कञ्चनपुर–३ : एमाले–कांग्रेसको प्रतिष्ठाको लडाईमा रास्वपा र नेकपाको चुनौती
महेन्द्रनगर : लामो समयदेखि नेपाली कांग्रेसको बलियो प्रभाव रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ मा दलहरुबीच प्रतिष्ठाको लडाई देखिएको छ । कांग्रेसको बलियो प्रभाव क्षेत्र रहेको यहाँ नेकपा एमाले अघिल्लो हारको बदला लिँदै आफ्नो दबदबा कायम राख्न चाहन्छ ।
नयाँ राजनीतिक शक्ति बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बलियो संगठन र प्रभाव जमाएका दुई ठूला पार्टीलाई चुनौती दिएका छन् । कांग्रेसले वर्चश्व जमाएको यो क्षेत्रमा चार शक्तिबीच कडा प्रतिष्पर्धा हुने आकलन गरिएको छ । यस क्षेत्रबाट निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका नेता रमेश लेखक यस पटक उम्मेदवार छैनन् ।
कांग्रेस यस पटक कञ्चनपुरका पूर्व पार्टी सभापति हरि बोहरालाई उम्मेदवार बनाएको छ । बोहरालाई कांग्रेसको विरासत जोगाउनु पर्ने चुनौती छ । पार्टीभित्रै रमेश लेखकले टिकट नपाएको असन्तुष्टि र बलिया प्रतिष्पर्धीले बोहराको जीत सहज छैन । लेखकले टिकट नपाएपछि उनका कार्यकर्ताले दोधारा चाँदनीमा विश्वप्रकाश शर्मा र पार्टी सभापति गगन थापाको पुत्ला जलाएका थिए । दोधारा चाँदनी कांग्रेसको आधार इलाका हो । यहिका स्थानीय बासिन्दा मानबहादुर सुनार नेकपाबाट उम्मेदवार बनेका छन् । यसले पनि कांग्रेसलाई चुनौती थपिएको छ ।
एमालेले २०७४ मा निर्वाचित भएका डा.दीपक प्रकाश भट्टलाई यस क्षेत्रबाट उम्मेदवार बनाएको छ । कांग्रेसको गढमा तेस्रो पटक निर्वाचन जितेर आफ्नो प्रभाव बलियो बनाउने रणनीतिका साथ एमाले मैदानमा छ । यो क्षेत्रमा २०४८ यताका निर्वाचनमा एमालेले दुई पटक मात्रै निर्वाचन जितेको छ । २०४८ सालको निर्वाचनमा कञ्चनपुरमा २ वटा निर्वाचन क्षेत्र थिए । साविकको निर्वाचन क्षेत्र नम्बर–२ मा पर्ने यो क्षेत्रबाट साविकको २ नम्बर नेपाली कांग्रेसका तारणीदत्त चटौत निर्वाचित भएका थिए ।
२०५१ सालकोे निर्वाचनमा कञ्चनपुरलाई ३ वटा क्षेत्र बनाइयो । ०५१ सालको आम निर्वाचनमा यो क्षेत्रबाट नेकपा एमालेका उर्वादत्त पन्त निर्वाचित भए । त्यतिबेला कांग्रेसबाट उम्मेदवार बनेका एनपी साउदले ६ हजार ४५३ मत प्राप्त गरेका थिए । कांग्रेसकै बागि उम्मेदवार मानबहादुर सुनारले ५ हजार ७६९ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा सुनारले टिकट नपाएपछि विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसलाई धक्का लागेको थियो । अहिले उनै सुनार नेकपाबाट उम्मेदवार बनेका छन् ।
२०५६ सालमा भने नेपाली कांग्रेसले आफ्नो विरासत जोगायो । उक्त निर्वाचनमा कांग्रेसका रमेश लेखकले फराकिलो मतान्तरले विजयी हुँदै पहिलो पटक संसद यात्रा तह गरे । लेखकले उक्त निर्वाचनमा १३ हजार ५२७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) का उम्मेदवार इन्द्रबहादुर खत्रीले ८ हजार ३३६ मत प्राप्त गरेका थिए ।
त्यो बेला नेकपा एमाले यस क्षेत्रमा तेस्रो भएको थियो । एमालेका उम्मेदवार उर्वादत्त पन्तले ७ हजार ५०३ मत प्राप्त गरेका थिए । २०६४ सालको निर्वाचनमा कञ्चनपुरमा ४ वटा निर्वाचन क्षेत्र बनाइएको थियो । साविकको क्षेत्र नम्बर–४ मा पर्ने यो क्षेत्रमा माओवादीको लहर चलिरहेका बेला पनि कांग्रेसले निर्वाचन जितेको थियो ।
त्यति बेला नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा डडेल्धुरा र कञ्चनपुरबाट निर्वाचन लडेका थिए । देउवा दुवै क्षेत्रबाट निर्वाचित भए । उनले कञ्चनपुर ४ छाडेपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा माओवादीका हरिस ठकुल्लाले निर्वाचन जितेका थिए । २०७० सालको निर्वाचनमा कांग्रेसले आफ्नो साख जोगायो । त्यति बेला यो क्षेत्रबाट कांग्रेसका रमेश लेखकले निर्वाचन जितेका थिए ।
२०७४ सालमा कञ्चनपुरमा ३ वटा क्षेत्र निर्धारण गरियो । ०७४ को निर्वाचनमा भने माओवादीसँगको गठबन्धनको सहयोगमा यो क्षेत्रबाट नेकपा एमालेका दीपकप्रकाश भट्टले पहिलो पटक संसदीय निर्वाचन जितेका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसका रमेश लेखक २५८ मतले पराजित भएका थिए । एमालेका भट्टले २६ हजार ३६४ मत प्राप्त गर्दा लेखकले २६ हजार १०६ मत प्राप्त गरेका थिए । २०७९ सालको निर्वाचनमा कांग्रेसका लेखक १२ हजार मतान्तरले विजयी भए । लेखकले खसेको ५६ प्रतिशत मत प्राप्त गरेका थिए ।
उक्त निर्वाचनमा लेखकले ३० हजार ५७५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार निरु पालले १८ हजार ४८५ मत प्राप्त गरेकी थिइन् ।
नेकपा उम्मेदवार सुनारको पनि यस क्षेत्रमा बलियो उपस्थिति रहेको छ । २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्री समेत बनेका उनी यस पटक कांग्रेस एमाललेलाई पराजित गर्दै संघीय संसदको यात्रा तय गर्ने रणनीतिका साथ मैदानमा छन् । परम्परागत दलहरुलाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र महता पनि पुराना दलहरुप्रतिको वितृष्णाको फाइदा उठाउँदै चुनाव जित्ने रणनीतिका साथ मैदानमा छन् । रास्वपाले यो क्षेत्रमा पुरानादलहरुलाई चुनौती दिएको छ ।
कांग्रेसका उम्मेदवार बोहराले पार्टी विगतमा गरेको कामले आफू यस पटक मतदाताको रोजाइमा पर्ने बताए । कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने, पर्यटनको विकास र यहाँका समस्या समाधन गर्ने उनको मुख्य एजेण्डा छ । एमाले उम्मेदवार भट्ट पनि अघिल्लो कार्यकालमा थुप्रै योजना अघि बढाएकाले ती योजना पुरा गर्न पनि आफू निर्वाचित हुनुपर्ने बताउँछन् । नेकपा उम्मेदवार सुनारले प्रदेशमा मन्त्री र प्रदेशसभा सदस्य हुँदा यस क्षेत्रका लागि काम गरेकाले आफूले मत पाउनेमा विश्वस्त छन् । रास्वपा उम्मेदवार महता सुुशासन र भ्रष्टाचार अत्य गर्ने एजेण्डाका साथ मैदानमा छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार पूर्णबहादुर चन्द हिन्दु राष्ट्र घोषणा र मुलुक जोगाउन आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।
यस क्षेत्रमा महाकालीपारिको दोधारा चाँदनी नगरपालिकासंँगै भीमदत्त नगरपालिकाका र बेदकोट नगरपालिका–८ पर्छ । ३० वडारहेका यो निर्वाचन क्षेत्रमा एक लाख तीन हजार ८७ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस !