निर्वाचनको सम्मुखमा नेकपाका केन्द्रीय सदस्य साउदसहितका नेता-कार्यकर्ता एमालेमा प्रवेश
अछाम : नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य मिना साउदसहित नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा दलहरु मत मागिरहेको समयमा सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व राज्यमन्त्रीसमेत रहेकी नेकपाकी केन्द्रीय सदस्य साउद एमालेमा प्रवेश गरेकी हुन् ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले आइतबार धनगढीमा पार्टीमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। केन्द्रीय, प्रदेश तथा जिल्ला तहका विभिन्न संगठनमा आबद्ध नेता कार्यकर्ताहरु सामूहिक रूपमा एमालेमा प्रवेश गरे जैशीले बताए।
अछाम -१ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट डा. भीमबहादुर रावल र एमालेबाट दीपक साउद उम्मेदवार रहेका छ्न्। एमालेका पूर्वनेता रावल माओवादी सम्मिलित नेकपाका उम्मेदवार छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीबाट रावलसँग चुनाव हारेका साउद अहिले एमालेबाट उम्मेदवार बनेका छन् ।
कांग्रेसका तर्फबाट पूर्वजिविस सभापति भरत स्वाँर प्रतिस्पर्धी छन्। ०७४ को निर्वाचनमा कांग्रेस नेता स्वाँर एमालेका तत्कालीन नेता रावलसँग पराजित भएका थिए । कांग्रेस, एमाले र नेकपाबीच नै मुख्य प्रतिस्पर्धा देखिरहेको समयमा नेकपाको केन्द्रीय सदस्यसहितको टोली एमाले प्रवेश गर्नुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ। कांग्रेस आफ्नो मत जोगाउने रणनीतिमा छ भने नेकपा र एमाले एकअर्काको मत चोर्ने दाउमा छन् ।
अछाममा २०७९ मा समानुपातिक मत कांग्रेसको १४ हजार ५२५, एमालेको १३ हजार ९६८, नेकपा माओवादीको ७ हजार २२८, एकीकृत समाजवादीको २ हजार ७४७, रास्वपाले ७७५ र राष्टिय प्रजातन्त्र पार्टी हलो ले १६३ मत प्राप्त गरेका थिए । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नं १ मा ४१ हजार ३९२ मत खसेका थिए । जसमध्ये एकहजार ९७७ मत बदर भएका थिए।


प्रतिक्रिया दिनुहोस !