मलमासमा पवित्र हुन सोनमा र लोहारपट्टीमा भक्तजनको भिड
महोत्तरी : मलमासको समयमा पवित्र जलाशयमा स्नान गरे पुण्य प्राप्त हुने जनआकांक्षा रहेको छ। सोही अनुरूप महोत्तरीका दुई पालिकामा स्नान गर्नेको आइतबार भीडभाड थियो। मानिसहरूको भीडभाड भएपछि स्थानीय पालिकाले ती दुई स्थानमा भव्य मेलाको आयोजना गरिएको छ।
आइतबार बिहानैदेखि जिल्लाको सोनमा गाउँपालिकास्थित खैरबन्नी गाउँको कान्तवाँ नदीमा स्नान गर्ने श्रद्धालुहरुको भिड थियो। खोला छेउमा रहेको गेरुकीधाम मन्दिरमा जल अर्पण गर्ने भक्तजनहरु टाढाटाढाबाट आएका थिए।
लोहारपटटी नगरपालिकास्थित रातु नदीमा पनि सोही मेलाको आयोजना गरिएपछि भक्तजनहरूको भिड थियो। गेरुकाधामले परिचित रहेको यस मेलामा प्रतिनिधिसभा सदस्य एवं पूर्व श्रममन्त्री दीपक साह लगायतको सहभागी थियो। पूर्वमन्त्री साहले पर्यटकीय क्षेत्र विस्तार लगायतका विषयमा चर्चा परिचर्चा गरेका थिए।
उक्त दुई मेलामा आवश्यकता अनुसारको सुरक्षाकर्मी परिचालन गरिएको महोत्तरीका प्रहरी उपरीक्षक हेरेम्ब शर्माले जानकारी दिए। यी दुई स्थानमा प्रत्येक हप्ताको मंगलबार र आइतबारका दिन मलमास अवधिभरिमा मेला लाग्ने भएको छ।
प्रतिक्रिया दिनुहोस !