सार्वजनिक यातायातमा नागरिकका पीडा

सार्वजनिक यातायातमा नागरिकका पीडा

सार्वजनिक यातायात आधुनिक सहरी सभ्यताको परिचय हो । व्यवस्थित सार्वजनिक यातायातले सहरको सुन्दरता बढाउँछ । यसले सुन्दर सहरको कल्पना साकार पार्छ । विडम्बना लगभग ४० लाख नागरिक बसोवास गर्ने राजधानी काठमाडौँमा अझै पनि सार्वजानिक यातायात व्यवस्थित छैन ।

विगत १५ वर्षमा यहाँको जनसंख्या १४० प्रतिशतले बढेको छ । निजी तथा सार्वजनिक यातायातको संख्या पनि उल्लेख्य मात्रामा बढेको छ । यही अवस्था कायम रहे आगामी १० वर्षमा काठमाडौँ उपत्यकामा अहिले उपलब्ध १५ सय किलोमिटर सडकमा आफ्नो स्पेस खोज्दा ५० लाख सवारी साधन कसरी गुड्लान् ?

प्रत्येक वर्ष सवारीसाधन थपिएका छन्, त्यससँगै नियम पालना नगर्ने प्रवृत्ति हावी हुँदै गएको छ । सार्वजनिक यातायतमा यात्रा गर्न निकै गाह्रो छ । आनन्दले गाडीको सिटमा बसेर घर आउन पाइयो भने पनि त्यसलाई उपलब्धि नै मान्नुपर्छ । प्रायः गाडी साना र थोत्रा छन् । कहिले त गाडी नपाएर यात्रु त्यही सानो गाडीमा कोचिएर चढ्न बाध्य हुन्छन् । साना गाडीमा कोचिएर यात्रा गर्नुको पीडा दुःखद् छ ।

हरेक दिन बस तथा माइक्रो चढ्न लडाइँ नै गर्नुपर्छ । सबैभन्दा बढी पीडा असक्त र वृद्धवृद्धाले भोग्नुपर्छ । आखिर अरू कुनै उपाय पनि त छैन । त्यसैले झुन्डिएर भए पनि यात्रा गर्न बाध्य छन् उनीहरू । कहिलेकाहीँ त असक्त र महिला पनि झुन्डिएर यात्रा गर्न बाध्य हुन्छन्, त्यस्तो दृश्य देख्दा मन नै चुँडिएर आउँछ । दिनहुँ मानिस आफ्नो ज्यान जोखिममा राखेर हिँड्न बाध्य छन् ।

केही साता अघि मात्र बसमा मानिसको चाप बढी भएर बसबाट खसेर एक यात्रुको मृत्यु भयो । त्यसमाथि ठाउँ नभए पनि बसमा क्षमताभन्दा बढी यात्रु राखिन्छ, जसका कारण मानिसलाई बढी सकस हुन्छ । यस विषयमा न कुनै कानुन छ, न भएको कानुन नै कार्यान्वयन हुन्छ । सार्वजनिक यातायात आम जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय हो, तर सरोकारवाला पक्ष र सरकारले यसलाई व्यवस्थित गर्न कुनै काम नगर्दा आम जनताले पीडा भोग्नुपरेको छ ।

सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार बसले २६ देखि ५६ जना, मिनीबसले १५ देखि २५ र माइक्रो बसले १४ यात्री राख्न सक्ने सिट क्षमता उल्लेख छ । तर राजधानीलगायत मुलुकका जुनसुकै भागमा यातायात व्यवसायीले ऐन पालना भएको पाइँदैन । सिट क्षमताभन्दा बढी यात्रु चढाउँछन्, जहाँ पायो त्यही ओराल्छन्, सार्वजनिक यातायातमा निकै समस्या छ ।

सिन्डिकेट पद्धतिले गर्दा सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा ठेलमठेलको स्थितिमा यात्रुले आवातजावत गर्नुपर्छ । दुईजनाको सिटमा तीनजना राखिदिन्छन् । त्यो गलत भए पनि रोक्न ट्राफिक प्रहरी अग्रसर हुँदैनन् । अधिकांश सवारी साधनले जथाभावी यात्रु बोक्छन् ।

अधिकांश गाडी थोत्रा र पुराना छन् । प्रायजसो सिट च्यात्तिएका हुन्छन् । अधिकांश बस, माइक्रो दुर्गन्धित हुन्छन् । त्यसमाथि चालक र सहचालकले यात्रुलाई गर्ने व्यवहार पनि सन्तोषजनक छैन । उनीहरूको टर्रो बोली आम यात्रुको गुनासोको विषय बन्ने गरेको छ । यी हुलका बीचमा अहिले उपत्यकाको रिङरोडमा ३९ वटा हाइटेक मेट्रो बस सञ्चालनमा आएको छ । त्यसमा अरू सुविधा पनि उपलब्ध छन् ।

 

३२ सिटे यो बसमा थप ३० जनासम्म उभिन मिल्ने जनाइएको छ । यात्रुले आफ्नो मोबाइलमा एप्स डाउनलोड गरेर गाडी कहाँ आइपुग्यो र कति समयमा बस स्टपमा आइपुग्छ भन्ने जानकारी पाउन सक्ने बताइएको छ । यसले आम जनतामा केही राहतको महसुस गराएको छ । विडम्बना यो सञ्चालन हुन नपाउँदै यसमा ढुंगामुढा भयो । तर यसले आफ्नो सेवा बन्द गरेन । अधिकांश यात्रु झुन्डिएर भए पनि यसमै चढ्न रुचाउँछन् किनकि यसमा अरूले भन्दा बढी सुविधा उपलब्ध छ । सहचालक, चालक पनि यात्रुसँग राम्रो व्यवहार गर्छन् ।

यस्ता बसको संख्या बढाउन निजी तथा सरकारी तवरबाटै विशेष पहल गर्नुपर्छ । र यो विस्तारमा अवरोध पुर्‌याउने अराजक तत्त्वलाई हामीले निरुत्साहित गर्नुपर्छ र सरकारले पनि तिनलाई कारबाही गरी उचित सुरक्षाको प्रबन्ध गर्नुपर्छ । यहाँ खुट्टा तान्ने प्रवृत्ति हावी छ ।

यहाँ सार्वजानिक यातायातभन्दा बढी निजी गाडी र मोटरसाइकल नै गुडेका देखिन्छन् । आवश्यकताभन्दा पनि सामाजिक प्रतिष्ठाको होडबाजीमा निजी सवारी साधन भित्त्याउने फेसन नै बढेको छ । अचम्म त के छ भने, सबभन्दा हतार ती मोटरसाइकलचालक वा गाडीवालालाई नै हुन्छ । यसले गर्दा उनीहरू जहाँबाट पनि सवारी छिराइदिन्छन् र अनावश्यक जाम गराउँछन् ।

गाडीचालकहरू पनि त्यस्तै छन्, जहाँ मन लाग्यो त्यहीँ रोकिदिन्छन् । अनि यात्रुलाई पनि दुई पाइला हिँड्न सकस हुन्छ । गाडी रोक्ने निश्चित ठाउँ हुन्छ, तर यात्रुलाई घरको अगाडि नै रोक्नुपर्छ । यहाँ सार्वजनिक साधन नियमले तोकेको ठाउँमा नभई जहाँ चालक र यात्रु चाहन्छन् त्यही रोकिन्छ । गाडी पर्याप्त भए पनि कामको चापले गर्दा उनस्हरू भरिएका सवारीसाधन नै चढ्छन् ।

ठाउँठाउँमा सुविधासम्पन्न प्रतीक्षालय बनाउनुपर्छ र भएका नियम कडाइका साथ लागू हुनुपर्छ । चालक, सहचालकले यात्रुप्रति गर्ने व्यवहार, बोल्ने बोलीमा पनि आवश्यक सुधार गर्नुपर्छ । जेब्राक्रसिङ, लेन, आकासे पुल ठाउँठाउँमा निर्माण गरेर उचित प्रयोग गर्नुपर्छ । भएका साधन र नियमलाई व्यवस्थित गर्नुपर्छ ।

जेब्राक्रसिङ र आकासे पुल हुन्छ तर मानिस पुलमुनिबाट हिँडिदिन्छन् । जसले गर्दा अनावश्यक जाम हुन्छ । मोटरसाइकलयात्री र अन्य चालक पनि जहाँ जेब्राक्रसिङ हुन्छ त्यहाँनेर सवारीको साधनको गति बढाउँछन् । ट्राफिक त हुन्छ अगाडि, तर मन लागे कारबाही गर्छन् नत्र त्यतिकै छोडिदिन्छन् । सार्वजनिक यातायातमा यात्रा गर्दा विझाउने अर्को कुरा भनेको सहचालक र चालकले यात्रुप्रति गर्ने व्यवहार र बोली हो । प्रायः गाडी स्टाफको बोली रुखो नै हुने गर्छ । यो व्यवहार रोक्न ट्राफिक असमर्थ हुन्छन् र यसको सास्ती हामी सर्वसाधारण जनताले भोग्नुपर्छ ।

अब सरकारले साना र थोत्रा गाडीको संख्या घटाएर सुविधासम्पन्न ठूला गाडी बढाउनुपर्छ । पुराना गाडी विस्थापित गर्नुपर्छ । मोटरसाइकलको संख्या पनि तुलनात्मक रूपमा घटाउनुपर्छ । जथाभावी मोटरसाइकल चलाउनेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । केही त मान्छे हिँड्ने लेनबाट चलाउँछन् त्यही नजिक रहेका प्रहरी मुकदर्शक बनिदिन्छन् । विशिष्ट व्यत्तिीहरूको सवारीले पनि अनेक समस्या निम्त्याएका छन् ।

यसलाई पनि व्यवस्थित गर्नुपर्छ । नयाँ गाडी थपेर यात्रुको चाप घट्दैन । अब त्यसको चाप यहाँका सडकले थाम्न सक्दैन । त्यसैले नयाँ र स्तरीय सवारीसाधन ल्याउन सरकार र निजी क्षेत्रले विशेष पहल गर्नुपर्छ ।

ठाउँठाउँमा सुविधासम्पन्न प्रतीक्षालय बनाउनुपर्छ र भएका नियम कडाइका साथ लागू हुनुपर्छ । चालक, सहचालकले यात्रुप्रति गर्ने व्यवहार, बोल्ने बोलीमा पनि आवश्यक सुधार गर्नुपर्छ । जेब्राक्रसिङ, लेन, आकासे पुल ठाउँठाउँमा निर्माण गरेर उचित प्रयोग गर्नुपर्छ । भएका साधन र नियमलाई व्यवस्थित गर्नुपर्छ । जसले यसको जथाभावी प्रयोग गर्छन् उनीहरूलाई कडा कानुनका साथ कारबाही गर्नुपर्छ ।

जब कानुन कडा हुन्छ, यो उल्लंघन गर्नेको संख्या घट्दै जान्छ र आफैं निरुत्साहित हुन्छन् । भएका थोत्रा माइक्रो, टेम्पोलाई विस्थापित गरेर नयाँ र सुविधासम्पन्न गाडी भित्त्याउनुपर्छ । ठाउँठाउँमा सीसीटीभीको व्यवस्था गर्नुपर्छ र जसले नियम उल्लंघन गर्छ, त्यसलाई कडा कारबाही गर्नुपर्छ । त्यसमाथि भएका ट्राफिक बत्तीको पनि उचित प्रयोग हुन सकेको छैन । यसले गर्दा सडकको सकस झन् बढेको छ ।

विकसित देशमा व्यवस्थित सार्वजनिक यातायात हुन्छ । र त्यहाँको नियम पनि कडा हुन्छ । तर यहाँ भएका नियमले ठूलालाई छुँदैनन् । केही दिनअघि मात्र कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई मोटरसाइकल चढ्दा हेल्मेट नलगाएका कारण प्रहरीले पक्रेको समाचार ‘भाइरल' बन्यो । झन्डै १८ वर्षदेखि प्रधानमन्त्री पदमा रहेका शक्तिशाली उनलाई प्रहरीले पक्राउ गर्‌यो र जरिबाना तिरे ।

सबैभन्दा चकित पार्ने घटना त उनी स्वयं प्रहरी थाना गएर जरिबाना बुझाए । यहाँ त भएका नियम पनि कार्यान्वयन हुँदैन । भएपनि यसले ठूलालाई छुँदैन । त्यसैले कानुन सबैलाई समान हुनुपर्छ र यसको कडा कार्यान्वयन हुनुपर्छ । व्यवस्थित सवारीसाधनले देश र सहरको सुन्दरता झल्काउँछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.