गगन थापाको चेतावनी: ‘अनुहार मन परेन’ भन्दै कांग्रेसभित्र अड्किन मिल्दैन

गगन थापाको चेतावनी: ‘अनुहार मन परेन’ भन्दै कांग्रेसभित्र अड्किन मिल्दैन
सुन्नुहोस्

विराटनगर :  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र देखिएको असन्तुष्टि, २०८२ भदौ २४ गतेको हिंसात्मक घटनाको छानबिन र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषयलाई एकैसाथ उठाएका छन्। उनले सरकार र आफ्नै पार्टीभित्रका असहज प्रवृत्तिमाथि कडा टिप्पणीसमेत गरेका छन्। शनिबार बिहान विराटनगरस्थित ऐतिहासिक कोइराला निवासमा पुगेका थापाले सञ्चारकर्मीसँग कुरा गर्दै भदौ २४ गते भएको घटनालाई सरकारले सुनियोजित रूपमा ओझेलमा पार्न खोजेको आरोप लगाए। उनले उक्त घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न माग गरे। 

थापाले भदौ २३ गते भएको घटनामा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढिरहेको भन्दै त्यसमा कांग्रेसको समर्थन रहेको बताए। तर, त्यसको भोलिपल्ट भएको हिंसा र क्षतिको विषयलाई राज्यले गम्भीरतापूर्वक नलिएको उनको आरोप थियो। उनले कोइराला निवासदेखि चाक्सीबारीसम्म तथा सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म गरिएको तोडफोड, आगजनी र हिंसात्मक घटनामा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै थुप्रै युवा र सुरक्षाकर्मीले ज्यान गुमाएको बताए।

‘यति ठूलो घटना हुँदा पनि सरकारले त्यसको स्वतन्त्र छानबिन गर्न चाहेको देखिँदैन,’ थापाले भने, ‘यो विषय दबाएर होइन, सत्य बाहिर ल्याएर मात्रै समाधान हुन्छ।’ सभापति थापाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सरकारमाथि थप प्रश्न उठाए। उनले आयोगमाथि दबाब सिर्जना गरेर प्रतिवेदन लुकाउन वा संशोधन गर्न खोजिएको आशंका व्यक्त गरे। 

‘यदि सरकारले केही लुकाएको छैन भने प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ,’ उनले भने, ‘संवैधानिक निकायको प्रतिवेदन रोक्नु लोकतान्त्रिक मूल्यविपरीत हो।’ पार्टीभित्रको आन्तरिक विवाद र सदस्यता व्यवस्थापनका बारेमा पनि थापाले खुला रूपमा धारणा राखेका छन्। उनले कांग्रेसभित्र असन्तुष्टि सम्बोधन गर्नु सभापतिको जिम्मेवारी भएको बताउँदै सबै पक्षलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको दाबी गरे। 

उनले केन्द्रीय समितिभन्दा बाहिर रहेका नेताहरूलाई पनि पार्टीको मूलधारमा ल्याउन आफूहरू तयार रहेको बताए। सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र निर्वाचन समिति सहमतिमै गठन गर्न सकिने भन्दै उनले संवादका लागि ढोका खुला रहेको स्पष्ट पारे। तर, पार्टीको विधानविपरीत गतिविधि गर्ने र संगठनात्मक काममा अवरोध खडा गर्ने प्रवृत्तिलाई भने अब सहन नसकिने चेतावनी उनले दिए। 

‘सबैलाई समेट्ने वातावरण बनाइसकेपछि पनि यदि कसैले ‘अनुहार मन परेन’ भनेर मात्रै समस्या देखाउँछ भने त्यसको अर्थ हुँदैन,’ थापाले भने, ‘विधान मिच्ने र पार्टीको काम रोक्नेहरूलाई धन्यवाद दिएर बिदा गर्ने प्रक्रिया सुरु भइसकेको छ।’ उनले ‘अनुहार मन परेन’ भन्दै कांग्रेसभित्र अड्किन नमिल्ने उल्लेख गरे। 

कांग्रेसभित्र पछिल्लो समय गुटीय तनाव र नेतृत्वप्रतिको असन्तुष्टि बढ्दै गइरहेका बेला थापाको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। थापाले कांग्रेस विभाजनको दिशामा जाने कुनै अवस्था नरहेको पनि जिकिर गरे। उनले अहिलेको परिस्थितिको गम्भीरता सबै नेताहरूले बुझेको विश्वास व्यक्त गर्दै पार्टीभित्र संवाद र सहमतिमार्फत समाधान खोजिने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.