नेपाली चरित्र र भारतीय 'एटिच्युड'
नेपाल–भारत प्रबुद्ध समूहको पहिलो र परिचयात्मक बैठक सम्पन्न भएको छ । समूहको अवधारणा निकै अगाडि निर्धारित गरिएको भए पनि यसको गठन र पहिलो बैठक दुई देशको सम्बन्ध सर्वकालीन न्यून या निम्नतहमा खसेको बेला हुनुलाई राम्रो तथा अत्यावश्यक प्रयासको रूपमा लिइनुपर्छ । सम्भवतः आगामी दुई वर्षमा समूहले संयुक्त रूपमा वर्गीकृत गरेका विषयहरूलाई सूक्ष्मरूपमा केलाउँदै अतीत तथा वर्तमानका सन्धि–सम्झौता तथा व्यवहारका आधारमा दुईपक्षीय सम्बन्धलाई व्यापकता र सम्मानजनक स्वीकार्य दिन समूहले योगदान पुर्याउनेछ, तर त्यसको लागि दुवै तर्फबाट राजनीतिक समर्थन आवश्यक सर्त हो ।
नेपाल र भारत दुई प्राचीन छिमेकी मित्रहरू हुन् । सम्बन्ध बहुआयामी छन् । सभ्यता, संस्कृति, धर्म, इतिहास, भूगोल र जनता त्यो सम्बन्धको निरन्तरताका वाहक हुन् । पक्कै पनि त्यो सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने निर्णय सम्बन्धित सरकारहरूले लिने गर्छन्, तर दुईपक्षीय सम्बन्धका विविध आयामप्रति संवेदनशील नभई क्षणिक सामरिक, पूर्वाग्रह या स्वार्थबाट प्रेरित भई निर्णय लिइँदा ती सम्बन्धमा विचलन आएका छन् ।
अति निकटता र जटिल भूगोल अनि खुला सिमाना र बेरोकटोक आवगमनका कारण भविष्यमा आउने सबै समस्याका पूर्वानुमान गर्न सकिन्न, तर दुईपक्षीय सम्बन्धमा अक्सर प्रतिकूल असर पुर्याएका छन्, दुईखाले प्रवृत्तिले । अर्थात् नेपाल ‘एक्टर' हरूको ‘चरित्र' र भारतीय ‘एक्टर' हरूको ‘एट्टिच्युड' या व्यवहारले दुई सम्प्रभु मुलुकको संवेदनशीलतालाई सम्मान गर्न थाले भने दुईपक्षीय सम्बन्धमा देखा परेको विश्वासको क्षय (ट्रस्ट डिफिसिट) इतिहास बन्नेछ ।
प्रबुद्ध वर्गकै बैठकले त्यस्तो सन्देश दिएको छ । समूहमा भारतीय पक्षका नेता भगतसिंह कोसियारीले केही महत्त्वपूर्ण व्यावहारिक पक्ष राखे, उदघाट्न सत्रमा । नेपाल र भारतका जनताको निकटता र बहुमतलाई बाँध्ने हिन्दु धर्म र संस्कृतिप्रति लक्षित थियो, उनको अभिव्यक्ति । समूहका नेपाली सदस्य नीलाम्बर आचार्यलाई लक्षित गर्दै उनले भने, ‘पशुपतिनाथमा मेरो अधिकार त्यत्तिकै छ, जति आचार्यजीको । केदारनाथमा आचार्यजीको त्यत्तिकै अधिकार छ जति मेरो ।
तर समस्या त्यसबेला उत्पन्न हुन्छ, जब म सिंहदरबारमा आफ्नो अधिकार र आचार्यजी रायसीना हिल (भारतको राष्ट्रपति कार्यालय) मा खोज्न थाल्छौँ ।' वास्तवमा दुईपक्षीय सम्बन्धका सरलता र जटिलतासँगै अपेक्षित संवेदनशीलतालाई सरल भाषामा उनले अभिव्यक्त गरे ।
उपप्रधान तथा विदेशमन्त्री कमल थापाले दुईपक्षीय सम्बन्धका पृष्ठभूमि, विविध आयाम र अपरिहार्यतासँगै संवेदनशीलताको आवश्यकताबारे समूहसमक्ष धारणा राखेका थिए, प्रखर रूपमा । दुवै पक्षको ‘स्पिरिट' ले मेल खाएजस्तो देखिए पनि कोसियारीले अर्को प्रसंग कोट्याए, जुन नेपालीहरू रुचाउँदैनन् ।
अक्सर भारतीय पक्षको जिम्मेवार तहले नेपालले विभिन्न विषयमा भुटानलाई ‘रोल मोडेल' मान्नुपर्ने सुझाव दिँदै आएको छ । यसअघि जलविद्युत् विकासमा भुटान र भारतबीचका सर्त नेपालले मान्नुपर्ने सुझाव दिन भारत सक्रिय रहँदै आयो । अहिले कोसियारीले नेपाल भुटानजस्तै ‘खुसी' होस् भन्ने चाहना राखे । नेपाल खुसी हुनुपर्छ, आफ्नै प्रयास र मेहनतमा ।
तर कोसियारीको अभिव्यक्ति नभनिएको अर्को सन्देश छ– भुटान भारतको ‘प्रोटेक्टोरेट' हो, नेपालले त्यही हैसियत स्वीकार गर्नुपर्छ । वास्तवमा भारत स्वतन्त्र भएदेखिकै उसको प्रयास हो यो, जसलाई नेपालले स्वीकार गरेन र गर्दैन ।
प्रबुद्ध समूहका नेपाल प्रमुख डा. भेषबहादुर थापाले समूहले दुईपक्षीय सम्बन्धलाई फराकिलो र अद्यावधिक बनाउन समूहले कुनै कसर बाँकी नराख्ने बताएर संवेदनहीनता र ‘ट्रस्ट डिफिसिट' बाट निर्देशित व्यवहारबारे समेत मन्थन हुने संकेत दिए । वास्तवमा बैठकमा नेपाल पक्षले लगातार भारतीय सुरक्षाकर्मीहरूको अनधिकृत नेपाल प्रवेशका मामिलासमेत उठायो । तर प्रश्न उठ्छ– प्रतिनिधि चरित्रलाई नसच्याएसम्म के सम्बन्धले मर्यादित र सम्मानित स्वरूप पाउला ?
प्रतिनिधि चरित्र के त नेपालीहरूको ? व्यक्तिगत फाइदाको लागि लम्पसार पर्ने, आफ्ना दलीय र सानो समूहको फाइदाको लागि बाह्रबुँदेमा हस्ताक्षर गरी नेपालको राजनीति भारतीय प्रशासकहरूको निर्देशन या आदेशमा सञ्चालित गर्ने अनि आफ्नो अभीष्ट पूरा नहुँदा भारतलाई गाली गर्ने ।
एउटै उदाहरणलाई प्रतिनिधि उदाहरणको रूपमा लिइनुपर्छ । बाह्रबुँदेमार्फत शान्ति प्रक्रियामा आई पहिलो संविधानसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्न पुगेका पुष्पकमल दाहालले कटवाल प्रकरणमा राजीनामा गर्दा ‘विदेशी प्रभु' को प्रसंग उठाएका थिए, तर नेपाली जनतालाई कहिल्यै कुनै सूचना या जानकारी दिएनन् उनले । नेपाली राजनीतिमा माओवादीले ओगटेको प्रभुत्वमा भारतीय भूमिका स्पष्टसँग देखिन्छ ।
त्योसँगै नेपाली राजनीतिको एजेन्डा, गणतन्त्रलगायतका विषयहरू नेपाली जनताले निर्णय गरेका छैनन् । अर्थात् कोसियारीले दिएको ‘हिडन' सन्देश नेपाली जनताले नरुचाए पनि बाह्रबुँदेका हस्ताक्षरकर्ताहरूले त्योभन्दा तल्लो हैसियत स्विकारेका छन्, बाह्रबुँदेमार्फत । यो नै नेपाली नेताहरूको चरित्र हो, वर्तमान सन्दर्भमा ।
नेपाली नेतृत्व वर्गले यता आएर खासगरी बाह्रबुँदेपछि राजनीतिका महत्त्वपूर्ण एजेन्डा र तिनीहरूबारेको निर्णयमा जनतालाई सहभागी बनाएर पनि त्यसले नेपाल–भारत सम्बन्धमा ल्याएको जटिलता नहटाई सम्बन्ध सुमधुर हुन सक्तैन । भारतले परिवर्तनमा निर्णायक भूमिबाट खेल्ने र त्यसबाट नेपालको अस्थिरता तथा अराजकतासँगै दुईपक्षीय सम्बन्धमा पुगेको घाटाको जिम्मेवारी नलिने प्रवृत्ति मुख्यरूपमा जिम्मेवार छ, अहिलेको तनावको लागि ।
अब रह्यो, ‘भारतीय एट्टिच्युड' को । ०६३ को आन्दोलनको समाप्तिमा मध्यस्थकर्ताको भूमिका खेलेको भारतले राजा र दलबीचको सहमति भत्काउन माओवादी प्रयोग गर्यो । कूटनीतिमा सधैँ सत्य आचरण प्रदर्शन हुँदैन । तर नेपालमा पनि भारतले त्यही अविश्वसनीय आचरण प्रदर्शन गर्यो भने ‘विशेष सम्बन्ध' को अर्थ हुँदैन । ‘ट्रस्ट' डिफिसिट' को जन्म त्यहीं हुन्छ ।
भुटानको समृद्धि र खुसीमा उसको आर्थिक प्रगति एउटा पाटो हो, अवश्य पनि । तर एक लाख नेपाली मूलका भुटानीहरूलाई खेदेर त्यो ‘खुसी' आएको छ भुटानमा । भारतमा अहिले कोसियारीको भारतीय जनता पार्टी छ, सत्ता नेतृत्वमा । सम्भवतः भारतले शरणार्थी मामिलामा यति अमानवीय व्यवहार देखाएको छैन कसैप्रति, जसले उसले भुटानी शरणार्थीप्रति देखायो ।
आफ्नो भूमिमा टेकेका भुटानीलाई नेपाल पठायो । भारतीय जनता पार्टीले आफ्नो भुटान नीति सायद बदल्ने छैन तत्काल, तर ‘हिन्दुहरू' लाई खेदेर आर्जित गरिएको भुटानको ‘खुसी' र भारतको कूटनीतिले दीर्घकालमा उसलाई पिरोल्नेछ । न्याय र मानवअधिकार अनि आफ्नो मुलुकबाट झन्डै १६ प्रतिशत जनसंख्या धपाइएर ल्याएको ‘खुसी' नेपालले स्विकार्नु हुँदैन । यहाँनेर भारतीय संवेदनशीलता र गम्भीरताको पनि आवश्यक छ, नेपाल बुझ्न ।
नेपालको लामो इतिहास, परम्परा र मान्यता छ– ऊ सदा स्वतन्त्र रहिआएको छ । नेपाली नेतृत्व वर्गले यता आएर खासगरी बाह्रबुँदेपछि राजनीतिका महत्त्वपूर्ण एजेन्डा र तिनीहरूबारेको निर्णयमा जनतालाई सहभागी बनाएर पनि त्यसले नेपाल–भारत सम्बन्धमा ल्याएको जटिलता नहटाई सम्बन्ध सुमधुर हुन सक्तैन । भारतले परिवर्तनमा निर्णायक भूमिबाट खेल्ने र त्यसबाट नेपालको अस्थिरता तथा अराजकतासँगै दुईपक्षीय सम्बन्धमा पुगेको घाटाको जिम्मेवारी नलिने प्रवृत्ति मुख्यरूपमा जिम्मेवार छ, अहिलेको तनावको लागि ।
प्रबुद्ध समूहको बैठक र आगामी कारबाही सही दिशा र गन्तव्यमा अगाडि बढ्न ‘नेपाली चरित्र' र ‘भारतीय एट्टिच्युड' मा सुधार हुनैपर्छ । सम्प्रभु राज्यका केही मौलिक र संवेदनशील विषय हुने गर्छन्, त्यसलाई बेवास्ता गरेर सम्बन्धले उचाइ पाउँदैन । नेपाल नेपाल नै रहनुपर्छ र भारत भारत नै, यो सम्बन्धका पर्याप्त सम्भाव्यता हासिल गर्न ।