बुधबार देशका यी स्थानमा हुनेछ वर्षा
काठमाडौं : बुधबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ, बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहनेछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेश हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा अपरान्ह पछि हावाहुरीको सम्भावना रहेको छ।
बुधबार राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !