ट्राफिक लाइटमा रोकिएका बेला राज्यमन्त्रीको गाडीलाई भ्यानले दियो ठक्कर
विराटनगर : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम सवार गाडीलाई विराटनगरमा भ्यानले ठक्कर दिएको छ। दुर्घटना शुक्रबार दिउँसो विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा भएको हो।
प्रहरीका अनुसार रातो बलेको ट्राफिक लाइटमा रोकिएका बेला राज्यमन्त्रीको गाडीलाई भ्यानले ठक्कर दिएको थियो। विराटनगरको बरगाछीतर्फबाट आयल निगमतर्फ जाँदै गरेको राज्यमन्त्री गौतम सवार प्र १–०२–००१ झ ७०८ नम्बरको गाडी कञ्चनबारीको ट्राफिक लाइटमा रोकिएको थियो। सोही बेला पछाडिबाट आएको प्र १–०२–००२ च ६७९० नम्बरको भ्यानले राज्यमन्त्री सवार सरकारी गाडीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुवै सवारीसाधनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले भ्यान चालक मोरङको केराबारी गाउँपालिका–८ का अन्दाजी ५० वर्षीय चित्रकुमार तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। राज्यमन्त्रीको गाडीका चालक विराटनगर महानगरपालिका–७ का अन्दाजी ३४ वर्षीय दीपक कामत पनि प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ।
दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रातो ट्राफिक लाइटमा गाडी रोकिएको अवस्थामा भ्यान चालकको लापरबाहीका कारण दुर्घटना भएको देखिएको छ। दुर्घटनापछि राज्यमन्त्री गौतम भने अर्को व्यवस्था मिलाएर गन्तव्यतर्फ लागेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !