भाषिक एकताका स्रोत
भानुभक्तको नाम नेपालको राष्ट्रिय एकतासँग जोडिएको छ । भाषिक हिसाबले मात्र होइन, विश्वभर छरिएका नेपालीका लागि उनी एकताका प्रेरणा बनेका छन् ।
‘चपला अवलाहरू एक सुरमा,
गुनकेसरिको फूल ली शिरमा ।
रिस राग कपट् छल छैन जाहाँ,
तव धर्म कति छ कति छ याहाँ ।
पशुका पति छन् रखवारि गरी,
शिवकी पुरी कान्तिपुरी नगरी ।’
यसरी भानुभक्तका कविता प्राकृतिक सिर्जनात्मक नेपाली राष्ट्रवादसँग गाँसिएका छन् । गहिरो अध्ययन र अन्वेषणले मानिस स्रष्टा बन्छ । अध्ययन नगरी कोही पनि स्रष्टा बन्न सक्तैन । भानुभक्त एक सशक्त सिर्जनाका नायक हुन् । भानुभक्तले दुर्गा कवच, रुद्री, अमरकोष, लघुकौमुदीको अध्ययन गरेका थिए । उनलाई विद्याउपार्जन गराउनमा उनका पितामह श्रीकृष्ण आचार्यबाट प्राप्त भएको र ती गन्थहरू भनुभक्तले राम्ररी अध्ययन गर्न सकेकाले वाल्मीकि रामायण अध्ययन गर्नमा उनलाई सजिलो भयो । प्रतिफल नेपालले भानुभक्तबाट रामायण पायो । भानुभक्तले नेपाली भाषामा रामगीता, वधू शिक्षाजस्ता कैयौं काव्यको रचना गरेर नेपाली समाजलाई सिर्जनात्मक बाटो देखाएका थिए ।
भानुभक्त सम्झदा मोतीराम भट्टको नाम पनि जोडिएर आउँछ । भानुभक्तका कीर्तिलाई व्यापक प्रचार गर्नमा उनको ठूलो देन छ । भानुभक्त कवितात्मक सिर्जनाका धनी थिए । भानुभक्तलाई कसैले ‘तपाईं को हो ? ’ भनेर सोध्दा उनले कविताबाटै यसरी जवाफ दिएका थिएः
‘पहाडको अति बेस देश तनहुँमा श्रीकृष्ण आचार्य थिया ।
खुप् उच्चा कूल आर्यबंशि हुन गै सत्कर्ममा मन्दिया ।।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि यो जानी चिन्ही लिया ।।’
यसबाट थाहा हुन्छ, भानुभक्त एक सहज कवि थिए । मोतीराम भट्टले भानुभक्तबारेमा लेखेका थिए, ‘धेरै नामका कवि भानुभक्त भन्दा पहिले भए तर कविताको मर्म जानी भाषा पद्ये लेख्ने कविहरूमा आधिकवि भानुभक्त नै हुन् । यिनको जन्मस्थल तनहुँ देशका चुँदीबेसीको रम्घा गरेको गाउँ हो । उनी अर्काका करमा कहिल्यै पनि बसेनन् ।
भानुभक्तका कविता जति सरल छन्, उत्तिकै इनको नाम पनि प्यारो छ । संसारमा जन्म लिईकन आफ्नो नाम राखेन भने त्यस पुरुषले जन्मेको के सार ? ’ भानुभक्तको नामसँग कवि मोतीराम भट्टको नाम जोडिन्छ । मोतीराम भट्ट पनि नेपाली साहित्यको जग हुन् । उनले लेखेका थिए, ‘न्याय गर्नमा निसाफ नपाए गोर्खा जानु भन्ने उखानै छ । यसै औसरमा म पनि श्री ५ गोर्खा सरकारको यश कीर्तिलाई धन्य भनी एक श्लोक लेख्दछुः’
‘अचल झण्डा फर्रोस् फरफर गरी कान्तिपुरीमा ।
रिपुको मन थकोस् थरथर गरी छीन घरिमा ।।
यमनले राज् गर्दा कति तिति हिन्दुस्थल भयो ।
फगत यो नेपालको मुलुक कञ्चन रहिगयो ।’
भनुभक्तको सम्मानार्थ दार्जिलिङको चौरास्तामा जंगबहादुरको सालिकको छेउमा भानुभक्तको सालिक बडो सम्मानका साथ राखिएको थियो । गोर्खाल्यान्ड आन्दोलनका बेला नेपालविरोधी उच्छृंखल तत्त्वले भानुभक्तको सालिक ढालिदिए । हामीहरू २०५२ साल असोजमा दार्जिलिङ गएको बेला चौरास्तामा भानुभक्तको सालिक ढालेको देख्दा हाम्रो मन रोयो । केही वर्षपछि दार्जिलिङको चौरास्तामा नै भानुभक्तको पूर्ण कदको सालिक निर्माण भएको कुरा पत्रपत्रिकामा छापियो ।
पहिचानको लडाइँमा सिक्किमकी एक विरांगना नरबहादुर भण्डारीकी श्रीमती दिलकुमारी भण्डारीले भारतको संसद्बाट नेपाली भाषालाई भारतको सरकारी लेखापढीको भाषाका रूपमा राख्ने अभियानमा सफलता हासिल गरेकी थिइन् । सिक्किममा नेपाली भाषालाई सिक्किम राज्यको सम्पर्क भाषाका रूपमा अनिवार्य पाठयक्रमका रूपमा घोषित गरिएको छ ।
सिक्किमी नेपालीभाषीको एकताका लागि सिक्किममा ५० फुट अग्लो भानुभक्तको सालिक बनाउन जुन घोषणा गरिएको छ, यसले नेपाली भाषा अन्तर्राष्ट्रिय भाषाका रूपमा सम्मानित भएको छ । भारतका आसाम, मणिपुर, दार्जिलिङ, उत्तराञ्चलको देहरादुन, अलमोडालगायत भारतका अनेकौं ठाउँमा रहेका नेपालीको प्रिय भाषाका रूपमा नेपाली भाषा पूजनीय भइरहेको छ । भारत सरकारले सरकारी भाषासरहको मान्यता दिएर नेपाली भाषालाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ ।
भारतका आसाम, मणिपुर, दार्जिलिङ, उत्तराञ्चलको देहरादुन, अलमोडालगायत भारतका अनेकौं ठाउँमा रहेका नेपालीको प्रिय भाषाका रूपमा नेपाली भाषा पूजनीय भइरहेको छ । भारत सरकारले सरकारी भाषासरहको मान्यता दिएर नेपाली भाषालाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ ।
नेपाल विभिन्न जाति, भेषभूषा, भाषाभाषीको थलो हो । यहाँ लगभग एक सय २४ भाषा छन् । तीमध्ये ४०/५० भाषा विकसित अवस्थामा छन् । मैथिली, भोजपुरी, अवधि, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, थारू, राजवंशी, लिम्बू, राई, नेवार, थकाली, सुनुवार, सतार, उर्दु आदि भाषा आआफ्नो समुदायमा लोकप्रिय छन् । भाषाका हिसाबले नेपाल धनी छ । दार्जिलिङका विद्वान् पारसमणि प्रधानले भनेका थिए, ‘नेपाली भाषा कुनै निश्चित जात वा जातिको भाषा होइन ।
यसलाई बाहुन, क्षेत्रीलगायत गुरुङ, मगर, राई, लिम्बू, नेवार, तामाङ’ आदि जातले आआफ्नो बोली छँदाछँदै पनि नेपाली भाषालाई मातृभाषा भनी अपनाएका छन् । यसो गर्नाले एउटा विशाल नेपाली जातिको सृष्टि भएको छ । कुनै जातका मानिसले आफ्नो जातीय बोली बिर्सनैपर्छ भन्ने छैन । तर, नेपाली भाषा हाम्रो होइन भनेर विभिन्न नेपाली जातिले संघर्षका निम्ति संघर्ष गर्न थाले भने न उनीहरू आफैं भिन सक्छन् न अरूलाई उभिन दिन्छन् । पहिलेको खस बोली खस भाषामा परिणत भएर गोर्खा वा गोर्खाली भाषा हुन पुगेको हो । अहिले तमाम नेपाली जातिको भाषा हुन पुगेको छ ।’ यसरी नेपाली भाषालाई अन्तरजातीय रूपमा स्थापित गराउन भानुभक्तको रामायणको ठूलो देन छ ।
भानुभक्तले वाल्मीकि रामायणलाई नेपाली भाषामा छन्दमय पद्येमा अनुवाद गरेर नेपाली जनमानसलाई श्लोकमय बनाएका थिए । वाल्मीकि संस्कृत भाषाका आदिकवि हुन् । वाल्मीकि रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे । वाल्मीकिले नेपालको चितौन जिल्लाको दक्षिणतर्फ नारायणी नदीको किनारमा आश्रम बनाएका थिए । त्यही ठाउँमा रामले सीतालाई त्यागेपछि सीताले आ य लिएकी थिइन् । सोही ठाउँमा लवकुशको जन्म भएको थियो । ‘मानिसाद प्रतिष्ठात्गमय शास्वस्ती समा, यादक्रौंच मिथुनादेकः ममधि काम मोहितम् ।’ यो संस्कृत साहित्यको पहिलो कविता हो ।
वाल्मीकि आश्रमको किनारमा सोना र तमोसा नदीमा नुहाउन जाँदा एक व्याधाले चलिरहेका एक जोडी बाजलाई काँडले हानेर घायल बनाएपछि त्यो विह्वल दृश्यबाट विस्फोटित बनेर करुणरसमय श्लोक प्रस्फुटित हुन गयो । त्यही श्लोकपछि वाल्मीकिले रामायण लेखे । उनी ऋषि बने । २०३७ सालमा वाल्मीकि आश्रमको अध्ययन भ्रमण गर्दा मलाई अत्यन्त गौरव महसुस भयो ।
वाल्मीकि आश्रमलाई अन्तर्राष्ट्रिय साहित्यिक धामका रूपमा सरकारले विकास गरेर विश्वव्यापी बनाउनुपर्ने हो । तर, अब त्यस क्षेत्रको अवस्था सुषूप्त रहेको देख्न नपरोस् । नेपाली भूमिमा रहेर रामायणलाई संस्कृत र नेपाली भाषामा यी दुई महारथीले लेखेर नेपालको प्रतिष्ठा बढाएकामा हामी नेपाली गैरवान्वित छौं ।
भानुभक्तको जन्म विसं १८७१ असार २९ गते आइतबार भएको थियो । उनको स्वर्गारोहण विसं १९२५ असोजमा भयो । भानुभक्तले जीवनकालमा केकस्ता हन्डर खपे भन्ने कुरा आफ्नै ठाउँमा छन् । उनको कवितात्मक भावना प्राकृतिक सिर्जनाबाट नेपाली राष्ट्रवादसँग गाँसिएका छन् । भानुभक्त नेपाली साहित्यका चरित्रका पुञ्ज हुन् । उनको कवितात्मक भावना प्राकृतिक सिर्जनाबाट नेपाली राष्ट्रवादसँग गाँसिएका हुन्थे ।
लेखनाथ, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षु, भीमनिधि तिवारी, हृदयचन्द्रसिंह प्रधान, सिद्धिचरण श्रेष्ठजस्ता साहित्यकार जन्म हुनु पनि भानुभक्त नै प्रेरक हुन् । भाषिक हिसाबले मात्र होइन, विश्वभरमा छरिएर रहेका नेपालीका लागि उनी एकताका पे्ररणा बनेका छन् । आदिकवि भानुभक्त आचार्य नेपालीका नजरमा अजर अमर छन् ।