हिन्दू स्वयंसेवक संघ नेपालद्वारा ‘संघ शिक्षा वर्ग’ कार्यक्रम आयोजना
काभ्रे : हिन्दू स्वयंसेवक संघ नेपालद्वारा आयोजित राष्ट्रियस्तरको ‘संघ शिक्षा वर्ग २०८३’ को उद्घाटन सत्र भव्य रूपमा गरिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित माकाजु समाज कल्याण संघको भवनमा कार्यक्रमको विशेष उद्घाटन गरिएको हो । समारोहमा बागमती प्रदेशका समाज विकासमन्त्री कञ्चन बादी मुख्य अतिथिका रूपमा उपस्थित थिइन् । त्यसैगरी, हिन्दू स्वयंसेवक संघ नेपालका कल्याणकुमार तिमिल्सिनाको कार्यक्रममा विशिष्ट उपस्थिति थियो ।
उद्घाटन सत्रमा सनातन धर्मका अगुवाहरू, नागरिक समाजका प्रतिनिधिहरू, संघका वरिष्ठ पदाधिकारीहरू तथा विभिन्न विधाका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो । यस आवासीय प्रशिक्षण वर्ग कार्यक्रममा भाग लिन नेपालका विभिन्न जिल्लाहरूबाट उत्साहजनक संख्यामा स्वयंसेवक प्रशिक्षार्थीहरू धुलिखेल आइपुगेका छन् ।
हिन्दू स्वयंसेवक संघ नेपालको संघ शिक्षा वर्ग स्वयंसेवकहरूको सर्वाङ्गीण विकासका लागि सञ्चालित एउटा अत्यन्तै व्यवस्थित र कडा अनुशासनयुक्त आवासीय प्रशिक्षण हो । १५ दिनसम्म चल्ने यस वर्गमा प्रशिक्षार्थीहरूलाई शारीरिक रूपमा सक्षम बनाउन दैनिक योग, सूर्य नमस्कार, व्यायाम र आत्मरक्षाको कला (नियुद्ध) सिकाइन्छ ।
यस्तै शारीरिक प्रशिक्षण अन्तर्गत खेलका माध्यमबाट स्वयंसेवकहरूमा आपसी आत्मीयता, सहकार्य र सामाजिक समरसताको प्रत्यक्ष अनुभूति गराइन्छ, जसले जातजाति र क्षेत्रका कृत्रिम पर्खालहरू भत्काएर सबैलाई एउटै सूत्रमा बाँध्न मद्दत गर्छ । यसका साथै, उनीहरूमा राष्ट्रिय चेतना र वैचारिक स्पष्टता ल्याउन धर्म, सनातन संस्कृति, गौरवशाली इतिहास, महापुरुषहरूको जीवनी तथा वर्तमान समसामयिक विषयहरूमा गहन बौद्धिक परिचर्चा र प्रवचनहरू गराइन्छ । कठोर दिनचर्या, सामूहिक जीवन र निःस्वार्थ सेवाभावको व्यावहारिक अभ्यासले स्वयंसेवकहरूमा व्यक्तिगत सुचिता, अनुशासन र सामाजिक भाइचाराको विकास गर्छ । समग्रमा, यो वर्गले व्यक्तिमा देशप्रेमको भावना जागृत गराउँदै राष्ट्र र समाजको उन्नतिका लागि समर्पित, अनुशासित र दक्ष नागरिक निर्माण गर्ने मुख्य उद्देश्य राखेको हुन्छ ।
प्रतिक्रिया दिनुहोस !