‘लोकमान प्रकरणलाई अघि सारेर मुलुकलाई जटिलतातर्फ धकेल्न खोजियो’
काठमाडौंः नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संविधान कार्यान्वयनलाई ओझेलमा पार्न अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग दर्ता गरिएको बताएका छन्।
नेपाली काँग्रेस पाल्पाले शनिवार तानसेनमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले एमाले र नेकपा माओवादी केन्द्रले कार्की प्रकरणलाई अघि सारेर संविधान कार्यान्वयन ओझेलमा पार्ने र मुलुकलाई जटिलतातर्फ धकेल्न खोजेको आरोप लगाए।
उनले कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे काँग्रेसले निकै सोच विचार गरेर मात्रै निर्णय गर्नु पर्ने बताए। उनले काँग्रेस विधीको शासन र कानुनी राज्यमा विश्वास गर्ने पार्टी भएकाले मुलुकको अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति र संविधान कार्यान्वयनको विषयलाई ध्यान दिँदै कार्कीको विषयमा हतारमा निर्णय गरिहाल्न नहुने बताए।
नियुक्तिकै समयमा आफूले लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउन हुँदैन भनेर नेताहरू समक्ष पटक–पटक गरेको आग्रहको कुनै सुनुवाइ नभएकाले अहिले जटिल परिस्थिति आएको बताए।
कोइरालाले स्थानीय निकाय पुनःसंरचना आयोगले हचुवाको भरमा ल्याएको गाउँपालिकाको संख्यामा कुनैपनि हालतमा सहमत हुन नसकिने
प्रष्ट पारे।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगानाले लोकमानसिंह कार्कीलाई बहाना बनाएर मुलुकलाई बर्बादीतर्फ धकेल्न खोजिएको बताए। उनले एमाले–माओवादीले आफ्नो स्वार्थ पूरा गर्न लागेको भन्दै यस बिषयमा हतारमा पार्टीले कुनै निर्णय गर्न नहुने बताए।