काठमाडौं : सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेस दुई चिरामा विभाजित भएपछि त्यसले आगामी चुनावी तालमेलमा समेत असर गर्ने देखिएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशन आयोजना गर्ने गगन थापा समूहलाई आधिकारिक कांग्रेसको मान्यता दिएको छ। कांग्रेस विभाजनको असर चुनावी तालमेलमा मात्र होइन्, निर्वाचनपछिको सत्तासमीकरणमा समेत पर्नेछ।
विशेषत २०७४ सालको निर्वाचनपछि तिनै तहमा प्रमुख दलहरूबीचमा चुनावी गठबन्धन तथा तालमेल भइरहेको छ। २०७४ सालमा एमाले र माओवादीबीच समीकरण हुँदा कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० गरी जम्मा ६३ सिट मात्र प्राप्त गरेको थियो, जुन प्रमुख प्रतिपक्षको हैसियत प्राप्त गर्नसमेत अपर्याप्त थियो।
२०७९ को निर्वाचनमा माओवादीसँग तालमेल गरेर कांग्रेसले आफूलाई सबैभन्दा ठूलो दलका रूपमा स्थापित ग¥यो तर एकपटक पनि सरकारको नेतृत्व भने गर्न पाएन। माओवादी र कांग्रेसको गठबन्धनकै बीचमा एमाले भने ८० सिटको हाराहारीमा दोस्रो प्रमुख दल बन्न सफल भयो। तर, ३२ सिट मात्र भएको नेकपा माओवादी सत्तासमीकरणमा जहिले पनि निर्णायक बन्यो। विगतको दुई निर्वाचनमा क्रमशः एमाले र कांग्रेससँग चुनावी गठबन्धन गरेर माओवादी तेस्रो दलका रूपमा रहिरहन सफल भयो।
कांग्रेसमा विभाजन आउनुभन्दा अगाडि एक परिदृश्य थियो। पार्टीका युवा नेताहरूले नमाने पनि कांग्रेसको संस्थापन पक्ष एमालेसँग घोषित रूपमा चुनावी गठबन्धन गरेको घोषणा नगर्ने तर अन्तिममा चुनावी तालमेल गर्ने पक्षमा थियो। तर, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणपछि गठबन्धनको सवालमा केही फेरबदलको संकेत देखिएको थियो। दाहालको भारत भ्रमणपछि कांग्रेस र माओवादीबीच चुनावी गठबन्धनको वार्ता सुरु भएको थियो। अब यो वार्ता तत्काललाई अगाडि बढ्ने देखिँदैन।
तर, देउवा र ओलीबीच कांग्रेस र एमालेलाई किनारा लगाउन ‘अदृश्य शक्ति’ लागेका कारण त्यसलाई मिलेर सामना गर्ने र चुनावी गठबन्धन गर्ने सहमति भएको थियो। त्यसैले यतिबेला कांग्रेस विभाजनबाट सबैभन्दा बढी चिन्तित एमाले देखिन्छ। एमाले र देउवा दुवैले कांग्रेसको विभाजनलाई सहज र नियमित प्रक्रियाका रूपमा मात्र बुझेका छैनन्।
ओलीले बिहीबार एक सार्वजनिक कार्यक्रममा भने, ‘कांग्रेस पार्टीमा अहिले जे भएको छ, हाम्रो पार्टीमा त्यही गर्न खोजेका थिए।’ तर, कसले गर्न खोजिरहेको छ, उनले सार्वजनिक रूपमा भनेका छैनन्। कांग्रेस र एमालेभित्र विशेषतः नयाँ राजनीतिक दलहरूसँग प्रतिपस्र्धा गर्न दुई दल मिल्नुपर्ने मत बलियो हुँदै गएको थियो। कांग्रेसका नेताहरूको गगनकुमार थापा र विश्वप्रकाश शर्माप्रति निरन्तर विरोध थियो।
अब कांग्रेस विभाजनपछि सम्भावित चुनावी तालमेल कस्तो होला ? गगनकुमार थापाको समूहले आधिकारिक कांग्रेसको मान्यता पाएका कारण अब एमालेसँग चुनावी तालमेल कठिन भएको छ। किनकि हालै सम्पन्न विशेष महाधिवेशनमा गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनपूर्ण कुनै पनि चुनावी गठबन्धन नगर्ने प्रस्ताव पास गरेको छ। अन्य दलसँग चुनावी तालमेलको विषयमा नेपाली कांग्रेसमा लामो समयदेखि असन्तुष्टि रहँदै आएको थियो।
अब देउवा पक्ष निर्वाचनमा सहभागी हुन पाउँछ कि पाउँदैन्, आयोगले केही बोलेको छैन। तर, भाग लिन पाएको खण्डमा सो समूहले एमालेसँग तालमेल चाहिँ गर्नेछ। आयोगको निर्णयपछि देउवा समूहले अब आफूहरूले राजनीतिक, वैधानिक सबै खालको लडाइँ लड्ने घोषणा गरेको छ।
यद्यपि, विगतले के देखाउँछ भने तालमेलबिना पनि कांग्रेसका लागि निर्वाचन फलामको चिउरा बन्छ किनकि कांग्रेस केन्द्रेखि स्थानीय तहसम्म दुई चिरा भएको छ। तर, विगतको अनुभव र अहिलेको पार्टीको विभाजनले के देखाउँछ भने गठबन्धनबिना कांग्रेसले २०७४ सालको भन्दा बढी सिट ल्याउन कठिन छ। किनकि, एकातिर पार्टीमा माथिदेखि टोलसम्म विभाजन छ भने नयाँ राजनीतिक शक्तिहरू जबरजस्त रूपमा अगाडि बढिरहेका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले र कांग्रेसको गढ मानिएका क्षेत्रहरूमा समेत नयाँ राजनीतिक शक्तिले आफ्नो उपस्थिति बढाउँदै लगेका छन्। तर थापाको नेतृत्वको कांग्रेसले नयाँ शक्तिहरूलाई टक्कर दिनसक्ने विश्लेषण राजनीतिक वृत्तमा छ। साथै, हिजो विभिन्न कारणले कांग्रेस छोडेर अन्य राजनीतिक दलमा गएकहरू थापाको नेतृत्वपछि पार्टीमा फर्कने धेरैको अनुमान छ।
उता नयाँ खुलेका राजनीतिक दलहरूबीच धमाधम एकता भइरहेको छ। केही नयाँ राजनीतिक दल, व्यक्ति र संस्था राष्ट्रिय स्वतन्त्र पार्टीको छातामुनि गोलबद्ध भएका छन्। अन्य केही नयाँ राजनीतिक दलहरूले पनि आफ्नो प्रभाव बढाइरहेका छन्।
एकता नभए पनि नयाँ राजनीतिक दलहरूबीच चुनावी गठबन्धन हुने पक्का छ। यति मात्र होइन्, नयाँ राजनीतिक शक्तिहरूले प्रमुख राजनीतिक दलका प्रमुख नेतालाई निर्वाचन हराउने रणनीति बनाईसकेका छन्। झापामा केपी ओलीविरुद्ध बालेन लड्ने भएका छन् भने डडेलधुरामा देउवासँग सागर ढकाल लड्ने छन्। प्रचण्डले जहाँबाट उम्मेदवारी दिए पनि उनलाई हराउनका लागि सबै राजनीतिक दलहरू एक हुनेछन्। यसलाई सामना गर्ने एउटै बाटो प्रमुख दलहरूबीचको एकता भएको एमालेको बुझाइ छ।
तर, निर्वाचनको जटिलता कायम नै छ। किनकि, अब शेरबहादुर समूह निर्वाचन आयोगको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने छ। सो समूहले यस अगाडि नै सडक आन्दोलन गर्ने घोषणा गरिसकेको छ। त्यो पक्षले मुद्दाको किनारा नराख्दासम्म निर्वाचन सार्नका लागि माग गर्न सक्छ।
यस्तो अवस्थामा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कपमल दाहालले कस्तो पोजिसन लिन्छन्, त्यो निकै महत्वपूर्ण हुन्छ। माघ ६ गते अगाडि आयोगले त निर्णय दिन सक्ला तथा अदालती प्रक्रियाचाहिँ लामो हुन सक्छ। राजनीति सहज वातावरणमा अगाडि जानका लागि दुवै खेमा निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने हुन्छ।
यसैबीच फागुन २१ मै निर्वाचन हुने भयो भने ओलीले पुष्पकमल दाहालसँग सहकार्यको हात अगाडि बढाउन सक्छन्। पछिल्लोपटक माधवकुमार नेपाललगायत केही साना कम्युनिस्ट पार्टीलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेका छन्। दुई दलबीच त्यति सौहाद्र्ध सम्बन्ध नभए पनि बाध्यात्मक अवस्थामा दुई दलले तालमेल गर्ने सम्भावना प्रबल छ। किनभने नयाँ राजनीतिक दलको राप र तापका कारण दुवै पार्टीका शीर्ष नेताहरूको जित कठिन बनिरहेको छ। यसले अब वाम गठबन्धनको विषयसमेत पुनर्जीवित हुनेछ।
शीर्ष दलहरू यतिबेला आफ्नो जित सुनिश्चित गर्नका लागि जस्तोसुकै विकल्पमा पनि जानका लागि तयार भइसकेका छन्। नयाँ शक्तिको राप र ताप महसुस गरेर नै विगतमा विभाजित भएका मधेसवादी दलहरू एकीकृत भइरहेका छन्। यसपटक मधेसवादी दलहरूबीच बृहत् चुनावी गठबन्धनको तयारी गरिरहेका छन्। २०७९ सालको निर्वाचनमा एमालेले मधेसमा सोचेभन्दा राम्रो सफलता प्राप्त गरेको थियो। यदि मधेसवादी दलहरू एक भएको खण्डमा कांग्रेस र एमाले दुवैका लागि मधेसमा चुनौती थपिने पक्कापक्की छ।
चुनावी तालमेलले भावी सत्तासमीकरणलाई निर्देशित गर्नेछ। यदि कांग्रेसँग चुनावी गठबन्धन भएमा निर्वाचनपछि दुई पार्टीको सरकार निर्माण हुने प्रक्षेपण एमालेको छ। यदि त्यसो हुन नसके अर्को पाँच वर्ष नयाँ राजनीतिक दलहरूले सरकार निर्माण हुने र त्यो सरकार आफूहरूविरुद्ध प्रयोग हुन सक्ने त्रास एमाले र कांग्रेसलाई छ। निर्वाचनपछि पनि आफूहरूलाई सत्तामा आउन नदिने षड्यन्त्र भएको कांग्रेस र एमालको बुझाइ छ। कांग्रेस र एमालेका शीर्ष नेता आफूहरूविरुद्ध अदृश्य शक्तिले षड्यन्त्र गरेको बताइरहेका छन्। त्यसलाई संकेत गरेर नै एमाले अध्यक्ष ओलीले आफूहरूले नेपालीकै सरकार बनाउने सार्वजनिक अभिव्यक्तिसमेत दिए। नेपालको इतिहासमा नै पहिलोपटक आगामी निर्वाचनको नतिजा पृथक् र रोचक हुने देखिन्छ।
प्रतिक्रिया दिनुहोस !