स्ववियु निर्वाचन पाँच दिन सार्ने विद्यार्थी संगठनबीच सहमति
काठमाडौंः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन पाँच दिन पछि धकेलिने भएको छ। प्रमुख राजनीतिक दलका विद्याथी संगठन र निर्वाचनको विरोधमा आन्दोलनमा उत्रिएको नेत्रविक्रम चन्द विप्लव माओवादी निकट विद्यार्थी अखिल क्रान्तिकारी संगठनबीच बिहीबार विहान बसेको बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए।
स्ववियु निर्वाचनलाई लिएर विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले विभिन्न कलेजहरुमा तालाबन्दी गरेको र ताला तोडेर चुनावमा जाँदा मुठभेडको स्थिति आउनसक्ने भएकाले निर्वाचनको मितिमा हेरफेर गर्ने सहमति भएको लामिछानेले बताए।
उनले भने,‘क्याम्पसहरुमा तालाबन्दी गरिएको छ। त्यो ताला फोडेर निर्वाचनमा जाँदा मुठभेडको स्थिति आउन सक्छ। त्यसैले सहमतिमै निर्वाचनको मिति सार्ने निर्णयमा पुगेका हौं।’ उनले निर्वाचनको मिति सार्न सहमतिबारे त्रिभुवन विश्वविद्यालयलाई बिहीबार नै जानकारी गराइने उनले बताए।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिविले निकालेको निर्वाचन तालिका अनुसार नै निर्वाचन गराउन त्रिविलाई निर्देशन दिएका थिए। प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशनको भोलिपल्टै बसेको प्रमुख तीन विद्यार्थी संगठन र विप्लव नेतृत्वको पार्टीनिकट विद्यार्थी संगठनको संयुक्त बैठकले निर्वाचनको मिति कम्तिमा पाँच दिन पछि सार्ने सहमति भएको हो।
वैठकमा नेपाल विद्यार्थी संघ र विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीले भने निर्वाचन १० दिन पछि सार्नु पर्ने प्रस्ताव गरेका थिए। यसअघि त्रिविले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो।
बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी थिए।