शारदा नदी भारत उत्तर प्रदेशको बहराइच जिल्लामा कर्णाली (सरयु) नदीसँग मिलेपछि घाघराको नामबाट बग्दै राम जन्मभूमि अयोध्यालाई दायाँ पारेर अगाडि बग्छ।
हुम्ला कर्णाली (सरयु) नदी चीनको तिब्बतमा पर्ने माप्चा खम्बाबबाट उत्पत्ति हुन्छ। यो नदी नेपालको हुम्ला जिल्लाभित्र प्रवेश गरेपछि यसलाई हुम्ला कर्णाली भनिन्छ। सरयु नदी कैलाश मानसरोवर वा राक्षस तालबाट निस्किएको होइन। यो नदी कैलाश पर्वतको दक्षिण–पश्चिममा रहेको गुर्ला मानधाता पर्वतीय मयूर आकारको फेदीबाट निस्किएको हो। स्थानीय तिब्बती भाषामा माप्चाको अर्थ ‘मयूर’, खम्बाबको अर्थ ‘मुख’ हुन्छ। त्यसकारण मयूरको मुखाकृति देखिने पहाडबाट सरयु नदी निस्केको हो। फोटोग्राफर नवीन बराल र वातावरण पत्रकार रमेश भुसालद्वारा खिचिएको प्रस्तुत तस्बिरमा पनि तिब्बतको माप्चा खम्बाब पहाड (मयूरको मुखाकृति जस्तै) देखिन्छ।
मयूर र गरुड परिपूरक पंक्षी हुन्। त्यो क्षेत्रमा गरुडा उपत्यका छ।नेपाली र हिन्दी भाषाको शब्दार्थमा शिव (सूर्य) अग्नि, सरयु, सरायु, सरेयु, सर्जु पर्यायवाची शब्दहरू हुन्। तिब्बतको यस क्षेत्रमा अवस्थित गरुड, गरुडा, मयूरको परिपूरक सम्बन्धले चीन, नेपाल र भारतको आध्यात्मिक–सांस्कृतिक सम्बन्धको एकतालाई ब्युँझाउँछ। किनकि हिन्दु दर्शनमा भगवान् विष्णुको वहान गरुड हो। मयूरको उत्पत्ति गरुडको प्वाँखबाट भएको मानिन्छ। गरुडले आफ्नो प्वाँखबाट मयूरको रचना गरी सर्पलाई लट्ठ पार्छ। मयूर नाचेको समयक्रममा फिँजारिएका प्वाँखहरूको आकृति देखेर सर्प लट्ठ हुन्छ। यो घटनाक्रमलाई पुराणमा समयचक्र भनेको छ।
हुम्ला कर्णाली (सरयु) नदीको प्रसंगमा मयूरको आध्यात्मिक महत्व अझै धेरै छ। महर्षि मनु महाराजको प्रसंग पनि उत्तिकै महत्वपूर्ण छ।विद्वान कुमार कार्तकेयको बहान ‘मयूर’ हो।किनकि कैलाशपति शिव पार्वतीका जेठा छोरा कुमार कार्तिकेयले आफ्नो प्रिय बहान मयूरलाई रोज्नु भएको थियो। त्यसकारण कुमार कार्तिकेय सम्झिँदा मयूरको प्वाँख याद आउँछ। भगवान् कृष्णको मुकुटमा मयूरको प्वाँख देख्दा एसियाली सभ्यताप्रति गौरव लाग्छ।त्यही मयूर भारत (नीलो मयूर), म्यानमारको राष्ट्रिय चरो हो। गोरखपुरस्थित गीता प्रेसद्वारा प्रकाशित ‘संक्षिप्त महाभारत प्रथम खण्ड (वनपर्व)’ र ‘श्रीस्वस्थानी व्रतकथा’अनुसार सरयु (अग्नि, सूर्य) वीर्यबाट ६ मुख भएका कुमार कार्तिकेय उत्पन्न भएको हुँदा कैलाश पर्वत निवासी शिव पार्वतीका समीपमा रहेर मयूर वहानधारी कुमार कार्तिकेय गंगा–पुत्र भई बस्नुभएको उल्लेख पाइन्छ।
त्यसकारण गंगा नदीभित्र मयूरमुखी सरयु नदी मिसिएको हुँदा मयूरधारी कुमार कार्तिकेयसँग जोडिएको यो आध्यात्मिक प्रसंगले हाम्रो सभ्यतालाई समृद्ध, सशक्त बनाएको छ। यो प्राकृतिक–आध्यात्मिक घटनाक्रमले उत्तर चीन कैलाश मानसरोवर, मयूरमुखी जल सरयु, कुमार कार्तिकेय, हिमवत् केन्द्रधारी महर्षि मनु, मनुवंशज राम जन्मस्थल अयोध्या र गंगा महानदीय एसियाली सभ्यतालाई विश्वमा अब्बल बनाएको छ। यो समाज विज्ञानसम्मत छ। अत: शिव पार्वती निवासस्थान कैलाश मानसरोवर र रक्षकसरोवर प्रश्रवण क्षेत्रअन्तर्गत पूर्वतर्फ बग्ने ब्रह्मपुत्र महानदी, दक्षिण एसियातर्फ बग्ने पौराणिक हुम्ला कर्णाली (सरयु) नदी, पश्चिम अरब सागरतर्फ बग्ने सिन्धु (इन्डुस) महानदी सभ्यता नै एसियाली सभ्यताको मुटु हो।
अझ पृथ्वीको जेठो सभ्यता हो।हुम्ला कर्णाली सरयुलगायतका गंगा महानदीका सहायक नदी किनारहरूमा र सिन्धु महानदीका सहायक नदीहरूमध्ये झेलम (वेतस्ता, व्यथ) नदी, राबी नदी किनारहरूमा बसेर महर्षि व्यास, मनु, मनुशिष्य भृगुजस्ता ऋषिमुनिहरूले वेद, मनुस्मृतिजस्ता एसियाली ग्रन्थहरू निर्माण गर्नुभयो।माप्चा खम्बाब मयूरमुखी सरयुको मानकस्तरीय चीन–नेपाल–भारत नदी सभ्यताबाट व्यवहारमा निरन्तर घटिरहने आध्यात्मिक–सांस्कृतिक घटनाक्रमले हाम्रा अग्रज, पूर्वज ऋषिमुनिलाई दीर्घकालीन ऊर्जा सुम्पिएका थिए।
हुम्ला कर्णाली सरयु नदी आफ्नो उद्गमस्थलबाट करिब २० मिटर तल बगेपछि दक्षिण–पश्चिमतिर बग्दै गरुडा उपत्यका (तिब्बत) मा प्रवेश गर्छ।त्यो उपत्यकाभित्र क्रमश: पँखेटा फिँजारेको मयूरको मुखजस्तो देखिने छिवरा चु, पूर्बबाट बगेर आएको गुरला चु, पश्चिमबाट बगेर आएको मप चुको नदी बहावमार्ग तिब्बतको करदुङस्थित त्रिवेणीघाट बनाएर सरयु–कर्णालीमा परिणत हुन्छ। तिब्बती भाषामा ‘चु’ भनेको नदी हो। त्यही तिब्बती नदी हुम्ला जिल्लाभित्र पसेपछि हुम्ला कर्णाली सरयु नदी कहलिँदै मुगु जिल्लाबाट बगेर आएको मुगु कर्णाली र अर्को एउटा स्थानीय खोलामा मिसिएपछि कर्णाली नदी बन्छ।
यसरी हुम्ला कर्णाली सरयु नदी समुच्च कर्णाली नदीको रूपमा अगाडि बग्दै जाँदा मुगु रारातालको पानी, हुम्ला र बाजुराको सिमानाबाट बगेको बुढीगंगा, कालीकोट (लालीघाट) को जितेगाडामा जुम्लाबाट बगेर आएको तिला नदी, अछामहुँदै बगेर आएको सेती नदी, डोल्पाबाट बगेर आएका क्रमश: सानी भेरी र ठूली भेरी कुइने नामको स्थानमा आएर सप्तकर्णाली नदी बन्छ। यसरी सप्तकर्णालीको एउटा सहायक नदी हुम्ला कर्णाली सरयु नदी पनि हो। यसरी हुम्ला कर्णाली (सरयु) नदी समुच्चमा नेपालको हुम्ला, बाजुरा, कालीकोट, दैलेख, अछाम, सुर्खेत, डोटी, बर्दिया र कैलाली जिल्ला हुँदै कैलालीको दक्षिण लागेपछि भारत उत्तर प्रदेशको बहराइच जिल्लामा शारदा नदीसँग मिलेर घाघरा नदी बन्छ।यसरी बहराइच हुँदै अयोध्या पुगेको सप्तकर्णाली नदी नै समुच्चमा सरयु नदी हो।
कर्णाली निवासी विद्वन प्रेम कैदी, ‘मध्य–हिमवत् केन्द्र नेपालभित्र सरयुवंशी (सूर्यवंशी) महर्षि वैवस्वत मनु कर्णाली (कालीकोट) मान्मका महाराजा थिए। त्यहीँबाट महाराजा मनुले संसारमा शासन गरे।वैवस्वत मनुले सरयु कर्णाली नदीको किनारमा बसेर आफ्नो मुखराबिन्दबाट प्रकट गरेका सम्यक वाणीहरूको संग्रह मनुस्मृति रहेको पौराणिक इतिहास साक्षी छ।’ सरयु अथवा हुम्ला कर्णाली नदी तट सूर्यवंशी महर्षि मनुको तपस्यास्थल मानिन्छ। उनै महर्षि महाराजा वैवस्वत मनुका पुत्र इक्ष्वाकुका वंशज भगवान् राम हुन्।ऊनै रामका पूर्वज मनु हुन्।हिमवत् केन्द्र नेपालभित्र अर्को पनि एउटा पौराणिक सरयु नदी बग्छ।
सरयु नदी अतित, वर्तमान, भविष्यत् सर्वकालिक महत्तवको एउटा यस्तो कुदरतको कानुन हो, जसले कैलाशभूमि चीन, नेपाल र गंगाभूमि भारत त्रिपक्षीय त्रिदेशीय धार्मिक–आध्यात्मिक, सांस्कृतिक शक्ति प्रदान गरेको छ।
नेपालको दाङ उपत्यकाभित्र बग्ने त्यो पौराणिक सरयु नदी घोराही उपमहानगरपालिका–१, सिमलतारा, मालझाँक्री गुफा सामुदायिक वन परिसरबाट निस्कन्छ।त्यसकारण यस सरयु क्षेत्र परिसरभित्र राममन्दिर र हनुमानको मूर्ति स्थापित छ। राज्यले यस क्षेत्रको संरक्षण र विकासमा चासो दिइरहेको छ। पृथ्वीनारायण शाहले पर्याप्त प्रमाण पुर्याएर ‘नेपाल असली हिन्दुस्ताना रहेछ’ भन्नु भएको तथ्य पनि सत्य रहेछ। भारत उत्तर प्रदेशका सिँचाइ मन्त्री शिवपाल यादवले पौराणिक स्थानीय दंगाली सरयु नदीप्रति लक्षित गर्दै ‘घाघरा (कर्णाली) सरयुमा समाहित भएपछि गोण्डादेखि बलियासम्मको नदीको भागलाई सरयु नै भन्नुपर्छ’ भनी घोषणा गरेको तथ्य पनि विभिन्न भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरिसकेका छन्।यसरी दाङको पौराणिक सरयु नदी पनि सप्तकर्णाली जलाधार क्षेत्रअन्तर्गतको पश्चिम राप्ती, बबई र मोहना नदीसँग मिलेर समुच्च सप्तकर्णाली सरयु नदीभित्र मिल्छ।
सुदूर पश्चिम–उत्तर नेपालको सीमावर्ती क्षेत्रबाट बगेर आएको महाकाली नदीलाई टनकपुरमा शारदा नदी भनिन्छ। शारदा नदी भारत उत्तर प्रदेशको बहराइच जिल्लामा कर्णाली (सरयु) नदीसँग मिलेपछि घाघराको नामबाट बग्दै राम जन्मभूमि अयोध्यालाई दायाँ पारेर अगाडि बग्छ। रामायणअनुसार अयोध्याको स्थापना मध्य–हिमवत् केन्द्र महर्षि महाराजा मनु र उहाँको वंशजले गरेको पाइन्छ।त्यसकारण मर्यादा पुरुष रामले जीवनको अन्तिम समयमा अयोध्यास्थित सरयु नदीभित्र जलसमाधि लिएको पौराणिक तथ्य साक्षी छ। यसरी हुम्ला कर्णाली सरयु नदीको पानी मर्यादा पुरुष रामको जन्मदेखि समाधिसम्म उपयोग रहिआएको आध्यात्मिक तथ्य पाइन्छ। यसरी चीनमा उद्गमित हुम्ला कर्णाली नदीले भारतमा पाएको सरयुको दर्जालाई मर्यादित राखेको छ। महाकाली (शारदा) र सरयु (कर्णाली) यी दुई नदी घाघरा नदीको संयुक्त नामबाट पूर्वतर्फ अगाडि बग्दै गएर अन्त्यमा बिहारको छपरा रेल्वेगन्जमा पुगेर गंगा नदीभित्र मिल्छन्।
निष्कर्ष : सरयु नदी अतित, वर्तमान, भविष्यत् सर्वकालिक महत्वको एउटा यस्तो कुदरतको कानुन हो, जसले कैलाशभूमि चीन, हिमवत् केन्द्र नेपाल र गंगाभूमि भारत त्रिपक्षीय त्रिदेशीय धार्मिक–आध्यात्मिक, सांस्कृतिक शक्ति प्रदान गरेको छ। यसले माप्चा खम्बाब चीन, मध्य–हिमवत् केन्द्र नेपाल र राम समाधिस्थल अयोध्या भारतबीच त्रिदेशीय सम्बन्ध जोडेको छ। यसरी हुम्ला कर्णाली सरयु नदी प्रश्रवण क्षेत्रले आफ्नो सनातन स्तर, पौराणिक पुरातन मूल्य मान्यता स्थापित गर्दै वर्तमान चीन–नेपाल–भारत त्रिदेशीय त्रिपक्षीय शान्तिपूर्ण सहअस्तित्वलाई अक्षुण्ण राखेको छ।
यसरी सरयुले भारत र चीनको शस्त्रास्त्र शक्ति एकका विरुद्ध अर्कोलाई होइन, दुवैको शस्त्रास्त्र शक्ति मिलाएर एसियाली एकता र सभ्यताका विरोधी शक्तिहरू विरुद्ध शक्ति सञ्चयमा लाग्नुपर्ने आदेश निर्देश संकेत गरेको छ। यसरी सर्वकालिक सरयु नदीको प्रतापले विशाल एसियाली भूखण्डभित्रका मनहरू र पारस्परिक सामाजिक जीवनयापनलाई कल्याणकारी, अखण्ड, अविभाज्य राख्दै आध्यात्मिक–सांस्कृतिक एकतामा जोड दिएको छ।
प्रतिक्रिया दिनुहोस !