हिमचुचुरामा शेर्पा साम्राज्य : आरोहणका सबै विश्व रेकर्ड नेपालकै
ओखलढुंगा : विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो (८,८४८.८६ मिटर) धेरैका लागि जीवनमा एकपटक पुग्ने सपनाको अन्तिम बिन्दु हो। तर, नेपाली शेर्पाहरूका लागि यो एउटा यस्तो अनौपचारिक घर जस्तै बनेको छ, जहाँ उनीहरू हरेक वसन्त ऋतुमा आफ्नै कीर्तिमानहरूको पाना नवीकरण गर्न पुग्छन्। ८ हजार मिटरभन्दा माथिको मृत्यु क्षेत्र जहाँ मानिसलाई सास फेर्नसमेत धौ–धौ पर्छ, त्यहाँ नेपाली आरोहीहरू विश्व पर्वतारोहण इतिहासको बलियो जग बनाउँदै छन्।
यस वर्षको मे महिनाले सगरमाथाको इतिहासमा एउटा स्वर्णिम र अभूतपूर्व अध्याय थपेको छ। पुरुषतर्फ कामिरिता र पासाङ दावा (पा–दावा) बीचको रोमाञ्चक एभरेस्ट रेस उत्कर्षमा पुग्दा, महिलातर्फ ल्हाक्पा शेर्पाले संसारकै कुनै पनि महिलाले कल्पनासमेत गर्न नसकेको अपराजित यात्रालाई नयाँ उचाइमा पुर्याएकी छिन्। यो केवल कसले कति पटक चढ्यो भन्ने तथ्यांक मात्र होइन, बरु सगरमाथाको शिखरमा नेपाली शेर्पा समुदायको निर्विकल्प र अनन्त साम्राज्यको जिउँदो प्रमाण भएको पर्यटन व्यवसायी तथा हिमाल आरोही आङ्बाबु शेर्पाको भनाइ छ।
समानान्तर रेस : कामिरिताको ३२औं र ल्हाक्पाको ११औं चमत्कार
एकातिर ५६ वर्षीय एभरेस्ट म्यान कामिरिता शेर्पाले ३२औंपटक सगरमाथाको चुचुरोमा पाइला टेकेर आफ्नै ३१ पटकको विश्व कीर्तिमानलाई थप परिष्कृत गरे। सन् १९९४ देखि सुरु भएको यो यात्राले उनलाई इतिहासकै सबैभन्दा बढी पटक सगरमाथा चढ्ने महामानव बनाएको छ। ठीक त्यही दिन, कामिरिताकै पाइला पछ्याउँदै साहसी महिला आरोही ल्हाक्पा शेर्पाले ११औंपटक सगरमाथाको सफल आरोहण गरेर विश्वकीर्तिमान रचिन्। विश्वका अन्य कुनै पनि महिला आरोही ल्हाक्पाको यो अपराजित कीर्तिमानको वरपरसमेत छैनन्।
अमेरिकाको एक सुपरमार्केटमा काम गर्दै एकल आमाका रूपमा दुई छोरीहरू हुर्काइरहेकी ल्हाक्पाले कुनै ठूलो कर्पोरेट प्रायोजक बिनै आफ्नो दृढ इच्छाशक्तिको भरमा ११औंपटक सगरमाथा जितेर महिला शक्तिको विश्वव्यापी बिम्ब बनेकी छिन्। यो शेर्पा समुदायको मात्र नभई नेपाली महिलाको हिमालमा कायम भएको ऐतिहासिक कीर्तिमान भएको सगरमाथा आरोही माउन्टेन लिडर दिकी शेर्पा बताउँछिन्।
२४ घन्टाभित्रै पा–दावाको चुनौती : जादुई तीसको कीर्तिमान
कामिरिता र ल्हाक्पाले आइतबार इतिहास रचिरहँदा, सगरमाथाको फेदीमा अर्का महानायक आफ्नो पालो पर्खिरहेका थिए। कामिरिताले रेकर्ड बनाएको २४ घन्टा बित्न नपाउँदै सोमबार बिहान (मे १८, २०२६) ८ : २५ बजे सोलुखुम्बुको पाङ्बोचेका रैथाने पासाङ दावा शेर्पा (पा–दावा) ३०औंपटक सगरमाथाको शिखरमा उभिए।
अन्तर्राष्ट्रिय एजेन्सी क्लाइम्बिङ द सेभेन समिट्स र स्थानीय व्यवस्थापक ट्याग नेपाल ट्रेक्समार्फत विदेशी आरोहीहरूको नेतृत्व गर्दै चुचुरोमा पुगेका पा–दावा इतिहासमै ३० को जादुई आँकडा छुने विश्वकै दोस्रो व्यक्ति बनेका छन्। सन् १९९८ देखि सगरमाथा चढ्न सुरु गरेका पा–दावा र कामिरिताबीचको यो प्रतिस्पर्धा कुनै अन्तर्राष्ट्रिय खेलकुदको फाइनल म्याचभन्दा कम रोमाञ्चक छैन। यी दुई महामानवपछि तेस्रो स्थानमा २६ पटक सगरमाथा चढ्ने ङिमा नुरु शेर्पा छन्।
हाल उनले आरोहण स्थगन गरेका छन् भने कामिरिता र पादावाको आरोहण निरन्तर जारी छ। चालु वसन्त सिजनसम्मको यो रोचक कीर्तिमानी नेपाली शेर्पा आरोहीले आफ्नो नाममा लेखाएका छन्। तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मा बनाएको विश्व रेकर्ड यो सिजनसम्मै नेपाली शेर्पाहरूले कायमै राखेका छन्।
यो केवल शेर्पाहरूको मात्र इतिहास नभएर समग्र नेपालीहरूको गौरवको इतिहास भएको नेपाल शेर्पा संघका महासचिव लाक्पा जी शेर्पा बताउँछन्। चालु सिजनमा सरकारले सगरमाथा आरोहणका लागि इतिहासकै सबैभन्दा धेरै ४ सय ९२ जनालाई अनुमति दिएर १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरिसकेको छ। यो सिजन नेपालका लागि केवल राजस्व र पर्यटनको माध्यम मात्र बनेन विश्व रेकर्डमा नेपाली शेर्पाहरूको स्वर्ण समय प्रमाणित भएको छ।
प्रतिक्रिया दिनुहोस !