मानवअधिकार आयोगको प्रतिवेदन

रवि लामिछाने र जेलर जोशीको भूमिकाले नख्खुबाट कैदी भाग्न उक्साएको निष्कर्ष

रवि लामिछाने र जेलर जोशीको भूमिकाले नख्खुबाट कैदी भाग्न उक्साएको निष्कर्ष
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : गत भदौंको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट कैदी भाग्नुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र जेलर सत्यराज जोशीको भूमिका पनि महत्वपूर्ण देखिएको राष्ट्रिय मानवअधिकार आयोगले निष्कर्ष निकालेको छ । 

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधारमा आयोगले सो आन्दोलनका क्रममा रास्वपा सभापति लामिछाने र जेलरको भूमिकाका कारण पनि उनीहरुलाई भाग्नका लागि उक्साएको निष्कर्ष निकालिएको छ । प्रतिवेदनमा गैरकानूनी रूपमा कारागारबाट भागेर समाजमा पुगेका कैदीबन्दीहरूले पुनः अपराध गरेको विषय विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भएको पाइएको उल्लेख गरिएको छ ।

यसरी ठूलो संख्यामा कैदीबन्दीहरू गैरकानूनी रूपमा बाहिर निस्किएर समाजमा पुग्दा पीडित नागरिकहरूमा असुरक्षाको अवस्था सिर्जना भएको देखिएको आयोगको प्रतिवेदनमा उल्लेख छ । यस किसिमको कार्यले संविधानद्वारा प्रत्याभूत अपराध पीडितको अधिकार उल्लंघन हुनुका साथै कारागार ऐन, २०७९ को दफा ४९ अनुसारको कसुर समेत भएको देखिएको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा उल्लेखित घटनाका सम्बन्धमा रवि लामिछाने, कारागार प्रशासनका जेलर सत्यराज जोशी तथा कारागार व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक मिलन प्रसाद शर्मालाई समेत बयान लिएको उल्लेख गरिएको छ ।

बयानका क्रममा, कार्यालयको अधिकार क्षेत्रभन्दा बाहिरबाट आएको दबाब र प्रभावका कारण रवि लामिछानेलाई छोड्नु पर्ने व्यहोरा लेखिएको पत्रमा डर, त्रास र धम्कीका बीच सहीछाप गरिएको भन्ने कुरा जेलरले बताएका छन् । साथै, कारागारको सुरक्षा कायम राख्न नसक्ने अवस्था देखिएकाले आफूलाई पत्र दिइएको र त्यसपछि कैदीलाई छोडिएको भन्ने पनि रवि लामिछानेले बयान दिएको उल्लेख  छ । यी दुवै बयानहरू एक आपसमा बाझिएको पाइएको छ । कारागार प्रशासनका अनुसार, दबाबका बीचमा उक्त पत्रमा हस्ताक्षर गरिएको भए पनि तत्कालै यस विषयमा औपचारिक जानकारी वा उजुरी गरिएको देखिँदैन ।

यसरी कारागार ऐन, २०७९ विपरीत कार्य गरी कानून उल्लंघन भएको हो वा होइन भन्ने विषयमा सरकारले सूक्ष्म अनुसन्धान गरी दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ । सोही घटनाका क्रममा १० जना बालबिज्याईकर्ताहरू तथा कैदीबन्दीको मृत्यु भएको, ३० हजार ६४० जना कैदीबन्दीमध्ये १३ हजार ५८५ जना कैदीबन्दी र ९७४ जना बालसुधार गृहका बालबिज्याईकर्ताहरू कारागारबाट भागेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भागेकामध्ये केहीले पुनः अपराध गरेको र समाजमा भयको वातावरण सिर्जना गरेको तथा केही अझै लुकेर बसिरहेको पनि प्रतिवेदनमा जनाइएको छ ।
यसले नागरिकको संविधानको धारा १६ र २१ द्वारा प्रत्याभूत गरिएको शान्तिपूर्ण र सम्मानपूर्वक बाँच्ने अधिकार तथा अपराध पीडितको अधिकार उल्लंघन भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

मानव अधिकारको पुरानो अवधारणाअनुसार राज्य मात्र मानवअधिकार उल्लंघनको जिम्मेवार मानिन्थ्यो । तर आधुनिक अवधारणाअनुसार निजी संघसंस्था, व्यापारिक प्रतिष्ठान तथा जिम्मेवार राजनीतिक व्यक्तिहरूलाई समेत मानव अधिकार परिपालनाको दायरामा जिम्मेवार बनाउनु पर्ने उल्लेख गरिएको छ । यस आधारमा कारागार र बालसुधार गृहबाट कैदीबन्दीलाई बाहिर पठाउन सहयोग गर्ने कार्यमा माथि उल्लेखित व्यक्तिहरूको संलग्नता देखिएको भन्दै मानवअधिकार उल्लंघनमा उनीहरूको जिम्मेवारी रहेको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.