गर्विलो उचाइ, अपमानजनक बिदाइ
कम बोल्ने तर निकै रणनीतिक र स्मार्ट ढंगले काम गर्ने नेताको परिचय देउवाको छ। भाग्य र कर्म दुवैलाई समानान्तर बोक्ने उनलाई जीवनको उत्तरार्द्धमा भने नसोचेको कठिनाई आइलागेको छ।
डडेलधुरा जिल्लाको एक मध्यम वर्गीय परिवारमा जन्मिएका शेरबहादुर देउवा पाँच पटकसम्म प्रधानमन्त्री बने। दुई पटक पार्टी सभापति। अब विधानत उनी तेस्रोपटक पार्टी सभापति हुन पाउँदैनन् र त्यो सम्भावना पनि छैन।
तर, अन्तिम पटक आगामी फागुन २१ गते हुने संसदीय निर्वाचन लड्ने र प्रधानमन्त्री हुने उनको योजना थियो। र, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई सहयोग गर्ने बचनसमेत दिइसकेका थिए। तर, कांग्रेसको विशेष महाधिवेशनले उनको पार्टी सभापतिको पद र निर्वाचनको टिकट दुवै खोसिदिएको छ जुन उनका लागि अकल्पनीय हो। यतिबेला उनी पार्टी सभापति गगनकुमार थापासँग संवैधानिक र कानुनली लडाइमा छन्। विसं २०४८ पछि उनको गृह जिल्ला डडेलधुरामा पहिलोपटक उनीबिना निर्वाचन हुन गइरहेको छ।
भदौ २३ को जेन–जी आन्दोलन र २४ को आतंककारी घट्नापछि राजनीतिक दलहरूभित्र ठूलो परिवर्तन आयो। कांग्रेस पनि त्यसबाट अछुतो रहेन्। आन्दोलनमा घाइते देउवाले सिंगापुर उपचारमा जानुभन्दा पहिला पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति बनाए। देउवा पार्टीको औपचारिक बैठकमा आउन छाडे। उनले पार्टीका शीर्ष नेतालाई महाधिवेशन समयमा नै गर्न र पार्टी सम्हाल्न निर्देशन दिए।
धेरैले यसलाई देउवाले जेन–जी आन्दोलनको भावना बुझेर नेतृत्व हस्तान्तरणको पहल गरेको भन्दै प्रशंसा गरे। केन्द्रीय समितिमा उनले दिएको सन्तुलित भाषणको निकै प्रशंसा भयो। तर, देउवा सिंगापुर नपुग्दैै पार्टीका निर्णयहरूमा पुनः चासो देखाउन लागेको आरोप लाग्यो। पछि पार्टीमा क्रमशः सक्रिय हुन थाले। पार्टीको बैठकमा नआए पनि राजनीतिक भेटघाटमा सहभागी हुन थाले।
नियमित महाधिवेशन नहुने भएपछि थापा समूहले विशेष महाधिवेशनको माग गर्न थाले। यसमा देउवाले धेरै बोलेनन् तर उनी निकट रहेका आफूलाई प्रभावशाली नेता मान्ने एक समूह विशेष महाधिवेशनको विपक्षमा उभियो। यति मात्र होइन, केही नेता त परिस्थितीलाई उत्तेजित बनाउने काममा समेत लागे। विशेष महाधिवेशनको तयारी अगाडि बढ्दै जाँदा देउवा र थापाको बीचमा कहिले पनि गम्भीर र उपलब्धिमूलक वार्ता भएन्। बीचका नेताले परिस्थिति सम्हाल्ने होइन्, देउवा र थापाको बीचमा दूरी सिर्जना गर्न भूमिक खेले। देउवालाई लागेको थियो–कार्यवाहक दिइसकेको र वैशाखमा नियमित महाधिवेशन हुने भएकाले आफूलाई नै हटाउने निर्णय विशेष महाधिवेशनले गर्दैन। तर, विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्यो र देउवाको नेतृत्व खोसियो।
पार्टीका शीर्ष नेता उनलाई संसदीय निर्वाचनको टिकट दिन तयार भएनन्, अर्थात् चाहेनन्। हुन पनि विशेष महाधिवेशन पक्षधर उनलाई सम्मानजनक बिदाइ गर्ने पक्षमा नै थियो तर घट्नाक्रम एकदमै पृथक ढंगले अगाडि बढयो। यस घट्नापछि देउवा र उनका समर्थक पटक्कै खुसी छैनन् तर पार्टीलाई विभाजनबाट रोक्न सकिन्छ कि भनेर संयम बनेको छ।
देउवा पक्षधर केही नेताले नयाँ सभापति देउवाको हातबाट टिकट त लिएका छन् तर पार्टी तलसम्मै विभाजित छ। देउवा पक्षले अहिलेलाई थापालाई अध्यक्ष मानिदिएको छ तर कानुनी र राजनीतिक रूपमा पार्टीभित्रको कोर्सलाई रिभर्स गर्न चाहिँ लागिपरेकै छ। त्यसैले आजको यथार्थ हो– नेपाली कांग्रेस एक फुटेको पार्टीका रूपमा निर्वाचनमा जाँदैछ। यहाँ प्रश्न उठ्छ, देउवा कसरी शक्तिशाली भए र राजनीतिको उत्तराद्र्धमा चाहिँ किन यति कमजोर भए ? र, उनको किन अपमानजनक बिदाइ भयो ?
देउवामा कुनै पनि पारिवारिक विरासत छैन। अर्थात् उनी कोइराला परिवार जस्तो राजनीतिक परिवारबाट आएका होइनन्। उनी आफ्नै मिहिनेतले सफलता प्राप्त गरेका हुन्। उनको जनसम्पर्क पनि त्यति बाक्लो होइन र उनी प्रखर वक्ता पनि होइनन्। यद्यपि ४० वर्षसम्म उनी नेपालको राजनीतिको केन्दबिन्दुमा रहे। त्यसो भए, देउवाको शक्तिको स्रोत के हो ? धेरैले उनलाई भाग्यमानी भनी वर्णन गर्छन्। हुन पनि देउवा आफैं पनि भाग्य र ज्योतिषमा विश्वास गर्छन्। ७ वर्ष अगाडि एक ज्योतिषीले उनलाई ७ पटक प्रधानमन्त्री योग छ भनी बताएका थिए। हुन पनि उनलाई भाग्यले साथ दिएकै हो। तर, त्यससँगै उनीसँग केही विशिष्ट योग्यता पनि छ जसले उनलाई राजनीतिक रूपमा शक्तिशाली बनाइरह्यो। देउवा बलियो हुनुको श्रेय कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई जान्छ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसका नेता गरिजाप्रसाद कोइरालाले भट्टराई र गणेशमान सिंहलाई कमजोर बनाउने अभियान थाले। भट्टराईले कोइरालालाई टक्कर दिनसक्ने नेताको रूपमा देउवालाई देखे र उनलाई अगाडि सारे। त्यही योजनाअनुसार नै २०४८ सालको निर्वाचनपछि बनेको कांग्रेसको सरकारमा देउवालाई गृहमन्त्री बनाइयो। त्यसपछि उनी पार्टीभित्र प्रभावशाली नेताको रूपमा उदाए।
विशेष २०४८ सालपछि गृहमन्त्री बनेका धेरैले त्यो शक्तिलाई पार्टी र राज्य संरचनामा प्रभाव बढाउने औजारको रूपमा उपयोग गरे। देउवाले विस्तारै पार्टीमा कृष्णप्रसाद भट्टराईको समूहलाई नेतृत्व दिन थाले। प्रजातन्त्रको पुनःस्थापनापछि कोइराला र भट्टराईको कडा टक्कर थियो। त्यसअघि पनि देउवाले आफ्नो संगठनात्मक क्षमताहरू देखाएका थिए, विशेष गरी १९७० को दशकमा पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्षको रूपमा उनले आफ्नो नेतृत्व क्षमता देखाएका थिए जसले भट्टराई र अन्य शीर्ष नेतालाई प्रभाव पारेको थियो। त्यसबाहेक उनले सुदूरपश्चिममा नेपाली कांग्रेसको राम्रो संगठनसमेत निर्माण गर्न थाले।
हुन पनि अन्य नेताको तुलनामा देउवा कम बोल्ने तर निकै रणनीतिक र स्मार्ट ढंगले काम गर्छन्। उनको मुख्य विशेषता भनेको कुनै हल्ला र प्रचारबाजी नगरी आफ्नो प्रभाव जमाउन सक्नु हो। भट्टराईको साथ र आशीर्वाद मात्र होइन, देशभरका कार्यकर्तालाई आफ्नो पकडमा लिन उनी चतुर थिए। उनलाई कोरा राजनीतिक सिद्धान्तको धेरै ज्ञान छैन तर शक्तिले कसरी काम गर्छ उनलाई राम्रोसँग थाहा छ।
देउवा सामाजिक र आर्थिक रूपमा पिछडिएको सुदूरपश्चिममा पनि प्रभावशाली बने। त्यहाँको कुनै नेताले उनलाई चुनौती दिन सकेनन्, जसले उनलाई आफ्नो स्थिति बलियो बनाउन अवसर दियो। उनी क्रमिक रूपमा पार्टीमा आफ्नो स्थिति सुदृढ गर्दै गए। २००१ को १०औं महाधिवेशनमा उनले पार्टी अध्यक्षका लागि प्रतिस्पर्धा गरे, धेरै वरिष्ठ नेताहरूलाई पछाडि पार्दै। १ हजार ४ सय ७७ प्रतिनिधि मतमध्ये ९ सय ३६ मत देउवाले प्राप्त गरे भने देउवाले ५ सय ७। हार भए पनि, देउवाले पार्टीभित्र आफ्नो शक्तिशाली समूह सफलतापूर्वक निर्माण गरे। कोइरालाबाट असन्तुष्ट नेता र कार्यकर्ताहरूको ठूलो हिस्सा उनको पक्षमा थियो।
२००२ मा, देउवाले कोइरालासँगको मतभेदका कारण पार्टी विभाजन गरे। लगभग ४० प्रतिशत नेता र कार्यकर्ताहरू देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा गए, जसले देउवाको पार्टीमा प्रभाव बढेको देखाउँछ। सन् २००६ मा फेरि पार्टी एकीकरण भयो। त्यसपछि उनले पार्टीको संगठनमा ४० प्रतिशत हिस्सा खोजे। देउवाको आरजु राणासँग विवाहले पनि उनी राष्ट्रिय राजनीति र पार्टीभित्र आफ्नो स्थिति सुदृढ बनाउन मद्दत गर्यो। आरजुले उनलाई राजतन्त्र र प्रजातान्त्रिक अन्तर्राष्ट्रिय समुदायसँग जोड्न ठूलो सहयोग गरिन्।
प्रधानमन्त्री र पार्टी अध्यक्षको रूपमा, देउवाले केही प्रगतिशील नीतिहरू ल्याए जसले उनको प्रोफाइल झनै बढायो। उदाहरणका लागि, २००२ मा नेपाली कांग्रेस (प्रजातान्त्रिक) नेतृत्व गर्दा उनले दलित, जनजाति र अन्य पिछडिएका समुदायहरूलाई समेटेर समावेशी केन्द्रीय समिति गठन गरे। जतिबेला कुनै पनि राजनीतिक दलले यति समावेशी नीति अख्तियार गरेका थिएनन्। साथै, उनले राज्यका मुख्य निकायहरू नेपाली सेना, न्यायपालिका, नेपाल प्रहरीदेखि कर्मचारीतन्त्रमा राम्रो प्रभाव बनाए। यसको कारण थियो– सुरुवातीका वर्षहरूमा उनले ती निकायमा अहस्तक्षेपकारी नीति अख्तियार गरे।
अख्तियार दुरुपयोग अनुसन्धानलाई शक्तिशाली बनाएको श्रेय देउवालाई नै जान्छ। दुर्भाग्य उनैले शक्तिशाली बनाएको अख्तियार कानुन शाहीकालमा उनीमाथि नै वर्षाइएको थियो।
यससँगै, देउवामाथि आफ्नो स्थिति बलियो बनाउन राज्यको शक्ति दुरुपयोग गरेको आरोप पनि छ। उनी व्यापारी, व्यापारिक समूहलाई पार्टीमा समायोजन गरेको, इमान्दार र प्रतिबद्ध नेता तथा कार्यकर्तालाई अलग गरेको आरोप पनि लाग्छ।
गिरिजाप्रसाद कोइरालाको निधनपछि, देउवा अझ बलियो बने किनभने कोइरालाका उत्तराधिकारी सुशील कोइराला भए। त्यसपछि कोइराला समूहको लिगेसी दाबी गर्ने कोइराला र गिरिजाप्रसाद कोइरालासँग रहेका धेरै नेता सुशीलको नेतृत्वको गोलबन्द हुन सकेनन्। तर, देउवाले भने आफ्नो समूहलाई जोगाइराखे। सन् २०१७ को निर्वाचनमा नेपाली कांग्रेसको हार भएपछि देउवामाथि पार्टी नेतृत्व छाड्न दबाब पर्यो।
तर, त्यसलाई उनले दुई ढंगले सामना गरे। पहिलो, कांग्रेस छाडेर गएका केही नेतालाई एकतामार्फत पार्टीमा ल्याए र पार्टीलाई चुनावको हारबाट जोगाउन चुनावी गठबन्धनलाई अगाडि बढाए। पार्टीमा आफ्नो प्रभुत्व कायम राख्न उनले आफू निकटकालाई टिकट दिनेदेखि केन्द्रीय समितिमा मनोनयन गरे। यतिसम्म कि विशेष महाधिवेशन भइरहँदा पार्टीको ७० प्रतिशत केन्द्रीय समिति, ५१ जिल्ला सभापति र ५ प्रदेश सभापति पनि उनकै पक्षमा थिए। तर, बहुमत महाधिवेशन प्रतिनिधि भनथापाको पक्षमा थिए।
यति लामो समयसम्म राष्ट्रिय राजनीति र पार्टीको नेतृत्वमा रहन सफल देउवा आखिर पार्टीकै एउटा समूहसँग किन हार खाए र जीवनको उत्तरार्धमा पार्टीविहीन जस्तो अवस्थामा पुगे। अन्तमा न उनलाई भाग्यले नै साथ थियो, नत उनले पार्टी संगठनमा आइरहेको तीव्र परिवर्तनलाई बुझ्न सके। जेन–जी आन्दोलनमा घाइते देउवाले न त्यतिबेला समग्र पार्टीको सहानुभूति पाए, न पार्टी सभापतिका रूपमा स्वाभाविक र सम्मानजनक बिदाइ नै भयो।
(लेखक अन्नपूर्ण मिडिया नेटवर्कको अंग्रेजी पत्रिका दी अन्नपूर्ण एक्सप्रेसका सम्पादक हुन्।)
प्रतिक्रिया दिनुहोस !