्याउन अराउने थिएन तर उसको यस अराइले धन जहिले पनि आवश्यक वस्तु भएको तथ्य पुष्टि हुन्छ । उसका मनमा पूरै धन विरोधी भावना जागृत भएको भए अर्थात् मुनालाई सम्झेर धनलाई पूरै तुच्छ र निरर्थक वस्तु ठानेको भए आफूले कमाएर ल्याएको
धन दिदीलाई सुम्पेर उपर्युक्त कुरा भन्ने नै थिएन ।
मदनले मर्ने निश्चय गर्नु र मुनालाई स्वर्गमा भेटौंला भन्दै मर्नुचाहिँ मुनाको वियोगको पीडा खप्न नसकेर हो । मदन मनको विपक्षमा र धनको मात्र पक्षमा रहेको भए मुनाका नाममा प्राणत्याग गर्नाको सट्टा पुन : अर्कै नयाँ जीवन प्रारम्भ गर्नेतर्फ लाग्ने थियो तर उसले त्यसो नगरी मुनाकै नाममा प्राणत्याग गरी एक पत्नीव्रत प्रदर्शन गरेको छ । यो उसमा भएको मनकै विशालताको कारण हो । यता मदन मरेको भन्ने गुन्डाको नक्कली चिठीबाट मुना मर्नुचाहिँ धन र मन दुवैका कारण नभएर पति वियोग खप्न कठोर भएका कारण उत्पन्न भावुकताजन्य परिस्थितिबाट हो । उसको मृत्युलाई पनि मनको जित र धनको हार भन्न मिल्दैन । यहाँ हारजितकै कुरा गर्ने हो भने परिस्थितिकै हार र परिस्थितिकै जित भएको छ ।
भोटेलाई धनविरोधी र मनवादी भनेको पनि पाइन्छ तर ऊ पनि धनको पूरै विरोधी नभएर सामान्य जीवन गुजार्न चाहने र धेरै धनसञ्चय गर्ने प्रवृत्तिको विरोधी विशाल मन भएको गुणी र आदर्श व्यक्ति हो । आत्मिक प्रेम, मानवतावादी–आदर्शवादी चिन्तनको प्रस्तुति, धन आवश्यक भएर पनि सर्वोपरि नभएको र मानव जीवनमा धन र मन दुवै अपरिहार्य वस्तु भएका तथ्यको अभिव्यक्ति, कर्मद्वारा ईश्वर प्राप्तिसम्बन्धी मान्यता आदि यस काव्यले सञ्चरण गर्ने मुख्य सन्देश हुन् ।
धन आवश्यक वस्तु भए पनि यसैका लागि मरिमेट्नु हुँदैन, सकेसम्म पतिपत्नी नछुट्टिई सँगै बस्नुपर्छ, परिस्थितिवश छुट्टिनु परेर त्यसबाट कुनै ठूलै दुर्घटना भए पनि त्यसलाई सहन गरेर कर्मतर्फ प्रवृत्त भइरहनुपर्छ र कर्मबिनाको मानव जीवन निरर्थक हुन्छ भन्ने कुरा यस काव्यमा अभिव्यक्त गरिएको छ ।
मुनामदनलाई बढी संख्यामा छापिएको, नेपाल र भारतका विभिन्न विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयहरूका पाठ्यक्रममा समावेश गरिएको, विभिन्न व्यक्तिद्वारा प्रशंसा गरिएको जस्ता कारणबाट विश्वकै एक उत्कृष्ठ कृति हो– कालजयी रचना हो भनिएको पनि पाइन्छ । वस्तुत : बढी संख्यामा छापिनु, पाठ्यक्रममा राखिनु र प्रशंसा गरिन्ुलाई विश्वकै उत्कृष्ठ कृति ठहर्याउने कसीका रूपमा लिन मिल्दैन ।
संसारका विभिन्न भाषामा लेखिएका यस खाले संरचनायुक्त कृतिहरूको तुलनात्मक अध्ययनबाट मात्र उत्कृष्ठ कृतिको पहिचान वा निरूपण गर्न सकिन्छ । खासमा सहज र आकर्षक भाषाशैलीय विन्यास गरी झ्याउरे छन्दमा रचित गेयात्मक गुणले ओतप्रोत मुनामदन आदि, मध्य र अन्त्य क्रमिक रूपले विकसित कथानक भएको नेपालीको लोकप्रिय आख्यानात्मक संरचना हो ।
प्रतिक्रिया दिनुहोस !