अख्तियार प्रमुख कार्कीले राजीनामा दिनुपर्छ: महर
काठमाडौंः संयुक्त विद्यार्थी संगठनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग पारित गरेर हटाउनुपर्ने माग गर्दै उच्च नेतालाई ज्ञापनपत्र बुझाइरहेकै बेला नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले भने कार्कीले राजीनामा दिनुपर्ने बताएका छन्।
शनिबार संयुक्त विद्यार्थी संगठनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर कार्कीलाई महाअभियोग लगाएर हटाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका थिए। निर्वाचित भएपछि गृहक्षेत्र सुदूरपश्चिमको भ्रमणमा पुगेका नेविसंघका केन्द्रीय अध्यक्ष महरले निलम्बित अख्तियार प्रमुख कार्कीले राजीनामा दिनु उपयुक्त हुने विचार व्यक्त गरेका हुन्।
‘दलहरुले कार्कीलाई नियुक्त गर्दा नै एउटा गल्ती गरे, संवैधानिक निकायमा कार्कीजस्तो विवादास्पद व्यक्तिलाई नियुक्ति गर्नु गल्ती थियो’, महरले भने, ‘अब फेरि कार्कीको नाममा नेपाली समाजलाई विभक्त गर्नु अर्को गल्ती हुने छ।’
महरले धारण सार्वजनिक गर्दै कानुनी राज्यको सम्मान र निलम्बनमा परिसकेपछि महाअभियोग लाग्नुभन्दा कार्कीले राजनीतिमा दिएर सामान्य जीवन विताउनु उपयुक्त हुने बताएका छन्। हिजोका दिनमा दलहरुले विवादास्पद छवीको व्यक्तिलाई अख्तियार प्रमुख बनाएर सबैले गल्ती गरेको बताउँदै महरले भने, ‘अब तिनै कार्कीको नाममा समाजलाई पक्ष र विपक्षमा उभिने आधार तयार पार्नु राजनीतिक दलहरुको अर्को गल्ती हुने छ।’
उनले कार्कीले पनि अपमानित तरिकाले महाअभियोग लागेर कालो इतिहास बनाउनुभन्दा राजनीतिमा दिएर उम्कनु उपयुक्त हुने सुझाएका छन्।