हावाहुरी र चट्याङबाट झापामा लाखौंको क्षति

हावाहुरी र चट्याङबाट झापामा लाखौंको क्षति
सुन्नुहोस्

झापा : झापामा हावाहुरी र चट्याङले ठूलो क्षति पुर्‍याएको छ । गए राति वर्षासहितको हावाहुरी तथा चट्याङका कारण झापाका विभिन्न स्थानमा घर, कृषि फार्म, उद्योग, विद्युत् संरचना, अन्नबाली तथा सवारीसाधनमा व्यापक क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार जिल्लाका गौरादह, हल्दिबारी, बिर्तामोड, दमक तथा मेचीनगर क्षेत्रमा गरी लाखौँ रुपैयाँ बराबरको क्षति पुगेको हो । 

गौरादह नगरपालिका–७ डाँडागाउँ निवासी ४२ वर्षीय पर्शुराम दाहालको कुखुरा फार्ममा हावाहुरीले पूर्ण क्षति पुर्‍याउँदा २५ वटा ब्रोइलर कुखुरा मरेका छन् । पक्की पिलर, टिनको छानो, प्लाई र तारजालीले बनेको उक्त फार्ममा करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

nullयस्तै, हल्दिबारी गाउँपालिका–२ मा हावाहुरीले तीन जनाको घरको छानो उडाउँदा करिब ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ । हल्दिबारीकै बैधारबस्तीका ५७ वर्षीय चरण बास्केको फुसको छानो पूर्णरूपमा उडेको छ भने ५३ वर्षीया फूलकुमारी केरुङको डेढ तले पक्की घरको टिनको छानो उडेको प्रहरीले जनाएको छ । साथै जीवनवारिका ६३ वर्षीय सुद्ला राजवंशीको घरको टिनको छानो समेत उडाएको छ । हल्दिबारी गाउँपालिका–५ धनुष टोल निवासी ५३ वर्षीया पूर्णमाया पनेरु चापागाईँको घरको टिनको छानो उडाउँदा करिब २० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

गौरादह नगरपालिका–६ सगरमाथा टोल निवासी श्यामलाल बैसराको बाँसको टासी बेराले बनेको तीन कोठे घरको छानो उडाउँदा करिब ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ । सोही वडाको निर्मला चोक निवासी हुकुमसिंह राईको घरमा पनि हावाहुरीले छानो उडाउँदा करिब ६० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । 

यसैबीच गौरादह नगरपालिका–८ बैराती टोलमा चट्याङ पर्दा इन्द्रमणि प्रसाईँका दुई वटा घरमा आगलागी भई विद्युतीय सामग्री र अन्य सामानमा क्षति पुगेको छ । चट्याङबाट सात वटा सिलिङ फ्यान, १२ वटा बल्ब, एउटा फ्रिज, ६३ इन्चको टिभी, सोलार, विद्युत् मिटर, तार तथा कागजपत्र जलेर नष्ट हुँदा करिब १ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ ।

दमक नगरपालिका–१० मा गुणराज थापाले सञ्चालन गरेको गरिमा इँट्टाभट्टाको भवनको छानो हावाहुरीले उकाली पल्टाउँदा संरचनामा क्षति पुगेको छ। गौरादह–६ आरतीनगर निवासी मानबहादुर पराजुलीको भान्सा घरको छानो उडाउँदा भित्र राखिएको २० मन धान र २० मन मकै पानीले भिजेर नष्ट भएको छ । उक्त घटनाबाट करिब ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

nullबिर्तामोड क्षेत्रमा पनि हावाहुरीले विद्युत् पोल ढाल्नुका साथै सडक अवरुद्ध बनाएको थियो । बिर्तामोड–३ विराट आदर्श टोलमा बिजुलीको पोल ढल्दा सडक अवरुद्ध भएको थियो भने खुकुरीचोक निवासी रोहित खड्काको घरमा पिपलको रुख ढलेर आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । बिर्तामोड–८ त्रिवेणी चोकमा दुई वटा विद्युत् पोल ढलेका थिए भने बिर्तामोड–६ स्यालडाँगी र स्टाफ चोक क्षेत्रमा पाँच वटा पोल ढलेको प्रहरीले जनाएको छ । बिर्तामोड–४ परोपकार टोलमा रुख ढलेर सडक अवरुद्ध भए पनि स्थानीयले रुख हटाएर सडक सञ्चालनमा ल्याएका छन् ।

बाह्रदशी गाउँपालिका–५ मागुगाउँ निवासी पृथ्वीलाल राजवंशीको घरको टिनको छानो पूर्णरूपमा उडाउँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । मेचीनगर नगरपालिका–१५ गाईनाबारीमा किशोर क्षेत्रीले सञ्चालन गरेको जय माँ कामक्ष इण्डष्ट्रिज प्रालिको गोदाम र भान्सा घरको जस्तापाताको छानो उडाउँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

त्यस्तै, मेचीनगर नगरपालिका–८ इँटाभट्टास्थित सूर्योदय कम्पनीको पार्किङ भवनको जस्तापाताको छानो उडेर पार्किङमा रहेका मे १ ख २५२६ र मे १ क २७९३ नम्बरका बसको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति नभए क्षतिको थप विवरण सङ्कलन कार्य भइरहेको प्रहरीले जनाएको छ ।  यता कृषि ज्ञान केन्द्रका अनुसार हावाहुरीले केरा तथा अन्नवालीमा पनि लाखौंको क्षति पुर्‍याएको छ । पालिका अनुसार क्षतिको विवरण संकलन कार्य भइरहेको केन्द्रले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.