मनाङमा सुरु भयो पर्वतीय उद्धार तालिम शिक्षालय
काठमाडौं : सशस्त्र प्रहरी बलले मनाङमा पर्वतीय उद्धार तालिम शिक्षालय सञ्चालनमा ल्याएको छ। सशस्त्रले मनाङको ङिस्याङ गाउँपालिका–४, हुम्डेस्थित ३ हजार ४२० मिटर उचाइमा अवस्थित सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम शिक्षालय सञ्चालनमा ल्याएको छ। शिक्षालयमा सञ्चालन भएको सिस २ उच्च भूभाग खोज तथा उद्धार तालिम बिहीबार सकिएको छ।
गृह सचिव राजकुमार श्रेष्ठले विपद् उद्धार कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरूको ज्ञान, त्याग र साहसको प्रशंसा गर्दै उच्च भू–भागमा खोज तथा जोखिमपूर्ण उद्धार कार्यले विपदमा परेकाहरूको उद्धारका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने बताए। अकस्मात् आउन सक्ने विपदका कार्यहरूमा सीमित स्रोत साधनको बाबजुद पनि सशस्त्र प्रहरी बल, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। सशस्त्र प्रहरी बल, नेपाललाई विपद् व्यवस्थापनको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र स्रोतसाधन सम्पन्न बनाउन गृहमन्त्रालय सधैं प्रतिबद्ध रहेको गृहसचिवले बताए।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले राष्ट्रको भरोसायोग्य सुरक्षा संगठनका रूपमा आफूलाई स्थापित गर्दै आइरहेको उल्लेख गर्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा आकस्मिक घटना तथा चुनौतीहरूलाई प्रभावकारी रूपमा सामना गर्न खोज तथा उद्धार कार्यका लागि दक्ष र साहसी जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालयको स्थापना गरिएको बताए।
आइजीपी पौडेलले पर्वतीय उद्धार क्षमता केवल सुरक्षा व्यवस्थाको विषय मात्र नभई नेपालको राष्ट्रिय प्रतिष्ठा, पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय विश्वास र मानवीय उत्तरदायित्वसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले ज्ञान र सीपलाई व्यवहारमा उतारी उच्च हिमाली तथा दुर्गम क्षेत्रमा जीवन रक्षाको कार्यमा परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका थिए।
महानिरीक्षक पौडेलले शिक्षालयको थप सुदृढीकरणका लागि आवश्यक भौतिक पूर्वाधार, आधुनिक उद्धार उपकरण तथा स्रोतसाधन, बसोबास सम्बन्धी आपतकालीन व्यवस्था तथा उद्धार कार्यका लागि हेलिकोप्टर र कठिन प्रकृतिको काममा खटिने कर्मचारीहरूको मनोबल उच्च राख्न जोखिम भत्ताको व्यवस्था भएमा उच्च हिमाली क्षेत्रमा उद्धार कार्य अझ प्रभावकारी हुने बताए।
उच्च भूभाग खोज तथा उद्धार तालिमका ४ जना प्रशिक्षक तथा १८ प्रशिक्षार्थीहरूले वैशाख २९ गते ६ हजार ३८ मिटर अग्लो चुलु फार इस्ट हिमालको समेत सफल आरोहण गरेका थिए। यसअघि २०८२ असोज २५ गते सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेलको कमाण्डमा पहिलो पटक ७ जनाले चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका थिए भने २०८२ असोज ९ गते सशस्त्र प्रहरी नायब उपरीक्षक जोगेन्द्र केसीको कमाण्डमा २१ जनाले सफल आरोहण गरेका थिए।
२०७७ सालमा मनाङ जिल्ला सदरमुकाममा स्थापना भई २०७८ साल वैशाखदेखि ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डेमा शिक्षालय स्थानान्तरण भएको हो। हालसम्म ७५ जनाले उच्च भू–भाग खोज तथा उद्धार आधारभूत तालिम, ५५ जनाले उच्च भू–भाग खोज तथा उद्धार एडभान्स तालिम र १ सय २० जनाले रोप रेस्क्यु तालिम प्राप्त गरेका छन्।
शिक्षालयमा सञ्चालन भएका विभिन्न तालिम तथा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा गत कात्तिक महिनामा हिउँमा फसेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार, भारी हिमपातमा फसेका १५ सय नागरिकहरूको सकुशल उद्धार लगायत अवरुद्ध सडकहरू पुनः सञ्चालन, अलपत्र परेका तथा बेपत्ता भएका व्यक्तिहरूको खोज तथा उद्धार गर्नुका साथै लेक लागेका स्वदेशी तथा विदेशी पर्यटकहरूको उद्धार गरेका छन्।
प्रतिक्रिया दिनुहोस !