आन्दोलनपछिका एजेन्डा
जब यस धर्तीमा मानिस घुमन्ते र सिकार संकलित जीवन पद्धति छाडेर एकै स्थानमा स्थिर बसोबास गर्न थाल्यो, तब उसले आफू र आफ्नो सम्पत्तिको सुरक्षाका खातिर कोही आफूभन्दा सक्षम, साहसी र अब्बल मानिसलाई आफूमाथि शासन गर्ने अनुमति दियो। यो त्यस्तो क्रान्तिकारी कदम थियो जहाँ शासित स्वयंले शासकलाई आफूमाथिको अधिकारी बन्ने छुट दिएको थियो। शासक र शासितबीचको त्यही ऐतिहासिक सम्बन्धमा टेकेर जनता आज आफ्नो चाहना र आवश्यकता राज्यले पूरा गरिदियोस् भन्ने ठान्दछ। आफ्नो सर्वाङ्गीण हित र कल्याणका लागि राज्य एक जिम्मेवार अभिभावक बनेर उभिदियोस् भन्ने चाहन्छ।
नेपाल राज्यको आधुनिक इतिहासको विभिन्न कालखण्डमा जबजब विभिन्न नाम र मुद्दामा राजनीतिक परिवर्तनहरू हुँदै गए तबतब आम नेपाली जनताको मुहारमा पनि आशाको दीप सञ्चार हुँदै गयो। आशाले भरिएको त्यो मुहारमा अब भने हाम्रो जीवन सुध्रिने भयो, अब हामी पनि सुखी हुने भयौं भन्ने प्रकारको विश्वास स्पष्ट देख्न सकिन्थ्यो। महान् भनिएको २००७ सालको परिवर्तन बखत जनतामा त्यही भयो। २०३६ र २०४६/२०४७ सालमा त्यस्तै भयो। अर्को ऐतिहासिक भनिएको २०६२/२०६३ सालमा पनि त्यहि नै भयो। ती सबै परिवर्तनहरू माथि जनताको आशा र विश्वास उही थियो। समृद्ध राष्ट्रको समृद्ध जनता बन्ने भोक उस्तै थियो। गुणस्तरीय जीवन बाँच्ने अभिलाषा उतिनै थियो।
तर, विडम्बना जनताका ती सबै आशा र अभिलषाहरू चरणबद्ध रूपमा निराशामा परिणत हुँदै गए। उनीहरूको जीवनमा उनीहरूले खोजे जस्तो सकारात्मक बदलाव ती कुनै परिवर्तनले ल्याउन सकेन। प्रायः सधैंजसो शक्ति र सत्ताको वरिपरि घेरा लागिरहने सीमित समूहबाहेक बाँकी आमजनताको दैनिकी प्रकृतिको स्वाभाविक गतिलाई उछिनेर विकाससम्म पुग्नै सकेन। हिजो केही दशक अघिसम्म उस्तैउस्तै जीवन बाँचेका छिमेकी मुलुकका जनताको तुलनामा नेपालीको जीवन जहीँ को त्यहीँ छुट्दै गयो। वास्तवमा आमनेपाली जनताको जीवन कहिल्यै नटुंगिने कठोर सजाय पाएको सिसिफसको दुःखान्त कथाझैं भयो।
तर समयले यो देशमा फेरि अर्को परिवर्तन ल्याएको छ। मात्र २७ घण्टाको अवधिमा सत्ता नै ढालेको गत भदौ २३ र २४ को सडक आन्दोलनपश्चात्को परिवर्तनले फेरि एकपटक नेपाली जनताको मुहारमा आशाको दीप सञ्चार गरेको छ। फेरि एकपटक नेपाली जनतामा सुखी र समृद्ध जीवन बाँच्ने चाहना अंकुरित भएको छ। मुर्झाएका सपनाहरू पुनः ब्युँझिएका छन्। निराशालाई आशाले जितेको छ। प्रायः गरेर राजनीतिक प्रकृतिको यस्ता परिवर्तनहरू माथि जनताले आशा राख्नु स्वाभाविक पनि हुन्छ। तर सँगसँगै यो परिवर्तन पनि विगतका अन्य जस्तै आम जनताको जीवनमा तात्विक भिन्नता ल्याउन नसक्ने पो हुने हो कि भन्ने डर पनि जनतामा उत्तिकै बढ्दो छ। नयाँ परिवर्तनप्रति आमजनता अझै आश्वस्त हुन सकेका छैनन्।
कुनै पनि राज्य चाहे त्यो जुनसुकै पद्धति वा प्रणालीबाट चलेको किन नहोस्, त्यहाँ बसोबास गर्ने प्रत्येक जनताको हरेक दैनिकी उक्त राज्यको राजनीतिबाट प्रभावित रहेको हुन्छ। जनताको हकमा उसलाई राजनीति मन परोस् या नपरोस्, राजनीतिबाट ऊ अलग बस्न चाहोस् या नचाहोस्, तर पनि ऊ बसेको देशको राजनीतिले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा उसको जीवन नियन्त्रित र निर्देशित गरिरहेको हुन्छ।
हरेक दिनको बिहानीसँगै प्रयोग हुने पानीको शुद्धता र उपलब्धतादेखि रातमा पर्ने निद्राको गुणस्तर अनि भविष्य निर्धारण गर्ने शिक्षादेखि जीवन निर्धारण गर्ने स्वास्थ्यसम्म कस्तो हुने भन्ने निक्र्योल राजनीतिबाटै भइरहेको हुन्छ। दैनिक जीवनयापनको क्रममा एउटा मानिस कति खुसी र आनन्दका साथ कस्तो मनस्थितिमा बाँच्न सक्दछ भन्ने पनि उक्त मानिस बसेको देशको राजनीतिकै नियन्त्रणमा हुन्छ। यतिसम्म कि मानिसले हरेक पल लिइरहेको एकएक श्वासको स्वस्थता र स्वच्छतासमेत उसको देशको राजनीतिमाथि नै निर्भर रहेको हुन्छ। अनि जनजीवनका यति धेरै पाटा र आयामहरूमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने राजनीति जनताकै लागि गरिनुपर्दैन र ? अर्थात वर्तमान नेपाली राजनीति जनताकै आशा र अपेक्षा पूरा गर्नेमा केन्द्रित हुन पर्दैन र ?
संसारका हरेक समाजमा शक्तिशाली र कमजोर दुवै किसिमका मानिस रहेका हुन्छन्। संसारभर नै हरेक शक्तिशालीले कमजोर माथि थिचोमिचो र अन्याय गरिरहेका हुन्छन्, जसकारण मानिसले जन्मसिद्ध रूपमा लिएर आएका प्राकृतिक र आधारभूत अधिकार शक्तिशालीद्वारा हनन् हुने खतरा बढी हुन्छ। यही तितो यथार्थलाई दृष्टिगत गर्दै विश्वप्रसिद्ध ब्रिटिस राजनीतिक चिन्तक जोन लकले सन् १६९० मा मानिसको प्राकृतिक अधिकारको सिद्धान्त प्रस्तुत गरे। उक्त सिद्धान्तमा लकले प्रत्येक व्यक्ति जन्मगत रूपमै जीवन, स्वतन्त्रता र सम्पत्तिको प्राकृतिक अधिकार लिएर जन्मने र उक्त अधिकारको संरक्षण अनिवार्य रूपमा राज्यले गर्नुपर्ने भनी व्याख्या गरे। पछि सन् १७७६ मा टोमस जेफरसन्ले यसमा खुसीको खोजी गर्ने अधिकारसमेत थपे।
वास्तवमा राजनीति जीवनका लागि हुनुपर्छ। राजनीतिको सर्वोच्च केन्द्रमा मुलुक र जनता नै हुनुपर्छ। नयाँ परिवर्तनपश्चात् नेपाल केही फरक चरणमा प्रवेश गरेको छ। देशको नेतृत्वमा नयाँ अनुहारहरू आएका छन्।
यस परिवर्तनले लक र जेफरसन्ले वकालत गरेजस्तो जनताको जीवन, स्वतन्त्रता, सम्पत्ति र खुसी खोज्ने प्राकृतिक अधिकारको कुनै पनि हालतमा संरक्षण र संवद्र्धन गर्न सक्नुपर्छ। जनतालाई छुन सक्नुपर्छ। उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ। गत भदौ २३ र २४ को घटनापश्चात् त्यसै पनि नेपाली जनता आजका दिनसम्म पनि भय र त्रासबाट मुक्त हुन सकिरहेका छैनन्। उनीहरूको मनोविज्ञान कमजोर भएको छ। आन्दोलनका क्रममा जीवन गुमाएकाहरूको परिवार त झनै विक्षिप्त छन्। सन्तानका लागि देखेका सपनाहरू सपनामै विलिन भएका छन्। त्यो भयानक र कहालीलाग्दो दुर्घटना अझै पनि परिवारजनको मस्तिष्कबाट टाढा जान सकेको छैन। नयाँ परिवर्तन पछिको सरकारले यसलाई सम्बोधन गर्न सक्नुपर्छ। नत्र राज्यमाथि जनताको भरोसा टुट्छ। जनताको भरोसा र स्वीकार्यता टुटेको दिन राज्य मृत समान हुन्छ। नयाँ परिवर्तनले यस्तो हुन नदेओस्।
प्रतिक्रिया दिनुहोस !