जेन–जी आन्दोलनको शक्तिशाली परकम्प

टिप्पणी

जेन–जी आन्दोलनको शक्तिशाली परकम्प

काठमाडौं : विशेषतः २०७२ सालमा संविधान निर्माण गरेयता नेपाली कांग्रेसभित्र ठूलो उकुस–मुकुस थियो। त्यसैले पनि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनलाई केही सहभागीले लामो समयदेखिको दासत्व, थिचोमिचो र अहंकारविरुद्धको ‘मुक्ति आन्दोलन’ का रूपमा समेत व्याख्या गरे। 

पार्टी सञ्चालनमा चरम बेथिति थियो। पार्टीको विधान र नियमावली सबैलाई लत्याएर केही मुठीभरका नेताले आफू अनुकूल पार्टी सञ्चालन र महत्वपूर्ण निर्णय गरिरहे। विधान र पद्धतिमार्फत होइन्, नेताको बोलीमा पार्टी चल्यो। पार्टीमा केन्द्रदेखि गाउँसम्म बिभिन्न गुट र उपगुटमा विभाजित भयो। जसका कारण पार्टीको संगठनात्मक क्षमतमा बिस्तारै हार्‍स आयो। सरकारदेखि पार्टी र अन्य ठाउँमा त्यही गुटको आधारमा भागबन्डा भयो। 

जो पार्टीमा लामो समयदेखि खटिएका र इमान्दार कार्यकर्ताहरूले अवसर पाउने त परको कुरा उनीहरूलाई योजनाबद्ध रूपमा पाखा पारियो, केन्द्रदेखि टोलसम्म। त्यसैले विशेष महाधिवेशनमा सहभागीमध्ये अधिकांश हिजो पाखा पारिएका र पार्टीमा दुःख गरेकाहरू देखिन्छन्। पटक–पटक फाइदा लिएका र शक्तिशालीहरू कम देखिन्छन्।  

विगत १० वर्षयता तमाम कांग्रेसका कार्यकर्ताहरूको भावनाविपरीत कहिले माओवादी त कहिले अन्य पार्टीसँग चुनावी एकता भयो। कार्यकर्ताले सधैं भने–हामी एउटा निर्वाचन हार्न तयार छौं तर अन्य पार्टीको चुनाव चिह्नमा भोट हाल्न चाहँदैनौं। कांग्रेसले सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा कहिले पनि आफ्नो स्पष्ट र ठोस अडान अगाडि सार्न सकेन्। एजेन्डा र विचारको हिसाबले पार्टी अन्य राजनीतिक दलहरूको पिछलग्गु भयो। विशेषतः पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको धेरैको विश्लेषण छ।   

पछिल्लो एक दशकमा कुनै पनि राष्ट्रिय महत्वका विषयमा पार्टीको केन्द्रीय समिति र अन्य कमिटीमा छलफल भएनन्। यसका लागि धेरै पर जानुपर्दैन। केही दिन अगाडि मात्र पार्टीभित्र विशेष महाधिवेशनको चर्चा चलिरहेको थियो। 

कांग्रेसले राष्ट्रियसभाको निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गर्‍यो। यस विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन र कुनै पनि निकायमा छलफल नै भएन। यस अगाडि जब कांग्रेस र एमालेको बीचमा संयुक्त सरकार बनाउने सहमति भयो। यस विषयमा पार्टीमा कुनै पनि छलफल भएन। पार्टीकै केन्द्रीय सदस्यहरूले सञ्चार माध्यममार्फत सहमति भएको थाहा पाए। माघ ६ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता सुरु हुँदैछ, त्यसका लागि कुनै औपचारिक छलफल थालिएको छैन। यति मात्र होइन्, विगतमा विधान मिचिएका कार्यान्वयन नभएका दर्जनौं उदाहरणहरू छन्। महाधिवेशन भएको केही महिनामा नै गठन गर्नुपर्ने विभाग पाँच वर्षसम्मसमेत गठन नभएका धेरै उदाहरणहरू छन्। 

यस अवधिमा पार्टीको महाधिवेशन समयमा गर्ने पहल भएन। पार्टी नै अवैध हुने अन्तिम बिन्दुमा मात्र अधिवेशनहरू भए। पछिल्लोपटक ४१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेमा ३ महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी प्रावधानसमेत लत्याउने काम भयो। विशेषतः केही शीर्ष नेताको बलमिच्याइको आधारमा त्यो मागलाई किनारा लगाउने काम भयो। 

यसको नतिजा आइतबारबाट सुुरु भएको विशेष महाधिवेशन हो। विगतमा पटक–पटक विधान मिचिएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीमा विधि स्थापित गर्ने कडीको रूपमा विशेष महाधिवेशनलाई प्रयोग गरे। उनीहरूले यही बिन्दुबाट विधि मास्ने कांग्रेसलाई अब विधि मान्ने कांग्रेसमा रूपान्तरण गर्ने घोषणा गरेका छन्। त्यसमा समर्थन जनाउन अपेक्षा गरेभन्दा धेरै नेता र कार्यकर्ता काठमाडौंमा केन्द्रित भए। लामो समयदेखि विधि र विधान कार्यान्वयन नभएर वाक्क भएका नेता र कार्यकर्ताले त्यसलाई कार्यान्वयन गर्ने उपयुक्त समयको रूपमा लिए। 

पछिल्लो समयमा पार्टीभित्र गुट यसरी मौलायो कि पार्टी र सरकारको शक्ति विभाजन त्यही गुटको आधारमा हुन थाल्यो। सरकार र पार्टीमा कुनै पद र नियुक्ति पाउनका लागि कुनै गुटको फेरो समात्नुपर्ने भयो। केन्द्रमा मात्र होइन्, ग्रामीण भेगमा समेत त्यही अवस्था देखियो। गुटहरूको द्वन्द्व र टकराबले केन्द्रमा मात्र होइन्, वडा तहमा समेत पार्टी नचल्ने अवस्था देखियो। जसका कारण लामो समयदेखि पार्टीमा खटेका इमान्दार नेता र कार्यकर्ता पाखा लाग्दै गए। 

पार्टीमा पैसा भएका ठेकेदार र तस्करहरूले टिकट र पद पाउन थाले। गुटको नेतृत्व गर्ने कुनै अमुक नेतालाई  रकम बुझाएपछि उसले चुनाव टिकट वा पार्टीको केन्द्रीय सदस्य बन्ने पाउने अवस्था बन्यो। हुन त अरू पार्टीमा पनि यही समस्या नदेखिएको होइन, कांग्रेसले त्यो रोक्न सकेन, जसले तल्लो तहका कार्यकर्ताहरूमा विस्तारै निराशा बढ्दै गयो र पार्टी कमजोर भयो। अन्य दलको वैशाखी नटेकी चुनावै जित्न नसक्ने अवस्थाले धेरैलाई निराश बनायो। 

१० वर्षयता पार्टीले जसरी अन्य पार्टीसँग चुनावी गठबन्धन गर्ने निर्णय माथिबाट थोपर्ने काम ग¥यो। त्यसबाट स्थानीय तहका कार्यकर्ता पटक्कै खुसी थिएनन्। विशेषगरी द्वन्द्वको आफ्नै सयौं नेता तथा कार्यकताको हत्या गर्ने माओवादीसँग पटक–पटक चुनावी एकता भएको विषयमा कार्यकर्ता रुष्ट थिए। नेतृत्वले यसलाई हल्का रूपमा लिएको थियो तर अवस्था निकै गम्भीर थियो। 

आइतबार नै यस पंक्तिकारसँगको कुराकानीमा धेरै कांग्रेसका कार्यकर्ताले यस नीतिले आफूहरूलाई निराश बनाएको र आफूहरू त्यसको पक्षमा नरहेको बताए। त्यसैगरी संविधान निर्माण संघीयता, आर्थिक नीति र परराष्ट्र मामिलाका धेरै विषयमा कांग्रेसले नयाँ पार्टीको नीति बोकेर हिँडेकोमा धेरै नेता तथा कार्यकर्ता असन्तुष्ट थिए।

यति धेरै असन्तुष्टिका बाबजुद कांग्रेसका आम नेता र कार्यकर्ताबीचमा केही गर्न सक्ने साहस र वातावरण थिए। युवा नेता गगनकुमार थापा,  गुरु घिमिरे, विश्व प्रकाश शर्माको पार्टीमा कमजोर पकड रहेका कारण उनीहरूले खासै केही गर्न सकिरहेका थिएनन्। गत भदौ २३ र २४ को जेन–जी आन्दोलनले समग्र नेपाली समाजमा नै आमूल परिवर्तन ल्यायो। त्यतिबेला योजनाबद्ध रूपमा भएका हिंसा र हत्याको छानबिन गर्न आवश्यक छ, तर त्यसले नेपाली समाज र राजनीतिक दलहरूलाई हल्लाएको यथार्थलाई कांग्रेस नेतृत्वले बुझेन। 

 केही आवाज उठे। तिनै  थापा र शर्माले भदौ २६ गते विज्ञप्ति निकाले र जेन–जीका भावनाहरूलाई बुझ्ने र त्यहीअनुसार पार्टीलाई अगाडि लैजाने बाचा गरे। विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर हुँदा ५४ प्रतिशतले यसको पक्षमा हस्ताक्षर गरे। कारण थियो– भदौ २३ र २४ घटनामा सरकारमा रहेको नाताले कांग्रेस पनि त्यतिकै जिम्मेवार थियो।

एकातिर जेन–जी आन्दोलनले नेतृत्व परिवर्तन खोजेको थियो भने अर्काेतिर नयाँ ढंगले नगई देशभरका नेता तथा कार्यकर्ता पार्टीको पक्षमा कुरा गर्न र भोट माग्न सक्ने अवस्थामा थिएनन्। त्यसैले उनीहरू विशेषतः महाधिवेशनको पक्षमा उभिए। किनभने विशेषतः महाधिवेशनमार्फत नयाँ नीति र नेतृत्वमार्फत कांग्रेसका तमाम नेता र कार्यकर्ता गाउँमा गतिविधि सञ्चालन गर्ने र चुनावको तयारी गर्ने अवस्थामा नै थिएनन्। त्यसैले गगन र विश्वले जेन–जी आन्दोलनपछिको सामाजिक मनोविज्ञानलाई राम्रोसँग उपयोग गरेको देखियो।  

समाचारहरूमा आएअनुसार विशेष महाधिवेशनमा आकलन गरेभन्दा अधिक प्रतिनिधिले पक्षमा हस्ताक्षर गराएका छन्। त्यसैले काठमाडौंमा भइरहेको कांग्रेसको विशेष महाधिवेशन भदौ २३ र २४ को जेन–जी आन्दोलनको परकम्पको रूपमा लिन सकिन्छ। किनकी जेन–जी आन्दोलन नभएको भए, कांग्रेसमा यस खालको विद्रोहको सम्भावना एकदमै कम थियो। विशेष महाधिवेशनमा सहभागीहरूको मुड हेर्दा अबको कांग्रेस कस्तो हुने त्यसको केही झल्को दिन्छ। 

उनीहरू चाहन्छन्, यसपछि पार्टी विधि र विधानअनुसार सञ्चालन होस न कि केही व्यक्तिको क्लबको रूपमा। अर्काे, जेन–जी आन्दोलनको प्रभाव नै हो, तमाम नेता र कार्यकर्ताले अब नयाँ मात्र होइन्, युवा नेतृत्व चाहेका छन् र त्यसको केन्द्रमा गगन र विश्व प्रकाश हुन्। कार्यकर्ताको भावना हेर्दा भन्न सकिन्छ, उनीहरूले विधि र विधानअनुसार चल्ने युवाले नेतृत्व गरेको पार्टी चाहन्छन्। किनभने जेन–जी आन्दोलनपछि नेपाली समाजमा नयाँ र युवाको जुन बहस चलेको छ, त्योभन्दा पृथक ढंगले अगाडि बढ्न नसकिने तमाम कार्यकर्ताको भाव देखिन्छ। त्यसैले अबको कांग्रेस जेन–जी आन्दोलनको अपनत्व लिएको, युवाले नेतृत्व गरेको र विधिले चल्ने कांग्रेस बनाउने हुटहुटी कार्यकर्तामा देखिन्छ। 

 यो उत्साहका बीचमा एउटा ठूलो संशय सबैमा देखिन्छ– हामीले इतिहासमा नै एउटा साहसिक कदम त लियौं, तर निर्वाचनको मुखमा पार्टी विभाजन त हुने होइन् ?    त्यसैले गगन र विश्व प्रकाशको ठूलो चुनौती छ– पार्टी विभाजन नगरी यो महाधिवेशनलाई कसरी सुरक्षित अवतरण गर्ने ?    यसलाई आश्वस्त पार्ने जिम्मेवारी पनि मूलतः महामन्त्रीद्वयकै हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.