एएनओको क्यानाडा राष्ट्रिय समिति गठन: चित्र प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति
विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ राष्ट्रिय शाखा विस्तार गरेको छ। शनिबार (मे ९) टोरन्टो, (अन्टारियो)मा आयोजित एक विशेष समारोहका बीच चित्र प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो।
लामो समयदेखि क्यानाडामा प्राध्यापन क्षेत्रमा संलग्न भई हाल अवकाशप्राप्त नेपाली भाषी व्यक्तित्व चित्र प्रधानको नेतृत्वमा गठन भएको यस समितिले क्यानाडामा रहेका विविध नेपाली भाषी समुदायबीच समन्वयकारी भूमिका खेल्नेछ। कार्यसमितिको उपाध्यक्षमा एमी कर्माचार्य (बर्मेली थाइ, नेपाली मूल), महासचिवमा मुगा राजभण्डारी (नेपाल), सचिवमा भीम सिग्देल (भुटानी नेपाली मूल), कोषाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र प्रवक्तामा जुनी चापागाईं चयन भएका छन्।
यसैगरी बोर्ड सदस्यहरूमा भीम पाठक (नीर भीम), सन्तोष तिम्सिना, ललित कोइराला, रमेश तिम्सिना, रोशन भट्टराई र जयप्रसाद हुमागाईं चयन भएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले भने, ‘एएनओ एनआरएनएको प्रतिस्पर्धी संस्था नभई त्यसले समेट्न नसकेका विश्वभरका नेपाली मूलका मानिसहरूलाई सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा जोड्ने एउटा साझा चौतारी हो।’
यस्तै, संस्थाका केन्द्रीय महासचिव चूडामणि भट्टराईले विश्वका ९ देशमा संस्था पुगिसकेको र अबको लक्ष्य युरोप रहेको जानकारी दिए। नवनिर्वाचित अध्यक्ष चित्र प्रधानले क्यानाडामा रहेका नेपाली, भुटानी तथा भारतीय नेपाली भाषी समुदायलाई एकजुट बनाउँदै नेपाली कला र संस्कृतिको संरक्षणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !