साथीसँग घुम्न गएका दुई जनाको बागमती नदीमा डुबेर मृत्यु
मलंगवा : सर्लाहीको बागमती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–९ का १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
५ जना साथीहरूसहित घुम्न गएका रोहित र गणेश नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपसी झुलुङ्गे पुल मुनिबाट बेपत्ता बनेका थिए । बेपत्ता बनेको खबर आएपछि प्रहरी टोलीले खोजी कार्यमा जुटेका थिए । खोजी गर्दै जाँदा आइतबार दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
रोहितको शव बागमती नगरपालिका–११ पुल नजिकै र गणेशको शव बागमती पुलभन्दा १ मिटर उत्तर नदीको ड्याम साइडमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
रोहितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याएको छ । गणेशको शव भर्खर फेला परेकोले मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरूसँगै गएका अन्य तीन जना सकुशल रहेको छ ।
प्रतिक्रिया दिनुहोस !