कहाँ छ मुक्तिको मार्ग ?

कहाँ छ मुक्तिको मार्ग ?
सुन्नुहोस्

मृत्युको भय एउटा मानसिक अवस्था हो। मृत्युबाट मुक्त हुनु भनेको भयहीन आध्यात्मिक अवस्था हो। भनिन्छ, सच्चा योगी मृत्युसँग भयभीत हुँदैन।

विष्णु पुराणमा एउटा प्रसंग छ, ‘सा विद्या या विमुक्तये।’ अर्थात्, जसले मुक्ति दिन्छ त्यही नै सच्चा विद्या हो। मरेपछि होइन। जीवित अवस्थामै मुक्ति। हामीले पाठशालामा हासिल गर्ने शिक्षा कलाकौशल मात्र हो। जीवनयापनका लागि कलाकौशल अत्यन्त आवश्यक साधन हो। किन्तु यो जिउने साधनमात्र हो। यो मुक्तिको साधन होइन। जिउँदै मुक्ति प्राप्त गर्न कर्मको शैली अनिवार्य छ। निष्काम, धर्मयुक्त र आशक्तिविहीन। यस जगत्मा सबै कुरा व्यक्त अवस्थामा हुँदैनन्। कतिपय कुरा इन्द्रियले चाल पाउन नसक्ने गरी अव्यक्त रूपमा हुन्छन्।

दृश्य जगत् त सृष्टिको स्थूल रूपमात्र हो। वाणी र मनको पहुँचभन्दा टाढा शब्दमा वर्णन गर्न नसकिने अर्को एउटा सूक्ष्म तत्त्व छ। जसलाई इन्द्रियातीत भएरमात्र अनुभव गर्न सकिन्छ। जीवन गर्भ, शैशव, बाल्य, किशोरावस्था, यौवन र वाद्र्धक्यजस्ता सोपानहरूको समुच्चय हो। त्यहाँभित्र हाँसो, रोदन, खेलबाड, विवाह, अध्ययन, आर्जन, प्रजनन, दान र संघर्ष आदि कुरा हुन्छन्।

जीवनको गुह्य तत्त्व परमार्थ हो। परमार्थ बुझ्न बृहत् अध्ययनको आवश्यकता छैन। सबै प्राणीमा ‘अद्वैत आत्मभाव’ राख्नु नै जीवनको परमार्थ या सार हो। भनिएको पनि छ, जीवो ब्रह्मैव नापर। परम सत्यको बोध, ब्रह्मज्ञान र आत्मबोधबाट नै निर्वाण (मुक्ति) प्राप्त हुन्छ। विद्या के हो ? यो बुझ्नुअघि अविद्याबारे जान्नु आवश्यक छ। अज्ञान, भ्रान्ति र मिथ्याज्ञान अविद्या हो। अनर्गल कामोत्तेजना अविद्या हो। क्रोध, लोभ, मोह र मात्सर्य अविद्या हो। पद, शक्ति र सम्पत्तिको अभिमान अविद्या हो। आफूलाई ज्ञानी र अरूलाई अज्ञानी ठान्नु अविद्या हो। 

करुणासिक्त हृदय विद्या हो। विद्याको अहंकार नगर्नु विद्या हो। वाणी र कर्मले कसैको हानि नगर्नु विद्या हो। परपीडन र परनिन्दाबाट जोगिनु विद्या हो। द्वेष, अनर्थ ईष्र्या र आरिस नगर्नु विद्या हो। यति कुरा जसले बुझेको छ, त्यो निरक्षर नै भए तापनि विद्यावान् हो। र विद्यावान् व्यक्ति नै मुक्तिको अधिकारी हो। अज्ञान भनेको नजान्नु हो। नजाने पनि निष्क्रिय अज्ञानी निर्दोष हुन्छ। ऊ म जान्ने छु भनेर धमास गर्दैन। सक्रिय अज्ञानी चाहिँ नजानेर पनि जान्ने छु भन्ने अड्डी लिएर बस्छ। त्यस्तो व्यक्तिले तथ्यको विरोध र मिथ्याको प्रचार गर्छ। दुर्भाग्यवश समाजको ठूलो तप्का त्यस्तै मानिसको अनुयायी बनिदिन्छ।

जर्मन विचारक गोएथे भन्छन्, ‘सक्रिय अज्ञानभन्दा भयावह अर्को केही कुरा छैन।’ यहाँ म सक्रिय अज्ञानको उदाहरण दिन चाहन्छु। व्यासजीका शिष्य वैशम्पायनले यजुर्वेदका २७ शाखाको रचना गरे। विद्वान ब्रह्मरातका पुत्र याज्ञवल्क्य वैशम्पायनका मन परेका शिष्य थिए। एक समयमा विशेष कारणवश गुरु वैशम्पायनलाई ब्रह्महत्याको दोष लाग्यो। चिन्तित गुरुले आफ्ना समस्त शिष्यलाई बोलाए। उनले चेलाहरूलाई ब्रह्महत्याको दोषबाट मुक्तिका लागि कठोर व्रत गर्ने आदेश दिए।

गुरुको आदेश सुनेका याज्ञवल्क्यलाई आफ्नो सामथ्र्य देखाउन मन लाग्यो। उनले भने, ‘हे गुरुवर ! हजुरका यी तमाम शिष्य निस्तेज छन्। यिनलाई कष्ट दिनुको कुनै प्रयोजन छैन। म एक्लै खटेर व्रतको अनुष्ठान गर्नेछु।’ आफ्नै संगतिमा विद्या आर्जन गरेको शिष्यमा अविद्यारूपी अहंकारको उदय भएको देखेर गुरुलाई असह्य भयो। उनले अत्यन्त क्रोधित हुँदै भने, ‘सहपाठी मित्रहरूलाई अपमान गर्ने हे याज्ञवल्क्य ! तिमीले मबाट जति पनि शिक्षा पाएका थियौ, त्यो सबैलाई त्यागेर आफ्नो बाटो लाग। गुरुको अवज्ञा गर्नेलाई यहाँ कुनै स्थान छैन।’

याज्ञवल्क्य गुरुको अपमान गर्ने ध्येयले बोलेका थिएनन्। परन्तु त्यो वचनमा आफ्नो सर्वोच्चताको अभिमान थियो। सहपाठी मित्रहरूलाई हेप्ने खालको अभिव्यक्ति थियो त्यो। गुरुको आज्ञालाई शिरोपर गर्दै उनले आफूले सिकेको सम्पूर्ण यजुर्वेदलाई बान्ता गरेर पोखिदिए। उनले बान्ता गरेको श्रुतिलाई अन्य शिष्यले तित्राको रूप लिएर ग्रहण गरे। तित्राको रूप धारण गरेर विद्या ग्रहण गरेको हुँदा उनीहरूलाई तैत्तरीय भन्ने चलन चल्यो।

याज्ञवल्क्यको त्यो कृत्य सक्रिय अज्ञानवश भएको थियो। विद्याका प्रखर अध्येता भएर पनि अविद्यारूपी अहंकार गर्नु उनको ठूलो भूल थियो। याज्ञवल्क्यको बान्ता भूलको स्वीकार हो। स्वीकार गरेपछि भूल सुधार गर्ने बाटो खुल्छ। त्यसैले उनको बान्ता अहंकारको त्याग पनि हो। कहिलेकाहीँ प्रमादवश जोकोही मनुष्य अहंकार, ईष्र्या या मात्सर्यको सिकार हुन सक्छ। बुद्धिमान् मानिसले प्रथमत : आफ्नो काम, क्रोध र लोभादि प्रवृत्तिलाई स्वीकार गर्न सक्नुपर्छ। तब मात्र ऊ स्वीकार गरेका तमाम कुरालाई यत्नपूर्वक वमन गरेर गलत प्रवृत्तिबाट निवृत्त हुन्छ। याज्ञवल्क्यले झैं मै मात्र जान्नेछु भन्ने अभिमानलाई बान्ता गर्नु नै आत्मबोध हो। आत्मबोध र आत्मस्वीकृतिले अभिमानबाट मुक्ति दिन्छ।

जसरी दीर्घशंकाले आतुर पारेको बेलामा त्यसलाई विसर्जन गर्दा अप्रतिम आनन्द प्राप्त हुन्छ। त्यसैगरी पूर्ण इमानदारीसाथ क्रोध, लोभ र मत्सरलाई वमन गरेर फाल्न सकियो भने जीवन नै आनन्दमय बन्छ। हामी प्राय : स्वयंलाई असल ठान्छौं। अर्काको चरित्रको चियो र आलोचना गर्छौं। अरू कसैको कारण आफू दुःखित भएको गुनासो गर्छौं। हामी आफूलाई खोज्दैनौं। आफ्नो सोचले आफैंलाई पीडा दिएको पो हो कि। सबै भएर पनि चित्तमा सन्तोष नभएर हो कि। हृदयमा डर, शंका र तुलनाको भाव छ कि। धन, पद र प्रतिष्ठा नै सुखका माध्यम हुन् भन्ने भावनाले ग्रस्त पारेको पो हो कि। ‘म मेरो मनको मालिक’ भन्दै हिँडे पनि उल्टै मनको दास पो बन्न पुग्यौं कि ?

म को हुँ भनेर आत्मान्वेषण गर्न पो छुटायौं कि ? अरूको नजरले आफूलाई हेर्न जानेनौं कि ? चेतनाको गहिराइमा पुग्नुको सट्टा भ्रमित बुद्धिवादको चक्करमा पर्‍यौं कि ? आफूलाई असल सिद्ध गर्न अनेकौं प्रपञ्च रच्यौं कि ? हिंसा, भय, तृष्णा र क्रोध आदि कुरा अधर्म हुन् भन्ने बुझेनौं कि ? ती अधर्मरूपी प्रतीकहरूलाई दुःखोत्तर (परिणाममा दुःख दिने) को रूपमा नभई विजयको रूपमा लियौं कि ? बुद्धले तीन किसिमका अग्निको वर्णन गरेका छन्। पहिलो हो– राग अर्थात् आशक्ति र चाहना। दोस्रो हो– द्वेष अर्थात् अर्काको कुभलो चिताउनु र घृणामय क्रोध। तेस्रो हो– मोह, भ्रम र अज्ञान। निर्वाण या मुक्तिको तात्पर्य अभिमान र अज्ञानको आगो निभ्नु हो। सत्यबोध र विवेकको अभ्युदय हुनु हो। आत्मसंयम र आध्यात्मिक स्वाधीनता हो।

महामृत्युञ्जय मन्त्रमा मुक्तिको सुन्दर वर्णन छ। मन्त्रको अन्तिम चरणले भन्छ, ‘उर्वारुकमिव बन्धनान्, मृत्योर्मुक्षीय मामृतात्।’ अर्थात्, पाकेर प्रौढ भएको काँक्रो जसरी कुनै संघर्ष नगरिकन लहराबाट स्वत : झर्छ, त्यसैगरी मृत्युरूपी बन्धनबाट मुक्त हुन पाऊँ। किन्तु अमरता (मोक्ष)बाट वञ्चित नहोऊँ। मृत्युुको भय एउटा मानसिक अवस्था हो। मृत्युबाट मुक्त हुनु भनेको भयहीन आध्यात्मिक अवस्था हो। भनिन्छ, सच्चा योगी मृत्युसँग भयभीत हुँदैन। पहेंलो वस्त्र धारण गर्दैमा कोही योगी बन्न सक्दैन। जुन गृहस्थ मृत्यको समयमा भय, पीडा र अशक्तिबाट मुक्त रही शान्त, सहज र स्वाभाविक मृत्युमा पुग्छ, त्यही नै साँचो योगी हो।

चञ्चल मनको परिधि विशाल हुन्छ। यसका हाँगा जताततै फैलिन खोज्छन्। एउटा साम्राज्यवादी तत्त्व जस्तै। किन्तु चैतन्यको परिधि सूक्ष्म हुन्छ। मनले चेतनाको बाटो छेक्न खोज्छ। त्यही छेकाइको कारण नै चेतना सितिमिति हाम्रो जेहनमा घुस्दैन। चेतना हाम्रो अन्तःकरणको अन्तस्तलमा कहीँ लुकेर बसेको हुन्छ। कतै सतहमा चेतनाको उपस्थिति हुने हो कि। मन सधैं भयभीत रहन्छ।

मानव शरीर सांसारिक बन्धन होइन। अहंकार, आशक्ति, परपीडन, मत्सर र सक्रिय अज्ञान सांसारिक बन्धन हो। जो ‘म शरीर हुँ’को भाव राख्छ, त्यही 
नै मृत्युसँग भयभीत हुन्छ। जो ‘म’लाई शरीरबाट अलग आत्मा ठान्दछ, त्यही व्यक्तिले नै जिउँदै मुक्ति प्राप्त गर्दछ। यस्तो जीवनलाई नै जीवनमुक्त जीवन मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.