जेनजी अभियन्ता भन्दै वडासचिव भण्डारीलाई धम्क्याउने खड्का पक्राउ
दैलेख : आफूलाई जेनजी अभियन्ता भन्दै दैलेखका एक वडासचिवलाई थम्की दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई जेनजी अभियन्ता भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनबाट धम्की दिने प्रकाश खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
आफू प्रधानमन्त्री कार्यालयको भन्दै वडासचिव भण्डारीलाई धम्की दिएका खड्कालाई पक्राउ गरिसकिएकाे काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए । उनले भण्डारीलाई एक सिफारिसका लागि दवावपूर्ण फोन धम्की दिएको बताइएको छ । पक्राउ परेका खड्कामाथि थप अनुसन्धान अगाढि बढिसकेको पनि एसएसपी थापाले बताएका छन् ।
अहिले खड्काको धम्कीपूर्ण फोन सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा भाइरल भएको उनको फोन संवादवारे विभिन्न प्रतिक्रिया आएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले खड्काले विभिन्न कार्यालयका हाकिमलाई बजेट र आर्थिक विषयमा धम्क्याउने, प्लेनको टिकट काट्न लगाउने गरेको प्रतिक्रिया दिएका छन् । उनीहरुले खड्कालाई सुधन गुरुङ निकट समेत भनेका छन् । यसैबीच प्रधानमन्त्री तथा मन्पिरिषदको कार्यालयले राष्ट्र सेवक कर्मचारीमाथि दिइएको यस्तो धम्कीप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
मन्त्रिपरिषद कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले एक विज्ञप्ती जारी गर्दै कानुन र स्थापित प्रशासनिक प्रक्रिया अनुसार आफ्नो जिम्मेवारी वहन गरिरहेको एक राष्ट्र सेवक कर्मचारीमाथि पदीय मर्यादा विपरीत भय, त्रास र सिर्जना गर्ने र धम्क्याउने कार्य निन्दनीय र अक्षम्य भएको बताएका छन् । सुशासनको अभियानमा कोही कसैसँग सम्झौता नहुने बताउँदै कर्मचारीमाथि धम्की दिने खड्कामाथि आवश्यक कानुनी कारवाही प्रक्रिया अघि बढाउन समेत मन्पिरिषदको कार्यालयले प्रहरी प्रशासनलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस !