सेनापतिका महासेनापति

पृथ्वीनारायण शाह

सेनापतिका महासेनापति

कौटिल्यको साम, दाम, दण्ड र भेदको नीतिलाई कुशलतापूर्वक बडामहाराज पृथ्वीनारायण शाहद्वारा पहल गरिएको थियो।

बडामहाराज पृथ्वीनारायण शाह १७९९ पुस २७ मा जन्मिएर १८३१ माघ १ गते स्वर्गे भए। २०÷२१ वर्षे ठिटो राजालाई मोजमस्ती गरेर बस्नुभन्दा राज्य विस्तार गरी अन्तत :  नेपाल एकीकरणको सुरु गर्न मन लाग्यो। उस बखत टिष्टा नदी पश्चिम र महाकाली (काली) नदी पूर्व झन्डै ६० वटा साना राज्य थिए। ती सबै विशाल नेपाल टुक्रिएर बनेका नेपालभित्रकै साना नेपाल थिए।

१८२५ सम्म पनि ती ६० साना राज्यभित्र नेपाल भन्ने राज्य कुनै थिएन। बोलाइ र सम्बोधनको रूपमा काठमाडौं उपत्यकालाई नेपाल भनिन्थ्यो। तर त्यहाँ पनि भक्तपुर, ललितपुर र कान्तिपुर नामका राज्य थिए। गोर्खा, लमजुङ, कान्तिपुर, मकवानपुर, जुम्ला आदि सबै साना राज्य नेपाल नै थिए। तिनै छरिएका टुक्रे नेपाललाई एउटै माला बनाई बृहत् नेपाल अर्थात् ‘ग्रेटर नेपाल’ बनाउने काम गोर्खा राजवंशीय द्रव्य शाहका सन्तानले नै सुरु गरी आधुनिक नेपाल निर्माणमा नेतृत्व लिएकै हुन्। सो काममा सम्पूर्ण नेपालीको उत्तिकै सहयोग र साझेदारी छ।

तर सबैको इतिहास लेखिन नसक्नु राष्ट्रको कमजोरी हो भने इतिहास लेखकहरूले गरेको अल्छीपन भन्न सकिन्छ। अर्काले लेखेका इतिहासलाई कन्याई–कोट्टयाई गरेर मात्र हामी धेरैजसो विद्वान् बनेका छौं। गाउँघर भीर–पहरामा डुलेर इतिहास खोज्ने काममा हामीहरूको तिघ्रा चल्दैन। नेपाल ‘दुई ढुंगाबीचको तरुल’ भनेर पृथ्वीनारायणको दिव्योपदेशले नेपालले सधैं चीनजस्तो उत्तरी शक्ति र दक्षिणको भारत राज्यसँग सन्तुलित र व्यावहारिक सम्बन्ध कायम गर्नुपर्दा भन्ने उपदेश दिएको छ। आज पनि हामी चीन र भारतबीच ‘समदुरी’को कूटनीतिक धार समाइरहेका छौं।

कौटिल्यको साम, दाम, दण्ड र भेदको नीतिलाई कुशलतापूर्वक पृथ्वीनारायण शाहद्वारा पहल गरिएको थियो। समयचक्रअनुसार ती सबै नीतिको संयुक्त प्रयास पनि एकैचोटी राज्यमाथि गरिएको पनि पाइन्छ। जस्तो मल्ल राज्य तथा चौबिसे राज्यमध्ये कतिसँग त्यस्तो प्रयास भएको थियो ? शाहद्वारा पूर्वका राज्यहरूमाथि विजय प्राप्त गर्ने क्रममा पश्चिमका चौबिसे र बाइसे राज्यहरूसँग शान्ति–सम्झौता–सन्धि–आर्थिक प्रलोभन आदि नीति अवलम्बन गरिएको थियो।

अर्कोतिर मल्ल राज्यहरूलाई जित्ने उद्देश्यले दक्षिणबाट अंग्रेज शासक र उत्तरतिरबाट तिब्बती शक्तिले कुनै बाधा विरोध वा हस्तक्षेप नगरोस् भनेर उनीहरूलाई सम्झौताद्वारा तटस्थ गरिएको थियो। त्यस्तै, काठमाडौं हान्दा पश्चिमका शक्तिशाली राज्यहरू लमजुङ र तनहुँलाई पनि निष्क्रिय पारिएको थियो। त्यसैगरी, उपत्यकाका तीन मल्ल राज्यलाई विजय गर्ने नीतिअनुसार तीनै राज्यहरूलाई साम, दाम, दण्ड र भेदद्वारा परस्पर विरोधी र कमजोर बनाई उनीहरूलाई क्रमश :  परास्त गरिएको थियो।

आधुनिक नेपालको इतिहासमा बडामहाराजा पृथ्वीनारायण शाह तथा प्रधानमन्त्री जंगबहादुर कुँवर राणाको व्यक्तित्वलाई सिपाहीको आँखाबाट विशिष्ट स्थान राख्छ। शाहको करिब ३१ वर्षको राज्य कालमा १८०० देखि १८२५ सम्म नेपाल एकीकरणको युद्धभूमिमै थिए। युद्ध सञ्चालन गर्न १५ वर्ष जति दहचोक–इन्द्रदहमै मुकाम गरे। थाहा भएका मात्र करिब १० युद्धको नेतृत्व गरी आफैं लडे। १८२६ सालमा काठमाडौं उपत्यका एकीकरण गरेपछि सुनकोशी पूर्व टिस्टा–मोरङका युद्धहरूको खटनपटन र व्यवस्थामै व्यस्त रहे। ३१ सालमा स्वर्गे भए।

लेखक पूर्वसैनिक भएको नाताले सानातिना युद्ध व्यवस्थापन गर्न पनि ठूला समस्या आइपर्छन् र नसोचेका समाधानका उपायहरूको जोहो गर्नुपर्छ। ती राजाले उनको ३० एकीकरणको ३० वर्षे चटारोमा कति मोजमस्ती गरे होलान् ? वा कति दु : ख पाए होलान् ? कति त्याग गरे होलान् ? कति जंगलको बास भयो होला ? यस पक्षमा सैनिक इतिहासको मर्म बुझ्नेले मात्र केलाउँलान्। तरबार–बन्दुक नछोएका तर कलमबाट गोली ठोक्ने विद्वान् भनाउँदाहरूले राजा पृथ्वीनारायणलाई शोषक–सामन्तमात्र बनाएको देख्दा चित्त दुख्नेमात्र होइन, मन नै रोएको छ। बच्चा पाउने पीडा आमालाई मात्र थाहा हुन्छ, सुँडिनीलाई होइन।

अर्का वीर पुरुष हुन्, जंगबहादुर। जसले १९११ सालमा आफैं अगुवाभै अन्तिम नेपाल–भोटको विजय युद्ध लडे भने १९१४ सालमा भारतीय सिपाही विद्रोह नियन्त्रण गर्न नेतृत्व दिए। लेखकले एकीकरण युद्ध, नेपाल–मुगल युद्ध, नेपाल–सिक्किम युद्ध, नेपाल–शिख युद्ध, नेपाल–अंग्रेज युद्ध, नेपाल–तिब्बत युद्धस्थलहरूको स्थलगत भ्रमण गरेको आधारमा अनि उसबखत डोको–नाम्लो थाप्लोमा भारी बोकाएर युद्ध सामग्री जुटाउनुपर्ने, खुट्टाले हिँडेर बृहत् नेपाल विजय गर्ने, लुगा र रासनको हालतको कल्पना गर्दा नतमस्तक बन्नु परेको छ। जतिबेलाको गरिब राज्य गोर्खा र अल्लारे ठिटो राजा पृथ्वीनारायणको अठोट र साहस प्रशंसनीय छ।

पृथ्वीनारायणका बारेमा डोकाका डोका कुरा काटेका छौं तर देशका लागि एक चिम्टी काम गर्न सकेनौं। वास्तवमा उनी राजामात्र नभै दुि : खया सिपाही हुन्। थाहा भएका मात्र निम्न घटनाहरूले उनी युु्द्धभूमिका सिपाही थिए भन्ने प्रमाण पुग्छ– १८०० सालमा उनले कान्तिपुर राज्यको नुवाकोटमाथि असफल हमला गरे। असफल हुनुका कारणलाई विश्लेषण गरी उनी स्वयं हिन्दुस्तान–बनारस पुगी हातहतियार, गोली, बारुद बनाउने कालीगड अनि हतियार र गोलीसमेत खरिद गरी ल्याए। बलियो सैनिक संगठन बनाए। उनका पिता राजा नरभूपाल शाहको पालामा र उनकै पालामा भएको नुवाकोट माथिको दुवै असफल हमलाहरू विशेषगरी गोर्खाका पन्त बाह्मण तथा मगर सैनिक भारदारबीच भएका मनमुटाव नै थियो।

कुरा बुझेर अब हुने नुवाकोट माथिको हमला आफू र भाइहरूकै नेतृत्वमा गर्ने निर्णय गरे उनले उतिबेला। सोहीअनुसार त्रिशूली खोलाको शुभघाटबाट खोला तरेर नुवाकोट माथि तीन दिशाबाट अर्थात् मल्टिडाइरेक्सनल एट्याक गर्ने योजनाअनुसार एक दिशाबाट राजा स्वयं र अर्को दुई दिशाबाट उनको सहोदर दुईजना भाइले नेतृत्व लिए। यो हमलामा वंशका इतिहास लेख्ने र पैसा लिएर इतिहास लेख्ने विद्वान्हरूले युद्धको नेतृत्व पाँडे–थापा–बस्न्यातहरूले गरेका बारेमा विविधता पाइन्छ। ती सरासर गल्ती छन्। सेम्टेम्बर २७, १७४४ को बिहानै नुवाकोटमाथि हमला गरी राजा पृथ्वीनारायणकै नेतृत्वमा विजय ध्वजा फराए।

यस विजयलाई विफल पार्न कान्तिपुरे फौज नुवाकोट किल्लाबाट करिब तीन कोस दक्षिणमा रहेको बेलकोटगढीमा थुप्रेको र नुवाकोटमा काउन्टर अट्याक अर्थात् प्रत्याक्रमण गर्ने तयारी गर्दै गरेको थाहा हुन्छ। जुन थाहा पाउनासाथ करिब दुई, तीन दिनभित्रै उनले बेलकोटगढी माथि हमला गर्ने निर्णय सुनाए। यो उनको एकल निर्णय थियो। भाइ भारदार मानेनन्। मुख्यमन्त्री कालु पाँडेले त पटक्कै मानेनन्। कसैको कुरा नसुनी फौज मार्च गरे। भारदार–मन्त्री पछि लागे। काजी जयन्त राना नेतृत्वको फौजले गोर्खालीलाई ठूलो क्षति पुर्‍याए। राजा पृथ्वीनारायणमाथि ढुंगामुढा र गोली बर्सिन थाल्यो। उनका वरिपरि झन्डै ७० जना मरे। मुख्यमन्त्री पाँडेले युद्धबाट भागौंभन्दा राजा पृथ्वीनारायणले उनलाई झपारी एक्लै अघि बढी लड्दा फौजले छाडेन। अन्तत :  उनकै साहस र वीरतामा बेलकोटगढी कब्जा भयो। वास्तवमा उनले ठूलो दुर्घटना छलेका थिए। यो विजय फलामको मुटु भएका वीर सिपाही पृथ्वीनारायणकै कारणले सम्भव रह्यो।

दहचोक विजय भएपछि उनले करिब १५ वर्ष यहाँ मुकाम गरी युद्ध मुख्यालय र खलंगा चलाए। इन्द्रदहको पानी मुहान नजिक ब्यारेक खडा गरी उनले यहाँबाट नै मकवानपुर राज्य, काभ्रे इलाका, कीर्तिपुर, नगरकोट, कान्तिपुर विजय गरे। १८१९ सालमा मकवानपुरमा भएको मुगल सम्राट मिर कासिम नेतृत्वको फौज र १८२४ मा ब्रिटिस सम्राट् क्याप्टेन जर्ज किनलक नेतृत्वको फौज विरुद्धका अन्तर्राष्ट्रिय युद्धहरू यहीबाट सञ्चालन गरे। यो स्थान ज्योतिषीहरूका अनुसार लक्षणको थियो। यहाँबाट सञ्चालन गरेका सबै युद्ध अभियान सफल बने। त्यसैले उनलाई यसै स्थानमा दरबार बनाई नेपालको राजधानी सार्ने इच्छा थियो। असामायिक निधनले त्यो काम उनले पूरा गर्न पाएनन्।

इन्द्रदह इलाकामा उनले बनाएका ब्यारेक गढी र खलंगाका भग्नावशेष अहिले पनि थुप्रै भेटिन्छन्। उनैले स्थापना गरेको विन्ध्यावासिनीको मन्दिर अहिले पनि छ। यसको नजिक उनको सानो छाप्रे दरबार थियो। मकवानपुर विजय गरेको केही महिनापश्चात् नै मुगल फौजले पहिला मकवानपुर विजय गरी अनि काठमाडौं उपत्यका छिर्ने उद्देश्य लिएका थिए। करिब दुई बाहिनी फौज मकवानपुर हमला गर्न बढ्दै गरेको खबर पाउनासाथ उनले तुरुन्तै मकवानपुरमा थप फौज पठाए। यसरी, दुश्मनविरुद्ध प्रत्याक्रमण (स्पोइलिङ एन्ड काउन्टर अट्याक)को योजना बनाए। उनी फौजसँगै लड्न मकवानपुर हिँडे। तर भाइभारदारले उनको सुरक्षाको कारण देखाई उनलाई मकवानपुरको ठिंगनभन्दा अगाडि जान दिएनन्।

ठिंगनमै उनले युद्ध मुख्यालय (ट्याकिटकल हेड क्वार्टर) खडा गरी आफ्ना भाइहरू तथा सेनापतिलाई आदेश दिए। जनवरी २०, १७६३ मा गोर्खाली सेनाले मुगल सेनामाथि विजय प्राप्त गर्‍यो। महान् सिपाही पृथ्वीनारायणलाई यस युद्धबाट करिब पाँच सय राइफल, गोली, बारुद र दुई नाल तोप पनि प्राप्त भयो। नेपालीको आधुनिक इतिहासमा नेपालले जितेको यो पहिलो अन्तर्राष्ट्रिय युद्ध थियो। नेपाल एकीकरणको सिलसिलामा मकवानपुर राज्यअन्तर्गतको तिमालकोट काभ्रेमा ठूलो फौज थिए। यहाँ स्थानीय प्रशासकमा तामाङ जातका रेन्जेन दोर्जे थिए। झन्डै ३१ दिनको युद्धपछि सेन फौज हारेर भागे र वर्तमान सिन्धुली गढीमा बसे। त्यहाँ पुग्दा भने राजा पृथ्वीनारायण साथमै थिए। पटकपटक सेन फौजसँग युद्ध भयो त्यहाँ। अन्तत :  पृथ्वीनारायणकै नेतृत्वमा अक्टोबर २, १७६२ मा सिन्धुलीमा विजय युद्ध भयो। केही फौज त्यही राखी पृथ्वीनारायण फौजसहित हरिहरपुर हरिहरपुर दरबार (हाल गढी भनिन्छ) तर्फ लागे।

त्यसपछि करिब २० घण्टा जति हिँडेपछि गोर्खाली फौज हरिहरपुर दरबार पुग्यो। मकवानपुर दरबारको युद्धमा पराजयभै भागेका राजा दिग्बन्धन सेन पृथ्वीनारायणका जेठान त्यही बसेका थिए। समयको बर्बाद नगरिकनै पृथ्वीनारायणले यहाँ हमला गर्ने निर्देशन दिए। ठूलो युद्ध भयो। अन्तत : , अक्टोबर २, १७६२ को दिन यो दरबार पनि विजय भयो भने राजा दिग्बन्धन सेन भागे। वास्तवमा, पृथ्वीनारायण शाह कहिल्यै नथाक्ने दु : खिया सिपाही थिए। जसको विश्वास फलामजस्तो दह्रो थियो। एकपछि सफलता मिलेपछि पृथ्वीनारायण अब काठमाडौं उपत्यकाभित्र छिर्न थाले। पर्खालले घेरिएको र चुट्टीमा रहेको कीर्तिपुर सहरलाई कब्जा गरी त्यहाँ सैन्य शिविर सार्ने योजना गरे। यहाँ हमला गर्ने दिनको घोषणा आफैंले गरे।

त्यो दिनमा हमला गर्नुहुन्न भनी मूलकाजी कालु पाँडेले भने। उनले मान्दै मानेनन्। ज्योतिषीको साइतमा अशुभ भन्दै कालु पाँडे लडाइँमा जान राजी थिएनन्। पृथ्वीनारायणले ढिपी गरे। भाइभारदार र फौज राजी भए। तर कालु पाँडेले युद्ध जित्न त परै जाओस् 
‘म मर्छु होला’ भन्ने यकिनगरी ‘म मरेपछि सबलाई गोर्खा देखिने मेरो डाँडो दहचोकमा जलाउनू’ भनी आफन्तलाई कान फुके। युद्धमा पृथ्वीनारायण आदेश दिँदै बढे। सुरुमा फौजले सफलता पाएता पनि कान्तिपुर, पाटन र भक्तपुरको संयुक्त र विशाल फौजको अगाडि गोर्खाली फौजको केही लागेन। दुर्भाग्यवश कालु पाँडे मारिए। उता पृथ्वीनारायण पनि झन्डै काटिए। तैपनि उनले हरेस नखाई फौजलाई दहचोक फर्काए। उनका भारदारलाई भने मर्छु भन्ने डर थियो। तर उनलाई मर्छु भन्ने कायरता कहिलै पलाएन। उनले जहिले पनि अग्रपंक्तिमै युद्ध नेतृत्व गरे।

अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय युद्ध उनैले सञ्चालन गरे। कान्तिपुर राजा जयप्रकाश मल्लको निमन्त्रणामा भारतमा रहेको ब्रिटिस सरकारको कप्तान जर्ज किनलकको नेतृत्वमा एक बाहिनी फौज गोर्खा फौजलाई नष्ट गर्ने उद्देश्यले कान्तिपुर आउँदै थियो। पृथ्वीनारायणले उक्त फौज नपठाउन कूटनैतिक पहल पनि गरे। तर अंग्रेज आउने नै भयो। अब उनले दहचोक इन्द्रदहबाट थप फौज हरिहरपुर दरबार (गढी) र सिन्धुलीतर्फ पठाए। अंग्रेज फौज कि बागमती खोलैखोला हरिहरपुर हुँदै कि सिन्धुली हुँदै कान्तिपुर पुग्नेवाला थियो। अन्तत :  सिन्धुलीमाढी, ढुंगेभन्ज्याङ, पौवागढी, सिन्धुलीगढी, खुर्कोट हुँदै पनौती पुग्ने भए। यो खबर इन्द्रदह खलंगामै थाहा पाएपछि उनले अंग्रेजलाई प्रतिहमला गर्ने योजना बनाई थप फौजका साथ आफैं सिन्धुलीडाँडाको खनियाँखर्क पुगी युद्ध मुख्यालय खडा गरे।

सबैको इतिहास लेखिन नसक्नु राष्ट्रको कमजोरी हो। इतिहास लेखकहरूले गरेको अल्छीपन पनि जिम्मेवार होला। अर्काले लेखेका इतिहासलाई कन्याई–कोट्टयाई गरेर मात्र हामी धेरैजसो विद्वान् बनेका छौं। गाउँघर भीर–पहरामा डुलेर इतिहास खोज्ने काममा हामीहरूको तिघ्रा चल्दैन।

सिन्धुली बजारको कमला नदी, सिन्धुली माडी–ग्वाङखोला–ढुंगे भन्ज्याङ–पौवा गढी–सिन्धुली गढीमा फौज तैनाती गराई थुप्रै धराप (मल्टिपल एम्बुस) थापे। उनको योजनाअनुसार अंग्रेज फौज विभिन्न धरापमा परे।  सात सयभन्दा बढी मरे। चार सय नालभन्दा बढी हतियार गोलीगठ्ठा हात पारे। यो पहिलो नेपाल–अंग्रेज युद्ध थियो। विजयपछि उनले ढुंग्रे भन्ज्याङमा रहेको भद्रकाली मन्दिरमा दर्शन गरी गुठी–पैसा दानसमेत गरेका थिए। यो युद्धले नेपालीलाई युरोपमै बहादुर भनी चिनायो। वास्तवमा पृथ्वीनारायणकै साहस र दृढताले यो युद्ध सफल भएको थियो। 

छुटाउनै नहुने कुरो भनेको पृथ्वीनारायणले कीर्तिपुरेको नाक काटे भनी उनको जन्मजयन्तीको दिन त्यही नाकको थुप्रोमा वर्षंैपिच्छे थेसिस लेख्ने विद्वान्हरूलाई लेखकको आग्रह के छ भने त्यो समयमा मुगल साम्राज्य, चीन, युरोप, मंगोलियालगायतमा किन त्यस्ता सजायको प्रचलन थियो ? अनि काठमाडौं उपत्यकामा मल्ल राजाहरूले सैनिकलाई कस्ता सजाय दिन्थे ? नेपाल–अंग्रेज युद्ध १८७३ साल मलाउमा नाक कान काटिएका सिपाही अन्तिम नेपाल–भोट युद्ध १९११ सालमा नाक कान काटिएका सिपाहीका दस्तावेजहरू लेखकसँग सुरक्षित छन्। विगतको १० वर्षे आतंककारी युद्धमा नेपालभित्रै कति शिक्षक, आमनागरिकको गर्दन–छाला–शिर काटिए ? त्यस बर्बरतालाई राजनैतिक रंग दिने केही ठेकेदार विद्वान्ले पृथ्वीनारायणलाई मात्र खेदो खनेको देख्दा प्राज्ञिक लेखकप्रति दया लाग्छ।

मुगल र अंग्रेज फौजलाई हराई उच्च मनोबल भएका गोर्खाली फौजले अब काठमाडौं उपत्यका छिरेर कान्तिपुर हमला गर्ने योजना बनायो। यतिखेरसम्म कीर्तिपुर गोर्खालीले कब्जा गरिसकेका थिए। थोरै फौज कीर्तिपुरमा र धेरै फौज इन्द्र दह–दह चोकमा नै थिए। दुवैतिरको फौज एकीकृत गरी कान्तिपुर माथि टुँडिखेल–महाँकाल–नरदेवी र भीमसेनस्थान–परोपकारनेर) गरी तीनतिरबाट एकपटक (मल्टी डाइरेक्सनल) हमला गर्ने योजना बन्यो। भीमेसनस्थान मोहडाको मुख्य हमलाको नेतृत्व पृथ्वीनारायण आफैंले गरे। अन्य मोहोडामा उनका भाइहरू थिए। १८२५ सालको इन्द्रजात्राको दिन कान्तिपुर राज्य गोर्खामा विलप भयो। तर राजा पृथ्वीनारायणले उनले विजय गरेको सबै भूभागलाई नेपाल भने। यो उनको नेपाल एकीकरण गर्ने मनले गर्दा नै हो।

अन्यथा, आज नेपालको सट्टा देशको नाम गोर्खा हुन सक्ने विकल्पमा कुनै शंका छैन। कान्तिपुरपछिका युद्धहरूमा पृथ्वीनारायण स्वयं उपस्थित रहेको प्रमाण लेखकसँग छैन। पाठक वर्गले थपिदिनुहुनेछ भन्ने आश गरेको छु। त्यसपछि, पाटन र १८२६ सालमा भक्तपुरको विजय गरे। त्यसपछि सुनकोशी पूर्वका टिष्टा– मोरङका युद्धहरूमा उनलाई फौज खटाउन– युद्ध सामग्री जुटाउन धौधौ पर्‍यो। सिक्किमसँग युद्ध गर्नुपर्‍यो चैनपुर, संखुवासभामा। बाँकी पाँच वर्षमा उनले नेपालको सिमा टिष्टा पुर्‍याए। चौबिसे राज्यमाथि असफल हमला सञ्चालन गराए। दु : खैदु : खमा १८३१ माघ १ गते उनले वीरगति पाए। यहाँनेर इतिहासकार विद्वान्हरूले मनन् गर्नैपर्छ कि उनी राजा थिए कि युद्धभूमिका सिपाही ?

अन्तमा, बडामहाराज पृथ्वीनारायण शाह पक्कै पनि युद्धभूमिका सिपाही थिए। त्यसपछि मात्र राजा थिए। उनी आधुनिक नेपालका निर्माता र नेपालको राष्ट्रिय एकताका प्रतीक हुन्। उनको जन्म जयन्तीमा नमन र सैनिक सलामी अर्पण गर्दछु।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.