ढल्यो पाँच दशकदेखिको बस्ती
सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुल क्षेत्रमा रहेको बस्ती शुक्रबार हटाइएको छ । सडक, वन र निकुञ्ज क्षेत्रभित्र रहेको भन्दै डिभिजन वन कार्यालय, सडक डिभिजन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले डोजर लगाएर बस्ती भत्काएको हो । २०३२ सालदेखि बसोबास सुरु भएको तीन नम्बर पुल वरपर ३८ घरटहरा थिए । बन्द भईसकेको विद्यालयसहित सबै घरटहरा भत्काइएका हुन् । बस्ती भत्काउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन रक्षक र नेपाली सेना गरी एक सय ७० जना सुरक्षाकर्मी परिचालित थिए ।
सुरक्षाकर्मीसहित डोजर लिएर सरकारी टोली बस्तीमा पुगेपछि स्थानीय आक्रोशित भएका थिए । उनीहरुले बस्ती खाली गर्नका लागि समय माग गरेका थिए । तर डिभिजन वन अधिकृत ललनराउत कुर्मीले यसअघि नै बस्ती खाली गराउन समय दिइएको भन्दै तत्काल खाली गराउन निर्देशन दिएका थिए।
डोजर चलाउनुअघि केही स्थानीयले अवरोध गरे पनि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपपछि स्थानीयले सामान हटाउन सुरु गरे । प्रहरीले समेत सामान हटाउनका लागि स्थानीयलाई सहयोग गरेका थिए ।
पाँच दशकदेखिएको बस्ती उक्त बस्ती त्रिभुवन राजमार्ग अन्तर्गत पथलैया–हेटौंडा सडक खण्डमा पर्छ । उक्त राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि उक्त ठाउँ खाना, खाजा र विश्रामका लागि परिचित थियो । उक्त बस्तीका होटलमा मात्रै सयौंले रोजगारी पाएका थिए । बस्ती खाली भएसँगै स्थानीयको व्यवसाय र रोजगारी गुमेको छ ।
स्थानीयले राजमार्गको २५-२५ मिटर भत्काउन आफूहरु तयार रहेको र बाँकी जमिन आफूहरुका लागि छाडिदिन आग्रह गरेका थिए । लामो समयदेखि आफूहरु बसोबास गर्दै आएको उक्त बस्तीलाई वन क्षेत्रको रुपमा व्याख्या गर्न नहुने तर्क स्थानीयको थियो । तर डिभिजन वन कार्यालयका वन अधिकृत कुर्मीले भने वन क्षेत्र कायम भएको उक्त जग्गामा संरचना बनाउन नमिल्ने बताए ।
२०३२ सालमा नापी नक्सा भएको उक्त बस्तीलाई २०४४ सालमा वन क्षेत्र कायम गरिएको थियो । यसैगरी २०५५ सालमा सामुदायिक वन घोषणा गरिएपछि आवादी क्षेत्रका रूपमा मान्यता दिइएको स्थानीयको भनाई छ । स्थानीय माया पाख्रिनले दशकौंदेखि बस्दै आएको बस्तीलाई वन क्षेत्र करार गरेर आफूहरुको विचल्ली पारेको बताइन् । २०७७ सालमा उक्त वस्तीका नागरिकलाई वडा कार्यालयले जग्गाको निस्सा समेत वितरण गरेको थियो । जग्गाको निस्सा पाएपछि लालपूर्जा पाउने आशमा रहेका स्थानीय अन्ततः बिस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस !