समयअघि नै बन्यो रतुवाखोलाको पुल, मिर्चाडाँगीमा उत्साह
विराटनगर : मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँलाई जोड्ने रतुवा खोलामाथिको झोलुंगे पुल निर्माण सम्पन्न भएपछि स्थानीय उत्साहित बनेका छन्। वर्षौंदेखि बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता अन्त्य भएपछि स्थानीय स्तरमा उत्साह छाएको छ। स्थानीयले पुललाई गाउँको ठूलो उपलब्धि एवं मुख्य पूर्वाधारका रूपमा लिएका छन्।
सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागमार्फत निर्माण गरिएको ‘मिर्चाडाँगी–महादेवा मल्टिस्प्यान ट्रेलब्रिज’ अहिले स्थानीयको मुख्य आवतजावतको माध्यम बनेको छ। करिब ७४७ मिटर लम्बाइको उक्त पुल पूर्वी तराईकै लामो झोलुंगे पुलमध्ये एक मानिएको छ। वडाध्यक्ष देवीलाल ताजपुरियाका अनुसार यसअघि बर्खा सुरु भएसँगै रतुवा खोलामा पानीको बहाव बढ्दा स्थानीयलाई आवतजावतमा निकै कठिन हुने गरेको थियो। ‘मिर्चाडाँगीमा सय परिवारजति छन्।
बर्खाका बेला गाउँमै थुनिएर बस्नुपर्ने स्थानीयको बाध्यता थियो। विशेषगरी विद्यालय जाने विद्यार्थीहरू बढी प्रभावित हुने गरेका थिए,’ ताजपुरिया भन्छन्। उनका अनुसार खोलामा पानी बढेपछि विद्यार्थीले विद्यालय जानै नसक्ने अवस्था आउँथ्यो। बर्खाको समयमा बालबालिकाको पढाइ नै प्रभावित हुने गरेको उनको भनाइ छ।
पुल सञ्चालनमा आएपछि अहिले विद्यार्थीहरू नियमित रूपमा विद्यालय जान थालेका छन्। पुल बनेपछि शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव परेको वडाध्यक्ष ताजपुरियाएले बताए। यस्तै, किसानहरूलाई पनि पुलले ठूलो राहत दिएको छ। मिर्चाडाँगीका किसानले उत्पादन गरेका धान, मकै, तरकारी तथा अन्य कृषि सामग्री बजारसम्म पु¥याउन विगतमा समस्या हुने गरेको थियो। खोलामा पानी बढेका बेला कृषि सामग्री बोकेर खोला पार गर्नुपर्ने बाध्यता थियो। अहिले पुल बनेपछि कृषि उत्पादन ओसारपसारमा सहजता आएको स्थानीयको भनाइ छ।
उक्त पुल निर्माणको जिम्मा काठमाडौंको बत्तीसपुतलीस्थित थानी निर्माण सेवा प्रालिले पाएको थियो। कम्पनीले भ्याटसहित १९ करोड ८२ लाख ४४ हजार ६ सय ६२ रुपैयाँ लागतमा पुल निर्माणको ठेक्का लिएको थियो। २०८२ असार ११ गते सम्झौता भएको पुल २०८४ असार १० गतेभित्र सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो।
तर, निर्माण कम्पनीले निर्धारित समयभन्दा करिब १४ महिनाअगावै पुल निर्माण सम्पन्न गरेको हो। निर्माण व्यवसायी लोकबहादुर बस्नेतका अनुसार कामलाई तीव्र गतिमा अघि बढाइएकाले समयअघि नै पुल निर्माण सम्पन्न गर्न सम्भव भएको हो। पुल निर्माणसँगै अब गाउँमा शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिक जीवन सहज बनेको वडाध्यक्ष ताजपुरियाले बताए।
प्रतिक्रिया दिनुहोस !