काँसघारीमा श्रीमतीको शव भेटिएपछि श्रीमान प्रहरीको नियन्त्रणमा
विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोलाको किनारमा सडेको अवस्थामा एक महिलाको शव फेला परेपछि प्रहरीले घटनालाई रहस्यमय मानेर अनुसन्धान तीव्र बनाएको छ।
चार दिनदेखि बेपत्ता रहेकी ४३ वर्षीया सविता कान्दाङ्वा लिम्बू मृत भेटिएपछि प्रहरीले उनका श्रीमान दिलबहादुर लिम्बूलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याएको हो। मंगलबार बिहान उर्लाबारी–१ को लन्डन ब्रिजनजिक काँसघारीमा शव फेला परेको प्रहरीले जनाएको छ। राँगा चराउन गएका स्थानीयले घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वली नेतृत्वको टोली घटनास्थल पुगेको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार शव अत्यधिक सडेको र सुन्निएको अवस्थामा भेटिएकाले प्रारम्भिक अनुसन्धानबाट मृत्युको कारण खुल्न सकेन। घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाइएको उनले बताए।
प्रहरीका अनुसार सविता उर्लाबारीमै सिलाइकटाइको काम गर्दै आएकी थिइन्। उनी जेठ ९ गते शनिबार बिहानदेखि सम्पर्कविहीन रहेको खुलेको छ। तर, परिवारले चार दिनसम्म हराएको जानकारी प्रहरीलाई नदिएको विषयलाई पनि प्रहरीले गम्भीर रूपमा लिएको छ। घटनापछि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल फरेन्सिक चिकित्सकसहित घटनास्थल पुगेका थिए। फरेन्सिक विज्ञले समेत तत्काल मृत्युको कारण यकिन गर्न नसकेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ।
शवको सनाखत भने मृतकले लगाएको कपडाका आधारमा श्रीमान दिलबहादुरले गरेका हुन्। माइती पक्षले सविताको हत्या गरेर शव खोला छेउमा ल्याएर फालिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रहरी स्रोतका अनुसार घरभित्र सामान्य विवाद भएपछि सविता घरबाट निस्किएको पत्ता लागेको छ। श्रीमान दिलबहादुरले पनि सामान्य भनाभनपछि पत्नी घरबाट हिँडेको प्रहरीलाई बताएका छन्। उनका अनुसार शनिबार बिहान करिब ९ बजेतिर सविता कसैलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन्।
तर, महिला बेपत्ता भएको जानकारी प्रहरीलाई किन गराइएन ? भन्ने विषयमा उनले स्पष्ट पार्न नसकेको बताइएको छ। इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले घटनाको सबै पाटोबाट अनुसन्धान अघि बढाएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएर घटनाको विस्तृत अनुसन्धान गरेपछि महिलाको मृत्युको कारण यकिन हुने डीएसपी श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !