समुद्रमा जेल!
२३९ वर्षअघि बेलायतका क्याप्टेन गभर्नर आर्थर फिलिप ११ वटा जहाजको नेतृत्व गर्दै समुद्रमा जेल निर्माण गर्न अस्ट्रेलिया पुगेका थिए।
हार्बरको किनारमा उभिँदा टाढैबाट देखिने सिड्नी ओपेरा हाउसका सेता छानाहरू कुनै विशाल कमलका फूलका थुंगाजस्ता देखिन्छन्। समुद्रको नीलो पानीसँग घामको किरण मिसिँदा ती छानाहरू अझ उज्यालो, जीवन्त र चम्किला देखिन्छन्। बिहानको शान्त समयमा ओपेरा हाउस गम्भीर र आत्ममुग्ध देखिन्छ। दिउँसो पर्यटकको चहलपहलले यसलाई जीवन्त बनाउँछ भने साँझ पर्नासाथ बत्तीको झिलिमिलीमा सम्पूर्ण हार्बर नै स्वप्नलोकमा परिणत हुन्छ। रातको अँध्यारोमा सहरका बत्तीहरू पानीमा प्रतिबिम्बित हुँदा सिड्नी केवल सहर होइन, एउटा भावनात्मक अनुभव बन्छ।
अस्ट्रेलियाको प्रमुख सहर सिड्नीको ओपेरा हाउस र हार्बर ब्रिज विश्वकै सुन्दर संरचनामध्ये पर्छन्। यी संरचनाहरू केवल ढुंगा, फलाम र कंक्रिटका नमुना होइनन्; यी प्रेम, स्वतन्त्रता, शक्ति, पीडा र इतिहासका मौन साक्षी पनि हुन्। संसारका विभिन्न देशबाट आएका हजारौं जोडीले हातमा हात समातेर यहाँ प्रेम प्रदर्शन गर्छन्। नीलो सागरलाई साक्षी राखेर बिताइने प्रत्येक क्षणले उनीहरूको मायालाई पनि सागर झैं अथाह तुल्याउँछ। निरन्तर बगिरहने समुद्री छालहरू झैं प्रेम पनि यहाँ उस्तै मजबुत, गहिरो र अटुट देखिन्छ।
कतै जोडीहरू एकअर्कालाई अँगालो हालिरहेका हुन्छन्, कतै चुम्बन साटिरहेका। कतै मौन भएर भविष्यका सपना बुन्दै टोलाइरहेका हुन्छन्। यहाँ आइपुग्ने हरेक मानिसको अनुहारमा मुस्कान देखिन्छ। मानौं, सागरका छालहरूसँगै माया पनि बगिरहेको छ। यहाँ न दूरीको डर छ, न समयको सीमा नै।
धेरैले ओपेरा हाउस र हार्बर ब्रिजको काखमा उभिएर आफ्ना भावनाहरू सागरमा सुम्पिएको अनुभूति गर्छन्। सम्झनाका लागि अनगिन्ती तस्बिरहरू क्यामेरामा कैद हुन्छन्। कसैका लागि ती तस्बिर प्रेमको प्रमाण हुन् त कसैका लागि स्वतन्त्रताको अनुभूति।
विशाल फलामे संरचनाको हार्बर ब्रिज सहरको मेरुदण्डजस्तो देखिन्छ। पुलमाथिबाट देखिने समुद्र साना–ठूला पानीजहाज, डुंगा र फैलिएको सहरको दृश्य अत्यन्त मनमोहक छ। बिहान कामतर्फ हतारिँदै गरेका मानिसहरू, दिउँसो पर्यटकहरूको भिड र साँझ सूर्यास्त हेर्न रोकिएका जोडीहरूका कारण यो पुल सधैं जीवन्त देखिन्छ। हार्बरको तटमै अवस्थित सिड्नी ओपेरा हाउस आधुनिक वास्तुकलाको उत्कृष्ट नमुना पनि हो। डेनिस वास्तुविद् योर्न उत्जोनद्वारा डिजाइन गरिएको यो भवन युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ। यसको निर्माण प्रक्रियामा भएको विवाद, लागत वृद्धि र राजनीतिक तनाव आफैंमा एउटा इतिहास हो।
तर ती सबै चुनौती पार गरेर आज यो भवन अस्ट्रेलियाको राष्ट्रिय पहिचान बनेको छ। प्रत्येक वर्ष एक करोडभन्दा बढी मानिसले यसको अवलोकन गर्छन्। यहाँ हजारौं ओपेरा, नाटक, संगीत, नृत्य र सांस्कृतिक कार्यक्रम आयोजना हुन्छन्। यसैले सिड्नी केवल आर्थिक केन्द्रमात्र होइन, सांस्कृतिक राजधानी पनि बनेको छ। हार्बर ब्रिज करिब १,१४९ मिटर लामो छ। समुद्रको सतहभन्दा १३४ मिटर उचाइमा अवस्थित छ। यसमा आठ लेन सडक, दुई रेल लाइन, पैदल मार्ग र साइकल लेन छन्। पुल चढेर सहर हेर्ने ‘ब्रिज क्लाइम्ब’ आज विश्वकै चर्चित पर्यटकीय गतिविधिमध्ये एक हो। तर यति रमणीय सागरको बीचमा कुनै समय जेल रहेको थियो भन्ने कुरा धेरैलाई अचम्म लाग्न सक्छ। त्यो जेल चारैतिरबाट समुद्रले घेरिएको एउटा टापुमा छ। जुन आजको ककाटु आइल्यान्ड हो।
सुन्दरता र क्रूरताको संगम
ककाटु आइल्यान्ड सिड्नीको प्रमुख पर्यटकीय गन्तव्य हो। यहाँ कला प्रदर्शनी हुन्छन्। सांगीतिक कार्यक्रम आयोजना गरिन्छन्, ऐतिहासिक भ्रमण गराइन्छ। मानिसहरू पिकनिक मनाउन, इतिहास बुझ्न र सिड्नी हार्बरलाई फरक कोणबाट हेर्न यहाँ आउँछन्। तर यही टापु कुनै समय अस्ट्रेलियाको सबैभन्दा कडा जेलमध्ये एक थियो। समुद्रको सुन्दरता यति प्रबल छ कि यसले जेलको क्रूर इतिहासलाई ओझेलमा पारेको छ। तर त्यो इतिहास आज पनि ढुंगाका भित्तामा, जडिएको फलाममा, साँघुरा कोठा र सुनसान सुरुङहरूमा मौन रूपमा बोलिरहेकै छ।
ककाटु सिड्नी हार्बरको बीचमा अवस्थित छ। चारैतिर पानीले घेरिएको भएकाले यहाँबाट भाग्नु लगभग असम्भव थियो। यही कारण बेलायती प्रशासनले यसलाई दोस्रो तहको सजाय स्थलका रूपमा प्रयोग गर्यो। यहाँ ल्याइने कैदीहरू प्रायः दोहोर्याएर अपराध गर्ने, जेल नियम उल्लंघन गर्ने वा अन्य जेलमा नियन्त्रण गर्न कठिन मानिएका व्यक्तिहरू हुन्थे।
सिड्नीमा दण्ड उपनिवेशको आरम्भ
आजभन्दा करिब २३९ वर्षअघि अर्थात् सन् १७८७ मे १३ मा बेलायतका क्याप्टन गभर्नर आर्थर फिलिप ११ वटा जहाजको नेतृत्व गर्दै अस्ट्रेलियातर्फ प्रस्थान गरे। त्यो बेला उनले ६ वटा कैदी बोक्ने, तीन आपूर्ति र दुई साना युद्धपोत सहित ११ वटा समुद्री जहाजहरूको नेतृत्व गरेका थिए। जहाजहरू खासगरी सुरक्षा र निगरानीसहित चलाइएका थिए। ती जहाजहरूमा करिब ७५० कैदी, सैनिक र अधिकारीहरू थिए। त्यो जहाजी समूह ‘फर्स्ट फ्लिट’ भनेर चिनिन्थ्यो।
बेलायतदेखि सिड्नीसम्मको समुद्री यात्रा मौसम र मार्गअनुसार ३ देखि ८ महिना लाग्थ्यो। जहाजभित्रको अवस्था अमानवीय थियो। साँघुरो ठाउँ, रोग, भोक, दुर्गन्ध र मृत्युसँगको निरन्तर सर्घष गर्नुपर्ने खालको। जहाजहरू पहिलो पटक ‘बोटनी बे’ पुग्दा त्यहाँ बस्न योग्य अवस्था थिएन। माटो खेतीयोग्य थिएन, मीठो पानीको स्रोत सीमित थियो र बन्दरगाह सुरक्षित थिएन। त्यसपछि फिलिपले उत्तरतर्फ सरेर पोर्ट ज्याक्सन रोजे। यही स्थान आजको विशाल सिड्नी सहर हो। सन् १७८८ जनवरी २६ मा बेलायती झण्डा फहराइयो। आज त्यही दिन ‘अस्ट्रेलिया डे’का रूपमा मनाइन्छ। तर अस्ट्रेलियाका मुख्य आदिवासीहरूले उपनिवेशको आरम्भको दिनको रूपमा लिने गर्छन्। उनीहरूले यस दिनलाई उपनिवेशी आक्रमण दिवस तथा वा संघर्षमा बाँच्ने दिवस भनेर मनाउँछन्।
दिवस मनाउनुको राज यसै दिन (२६ जनवरी) आदिवासीहरूको भूमि र संस्कृतिमा ब्रिटिस उपनिवेशीकरणको आरम्भ भएको थियो। त्यतिबेला यहाँ हजारौं वर्षदेखि बसोबास गरिरहेका आदिवासी समुदाय थिए। उनीहरूको जीवन, भाषा, धर्म, सांस्कृतिक अभ्यास र सामाजिक संरचना यस भूमिसँग गाँसिएको थियो। बेलायती उपनिवेशवादले उनीहरूको अस्तित्वमाथि प्रत्यक्ष आघात पुर्यायो।
कैदीहरू को थिए ?
अधिकांश कैदीहरू साना अपराधमा दोषी ठहरिएका गरिब ब्रिटिस नागरिक थिए। चोरी, ऋण नतिर्नु, कागज चोरी, साना ठगीजस्ता अपराधमा पनि कठोर सजाय दिइन्थ्यो। कतिपय राजनीतिक कैदी, विशेषगरी आयरिस विद्रोहीहरू पनि थिए। बेलायतका जेलहरू अत्यधिक भरिएका थिए र मृत्युदण्डप्रति आलोचना बढ्दै गइरहेको थियो। त्यसैले बेलायतले कैदीहरूलाई टाढाको भूमिमा पठाउने नीति अपनायो। त्यसको अर्को कारण थियो, अमेरिकी उपनिवेश गुमेपछि नयाँ बसोबास क्षेत्र खोज्नु।
दक्षिण प्रशान्त क्षेत्रमा सामरिक स्थितिमा नियन्त्रण जमाउन खोज्नुजस्ता कारण थिए। सुरुमा बेलायतले आफ्ना कैदीहरूलाई अमेरिकी उपनिवेशहरूमा पठाउने गथ्र्यो। तर सन् १७७६ मा भएको अमेरिकी स्वतन्त्रता युद्धपछि त्यो व्यवस्था बन्द भयो। त्यसपछि बेलायतले नयाँ टाढाको भूमि खोज्न थाल्यो र अन्ततः अस्ट्रेलिया छनोट गरियो। अस्ट्रेलिया रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण थियो।
यही रणनीति अनुरूप ल्याइएका ती कैदीहरूलाई कठोर श्रममा लगाइन्थ्यो। स्यान्डस्टोन खन्ने, सडक, बन्दरगाह, गोदाम, प्रशासनिक भवन, जेल र पुल निर्माण गर्ने काम उनीहरूकै श्रमबाट भयो। ककाटुमा बनेका ड्राइडक, भूमिगत अनाज सिलो, सुरुङ र गोदामहरू त्यही समयका महत्त्वपूर्ण संरचना हुन्। यी संरचनाहरूले अस्ट्रेलियाको प्रारम्भिक औद्योगिक विकासमा ठूलो योगदान दिए। कतिपय कैदी सजाय काटेपछि सिड्नीका किसान, व्यापारी वा स्वतन्त्र बासिन्दा भए।
महिला कैदीहरूको जीवन
कुल कैदीमध्ये महिला संख्या १० देखि २० प्रतिशत मात्र थियो। उनीहरूलाई पुरुषजस्तो भारी श्रम गराउन कठिन हुन्थ्यो। त्यसैले महिलाहरूलाई खाना पकाउने, कपडा धुने, सिलाइबुनाइ, प्रशासनिक सहयोग र साना हस्तकलामा लगाइन्थ्यो। तर यसको अर्थ उनीहरूको जीवन सहज थियो भन्ने होइन।
कठोर अनुशासन, अपर्याप्त पोषण, खराब स्वास्थ्य अवस्था र सामाजिक नियन्त्रणले महिला कैदीहरूको जीवन अत्यन्त कठिन बनाएको थियो। टापुको एकान्तले एक्लोपन र मानसिक तनाव बढाउँथ्यो। धेरै महिला कैदी डिप्रेसन, रोग र कुपोषणबाट पीडित भए। कतिपयको मृत्यु पनि भयो। महिला कैदीहरूको कथा औपनिवेशिक समाजको लैंगिक असमानता र सामाजिक नियन्त्रण बुझ्न अत्यन्त महत्त्वपूर्ण छ।
समुद्री जेल कति वर्ष चल्यो
सन् १८३९ देखि १८६९ सम्म मुख्य रूपमा कैदी जेलको रूपमा उपयोग भयो। पछि जेल बन्द भएपछि सन् १८७१ मा उद्योग/स्कुल र सुधार गृहको रूपमा पनि काम गर्यो। पुनः सन् १८८० बाट १९०९ सम्म साना अपराधीहरूका लागि फेरि जेलको रूपमा प्रयोग भयो। कैदीहरूलाई सडक, भवन, बन्दरगाह, डक, गोदाम, फार्मजस्ता काममा झन्डै निःशुल्क श्रमका रूपमा प्रयोग गर्न सकिन्थ्यो। यसले नयाँ उपनिवेश विकास गर्न बेलायतलाई ठूलो फाइदा पुग्यो। अर्कोतर्फ, कैदीहरूलाई समाजबाट टाढा राख्ने सोचमा थिए। अस्ट्रेलिया बेलायतबाट अत्यन्त टाढा फर्किन लगभग असम्भव थियो भने कठोर सजायबाट अरूलाई डर देखाउन नीति लागू गरिएको थियो।
सामाजिक र मानसिक कठिनाइ
टापु टाढा भएकाले सिड्नी सहर वा परिवारसँग सम्पर्क लगभग असम्भव थियो। महिला कैदीहरूमा एक्लोपन, मानसिक तनाव, स्वास्थ्य समस्या देखिन्थ्यो। पुरुष र महिला कैदीबीचको समानुपातिक अनुपात नहुँदा सामाजिक समस्या पनि देखा पथ्र्यो। शारीरिक र मानसिक स्वास्थ्य दुवैमा चुनौती थियो। अपर्याप्त पोषण, भिड, संक्रमण रोगको जोखिम, स्वास्थ्य र मृत्यु अस्वच्छ वातावरणले धेरै महिलाको मृत्यु भयो। औसत जीवन कठिन र छोटो थियो।
सत्ता, मदिरा र सैनिक शासन र रम विद्रोह
सन् १७९२ देखि १८१० सम्म न्यु साउथ वेल्समा तैनाथ गरिएको सैनिक बल विशेष रूपमा गठन गरिएको एकाइ न्यु साउथ वेल्स कोप्र्स थियो। मदिरा, विशेषगरी रमको व्यापारमा यस एकाइको एकाधिकार भएकाले उनीहरूलाई प्रायः ‘रम कोप्र्स’ भनेर पनि चिनिन्थ्यो। सन् १८०६ मा क्याप्टेन (पछि एडमिरल) विलियम ब्लाई न्यु साउथ वेल्सका गभर्नर नियुक्त भए। ब्लाइ सक्षम र दृढ नौसैनिक अधिकृत थिए।
तर, सन् १७८९ मा उनको जहाज एचएमएस बाउन्टीमा भएको विद्रोहका कारण उनलाई अत्यन्त कठोर अनुशासनवादीको रूपमा केही हदसम्म बदनाम गरिएको थियो। न्यु साउथ वेल्स पुगेपछि ब्लाईले छिट्टै बुझे कि ‘रम कोप्र्स’का अधिकृतहरू आफ्नै स्वार्थमा काम गरिरहेका छन् र शक्तिको जरा जमाइसकेका छन्। साथै, गैरसैनिक साना किसानहरूलाई कोप्र्सद्वारा भेदभाव गरेको अवस्था पनि उनले स्पष्ट रूपमा देखे।
ब्लाईले आफ्नो वैध अधिकार स्थापना गर्ने प्रयास गर्दा, साना बसोबासीहरूलाई दिएको उनको समर्थन लगायतका विषयमा कोप्र्सका अधिकृतहरूसँग टकराव बढ्दै गयो र उपनिवेशमा तनाव चुलिँदै गयो। अन्ततः, सन् १८०८ जनवरी २६ मा लेफ्टिनेन्ट कर्नेल जर्ज जोनस्टनको नेतृत्वमा सैनिकहरूले ब्लाईलाई पक्राउ गरी उपनिवेशको नियन्त्रण आफ्नो हातमा लिए। ब्लाईका केही समर्थकहरू पनि पक्राउ परे र तीमध्ये केहीले त्यसपछिका दुई वर्ष कैदी श्रम समूहमा बिताउनु पर्यो।
यो घटना अस्ट्रेलियाको इतिहासमा भएको एकमात्र सैनिक ‘कू’का रूपमा चिनिन्छ। न्यु साउथ वेल्स कोप्र्स सन् १८१० सम्म सत्तामा रह्यो। त्यसपछि ब्रिटिस सरकारले आफ्नै रेजिमेन्टसहित नयाँ गभर्नर लाचलान म्याक्वारीलाई पठायो र न्यु साउथ वेल्स कोप्र्सलाई विघटन गरियो। यद्यपि, राजनीतिक सुधारका लागि उपनिवेशले सन् १८२० को दशक र त्यसपछिका वर्षहरू पर्खिनु पर्यो। तथापि, भविष्यको शासन प्रणालीका अन्य महत्त्वपूर्ण तत्व यस अवधिमा क्रमशः विकसित हुँदै गएका थिए।
आदिवासी भूमि र विस्थापन
बेलायतीहरूले अस्ट्रेलियालाई ‘टेरे नुलियस’ अर्थात् ‘खाली भूमि’ घोषणा गरे। आदिवासीहरूको अस्तित्व, संस्कृति, भाषा र अधिकारलाई पूर्ण रूपमा बेवास्ता गरियो। जेल, बस्ती र कृषि विस्तार गर्दा आदिवासी समुदाय विस्थापित भए। उनीहरूलाई सहरबाट टाढा राखियो, संस्कृति दबाइयो र जीवनशैली परिवर्तन गर्न बाध्य पारियो। यसको सामाजिक, सांस्कृतिक र मानसिक असर आजसम्म देखिन्छ।
जेलदेखि विश्व सम्पदासम्म
ककाटु आइल्यान्ड सन् १८३९ देखि १८६९ सम्म मुख्य जेलका रूपमा प्रयोग भयो। पछि सुधार गृह, औद्योगिक केन्द्र र पुनः जेल बन्यो। दोस्रो विश्वयुद्धमा यहाँ जहाज निर्माण र मर्मत कार्यसमेत भयो। जो टापु युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ। जसको इतिहास केवल संग्रहालयमा सीमित छैन। यो अस्ट्रेलियाको आत्मस्मृति हो। राजनीतिक अधिकार विस्तारका लागि अझै दशकौं कुर्नु परे पनि न्यायिक प्रणालीको विकास भने चाँडै सुरु भयो। ११ फेब्रुअरी १७८८ मा औपनिवेशिक अस्ट्रेलियाको पहिलो अदालत बस्यो। गभर्नर र अधिकारीहरूले शान्ति न्यायकर्ताको भूमिका निर्वाह गर्थे। आपराधिकमात्र होइन, देवानी कानुनको संरचना पनि क्रमशः विकास हुँदै गयो।
आधुनिक प्रयोग, पर्यटन र इतिहासको सहअस्तित्व
आज ककाटु आइल्यान्ड केवल ऐतिहासिक स्थलमात्र होइन। यहाँ कला प्रदर्शनी, संगीत महोत्सव, पिकनिक, साहसिक खेलकुद र पर्यटन गतिविधि आयोजना हुन्छ। पर्यटकहरूलाई जेल, औद्योगिक संरचना र समुद्री दृश्यहरू बुझाउने गाइडेड टुर पनि सञ्चालन हुन्छ। यसले सिड्नीको पर्यटन र आर्थिक विकासमा योगदान पुर्याउँछ।
फर्स्ट फ्लिटसँगै सुरु भएको कथा केवल कैदी र साम्राज्यको कथा होइन। यो विस्थापन, संघर्ष, पीडा र रूपान्तरणको कथा हो। कैदीहरूको श्रमबाट बनेको बस्ती आज विश्वप्रसिद्ध सहर बनेको छ। तर यस प्रक्रियामा आदिवासी समुदायले चुकाएको मूल्य अस्वीकार्य छ। सिड्नी स्वतन्त्र, बहुसांस्कृतिक र आधुनिक सहर हो। मानिसहरू यहाँ सपना बुन्छन्, प्रेम गर्छन् र भविष्य खोज्छन्।
तर हार्बरको चमकभित्र लुकेको इतिहास सम्झनु अस्ट्रेलियाको आत्मचिन्तनका लागि अपरिहार्य छ। सन् १७८८ मा किनारमा उत्रिएका ती थाकेका जहाजहरू केवल इतिहास होइनन्। ती आधुनिक अस्ट्रेलियाको जटिल, बहुआयामिक र अझै अधुरो यात्राको सुरुआत हुन्। अहिले यो जेल पर्यटकहरूका लागि खुल्ला छैन। संरक्षण तथा ठूलो स्तरको मर्मत र सुधार कार्यका लागि बन्द गरिएको छ। विश्वमा धेरै टापुहरूमा जेलहरू छन्। अल्काट्राज लेज संयुक्त राज्य अमेरिका, सैन फ्रान्सिस्को खाडीमा छ। रोबेन टापु दक्षिण अफ्रिका र नारकोटिक रिमान्ड जेल क्युबामा छ। तर सिड्नीको जेलको इतिहास सबैभन्दा फरक छ।
प्रतिक्रिया दिनुहोस !