क्रस दी बोर्डरमा अनील शाह: पैसा कमाउनुमा गौरव गरौं

क्रस दी बोर्डरमा अनील शाह: पैसा कमाउनुमा गौरव गरौं

पोखराः बिजुली छैन, पानी छैन र बाटोघाटो पनि राम्रो छैन । यो नेपालको वास्तविकता हो । 'हो नेपालको वास्तविकता त्यही हो', उनले भने, 'यही वास्तविकता आत्मसात गर्न सकिएन भने नेपालमा केही गर्न सकिन्न ।' उनी अर्थात् मेगा बैंकका सीईओ अनीलकेशरी शाह उद्यमी बन्न र कुनै पनि क्षेत्रमा सफल बन्न देशको परिस्थितिलाई बुझ्नुपर्ने सुझाउँदै थिए ।

जोखिम नउठाएसम्म प्रगति गर्न नसकिने पनि उनले सुनाए । भने, 'जिन्दगीमा कुनै अवसर भनसुनका आधारमा पाइएला भन्ठान्यो भने प्रगति हुन्न । भनसुनले एउटा स्टेप चाल्न सकिएला तर त्योभन्दा अगाडि जान आफैंले प्रयास गर्नुपर्छ ।' सबैभन्दा पहिला आफैंलाई विश्वास गरेर पाइला चाल्न उनले सुझाए ।

नेपालमा पैसा हुनेलाई वा पैसा कमाउनेलाई सम्मान गर्ने परिपाटी नबसेको उनले गुनासो गरे । धनी हुनुमा गर्व गरेरै चीनले प्रगति गर्न सकेको उनले बताए । शाहले भने, 'पैसा कमाउनमा गौरव गरौं र हामी धनी भए पनि इमानदार बनौं, पारदर्शी बनौं ।'

पोखरा लेकसाइडको होटल स्नोल्यान्डले अन्नपूर्णसँगको सहकार्यमा चलाइरहेको उद्यमशीलता प्रस्फुटन गराउने कार्यक्रम क्रस दी बोर्डरमा शनिबार शाह आफ्ना अनुभव र विचार बाँड्दै थिए । नबिल बैंकमा सीईओ छँदाछँदै अनुमति नै प्राप्त नगरिसकेको प्रस्तावित मेगा बैंकमा जान पनि आफूले जोखिम उठाएको उनले सुनाए ।

सन् १९९१ मा तत्कालीन ग्रिनलेन्ड्ज बैंकमा सहायक स्तरको जागिर सुरु गर्दा आफू अन्तर्वार्ता लिनेको ठाउँमा पुग्ने सपना देखिसकेको उनले बताए । 'गन्तव्य राखिएन भने प्रगति हुन्न', उनले भने, 'बसपार्कमा पुगेपछि त हामी यहाँ जाने, उहाँ जाने भनेर गन्तव्य तोक्छौं भने जिन्दगीमा चाहिँ किन नतोक्ने ? '

व्यवसाय वा उद्यम गर्न पैसा ठूलो कुरा नहुने उनको भनाइ थियो । बैंकले नै पैसा दिए पनि मेहनत गरेर कमाउनुपर्ने काम आफैंले गर्नुपर्ने उनले बताए । 'पैसा भए त बिजनेस गर्थें भनेर सोच्नु गलत हो', उनले भने, 'मेहनत गर्छु भनेर लाग्नुपर्छ सफल भइन्छ । दिनभरि घाम भए पनि काम गर्छु, रातभर चिसो भए पनि काम गर्छु भनेर लाग्नुपर्छ ।' तर सँगसँगै योजना पनि बनाउनुपर्ने खाँचो उनले औंल्याए । गर्ने भनेर मात्रै नहुने भन्दै शाहले के गर्ने भन्नेमा प्रस्ट हुन आग्रह गरे ।

'पैसा कमाए पनि जे गरे पनि जिन्दगीमा सबैभन्दा ठूलो कुरा खुसी हो,' उनले भने, 'खुसी हुन पैसै कमाउनुपर्छ भन्ने छैन । जसलाई जे गर्दा खुसी लाग्छ त्यही गर्नुपर्छ ।' त्यसका लागि जिन्दगीमा पाँच प्राथमिकता तोक्न सकिने उनको धारणा थियो ।

परिवार र साथीभाइ, धनदौलत, स्वास्थ्य, प्रतिष्ठा तथा शक्ति वा काम भन्ने प्राथमिकता तोकेर अगाडि बढ्न उनले सुझाए । उद्यमशीलताको विकास गर्न युवालाई प्रेरित गर्न क्रस दी बोर्डर कार्यक्रम शृंखला सञ्चालन गर्दै आएको आयोजक होटल स्नोल्यान्डका प्रबन्ध निर्देशक गणेशबहादुर थापाले बताए ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.