उड्ता पन्जाब, भुइँसुल्के सिक्किम
एउटा नयाँ सालको बिहान दार्जिलिङको महाकाल बाबाको मन्दिर जाँदा दुइटी राम्रा ठिटी एकोहोरो भएर भुइँमा बसेको देखेँ । पूजापाठ सकेर फर्किंदा पनि त्यही अवस्था देखेँ । पछि साथीहरूसँग क्यापिटल हलको मास्तिर चियापसलमा गएका थियौँ, ती ठिटीले प्लेटभरि ठूलाठूला सातआठवटा रसगोला–मिठाई अनौठो प्रकारले खाएको देखेँ ।
उनीहरू निस्केपछि दोकानदारलाई सोधेँ– कसरी तिनले त्यतिविघ्न मिठाई खाएका ? दोकानदारको जवाफ पाएँ, उनीहरू ‘एडिक्ट' रहेछन् । गान्तोकको सरकारी गेस्टहाउसबाट सुरम्य प्रकृति हेर्न झ्यालमै बसिरहन्थेँ, पत्रपत्रिका लिएर । त्यहीमुन्तिरको स्कुस घारीमा अचानक चारपाँचजना ठिटा विद्यालय पोसाकमा नै केही गरिरहेको एक दिन देखें । त्यसपछि लगातार चारपाँच दिनसम्म देखेपछि गेस्ट हाउसका केटोलाई यी ठिटा के गर्छन् त्यहाँ भनिसोध्दा जवाफ पाएँ— ‘ट्याब्लेट पार्टी' हुन् यिनीहरू ।
अभिषेक चौबेद्वारा निर्देशित ‘उड्ता पन्जाब हेरेपछि टमी, बौरिया र बाली नशामा उडेको देख्दा विश्व मानवता नै हल्लियो, विचलित भयो र सबैले आआफ्ना घर, समाजलाई फेरि फर्केर हेरे । पन्जाब त उड्यो, सबैले देखे र थाहा पाए, त्यहाँ पनि अफिम, फेन्सिडल, ह्यासिस, इफेड्राइनले जरा गाडेछ । खानेहरू मौलाएछन्, खाइसकेकाहरू बौलाहा भएछन् । सिक्किम र दार्जिलिङ पनि ‘एडिक्ट' र ‘ट्याब्लेट पार्टी' ले थिचेर अनि होनाहार हाम्रा युवापुस्तालाई भुइँसुल्के बनाइदिएछ । उनीहरूको विश्व नै अलग्गै । भटभटे चलाउँदा किक हान्नुपर्छ, कुद्नुअघि हाम्रा यी युवालाई ह्यासिसको किक चाहिन्छ मुस्कुराउँदा पनि । प्रकृतिले दिएको, परिवारले सिकाएको सबैथा भुल्छन् यिनीहरू, फेन्सिडिलको खोजमा तड्पिन लागेपछि ।
पन्जाबसँग पाकिस्तानको ५५३ किलोमिटर अन्तर्राष्ट्रिय सिमाना छ । अनि त्यो सिमानजिक विश्वमा सबैभन्दा बढी मात्रामा हिरोइन बनाउने अफिम र पपी फूलका लछेप्रै कारखाना अफगानिस्तानमा छन् । ‘गोल्डन क्रिसेन्ट' को नामले परिचित अफगानिस्तान, पाकिस्तान र इरानमा बनाइएका हिरोइन, ह्यासिसले सबैलाई सताए । सोभियत संघले सन् १९७९ मा अफगानिस्तानमा हमला गरी आफ्नो अधीनमा ल्याएपछि लाखौँको संख्यामा शरणार्थी पाकिस्तान पसे ।
पेसावर र बलुचिस्तानमा शरणार्थी शिविरहरूमा खुला रूपमा सोभियत संघलाई अफगानिस्तानबाट खेद्न अफगानी लडाकु अमेरिकाले तयार पार्न थाल्यो । ‘मुझाइदिन' भन्ने यी सबै लडाकुहरूलाई हातहतियार दिइयो । पछि गएर यिनीहरू नै तालिवान बने । यहींबाटै सुरु भयो हातहतियार र अफिमको सम्बन्ध र यसको विश्वबजारमा भयानक रूपमा प्रवेश । पप्पी–अफिमको फूल अफगानिस्तानमा घाँसजस्तै पलाउँछ । यसैलाई हिरोइन र मोरकिन बनाई करोडौँ पैसा कमाएपछि विश्वमा आतंकवादको ताण्डव पनि हुन गयो । भारत र पाकिस्तानको पन्जाब यसै प्रपञ्चमा परे ।
भनिन्छ– आजको पन्जाबमा हरेक चार व्यक्तिमा एक व्यक्ति ‘एडिक्ट' भएका छन् । सन् २००९ मा ५०९२ नशाखोरहरू पड्किए, सन् २०१४ मा १७०० पड्किए । झ्यालखाना पोखिन्जेल भरिएका छन् । सन् २०१३ मा प्रमुख हिरोइन तस्करी गर्ने व्यक्ति भोलालाई भटिन्डाबाट पक्राउ गरेपछि राजनीतिक नेता, सरकारी अधिकारी, प्रहरी कर्मचारी कसरी नशा तस्करीमा मिलेर तल्लीन भएका रहेछन् भन्ने थाहा भयो । कपुरथालाका टोटी, लतानवाल र बुटगाउँ त नशा तस्करीका प्रसिद्ध केन्द्र नै भए । सन् २०१४ मा मात्रै ६३७ किलोग्राम हिरोइन फेला पर्यो ।
स्थिति कति खतरनाक भयो भने सन् २०१२ को पन्जाब राज्यको चुनावमा भारतका चुनाव आयोगका प्रमुख एस वाई कुरेसीले तिनताकका प्रधानमन्त्री मनमोहन सिंहलाई एउटा विशेष पत्र लेखेर कति भयानक स्थिति रहेछ भनेर सबै कुरो बताइदिए । १० लाख ट्याब्लेट जफत गरे चुनावको समयमा । २७०० किलो अफिम फूलको भुससमेत कैयन् फेन्सिडल जफत गरियो । जुनै वस्तुले पनि यदि नशामा उड्ने स्थिति ल्याउँछ भने मानिसहरू ती वस्तु पिउन र सुँघ्न चाहन्थे । दार्जिलिङ, सिक्किममा पैसाले नशा किन्न नसक्नेहरू फोहोरमैला र बन्द नालीका ढकनीभित्र मुख हाल्छन्, जुत्ता पालिस खान्छन् र सुँघ्छन् पनि । उनीहरू केचाहिँ गर्दैनन् ?
सिक्किम र दार्जिलिङमा कहाँबाट त्यति सजिलो हिरोइन–मरफिन आउँछ ? सन् १९७० को दसकमा कतिपय हाम्रा साथीभाइ गाँजा तान्थे, ‘हिप्पी' संस्कृतिलाई अँगाल्दै ‘दम मारो दम' गाउँदै धुवाँको मज्जा लिन्थे । आजभोलि गाँजा त कहाँ गयो गयो, रासायनिक नशाहरूसम्म पन्जाब, सिक्किम र दार्जिलिङ पुगे । सिउँडो एफिड्राइन र आइस जस्ता केवल केमिकल्सद्वारा बनाइएको नशा अझै भयानक र हानिकारक । पन्जाबमा, हिमाचल प्रदेशमा बाड्डी भन्ने ठाउँमा रहेका दबाई कारखानाहरू नै बन्द गरियो । सिक्किम, दार्जिलिङ र पूर्वोत्तर क्षेत्रमा यी रासायनिक नशाहरू कहाँ बन्दैछन् ?
पश्चिमतिर अफगानिस्तानको ‘गोल्डन क्रिसेन्ट' पूर्वतिर बर्मा–भियतनाम र थाइलान्डद्वारा बनाइएका ‘गोल्डन ट्यांगल' । धेरै दसकसम्म यही ट्र्यांगलमा बनेका अफिमहरूले दक्षिणपूर्व र दक्षिण एसियालाई अधीनमा राखे । भियतनाम, लाओस र थाइल्यान्डमा यसले कति भयानक प्रभाव पार्यो भने थाइल्यान्डका राजाकी आमा आफैँ गाउँगाउँ घुमी सबै समुदायलाई अफिम पप्पी छोडेर अरू खेती गर्न विशेष योजना अगाडि सारिन् । थाइल्यान्डको चियाङराइमा केही वर्षअघि त्यहाँको अफिम संग्रहालयमा हामीलाई निम्त्याइएको थियो । कसरी अफिमको खेती औषधिदेखि एउटा विश्वमा सबैभन्दा बढी माग भएका नशामा परिणत भयो भन्ने इतिहास अति नै मन हर्ने ढंगमा लेखिएको थियो ।
सायद त्यही ट्र्यांगलबाट आएका पश्चिमतर्फका भारतीय उत्तरपूर्वीय राज्यहरू विशेषतः मनीपुरलाई नशा र नशाखोरले सताउनसम्म सतायो । नशाले एउटा युवा पुस्तालाई नै स्वाहा मात्रै पारेन, त्यहाँ आतंकवाद नै ल्यायो, सामाजिक अपराध द्रूत गतिमा बढ्यो र एचआईभी–एड्स जस्ता रोगले घर, समाज खर्लप्पै पार्यो ।
दार्जिलिङ, सिक्किममा कति धेरै नशाखोरहरू भए भने आजभोलि आमाबाबुले आफ्ना नानीबाबुलाई नशाबाट जोगाउन विभिन्न मार्ग अपनाए । कसैले दिल्ली, बैङलोर पठाइदिए, कसैले पैसै लिएर पनि दुबईतिर जा भने । कसैले त जाँडरक्सी खाऊ बाबु, तर ड्रग्स नखाऊ भने ।
कतिपय खोज–अनुसन्धानअनुसार जुन परिवारमा छोराछोरीले पाउनुपर्ने माया, देखभाल पाउँदैनन् र तिरस्कृत भाव बोक्छन्, त्यहाँ नशाको प्रकोप बढ्छ रे । आमाबाबुले छोराछोरीलाई दिइनुपर्ने समय, पैसा दिएर टार्छन्, त्यहाँ पनि यस्तो हुन्छ रे । ड्रग तस्करीसित राजनीति, सरकार प्रहरी सबै मिल्छन् भने यस्तो स्थिति आउँछ रे । आदि–आदि ।
जब परिवार, समाज र समुदाय सतर्क र कडा भएर उभिन्छन्, ड्रग्सले खेल्ने ठाउँ नै पाउँदैन । मनीपुर, नागाल्यान्ड, मिजोरममा सबै परिवारका आमाबाबुहरू एक भएर सडकमा निस्केपछि स्थिति सुध्रियो । मिजोरममा जसको घरमा रक्सी पारिन्छ, त्यस घरको बाहिर एउटा ठूलो क्रस चिन्ह लगाइन्छ । त्यस घरमा केही आइपरेको खण्डमा कोही पनि जाँदैनन् । यसलाई सामाजिक तिरस्कारको रूपमा नै लिन्छन् । सिक्किम, दार्जिलिङमा घरघरमा नशाले पीडित छोराछोरी, नातिनातिना छन् । परिवारले लुकाउन चाहन्छन्, लाज शर्मा मान्छन्, यो कुरो अरू कसैलाई भन्न ।
तर मेरो छोरा ड्रग खाएर मर्यो भनेर गाउँ, समाज र क्षेत्रमा सबैलाई थाहा छ, तर मचाहिँ छोरा मरेको कारण आफैँ भन्न चाहँदिनँ । यही नै कारण हो हामीले नशाहीन समाज बनाउन नसकेको । पहिलो कुरो मान्नुपर्छ, स्विकार्नुपर्छ, घरभित्र भएका यस्ता आघातपूर्ण घटनालाई । नकार्नु हुँदैन । आज ड्रग्सले पीडित लाखौँ परिवार छन् । केवल अब हामी यस्तो स्थितिबाट निस्कनुपर्छ भनेर हजारौँ आमाबाबु सडकमा निस्के, यस कुरोको समाधान सुरु हुन्छ । यो संघसंस्थाले मात्रै गर्ने काम हुँदैन । दुःखलाग्दो कुरो, दार्जिलिङ दार्जिलिङ, सिक्किमका राजनीतिक दल र नेताहरू पन्जाबमा भन्दा पनि अधोगतिमा पुगिसकेका छन् ।
उनीहरू केवल विकासको कुरा गर्छन्, करोडौँ रुपैयाँ खर्चेर भन्छन् । सोधौँ त युवायुवतीको विकासचाहिँ कसरी गर्दैछौँ भनेर ? थाहै छैन, ड्रग्स सेवन गरेर कति मरे ? कति परिवारहरू भत्के ? समाजमा कति भयावहको स्थिति आयो ?
सिक्किम विश्वविद्यालय निर्माण गर्ने सिलसिलामा हामी शिक्षक र विद्यार्थीले सिक्किममा रहेका दुइटा प्रमुख र भयावह सामाजिक समस्या ड्रग सेवन र आत्महत्याबारे अध्ययन गर्ने, निचोड निकाल्ने र समाधान दिने उद्देश्यले काम सुरु गर्यौँ । शिक्षक र विद्यार्थी यस अध्ययनमा चाहिने तथ्यांक र अन्य साहित्य सामग्री खोज्न सरकारी कार्यालयहरूतिर पुगे । सबैले एउटै स्वरमा धम्की दिँदै सावधान गराउँदै भने, यस्तो विषयमा विश्वविद्यालयले हात हाल्नु हुँदैन ।
किन भनेर सोधखोज गर्दा भनियो– राजनीतिक नेता र सरकार रिसाउँछन् र उखरमाउलो आउँछ । कस्तो राज्य, कस्तो नेता, कस्तो राजनीतिक प्रणली ? ड्रग सेवन गरेर युवा भकाभक मर्दैछन्, आत्महत्या गर्दैछन्, गाडी दुर्घटनामा पर्दैछन्, समाजमा अपराध बढ्दैछ र पनि नमान्नु अरे ! विश्वविद्यालयको एउटा प्रमुख लक्ष र दायित्व नै मानव समाजलाई विश्वस्तरमा होडबाजी गर्ने बनाउनु । सिक्किमको यस्तो व्यवहारले त युवापुस्तालाई केवल भुइँसुल्के बनाइदिने भो ।
भारतको नेसनल क्राइम रेकर्ड ब्युरोले सन् २०१४ मा जारी गरेको प्रतिवेदनअनुसार आत्महत्याको दर सिक्किममा ३८ छ, जो भारतमा दोस्रो स्थानमा आउँछ । सन् २०१३ देखि सन् २०१४ सम्ममा मात्रै आत्महत्या गर्नेहरूको संख्या सिक्किममा ३३ प्रतिशत बढ्यो । ठिटाठिटी (१८ वर्षदेखि तलतिरका) माथि गरिएको अनुसन्धानअनुसार अपराध दरमा सिक्किम भारतमै तेस्रो दर्जामा आउँछ । भारतको सरदर २० मा सिक्किमको ४५.८ छ । दर निकालिँदा हरेक एक लाख व्यक्तिमा यस किसिमका घटना/अपराध कति संख्यामा हुन्छ भन्ने हिसाबले तय गरिएको हुन्छ । यति मात्रै कहाँ हो र ?
पन्जाब, मनीपुर, पाकिस्तान र थाइल्यान्डमा झैँ ड्रग्स ट्याब्लेट–नशाखोर, नसा, तस्करी गर्ने सबैविरुद्ध युद्ध छेड्नुपर्छ । सिक्किम दार्जिलिङमा युवा पुस्तालाई नशामा डुबाउने षड्यन्त्र हो यो भने ‘उड्ता पन्जाब' मा प्रीत सरताज बौरिया टम्मीले सांसद सदस्य मनिन्दर, ब्रारमाथि लडेको अन्तिम भिडन्त–निष्कर्ष खोजाई यहाँका जनता जनार्दनले पनि खोज्नुपर्छ । हामीभित्र पनि मनिन्दर ब्रार धेरै छन् ।
हिंसात्मक अपराध हुने राज्यहरूमा पनि सिक्किमको दर्जा अपराध दर ३७ लाई मान्दा भारतकै धेरै माथि छ । अनुसूचित जातिमाथि गरिने अपराधहरू पनि सिक्किमको दर ३५ राष्ट्रिय सरदर २३.४ धेरै माथि छ ।
सिक्किम विकासमा योजना आयोगअन्तर्गत नयाँ दिशानिर्देश र नीति निर्धारण गर्दा यी सबै देखेर हामीले फेन्सिडल मात्रै बनाउँछु भन्ने दबाई कारखानाहरूलाई घुस्नै दिएनौँ । हामीले घोर विरोध गरे पनि त्यहाँका नेताले सिक्किम र सिक्किमवासी भविष्य नै लिलाम गर्दै जथाभावी जलविद्युत् परियोजना बनाउन कहिल्यै नाम नसुनेका कम्पनीहरूलाई पर्चापट्टा र सरकारी स्वीकृति दिए । राजनीतिक नेता भनेको यस्ता हुँदा रहेछन् ।
पन्जाब, मनीपुर, पाकिस्तान र थाइल्यान्डमा झैँ ड्रग्स ट्याब्लेट–नशाखोर, नसा, तस्करी गर्ने सबैविरुद्ध युद्ध छेड्नुपर्छ । सिक्किम दार्जिलिङमा युवा पुस्तालाई नशामा डुबाउने षड्यन्त्र हो यो भने ‘उड्ता पन्जाब' मा प्रीत सरताज बौरिया टम्मीले सांसद सदस्य मनिन्दर, ब्रारमाथि लडेको अन्तिम भिडन्त–निष्कर्ष खोजाई यहाँका जनता जनार्दनले पनि खोज्नुपर्छ । हामीभित्र पनि मनिन्दर ब्रार धेरै छन् ।
गद्दी र कुर्सी पाएपछि समाज, क्षेत्र, राष्ट्र जतासुकै जाओस्, स्थिति अझै भयावह होस्, ड्रग्स तस्करी गर्नेहरू, मानव तस्करी, महिला तस्करी, किड्नी तस्करीहरू सबैसँग मिलेर नेताहरूले काम सुरु गरिसकेका छन् । सोनादा मन्तिरको मुन्डाकोठीमा एउटा परिचित महिलाको मृत्यु हुँदा मात्रै थाहा पाइयो, मानव अंग तस्करी गर्ने समूहले उनलाई ६ महिनाअघि दिल्ली लगेर, दुइटै किड्नी हटाइदिएछन् । महिला तस्करी गर्ने व्यक्ति पक्राउ परेपछि उनकै छिमेकी ‘एडिक्ट' ले पनि महिलालाई तस्करकहाँ पुर्याएका रहेछन् ।
ठूला जिम्मेवारी छ हामीमाझ । पन्जाबजस्तै उड्न खोज्छन्, दार्जिलिङ–सिक्किमका भुइँसुल्के नशाखोर, राजनीतिक नेता, तस्करी झुन्डहरू । आफूमात्रै उडेर, समाज, जाति र समुदायलाई पनि नशामा नै उडाउन चाहन्छन् होला सायद । एउटा अन्तिम जमर्को गरौँ, यस्ता भुइँसुल्केहरूलाई जरैबाट उखेलेर फ्याँक्नको लागि । नत्र हामी अर्को नयाँ पुस्ता पनि गुमाउनेछौँ ।