चार महिनादेखि उडान बन्द एयरलाइन्सले कार्यालय नै हटाए

चार महिनादेखि उडान बन्द एयरलाइन्सले कार्यालय नै हटाए

अछाम : साँफेबगर विमानस्थल यतिबेला सुनसान छ। एयरपोर्टमा बनेको भव्य संरचनाहरू प्रयोगविहीन छन्। एयरपोर्टका कर्मचारी र विमानस्थलमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरू पनि कामविहीन छन्। विमानस्थलमा नियमित उडान नभएको चार महिनाभन्दा बढी भयो। गत माघपछि वैशाख र असारमा एक दुईपटक उडान भए पनि हाल उडान सेवा पूर्णरूपमा बन्द जस्तै छ। 

समिट एयरलाइन्सले साँफेबगर विमानस्थलबाट हप्तामा २ दिन धनगढी र नेपालगन्ज उडान भर्दै आएको थियो। समिट एयरलाइन्सले साँफेबगरबाट धनगढीसम्म १७ मिनेटको हवाई यात्रामा प्रतियात्रु ५५०० र साँफे नेपालगन्जको ६००० भाडा निर्धारण गरेको थियो। साँफेबगर विमानस्थलमा केही समय नेपाल वायु सेवा निगमले उडान भर्दै आए पनि नियमित हुन सकेन। यात्रुहरूको चापका कारण कुनै समय एक दिनमा तिनपटकसम्म उडान भरेको समिटले यात्रु अभाव र नेपाल एयरलाइन्सले जहाज अभावको कारण देखाउँदै सेवा बन्द गरेका छन्। 

फाट्फुट् रूपमा उडान गरिरहेको नेपाल एयरलाइन्स र समिटले आफ्नो कार्यालय नै हटाएका छन्। करोडौं खर्चेर बनाएको विमानस्थल फेरि गौचरणमा परिणत हुन्छ कि भन्ने डर स्थानीयमा छ। विगत ६ वर्षदेखि साँफेबगर धनगढी र नेपालगन्जका लागि उडान भर्दै आएको समिट एयरलाइन्सले अहिले कार्यालय नै हटाएको छ। भने नेपाल एयरलाइन्सले यसअघि नै कार्यालय हटाइसकेको थियो। यहि कात्तिक १३ देखि साँफेबगरमा रहेको कार्यालय हटाएको नेपालगन्ज स्टेसन इन्चार्ज शिबराम थापाले बताए। उनले भने, ‘यात्रुहरू संख्या निकै कम हुँदा एयरलायन्सले धेरै घाटा बेहोर्नुपर्ने देखियो। त्यसैले गर्दा बाध्यतात्मक अवस्थामा कार्यालय हटाएर उडान नै बन्द गरेका छौं। नेपालगन्जका लागि यात्रु नै नपाइने भयो। खाली जहाज लिएर उड्नुपर्ने अवस्था सिर्जना भयो र कार्यालय नै हटायौं।’

साँफेबगर नगरपालिका ३ का स्थानीय व्यापारी पुरन कुँवरले मन्त्रीहरूको ठाडो आदेशमा मात्र चल्ने जहाजहरू कहिले पनि नियमित हुन नसक्ने बताए। उनले भने, ‘जता फाइदा उतै उडान गर्छन् एयरलाइन्सहरू। अहिले जोमसोमलगायत ठाउँहरूको सिजन छ त्यसैले जता फाइदा उतै जान्छन् जहाजहरू। यता दुर्गमका पीडा कसले बुझिदिने। फेरि देशको हालत अहिले यस्तो छ। नियमित प्रयोगमा नआउने संरचनामा राज्यले करोडौं खर्च गर्नु बालुवा पानी हाले जस्तै हो।’ विकासका नाममा दुर्गममा नागरिकको खुसी क्षणिक मात्र भएको उनले बताए। 

उडान बन्द हुँदा विशेष गरी यस क्षेत्रको स्वास्थ्य सेवा, पर्यटन लगायत व्यापार व्यवसायमा नराम्रो प्रभाव परेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण साँफेबगरका प्रमुख कृष्णकुमार साहले जहाज अभाव र भएका जहाजहरूले पनि अहिले लुक्ला र जोमसोम तिर उडान भरिरहेको बताए। उनले भने, ‘अहिले सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थलहरू बन्द छन्। अहिले लुक्ला जोमसोमको सिजन चलेको छ। एक त जहाज अभाव पनि छ।’ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मन्त्री पदबाट हटिसकेपछि बझाङ, डोटी, अछाममा नेपाल एयरलाइन्सका जहाजहरू चल्न बन्द भएको साहले बताए। साँफेबगरमा उडान हुने नहुने विषय अन्यौल रहेको साहले बताए। 

साँफेबगर नगरपालिकाका मेयर राजेन्द्रबहादुर कुँवरले विभिन्न निकायहरूसँग पहल गर्दा पनि जहाज नियमित गर्न नसकेको बताए। उनले नेपाल एयरलाइन्सको जहाज नियमित गर्न विषेश पहल गरे पनि सम्बन्धित निकायबाट सधैं जहाज अभावको कारण देखाउने गरेको बताए। २०२४ मा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो। २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालनमा रहेको थियो। ०६२ सालबाट पूर्णरूपमा बन्द रहेको विमानस्थलमा २०७५ जेठ ११ गते करिब १३ वर्षपछि समिट एयरले फेरि परीक्षण उडान गरेको थियो। 

पहाडी जिल्लाका एयरपोर्टमध्ये सहज भूगोलमा रहेको मानिन्छ साँफेबगर विमानस्थल। दुवैतर्फबाट सहज रूपमा जहाज अवतरण गर्न सक्ने एयरपोर्ट हो। यसको रनवे ५५० मिटरभन्दा बढी छ। पहाडी क्षेत्रका विमानस्थलमध्ये साँफेबगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ। सुदूरपश्चिम प्रदेशको दुईवटा विमानस्थल रहेको एक मात्र पहाडी जिल्ला अछाम हो। ०५८ फागुन ४ मा तत्कालीन नेकपा माओवादीले सदरमुकामसँगै साँफेबगरमा आक्रमणपछि विमानस्थलको टावर पूर्णरूपमा ध्वस्त हुँदा बन्द विमानस्थल बन्द थियो। अमर कन्स्ट्रक्सनले ११ करोड १७ लाखमा विमानस्थल कालोपत्रे गर्ने काम सम्पन्न गरेको थियो। 

कमलबजार विमानस्थलमा पनि निर्माण सुरु भएको ३२ वर्ष पछि विमानस्थलमा परीक्षण उडान भएको थियो। गत वर्षको पुस १३ गते नेपालगन्जबाट तारा एयरको ९एन–एईभी विमानले उडान परीक्षण गरेको थियो। उक्त विमानस्थल पनि परीक्षणमै सीमित भएको छ। २०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेका बेला तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणले विमानस्थल बन्द हुन पुगेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.