पाइलैपिच्छे षडानन्दको सम्झनामा
श्री १०८ आबाल ब्रह्मचारी बालागुरु षडानन्दको मंसिर १९ गते एक सय ८२ औं जन्मजयन्ती मनाइसकिएको छ । बालागुरु षडानन्द, षडानन्द अधिकारीका रूपमा विसं १८९२ मा भोजपुरको दिङ्ला केउरेनीपानी- ६ (हालको षडानन्द नपा-३) गडीगाउँमा जन्मिएका थिए ।
पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणीदेवीको कान्छा सन्तानका रूपमा विवाह पञ्चमीका दिन उनको जन्म भएको थियो । उनले श्री १०८ उपाधि प्राप्त गरे । उनी आबाल ब्रह्मचारी रहे । त्यसकारण यिनी आबाल बह्मचारी षडानन्द बालागुरुका नामले प्रसिद्ध छन् ।
षडानन्दको जन्मजयन्तीमा मात्र नभएर उनको सम्झनालाई संस्थागत रूपमै सम्झना गरिन थालेको छ । बालगुरुले राणाशासनकालमा पनि पहिलोपटक संस्कृति पाठशाला निर्माण गरेर सर्वसाधारण जनताका छोराछोरीलाई अध्यनअध्यपनको वातावरण सुरु गरे ।
गर्भे टुहुरा जन्मिएका उनलाई दैवीशक्ति प्राप्त थियो भन्ने विश्वास रहिआएको छ । त्यो समयमा उनले दुःखले शिक्षा आर्र्र्जन गरे, कठोर तपस्या गरे, योगसाधना गरे फलतः शिक्षाको ज्योति, पूर्वी दर्शनका ज्ञाता तथा अष्टांगयोग साधकका रूपमा स्थापित बने । एक सय ८२औं जन्मजयन्तीसम्म आइपुग्दा स्थानीयले उनलाई यसरी सम्झँदै गरेको पाइयो ।
नगरपालिकाको नाम षडानन्द
भर्खरै राज्यले गठन गरेको नगरपालिकाको नाम स्थानीयवासीले षडानन्द नगरपालिका राखेका छन् । केउरेनीपानी, मूलपानी क्षेत्रमा पर्ने चर्चितस्थल दिङ्ला नै नाम राख्नु उपयुक्र्त भए पनि षडानन्दको उच्च कदर गर्न नगरपालिकाको नाम नै राखेको स्थानीय सुमन राईले बताए । नामै राख्न धेरैले वादविवाद र झगडासमेत गरे पनि यस क्षेत्रमा षडानन्दको नाम जोडिनसाथ सबै राजनीतिक दलसमेतले स्वीकार गरे ।
गाडी नम्बर १०८
नवगठित षडानन्द नगरपालिकाले फोहोर व्यवस्थापनका लागि किनेको ट्रिपर गाडीको नम्बर पनि श्री १०८ आवाल ब्रम्हचारी षडानन्द बालागुरुको उपाधिसँग मिल्दोजुल्दो छ । कार्यालयले योजनाभन्दा पनि सञ्जोगले गाडीको नम्बर को १ ग १०८ रहन गएको नगरपालिकाले बताएको छ ।
पूर्वमा संस्कृत शिक्षाको सुरुवात गरेर शिक्षाको ज्योति फैलाएका षडानन्दको उपाधिसँग गाडी नम्बरसमेत मिलेपछि युवापुस्तालाई उनको सम्झना ताजा भइरहने युवा उमेश अधिकारी बताउँछन् ।
विसं. १९३२ देखि २००७ सालसम्मको नेपालको शैक्षिक इतिहास केलाउँदा ७५ वर्षसम्म बालागुरु षडानन्दको साहसका कारण दिङ्लाले पूर्वाञ्चलमा शिक्षाको उज्यालो देखाएको प्रस्ट हुन्छ ।
१०८ आवाल ब्रम्हचारी षडानन्द अधिकारीको नामबाट नामकरण गरिएको भोजपुर दिङ्लास्थित नगरपालिकाले खरिद गरेको ट्रिपरको नम्बर पनि १०८ आठ नै पाउनु सौभाग्य भएको स्थानीयको बुझाइ छ ।
षडानन्द क्याम्पस
भोजपुरको उत्तरी १६ गाविसमा उच्च शिक्षाको पहुँच थिएन । यहाँका विद्यार्थीले उच्च शिक्षाका लागि निकै समस्या झेल्नु परेको थियो । स्थानीय शिक्षाप्रेमी समाजसेवीको अगुवाइमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०६७ सालमा षडानन्द नामकरण गर्दै बहुमुखी क्याम्पस स्थापना गरे ।
हाल उक्त क्याम्पसमा भोजपुरका उत्तरी १६ गाविसका विद्यार्थी पढ्ने गर्छन् । शिक्षाको ज्योति फैलाउन सहयोग गरेको सम्झनामा शिक्षा क्षेत्रमा षडानन्दको नाम अमर राख्न त्यसो गरिएको शिक्षक श्रीकृष्ण बोगटीले बताए । १८९२ जन्म भई १९७३ मा स्वर्गारोहण भएका उनको योगदानलाई कदर गर्न सानो प्रयास गरिएको उनको भनाइ छ ।
षडानन्द पाठशाला
राणाहरूले सर्वसाधारणका लागि अध्ययन अध्यापनमा लगाएको बन्देज तोड्दै उनले स्थापना गरेको पहिलो भोजपुर दिङ्लाको षडानन्द संस्कृत पाठशाला हो। आजभन्दा एक सय ३७ वर्षअगाडि (विक्रम संवत् १९३२) नेपालको इतिहासमा विद्यालयको स्थापना गरिएको थियो । यो पाठशाला नेपालको इतिहासमा जनस्तरबाट पहिलोपटक खोलिएको हो ।
जनताका छोराछोरीलाई पढ्ने वातावरण सिर्जना गर्ने उद्देश्यले केउरेनी पानी- ७ दिङ्लामा त्यतिबेला विद्यालय स्थापना गरिएको थियो । त्यसबेला नागरिकका छोराछोरीलाई पढ्न बन्देज थियो । भोजपुर भन्नेबित्तिकै धेरैको मनमा षडानन्द अधिकारीको नाम आउँछ । षडानन्दसँगै पर्यायवाची बनेर आउने शब्द शिक्षा हो ।
राणाशासनको दबदबाका बीच भोजपुरको विकट क्षेत्रमा विद्यालय खोल्नु साहसी र चुनौतीपूर्ण काम थियो । तर, चुनौतीको पर्खाल भत्काउँदै षडानन्दले विद्यालय स्थापना गरे । शिक्षा क्षेत्रका प्रेरणाका स्रोत बनिरहेका षडानन्दले सञ्चालन गरेको पाठशाला अझै पनि सञ्चालित छ ।
जसले भोजपुरको मात्र नभएर पूर्वकै शिक्षा र चेतनालाई प्रतिविम्बित गर्छ । हुन त विसं. १९१० मा काठमाडौंमा दरबार हाइस्कुलको स्थापना गरिएको थियो । जुन दरबारियाका लागिमात्रै थियो । दरबार हाइस्कुल १९४० मा मात्र खुल्ला भयो भने भोजपुरको दिङ्लामा त्यसभन्दा आठ वर्षअगाडि देखि नै जनताका छोराछोरी पढ्न थालिसकेका थिए ।
गुठी सञ्चालन
भोजपुरमा षडानन्द सीताराम गुठी स्थापना गरिएको छ । गुठीका नाममा झन्डै १७ सय रोपनी जग्गा छ । पाठशालामा अध्ययन गर्ने विद्यार्थीका लागि आवश्यक खाद्यान्नको जोहोका लागि १९५५ मा यसको स्थापना भएको थियो । यस कुराले षडानन्दाको दूरदर्शितालाई दर्शाउँछ ।
विद्यार्थीका लागि गुठीबाट आएको धानले छात्रवृत्ति तथा खानाको व्यवस्था मिलाइएको थियो । एक विद्यार्थीलाई महिनामा १०-१२ पाथी धान दिने गरिएको स्थानीयवासीको भनाइ छ । यतिबेला षडानन्द संस्कृत पाठशाला षडानन्द उच्च माविमा परिणत भएर सञ्चालित छ ।
षडानन्द पुरस्कार
आबाल ब्रह्मचारी षडानन्दका नाममा राष्ट्रिय पुरस्कार स्थापना गरिएको छ । षडानन्द प्रतिष्ठानले शैक्षिक संस्थालाई पुरस्कार दिने निर्णय साथ पुरस्कार कोष स्थापना गरेको हो । पुरस्कारको राशि ५० हजार तोकिएको छ ।
प्रतिष्ठानले षडानन्दको योगदान र शिक्षामा अथक योगदान पुर्याउने शैक्षिक संस्थालाई पुरस्कार उपलब्ध गराउने गरेको छ । यो पुरस्कार वरिष्ठ संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङ, प्रा.डा. सुरेशराज शर्मा, डा. स्वामी प्रपन्नाचार्य, साहित्यकार मदनमणि दीक्षित, प्राज्ञ ज्ञानमणि नेपाल र प्राध्यापक पुरुषोत्तम भट्टराईलगायतले प्राप्त गरिसकेका छन् । हरेक वर्ष दिइने पुरस्कार आठौं पटक प्रदान गरिसकिएको छ ।
षडानन्दलाई सम्झनकै लागि विभिन्न क्षेत्रको नामकरण गरिएको छ । १२ वर्ष कठोर तपस्या र २४ पटक गायत्री पुरश्चरण गरेको इतिहासमा उल्लेख छ ।
आध्यात्मिक जगतमा २४ पटक गायत्री पुरश्चरण गर्ने कार्य अद्वितीय र अतुलनीय मानिन्छ । २४ पटक गायत्री पुरश्चरण भनेको पाँच करोड ७६ लाख पटक गायत्री मन्त्र जप गर्नु हो । २४ पटक गायत्री पुरश्चरणले खारिएका र अष्टाङ्गयोगका ज्ञाता षडानन्द बालागुरुमा वाकसिद्धि थियो ।
विसं. १९३२ देखि २००७ सालसम्मको नेपालको शैक्षिक इतिहास केलाउँदा ७५ वर्षसम्म बालागुरु षडानन्दको साहसका कारण दिङ्लाले पूर्वाञ्चलमा शिक्षाको उज्यालो देखाएको प्रष्ट हुन्छ । वि.सं. १९१० मा दरबार हाइस्कुल स्थापना भयो । वि.सं. १९३४ मा रानीपोखरी संस्कृत पाठशाला खोलियो । जनस्तरमा सामुदायिक विद्यालय सञ्चालन गर्ने यी महापुरुषलाई अहिलेसम्म राष्ट्रले चिन्न सकेको छैन ।
षडानन्द बालागुरुलाई राष्ट्रिय विभूतिको दर्जा दिइएको छैन । षडानन्दले मन्दिर र पाठशाला स्थापना गरी पुरुष, महिला सबैमा शिक्षा प्रदान गरे फलस्वरूप कुप्रथाका रूपमा रहेको सतीप्रथा हट्यो । सामुदायिक वनको अवधारणा ल्याइएका कारण दिङ्लाभन्ज्याङ वरपरको जंगललाई अहिले पनि जगेडाको वन भनिन्छ ।
बहुमूल्य जडीबुटी रुद्राक्ष दिङ्ला प्रवेश गराउने षडानन्द नै थिए । दिङ्लावासी र वरिपरिका मान्छे अहिले रुद्राक्ष रोपेर त्यसको व्यापारबाटै करोडौं आम्दानी गरिरहेका छन् । बालागुरु षडानन्दले विक्रम संवत् १९७३ सालमा काठमाडौंमा भौतिक शरीर त्याग गरेका थिए ।
आध्यात्मिक, शैक्षिक र लौकिक जागरण ल्याउने सन्तशिरोमणि श्री १०८ आबाल ब्रह्मचारी षडानन्दलाई राष्ट्रिय सम्मान प्रदान गर्न सरकार संवेदनशील हुनुपर्ने देखिन्छ । २०५१ सालमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयले सात रुपैयाँ दरको हुलाक टिकट प्रकाशन गरे पनि उहाँको उच्च सम्मान राज्यले गर्न सकेको छैन ।