चन्द्रपुरमा ३६ घन्टा विद्युत् आपूर्ति बन्द
रौतहट : चन्द्रपुर नगरपालिका पछिल्लो समय विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या बढ्दै जाँदा जनजीवन तथा व्यापार–व्यवसाय प्रभावित बनेको छ। शनिबारदेखि आइतबारसम्म ३६ घन्टा बिजुली आपूर्ति बन्द हुँदा स्थानीय आजित बनेका छन्।
चन्द्रपुरसहित ग्रामीण क्षेत्रमा विद्युत् झ्याप–झ्याप जाने समस्या तीव्र भएपछि वडा कार्यालयदेखि अस्पतालसम्मको काम ठप्प हुने गरेको चन्द्रपुर -७ का वडाध्यक्ष विष्णु प्रसाद उप्रेतीले बताए। विद्युत आपूर्ति बन्द हुँदा सर्वसाधारण तथा उद्योगी–व्यवसायी आक्रोशित बनेका छन्।
स्थानीयवासीका अनुसार दिनहुँजसो अनियमित रूपमा विद्युत् अवरुद्ध हुँदा दैनिक कामकाजमा समस्या उत्पन्न भएको छ। चर्को गर्मीका बेला घण्टौँसम्म लाइन काटिँदा घरायसी जीवनसँगै व्यवसाय सञ्चालनमा समेत कठिनाइ भएको उनीहरूको गुनासो छ।
बारम्बारको विद्युत् अवरोधका कारण होटल, रेस्टुरेन्ट, फोटो स्टुडियो, मोबाइल मर्मत पसल, डेरी उद्योग, फर्निचर उद्योग, वेल्डिङ पसल, प्रेस उद्योग, कुखुरा फार्म, पानी उद्योग, आइसक्रिम तथा कोल्ड स्टोर व्यवसाय प्रत्यक्ष प्रभावित बनेका छन्। व्यवसायीहरूले अनियमित विद्युत् आपूर्तिका कारण आर्थिक क्षति व्यहोर्नु परेको बताएका छन्।
स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रप्रति असन्तुष्टि जनाउँदै समस्या समाधानमा प्रभावकारी पहल नभएको आरोप लगाएका छन्। उनीहरूले पटक–पटक मर्मत तथा बुस कटिङका नाममा काम गरिए पनि विद्युत् आपूर्तिको अवस्था सुधार हुन नसकेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !