राजनीतिक जागरणको संघारमा नेपाल
जेन-जी आन्दोलनपछि नेपालीमा देखिँदै गरेको राजनीतिक जागरुकता र सचेतना आफैंमा सकारात्मक छ।
विचार सधैं एकनास रहँदैन, जसरी समय परिवर्तन भइरहन्छ। यसैले, विचारको रूप पनि हमेशा एकै हुँदैन। समयको गतिसँगै प्राप्त हुँदै जाने ज्ञान, अनुभव, अनुभूति आदिले मस्तिष्कको क्षितिज चौडा हुँदै जाँदा विचार परिपक्व, परिस्कृत र स्पष्ट बन्दै जान्छ। नेपालमा आज राजनीति गर्ने र राजनीतिभन्दा पर बस्ने हरेकको मस्तिष्कमा उद्वेलित विचारका लहरहरूले त्यही परिपक्वता, परिष्कृतता र स्पष्टतासम्म पुग्ने संकेत गरिरहेको छ। अर्थात्, राजनीतिप्रतिको समग्र बुझाइमा नेपाली समाज आज एउटा नयाँ जागरणको चरणमा प्रवेश गर्ने संघारमा उभिएको छ।
करिब सात सय वर्षअघि इटालीको फ्लोरेन्सबाट सुरु भएको रेनेशा अर्थात् पुनर्जागरण सोह्रौं शताब्दीसम्म आइपुग्दा बेलायत हुँदै युरोपको ठूलो भागमा फैलिइसकेको थियो। यो त्यस्तो उभार थियो, जसले करिब सात सय वर्षसम्म सुतेको युरोपलाई ब्यूँझाइदिएको थियो। राजनीतिमात्र होइन, कला, संस्कृति, दर्शन, विज्ञानलगायत त्यस्तो कुनै क्षेत्र थिएन– जसलाई पुनर्जागरणले नछोएको होस्। यो एक प्रकारको राजनीतिक र बौद्धिक क्रान्तिको समय थियो। प्राचीन रोम र ग्रिक दर्शनको पुनर्जन्मसमेत भनेर चिनिने पुनर्जागरणले युरोपेली जनताको सोच र धारणा निर्माणको शैली नै बदलिदिएको थियो। राज्य, शासक र शासन प्रणालीप्रतिको उनीहरूको बुझाइ स्पष्ट र परिस्कृत भएको थियो। राजनीतिलाई लिएर उनीहरू जागरुक र सचेत हुँदै थिए।
निकोलो मेकियाभेलीजस्ता प्रसिद्ध राजनीतिक चिन्तक त्यही समयका उपज थिए, जसको विचारले युरोपको तत्कालीन राजनीतिलाई एक हदसम्म आकार प्रदान गरेको थियो। ईशाको सोह्रौं र सत्रौं शताब्दी दौरान युरोपको इतिहासमा फेरि अर्को बौद्धिक आन्दोलन छेडियो, जसले ज्ञान र बुद्धिलाई प्राथमिकताको केन्द्रमा राखेको थियो। ‘एज अफ इन्लाइटन्मेन्ट’ अर्थात् ज्ञानको युग भनेर चिनिने त्यो समय पुनर्जागरणकै निरन्तरता थियो। युरोपको राजनीतिमा क्रान्तिकारी परिवर्तन ल्याउन उक्त आन्दोलनलेमहत्त्वपूर्णपूर्ण भूमिका खेल्यो। समाजमा उत्पन्न सामाजिक, आर्थिक र राजनीतिक समस्यालाई तर्क, विज्ञान र आलोचनात्मक चेतका दृष्टिले हेर्न सकेमात्र समाज सुन्दर र समृद्ध बनाउन सकिन्छ भन्ने मान्यता त्यस आन्दोलनको थियो।
लक, मन्टेस्क्यु र जेफरसनजस्ता तत्कालीन चिन्तकहरूले राज्यको प्रकृति र भूमिकाबारे नयाँ अवधारणा अघि सारेका थिए। राज्य जनताको स्वीकार्यतामा आधारित हुनुपर्दछ र त्यसले कुनै पनि हालतमा जनताको प्राकृतिक अधिकार खोस्न हुँदैन भन्ने तर्क उनीहरूको थियो। यही विचार पछि गएर अमेरिकी र फ्रान्सेली क्रान्तिको मुख्य क्याटालिस्ट बन्न पुगेको थियो। धेरै अघि युरोपले बाँचेको त्यो समय, त्यो पुनर्जागरण र त्यो प्रबोधन आज नेपालमा देखिँदैछ। हिजोसम्म कहिल्यै नदेखिएको राजनीतिक चेत गत भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि अहिले देखिँदैछ। गाउँका चिया पसलदेखि राजधानीका तारे होटलसम्मका कुराकानी र छलफल राजनीतिमय भएका छन्।
दशकौंदेखिको राजनीतिलाई हेर्ने दृष्टिकोण बदलिँदै छ। अथवा भनौं स्पष्ट हुँदैछ। राजनीति गर्ने र देश हाँक्नेहरूमा हुनुपर्ने न्यूनतम गुण र योग्यताको बारेमा देशव्यापी रूपमै बहस छेडिएको छ। अर्थात्, शासन प्रणालीमा सुशासनको आवाज जोडतोडले उठिरहेको छ। संविधान र कानुन माथिको उत्सुकता अनि त्यसको व्याख्या र विश्लेषण विगतको तुलनामा ह्वात्तै बढेको छ। पछिल्लो केही दशकयता कमजोर हुँदै गइरहेको राष्ट्रप्रेमको भावना अहिले आएर फेरि चुलिँदै छ। परिणामस्वरूप हिजोसम्म राजनीतिलाई ‘डर्टी गेम’ भन्दै त्यसबाट अलग बस्न चाहने नवयुवाको पुस्ता आज राजनीतिमा आफ्नो सक्रिय सहभागिता देखाइरहेको छ।
नागरिकका हैसियतले राष्ट्रप्रतिको जिम्मेवारी निभाउनुको सट्टा विदेश पलायन हुने भनेर आरोप खेपिरहेको यो पुस्ता आज नेपालमै भविष्य खोजिरहेको छ। त्यतिमात्र होइन, विस्तारै यो पुस्ता अब परिपक्व र परिस्कृत पनि बन्दै गइरहेको छ। राजनीतिमा अक्सर देखिने दाउपेच र रणनीति बुझ्ने भएको छ। नेपाली समाज एकातिर यसरी जागरण र प्रबोधनको युगमा प्रवेश गर्दैगर्दा अर्कातिर अन्योल र अस्पष्टतामा पनि उत्तिकै बाँचिरहेको छ। अर्थात्, नेपाल आज यस्तो अवस्थाबाट गुज्रिरहेको छ, जहाँ हरेक नेपालीको मन उद्वेलित छ। मस्तिष्कमा उत्पन्न विचारहरू एकआपसमा आन्दोलित छन्। भावनाका ज्वारहरू छचल्किरहेका छन्। देखिने सत्य र वास्तविक सत्यबीचको भेद आम जनमानसले छुट्ट्याउन सकिरहेका छैनन्। बजारमा बग्रेल्ती डिसइन्फरमेसनले भ्रममात्र सिर्जना गरेका छैनन्, अवस्थालाई त्रासदीपूर्ण समेत बनाएका छन्। आफ्नाहरू आफ्नैसँग सशंकित छन्। सिद्धान्तको कसीमा व्यावहारिकता खरो उत्रन सकेको छैन।
यसरी, मानिसहरू अधिकांशमा समालोचनात्मक दृष्टिकोण अझै पनि कमजोर छ। स्वविवेक र स्वनिर्णयको क्षमता माथि उठ्न सकिरहेको छैन। निरन्तरको बौद्धिक क्षयीकरणलाई रोक्न नसकेको नेपाली समाजमा आज पनि ज्ञान र बौद्धिकताको कदर हुन सकेको छैन। समग्रमा, स्थिति गम्भीर देखिएता पनि यो भोलि आउने जागरणकै एक स्वाभाविक पूर्वावस्था हो। तर जतिसक्दो चाँडो यसको सही व्यवस्थापन अनिवार्य छ। जेन-जी आन्दोलनपछि नेपालीमा देखिँदै गरेको राजनीतिक जागरुकता र सचेतना आफैंमा सकारात्मक छ। तर यसले यो देशको राष्ट्रिय पहिचान, सुनौलो इतिहास र समृद्ध सभ्यताको मूल नछोडोस्।
पृथ्वीको आधा हिस्सा ढुंगेयुगमा बाँचिरहँदा ज्ञानको अनवरत धारा बगिरहेको देश हो यो। संसारको भिडमा हजारौं वर्षदेखि हाम्रो अनुहार फरक नै थियो, फरक नै छ र फरक नै रहिरहनु पर्छ भन्ने मान्यता नछोडोस् यो नयाँ जागरणले। त्यसका लागि धेरै केही गरिरहनै पर्दैन। बस्, हाम्रा पुर्खाले छाडेर गएको परम्परागत ज्ञानलाई जोगाइदिए पुग्छ। हाम्रो आफ्नै माटोको सुगन्धलाई नछोडिदिए पुग्छ। नेपाली हुनुको अर्थ बोध गरिदिए पुग्छ।
प्रतिक्रिया दिनुहोस !