सांकेतिक भाषामा हिमाल चिनाउँदै बहिरा ट्रेकिङ गाइड

सांकेतिक भाषामा हिमाल चिनाउँदै बहिरा ट्रेकिङ गाइड
सुन्नुहोस्

काठमाडौं : नेपालको हिमाली पदमार्गमा अहिले मौन संवादका उदाहरणहरू देखिन थालेका छन्। त्यो संवाद शब्दको होइन, सांकेतिक भाषाको हो। बहिरा ट्रेकिङ गाइडहरूको बढ्दो सहभागिताले नेपालको पर्यटन क्षेत्रमा समावेशी अभ्यासको नयाँ अध्याय सुरु भएको देखिन्छ।

रसुवाको कालिका गाउँपालिका–५ का चोपप्रसाद पौडेल र सोलुखुम्बुका छिरी शेर्पा यस परिवर्तनको नयाँ अध्यायका प्रतिनिधि पात्र बनेका छन्। हिमाली पदमार्गका उकालीहरु केवल शारीरिक सहनशीलताले मात्र पार हुँदैनन्, त्यसका लागि आत्मविश्वास, साहस र अवसर पनि उत्तिकै आवश्यक पर्छ। चोपप्रसाद र छिरी शेर्पा यही साहस र आत्मविश्वासको उदाहरण बनेका हुन्। विगत केही वर्षदेखि पर्यटन क्षेत्रमा भरिया र होटल कुकका रूपमा संघर्षरत चोपप्रसादले हालै विश्वप्रसिद्ध मनास्लु सर्किट ट्रेक सफलतापूर्वक सम्पन्न गर्दै नेपालको समावेशी पर्यटन यात्रामा नयाँ आशा देखाएका छन्। 

५ हजार १०६ मिटर उचाइसम्म पुग्ने कठिन मनास्लु पदमार्गमा उनले १५ दिने ट्रेक सम्पन्न गरेका हुन्। उनको यो यात्रा केवल व्यक्तिगत सफलता होइन, फरक क्षमता भएका समुदायका लागि प्रेरणादायी सन्देश पनि बनेको छ। चोपप्रसाद भन्छन्, ‘नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रिय संघीय विकास परियोजनाद्वारा संयुक्त रुपमा सञ्चालित दिगो पर्यटन परियोजनाबाट बहिरा युवाका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन हुने खबर पाएपछि म पनि सहभागी भएको थिएँ। तालिमअघि र तालिमपछि ट्रेकिङ अनुभवमा ठूलो फरक महसुस भयो। सिकाइले आत्मविश्वास बढायो, कठिन परिस्थितिमा कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान दियो।’

तालिमपछि उनले सामाजिक सञ्जालमार्फत दुई जना फ्रेन्च पर्यटकसँग सम्पर्क गरेका थिए। आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई लिएर मनास्लु सर्किट ट्रेकमा निस्किएका चोपप्रसादले यात्रालाई सफलतापूर्वक सम्पन्न गरे। ट्रेकका क्रममा उनलाई एक सहयोगीले साथ दिएका थिए। मनास्लु नेपालकै कठिन ट्रेकिङ रुटमध्ये एक हो। तर तालिमबाट प्राप्त ज्ञान, पर्वतीय सुरक्षा सम्बन्धी सीप र पर्यटकसँगको व्यवहारिक अभ्यासले यात्रा सहज बनाएको चोपप्रसादले बताएका छन्। ‘यो ट्रेकपछि मभित्रको आत्मविश्वास अझै उचो भएको छ। अब नेपालको अन्य पदमार्गमा पनि ट्रेकिङ गर्ने इच्छा जागेको छ,’ उनले भने।

तालिममा पर्वतीय सुरक्षा, प्राथमिक उपचार, पदमार्ग व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक व्याख्या, वातावरणीय उत्तरदायित्व, संकट व्यवस्थापन तथा नेपालको भौगोलिक र सांस्कृतिक विविधताबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो। चोपप्रसादको यात्राले बहिरा समुदायका लागि पर्यटन क्षेत्रमा सम्भावना विस्तार भइरहेको देखाउँछ। त्यही सम्भावनालाई व्यवहारमा उतारिरहेका अर्को उदाहरण हुन् छेरी शेर्पा।

सोलुखुम्बुका छेरी शेर्पा लामो समयदेखि विदेशी पर्यटकलाई हिमाली पदमार्गमा यात्रा गराउँदै आएका छन्। उनी सांकेतिक भाषामार्फत पर्यटकसँग संवाद गर्छन् र भिडियो कलमार्फत ट्रेकिङ योजना बनाउनेदेखि यात्राको तयारीसम्म आफैं नेतृत्व गर्छन्।

हालै उनले एक अमेरिकी नागरिक र उनकी बहिरा नेपाली श्रीमतीलाई लिएर गोक्यो, चोला पास (५,३७५ मिटर), एभरेष्ट बेस क्याम्प हुँदै लुक्लासम्मको ट्रेक सफलतापूर्वक सम्पन्न गराएका थिए। छेरी शेर्पाका अनुसार सांकेतिक भाषाले यात्रामा फरक किसिमको विश्वास र आत्मीयता निर्माण गर्छ। ‘हामीले यात्राभर संकेतमार्फत संवाद गर्‍यौं। शब्दभन्दा व्यवहार र बुझाइ महत्वपूर्ण भयो,’ उनले भने।

पर्यटन क्षेत्रका सरोकारवालाले बहिरा युवाका लागि सुरु गरिएको ट्रेकिङ गाइड तालिमलाई नेपालको समावेशी पर्यटन विकासको महत्वपूर्ण पहलका रूपमा लिएका छन्। राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले बहिरा युवाले पनि नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्ने बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब ४३ करोड मानिस श्रवण समस्याबाट प्रभावित छन् भने ७ करोडभन्दा बढीले सांकेतिक भाषा प्रयोग गर्छन्। यस्तो अवस्थामा नेपालमा सुरु गरिएको यो पहल समावेशी पर्यटनको प्रभावकारी बनेकोमा दिगो पर्यटन परियोजनाका प्रबन्धक धर्मराज दवाडीले खुसी व्यक्त गरे। उनले भने, ‘नेपालको पर्यटन अब केवल हिमाल र प्राकृतिक सौन्दर्यमा सीमित छैन। समावेशिता र समान अवसरको अभ्यासले पर्यटनलाई अझ मानवीय र व्यापक बनाउने संकेत देखिन थालेको छ।’

चोपप्रसाद र छेरी शेर्पाका अनुभवले पनि अवसर र तालिम पाए बहिरा समुदाय पनि पर्यटन क्षेत्रका सक्षम गाइड र प्रतिनिधि बन्न सक्छन् भन्‍ने देखाएको छ। उनीहरूले सरकार, पर्यटन व्यवसायी र सरोकारवालासँग बहिरा तथा फरक क्षमता भएका युवाका लागि थप रोजगारी र अवसर सिर्जना गर्न आग्रह गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.