हटाइएका सुकुमबासीलाई वैकल्पिक व्यवस्था गर्न सरकारले ल्यायो नयाँ योजना
काठमाडौं : सरकारले हटाइएका सुकुमबासीलाई स्वव्यवस्थामा प्रोत्साहन गर्न नयाँ प्याकेज ल्याएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्न पाँच सदस्य भएको प्रति परिवार १५ हजार रुपैयाँ र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप २ हजार प्रति महिनाको बसोबास व्यवस्थापन खर्च प्रदान गर्ने निर्णय गरेको हो। निर्णय अनुसार उक्त रकम ३ महिनासम्म उपलब्ध गराइने छ।
यसैगरी काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत २५ हजार रुपैयाँ एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय गरेको छ।
वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने र बालबालिका तथा विद्यार्थीको पठनपाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गर्ने निर्णय भएको छ।
प्रतिक्रिया दिनुहोस !