ओली–लेखक पक्राउको विरोधमा एमाले सडकमा ओर्लियो, कांग्रेस दुईतिर
काठमाडौं : विक्रम संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाल सरकारसमक्ष पेस गरेको प्रवितेदन तत्काल कार्यान्वयन गर्न देयाहबमोजिम गर्ने–
(क) उल्लिखित आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन
समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिसबमोजिम गर्ने ।
बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो निर्णय भएको केही घण्टामै पत्र गृह मन्त्रालय पुग्दछ । गृहले पनि मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयनका लागि प्रहरी प्रधानकार्यालय नक्साल पठाउँछ । प्रहरी महानिरीक्षकले पत्रमा तोक लगाउँदै अपराध अनुसन्धान विभागलाई आवश्यक कारबाहीका लागि पठाउँछन् । पत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगको सिफारिस कार्यान्वयन प्रक्रिया अगाडि बढाउन लेखिएको थियो ।
मन्त्रिपरिषद्को निर्णय घुम्दै जाने र सुरक्षा निकायसँग नवनियुक्त गृहमन्त्री सुधन गुरुङको छलफल लम्बिँदै जाँदा राति अबेरसम्म पनि प्रहरी ओली र लेखक निवास पुगेको हुँदैन । तर, पक्राउको तयारी व्यापक भएको थियो ।
राति अबेरसम्म पनि गृह मन्त्रालय, प्रहरी मुख्यालय, प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेर पक्राउपछि उत्पन्न परिणामबारे समीक्षा भएको प्रहरी उच्च स्रोत बताउँछ । राति अबेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाको कानुनी परामर्शसमेतका आधारमा ओली र लेखक पक्राउ गर्ने सम्पूर्ण तयारी हुन्छ । राति नै उठाएर लैजाँदा नागरिक तहमा नकारात्मक छाप पर्ने भएकाले बिहान मात्रै पक्राउ गर्न प्रहरी टोली लेखक निवास कटुञ्जे र ओली निवास गुण्डु पुग्दछ ।
लेखकलाई बिहान साढे ५ बजे र ओलीलाई बिहान ६ बजेर १८ मिनेटमा पक्राउ गरी प्रहरीले लिएर जान्छ । ओली र लेखकलाई पक्राउ गर्न शुक्रबार मात्रै गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङको सक्रियता रातभर देखिएको थियो । पूर्वप्रधानमन्त्री ओली निवास गुण्डु र पूर्वगृहमन्त्री लेखक निवास भक्तपुर कटुन्जे वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । ओलीले बिहान एक्कासि पुगेका प्रहरीलाई सहजै गिरफ्तारी दिएका थिए । प्रहरी आएको सूचनापछि उनले वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलाई गुण्डमै बोलाएर कानुनी परामर्श लिएका थिए । ओलीको पक्राउको क्रममा कार्यकर्ताले गुण्डुमा नाराबाजी गरेका थिए ।
पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक शनिबार बिहान पक्राउ परेको समयमा पितृ तर्पण दिँदै थिए । बिहान साढे ५ बजे नुवाइधुवाई सकेर दिवंगत पितालाई तर्पण दिएपछि घरभित्र बर्दीधारी प्रहरी देखिए । प्रहरी घरको तल–तल थिए । लेखक आफैंले माथि बोलाए । पक्राउ गर्न पुगेका प्रहरी र लेखक पूर्वपरिचित थिए । लेखकले ती प्रहरीको नामै तोकेर प्रश्न गरे, ‘यतिबेलै समात्ने हो र ? ’ प्रहरीले पनि आदेश भएको भन्दै जानकारी दिएका थिए ।
‘एकछिन’ भन्दै कोठा पसेका लेखक बाक्लो ज्याकेट लगाएर फर्किएका थिए । उनले तल्लो तलामा झरेर ‘ल जाऔं’ भन्दै प्रहरीलाई सहजीकरण गरिदिएका थिए । लेखकले आफ्नो गिरफ्तारी कानुनसम्मत नभएकाले कानुनी प्रतिवाद गर्ने जानकारी प्रहरीलाई दिएका थिए ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन कार्यकारी प्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ को उपदफा (१) र सोही संहिता, २०७४ को दफा १८२ अनुसार कसुर हेरेर अनुसन्धान तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने निर्णय गरेको थियो । प्रतिवेदनमा ‘भदौ २३ गते गोली प्रहारबाट केहीको मृत्यु भइसकेपछि पनि गोली रोक्नतिर तत्कालीन प्रधानमन्त्रीलगायत कुनै पनि पदाधिकारीहरू अग्रसर नभई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारणले नै अत्यधिक मानवीय क्षति हुन गएको’ उल्लेख छ । सिफारिसअनुसार नै शुक्रबार बनेको नयाँ सरकार हतारमा एक्सनमा उत्रिएको हो ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले सरकारको निर्णय सुरक्षा निकायले कार्यान्वयन गरेको बताए । ‘गृह मन्त्रालयको परिपत्रका आधारमा आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा उहाँहरूलाई गिरफ्तार गरिएको हो,’ काफ्लेले भने ।
प्रहरीले ओलीलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा लगिएको थियो । त्यहाँबाट केहीबेर कागजी प्रक्रिया पु¥याएर त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । उनी मिर्गाैला बिरामी हुन् । लेखकलाई २ नम्बर गण महाराजगञ्जमा राखिएको छ ।
झन्डै दुईतिहाइको रास्वपा नेतृत्वको सरकारले सत्ता हातमा लिएको भोलिपल्टै राजनीतिक नेतृत्वलाई गिरफ्तार गरेर प्रतिशोध साँधेर ‘पूर्वाग्रही’ बनेको भन्दै एमाले सडक संघर्षमा उत्रेको छ । कांग्रेसको पूर्वसंस्थापन शेरबहादुर देउवा पक्षले ओली र लेखकको गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण’ भन्दै दुवै नेतालाई तत्काल रिहा गर्न माग गरेको छ । गगन थापा नेतृत्वको कांग्रेसले ‘उत्तेजना र आवेगमा’ आएर काम नगर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण र अपुरो रहेको भन्दै चौतर्फी विरोध भइरहेका बेला सरकारले कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । आयोगले भदौ २३ को घटनाका दोषी किटान गर्दै राजनीतिक, प्रशासनिक र सुरक्षा निकायका जिम्मेवार पदाधिकारीलाई फौजदारी अभियोगमा कारबाहीको सिफारिस गरेको थियो । तर, भदौ २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत ऐतिहासिक भौतिक संरचनामा आगो लगाएर जलाउनेबारे प्रतिवेदन मौन छ । त्यसैकारण, राजनीतिक प्रतिशोध साँध्न अध्यक्ष ओलीलाई गिरफ्तार गरिएको भन्दै एमाले आक्रामक देखिएको छ । ओली गिरफ्तार लगत्तै बसेको एमाले सचिवालय बैठकले संसद् र सडकबाट प्रतिरोध गर्ने तथा कानुनी लडाइँ लड्ने निर्णय
गरेको थियो ।
राजनीतिक तरंग
कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा सरकारले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेपछि राजनीतिक तरंग पैदा भएको छ । दुईतिहाइको सरकार निर्माणबाट स्थायित्व र शान्तिको जनअपेक्षा भइरहेका बेला कतै फेरि राजनीतिक मुठभेड, द्वन्द्व र अस्थिरता त निम्तिने होइन भन्ने आशंका उब्जिएका छन् ।
किनभने, बालेन सरकार गठन भएको भोलिपल्टदेखि नै एमाले सडकमा उत्रेको छ । एमालेको आकस्मिक सचिवालय बैठकले अध्यक्ष ओली र लेखकको गिरफ्तारीको प्रतिरोध गर्ने निर्णय गरिसकेको छ । एमाले महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई सूर्योदय अगावै प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारी गरिएको भन्दै विरोध जनाएका छन् ।
नेताहरूको गिरफ्तारी लोकतान्त्रिक र कानुनी शासनको मर्मविपरीत रहेको दाबी गर्दै महासचिव पोखरेलले तत्काल रिहा गर्न माग गरेका छन् । महासचिव पोखरेलले गत भदौ २३ र २४ को घटना छानबिनका लागि तत्कालीन सरकारले कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति पार्टीले सुरुदेखि नै असहमति र विरोध गर्दै आएको बताए । उनले उक्त आयोगप्रति सर्वोच्च अदालतले समेत गम्भीर प्रश्नहरू उठाएको कुरा ध्यानाकर्षण गराए ।
आयोगले प्रस्तुत गरेको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको पार्टीको ठहर रहेको उनले बताए । ‘घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न बैठकले माग गरेको छ,’ उनले भने, ‘अध्यक्ष ओली र कांग्रेस नेता लेखकमाथि गरिएको नियोजित र निर्देशित गैरकानुनी गिरफ्तारीको विरोध, कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षा गर्न संयुक्त र प्रभावकारी पहलकदमीका लागि राजनीतिक दलहरू, नागरिक समाज र आमजनतालाई अनुरोध गर्दछौं ।’
ओली–लेखकको गिरफ्तारीले संविधान पक्षधर राजनीतिक शक्ति र आम नागरिकलाई चिन्तित तुल्याएको बताउँदै महासचिव पोखरेलले प्रतिशोधपूर्ण गिरफ्तारीको कानुनी र राजनीतिक प्रतिवाद गर्ने बताए । ‘यस घटनाबाट कति पनि विचलित नभई देश, जनता र लोकतन्त्रका पक्षमा एकता र दृढताका साथ अगाडि बढ्न समस्त पार्टीपंक्तिलाई आह्वान गरेका छौं,’ उनले भने, ‘प्रतिशोधपूर्ण गिरफ्तारीको विरुद्ध सडक, सदन र अदालत तीन निकायमा
प्रतिवाद गर्दछौं ।’
एमाले सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो पर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीलाई अविलम्ब रिहा गर्न माग गर्दै उनले गलत निर्णयले दुईतिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको बताए । ‘के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो ? ’ बस्नेतले आक्रोश पोखेका छन्, ‘देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन—कुन मोडेलतर्फ लैजान खोजिँदैछ ? हिजो सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने बालेन्द्र शाह र सुधन गुरुङद्वारा परिचालित अराजक समूहहरूलाई सरकारले दमन ग¥यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन् ?’
संविधानविद् नीलाम्बर आचार्यले प्रतिशोध र धरपकडले कसैको पनि भलो नगर्ने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ । प्रतिशोध र धरपकडले कसैको भलो गर्दैन ।’
गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री लेखकलाई नियन्त्रणमा लिएको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’ उनले अब देशले नयाँ दिशा लिने विश्वास व्यक्त गरेका छन् ।
सडकमा ओर्लियो एमाले
भदौमा जेन–जी आन्दोलनपछि शान्त देखिएका सडक फेरि तात्न थालेका छन् । ओलीको गिरफ्तारीपछि एमाले सडकमा निस्किएको छ । सचिवालय बैठकले नै ७७ जिल्लाका सदरमुकाममा जनसंगठनको तर्फबाट प्रदर्शन गर्ने निर्णय गरेपछि एमाले सडकमा आएको हो । देशभर नै एमालेका भ्रातृ संगठनहरू ओली र लेखकको पक्राउ विरोधमा दिनभर नै प्रदर्शन गरेका छन् ।
काठमाडौं, झापालगायतका स्थानमा तनावको अवस्था पनि सिर्जना भएको छ । कतिपय स्थानमा प्रहरीसँग झडप भएको थियो । केही प्रदर्शनकारी पक्राउ परेका छन् । काठमाडौंको माइतीघर, बानेश्वर, प्रदर्शनीमार्ग, चाबहिलदेखि सिंहदरबार गेटसम्मै पुगेर प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका थिए । सिंहदरबारको दक्षिण गेटमा प्रहरी र प्रदर्शनकारीबीच तनाव उत्पन्न भएको थियो ।
एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखक पक्राउविरुद्ध शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै एमाले कार्यकर्ता । तस्बिर : अशोक दुलाल
बानेश्वर, माइतीघर क्षेत्र तनावपूर्ण बनेका थिए । प्रदर्शनकारी ब्यारिकेड तोडेर अघि बढेका थिए । आन्दोलनका क्रममा सवारीसाधन पनि तोडफोड भएका छन् । प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा टायर बालेर विरोध जनाएका थिए । साँझ देशका विभिन्न स्थलमा राँके जुलुस निस्केका थिए । आइतबार पनि एमालेले देशभर नै प्रदर्शन गर्ने जनाएको छ । आइतबार सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाउने एमाले महासचिव पोखरेलले जानकारी दिए ।
द्वन्द्व सिर्जना हुने कार्य नहोस् : नेकपा
नेपाली कम्युनिस्ट पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले चालेको कदमबाट द्वन्द्व सिर्जना हुने कार्य गर्न नहुने बताएको छ । ‘यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ’ नेकपाको विज्ञप्तिमा उल्लेख छ ।
सरकारको अपरिपक्वताः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई पक्राउ गर्नु अपरिपक्व निर्णय भएको बताएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने अपरिपक्व निर्णय भएको बताइन् । चुनावी सरकारद्वारा कार्कीको अध्यक्षतामा गठन गरिएको ‘भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग २०८२’ को प्रतिवेदन वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताएकी छन् ।
भ्रातृ संगठनको विरोध
एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । संघका अध्यक्ष महाराज गुरुङले विज्ञप्ति जारी गर्दै रिहा नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् । युवा संघ, अनेरास्ववियुलगायतका एमालेका भ्रातृ संगठनहरू सडक आन्दोलनमै उत्रिइसकेका छन् । कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले प्रधानमन्त्री बालेन शाह ‘राजा महेन्द्र’ बन्न खोजेको टिप्पणी गरेका छन् । कांग्रेस निकट तरुण दलले पक्राउको विरोध गरेको छ ।
७ जना पक्राउ
ओली पक्राउको विरोधमा शनिबार दिउँसो देशैभर प्रदर्शन भयो । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार, उपत्यकामा भएको विरोधका क्रममा निषेधित क्षेत्र प्रवेश गर्न खोज्ने ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट ७ जनालाई पक्राउ गरेको हो । उनीहरू अहिले परिसरको हिरासतमा राखिएका छन् । प्रदर्शनका क्रममा २ जना घाइते भएका छन् । माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता युवराज ओली घाइते भएका छन् । प्रदर्शनकारीलाई जिस्क्याएको भन्दै अर्का एक व्यक्ति एमाले कार्यकर्ताबाट कुटिएका छन् ।
गृह मन्त्रालयमा थप छलफल
मुलुकको पछिल्लो सुरक्षा अवस्था र उत्पन्न परिस्थितिबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङले बोलाएपछि दुवै प्रहरी संगठनका प्रमुखहरू शनिबार साँझ सिंहदरबार पुगेका थिए । गृह मन्त्रालयमा जारी छलफलमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल सहभागी छन् । उनीहरूसँगै नेपाल प्रहरीका कार्य विभाग प्रमुख एआईजी उमाप्रसाद चतुरवेदी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीको कार्य विभाग प्रमुख एआईजी गणेश ठाडा मगर पनि छलफलमा उपस्थित भएका थिए ।
छलफलका क्रममा गृहमन्त्री सुधन गुरुङले देशभरिको शान्ति सुरक्षाको अवस्थाको जानकारी लिएका थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउपछि उत्पन्न सुरक्षा चुनौतीमा केन्द्रित छलफलमा गृहमन्त्रीले आगामी कदमको विषयमा जानकारी लिएका हुन् ।
एमालेले राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सडक प्रदर्शन सुरु गरेपछि उत्पन्न हुन सक्ने सम्भावित मुठभेड र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले सुरक्षा प्रमुखहरूसँग जानकारी लिएका थिए । एमालेले प्रदर्शनलाई थप आक्रामक बनाउने उद्घोष गरेको छ । गृह स्रोतका अनुसार विभिन्न उजुरी रहेर पनि पक्राउ नपरेका थप केहीलाई नियन्त्रणको तयारी छ । शनिबार नै ललितपुरबाट एमालेका पूर्वसांसद कर्णबहादुर मल्ललाई नियन्त्रणमा लिइएको छ । उनीमाथि बलात्कारको आरोप थियो ।
कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।
सुधन गुरुङ, गृहमन्त्रीकारबाही उत्तेजना र आवेगमा आएर होइन, कानुनी प्रक्रियाबमोजिम हुनुपर्छ । यसमा सरकार स्वयं संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानुनको शासन कमजोर हुनसक्छ, देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ ।
देवराज चालिसे, कांग्रेस प्रवक्ताअध्यक्ष ओली र कांग्रेस नेता लेखकमाथि गरिएको नियोजित र निर्देशित गैरकानुनी गिरफ्तारीको विरोध, कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षा गर्न संयुक्त र प्रभावकारी पहलकदमीका लागि राजनीतिक दलहरू, नागरिक समाज र आमजनतालाई अनुरोध गर्दछौं ।
शंकर पोखरेल, एमाले महासचिवसरकार गठन भएलगत्तै दुराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ । यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्छौं ।
पूर्णबहादुर खड्का, कांग्रेस नेता
कांग्रेसका फरक–फरक धारणा
एमाले अध्यक्ष ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री लेखकको पक्राउविरुद्ध कांग्रेसका दुईवटा पक्षका फरक–फरक विज्ञप्ति आएका छन् । पूर्वसंस्थापन देउवा पक्षले प्रतिशोध साँध्न पूर्वाग्रही ढंगले ओली र लेखकलाई पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । तर, विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका गगन थापा पक्षधरले भने ओली र लेखकको नाम पनि उच्चारण नगरी उत्तेजना र आवेगमा आएर काम नगर्न सरकारको ध्यानाकर्षण गरेको छ । भदौ २३ र २४ गतेका दोषी कसैलाई पनि उन्मुक्ति नदिई कारबाही हुनुपर्ने थापा पक्षधर प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमाले शनिबार बिहानैदेखि सडकमा ओर्ले पनि कांग्रेस भने दोधारमा देखिएको छ । कांग्रेसका दुवै पक्षले ढिलो गरी धारणा सार्वजनिक गरेका थिए । कांग्रेसले बालेन नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हतारमा पक्राउ गर्नु गलत भएको बताएको छ ।
दिउँसो अबेर बसेको कांग्रेस शीर्ष नेताको बैठकले गत २३ र २४ को घटनालाई सरकारले निष्पक्ष छानबिन गरी न्याय निरूपण गर्नुको सट्टा घटनालाई राजनीतीकरण गर्न खोजेको निष्कर्ष निकालेको छ । भदौ २३ र २४ का घटनाका सम्बन्धमा सम्बन्धित व्यक्ति तथा संस्थाहरूको निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले अनुसन्धान, अभियोजनलगायत सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाइनुपर्छ भन्नेमा कांग्रेस स्पष्ट रहेको प्रवक्ता चालिसेले बताए । ‘हामी फेरि पनि प्रस्ट गर्न चाहन्छौं, भदौ २३ गतेको घटनामा संलग्नसँगै २४ गतेको आगजनी र विध्वंसमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ ।’
शेरबहादुर देउवा पक्षधर पूर्वसंस्थापन पक्षले ओली–लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने बताएको छ । देउवा कांग्रेसको बैठकले प्रक्रिया पूरा नगरिकन तत्कालीन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप भएको जनाएको छ । उपसभापति पूर्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा पार्टीले जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न देशभरिका पार्टीका नेता/कार्यकर्तालाई तयार रहन अपिल गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा प्रतिवेदनको पेज नं ७२१ को सिफारिसबमोजिम ‘अनुसन्धान तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने भनिएकोमा कुनै पनि प्रक्रिया पूरा नगरिकन तत्कालीन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप छ, राजनीतिक रूपमा पूर्वाग्रह प्रेरित छ ।’
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !











