कमलराजसँगका ती दिन

कमलराजसँगका ती दिन

 

कमलराज रेग्मी अब यो भौतिक संसारमा रहेनन् भन्ने समाचार सुन्दा मेरो मन उदास भयो। नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका खेलेका उनको उपस्थिति अब इतिहासका पानामा मात्र रहने भयो भनेर स्विकार्नुपर्दा स्तब्ध हुन पुगें। २००४ सालदेखि सुरु भएको उनको राजनीतिक यात्राका विभिन्न मोड सम्झिन पुगें।

ARABINDA-RIMAL२००४ साल असार १ गते संस्कृत छात्रहरूको संगठन ‘जयतु संस्कृतम्’ ले सोही नारा दिएर अंग्रेजी शिक्षा पाउनुपर्छ र देशमा नागरिक अधिकारको ग्यारेन्टी हुनुपर्छ भनी चलाएको अभूतपूर्व एवं ऐतिहासिक आन्दोलनमा रेग्मी एक कर्मठ अभियन्ता थिए। यही आन्दोलनका क्रममा उनले आफूमा क्रान्तिकारी देशभक्तिको वीजारोपण गरे। त्यही राजनीतिक चेतले नेपाल कम्युनिस्ट आन्दोलनमा आबद्ध भए। २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा भएको क्रान्तिमा उनी कम्युनिस्ट योद्धाका रूपमा पश्चिम नेपाल र खासगरी पाल्पामा सक्रिय सहभागी भए।

००७ सालको क्रान्तिपछि कम्युनिस्ट पार्टीका संगठनकर्ताका रूपमा सक्रिय रहे। पाल्पामा भएको सबल किसान आन्दोलनको अग्रणी नेताका रूपमा आफूलाई स्थापित गरे। २०१५ सालको पहिलो आमनिर्वाचनमा पाल्पाबाट निर्वाचित रेग्मी कम्युनिस्ट सांसद मात्र थिएनन्, एक सुयोग्य सांसद पनि थिए। समग्रमा रेग्मी एक गम्भीर राजनीतिक चिन्तक, साहित्यकार, कुशल वक्ता अनि समग्र नेपाल कम्युनिस्ट आन्दोलनको आकाशमा एक उज्याला तारा थिए।

एउटा व्यक्तिको जीवन यति धेरै गुणले सुसज्जित हुनु चानचुने उपलब्धि होइन। सानो कद, मसिनो बोली, शान्त एवं मिलनसार स्वभावका यी साधारण देखिने व्यक्तिका हकमा त झनै होइन। माक्र्सवादी दर्शनप्रति निष्ठा र क्रान्तिकारी चरित्र भएको पार्टीमा संलग्नताले कसरी एक साधारण व्यक्तिलाई देश र जनताका हितमा न्यौछावर गर्न-गराउन सक्दो रहेछ भन्ने टड्कारो उदाहरण पनि हुन्- रेग्मी।

कुनै पौराणिककालका नायकजस्तै प्रतिष्ठा पाएका पुष्पलालले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दा कमलराज पनि देशका विभिन्न स्थानमा रहेका कम्युनिस्ट विचारका राजनीतिक व्यक्तित्वहरू जस्तै आआफ्ना क्षेत्रमा राणाशासनविरुद्ध गतिविधि गरिरहेका थिए। यसरी पार्र्टीमा लागेर र स्वतन्त्र रूपले कम्युनिस्टको नाताले २००७ सालको क्रान्तिमा भाग लिने योद्धाहरूको उल्लेखनीय संख्या छ, जसबारे नेपाली राजनीतिक इतिहासले अझै पूर्ण रेकर्ड राख्न सकेको देखिँदैन।

२००६ सालमा भारतको कलकत्तामा पाँचजना राजनीतिक रूपमा सचेत व्यक्तित्वले गठन गरेको नेपाल कम्युनिस्ट पार्टीले निकै छिटो देशव्यापी स्वरूप लियो। यसमा दुई पक्षले काम गरेको थियो। एकातिर पुष्पलाल विभिन्न स्थानमा आफ्ना सहयोगी खोजिरहेका थिए। अर्कोतिर ती स्थानमा राजनीतिक रूपमा सचेत व्यक्तित्वहरू योग्य नेता र संगठनको खोजीमा थिए। त्यसरी योग्य नेता र संगठनको खोजीमा रहेकामध्ये रेग्मी पनि एक थिए। बनारसमा अध्ययन गर्दाताका पुष्पलालसँगको भेटघाटबाट उनको समुचित राजनीतिक पहिचान भयो। उनी पश्चिम नेपालका एक उदीयमान कम्युनिस्ट नेताका रूपमा स्थापित भए।

२००४ साल माघमा त्रिचन्द्र कलेजको विद्यार्थी आन्दोलनमा सामान्य सहभागीका रूपमा मैले भाग लिँदै गर्दा रेग्मी ‘जयतु संस्कृतम्’ आन्दोलनका एक नेताका रूपमा स्थापित भइसकेका थिए।

२०१० सालको माघमा पाटनमा गोप्य रूपमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा रेग्मी पाल्पाका एक प्रतिनिधिका रूपमा भाग लिएका थिए। त्यतिबेला उनले अनुशासनको कारबाहीमा परी पार्टीबाट निलम्बनमा परेका पोलिटब्युरो सदस्यद्वय तुल्सीलाल अमात्य र डीपी अधिकारीलाई नेतृत्वमा पुनः स्थापित गराउन उल्लेखनीय भूमिका खेलेका थिए। त्यसैबीच काठमाडौं नगरपालिका चुनावमा नेकपाले सानदार विजय पाएको थियो। कम्युनिस्ट कार्यकर्ता जनकमान श्रेष्ठ मेयरमा निर्वाचित भएका थिए। सो विजयलाई लिएर हामीलाई ‘काठमाडौंलाई येनान बनाउन सकेकोमा’ बधाइ पनि दिइएको। ती यस्ता भावनाले उद्वेलित दिन थिए। रेग्मीको सम्झनासँगै ती दिनको स्मृति पनि गाँसिएर आउँछन्।

नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनले मनमोहन अधिकारीको नेतृत्वमा केन्द्रीय समिति गठन गरेको थियो। सो समितिले २०१३ सालमा सम्पन्न बैठकद्वारा रेग्मीलाई केन्द्रीय नेतृत्वमा ल्याएको थियो। एक केन्द्रीय नेताका रूपमा उनको भूमिका उल्लेखनीय रह्यो।

खासगरी पार्टीमा उत्पन्न विवादमा उनी मध्यस्थकर्ताका रूपमा प्रस्तुत भए। २०१४ सालको जेठ १४ गते सुरु भएको नेकपाको दोस्रो महाधिवेशनमा ‘गणतन्त्रवादी’ र ‘संवैधानिक राजतन्त्रवादी’ भनिएका समूहबीच सम्झौता र सामञ्जस्य ल्याउन उनले उल्लेखनीय भूमिका खेले। यद्यपि उक्त महाधिवेशन पार्टी कार्यक्रममा केही परिवर्तन गर्न नसकी र भावी राजनीतिक कार्यदिशा निर्धारण गर्न नसकी हचुवा निर्णयहरूमा टुंगिएको थियो।

दोस्रो महाधिवेशनमा डा. केशरजंग रायमाझी बहुमतमा थिए भने पुष्पलाल अल्पमतमा। रायमाझीको समर्थनमा रेग्मी र म एकै ठाउँमा थियौं। तथापि रेग्मीले पुष्पलालसँगको पुरानो घनिष्टता कायमै राखे।

२०१३ सालमा पाल्पा जेलमा रहेका पश्चिम नेपालका कर्मठ कम्युनिस्ट नेता मोहनविक्रम सिंहले जेलभित्र सुधार र अन्याय-उत्पीडन अन्त्यको माग गर्दै आन्दोलन गरेका थिए। जेलका नाइकेले उनलाई अमानवीय सांघातिक हमला गरी ज्यानै लिने जोखिम आउँदा संयोगवश रेग्मी जेलमा पुगेर भयावह दुर्घटनाबाट रोकेको मोहनविक्रमले एक भेटमा बडो भावपूर्ण ढंगले बताएका थिए।

कम्युनिस्ट आन्दोलनमा मात्र नभई संसदीय राजनीतिमा पनि रेग्मीको महत्वपूर्ण उपस्थिति थियो। संसद् सदस्यका रूपमा उनको भूमिका र संसद्मा उनको बहस कौशललाई तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला पनि सम्मान गर्थे। कसैसँग राजनीतिक पूर्वाग्रह नराख्ने भएकाले रेग्मी सर्वत्र एक सम्मानित कम्युनिस्ट नेताका रूपमा प्रतिष्ठित थिए।

उनीसँगका मेरा असंख्य सम्झना जोडिएका छन्। २००४ साल माघमा त्रिचन्द्र कलेजको विद्यार्थी आन्दोलनमा सामान्य सहभागीका रूपमा मैले भाग लिँदै गर्दा रेग्मी ‘जयतु संस्कृतम’ आन्दोलनका एक नेताका रूपमा स्थापित भइसकेका थिए। नेपालको इतिहासमा पहिलोपटक यी विद्यार्थीले धर्ना दिने र सत्याग्रह गर्ने तरिका अंगीकार गरेर संघर्षमा एउटा विलक्षणता प्रस्तुत गरेका थिए। त्यतिबेला संस्कृत पढ्ने विद्यार्थी खाने-बस्ने छात्रावासको नाम ‘तीनधारा पाकशाला’ थियो।

त्यहाँ दुई सयजति विद्यार्थी थिए। त्यत्रो ठूलो समूहलाई राणाशासनविरोधी संघर्षमा संलग्न गराउन सक्नु त्यो छात्राबासका छात्र नेताहरूको ठूलो कलाकौशल थियो। आन्दोलनको तरिका निकै नौलो थियो। प्रत्येक विद्यार्थीले आन्दोलनका माग समेटिएका पर्चा पाँच प्रति लेख्नैपथ्र्यो। यसरी प्रत्येक दिन एक हजार प्रति पर्चा तयार हुन्थ्यो। प्र्रति दिन हजार पर्चा टाँसिन्थे र वितरण हुन्थे। त्यो राणाकालीन समयमा यो चुनौतीपूर्ण काम थियो। छापाखानासँग नेपाली जनताको पहुँच नपुगिसकेको त्यो समयमा संस्कृतका छात्रहरूले देखाएको यो प्रतिबद्धता नेपाली राजनीतिक आन्दोलनको इतिहासमा स्वर्णाक्षरले लेखिन जरुरी छ।

त्यतिबेला त्रिचन्द्र कलेज विद्यार्थी आन्दोलनका नेताहरूमा विजयबहादुर मल्ल, गोपालदास श्रेष्ठ, त्रिपुरश्वरसिंह प्रधान, होराप्रसाद जोशी, पुष्पलाल, तिलकराज शाही, भुवनलाल जोशी, कृष्णप्रसाद रिमाल, ध्रुवलाल जोशी, नुतन थपलिया आदि थिए। जयतु संस्कृतम आन्दोलनका नेताहरू पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा, काशीनाथ गौतम, हरिप्रसाद देवकोटा, गोकर्णराज शास्त्री, अच्युतराज रेग्मी, कमलराज रेग्मी, राजेश्वरप्रसाद देवकोटा, पद्मशंकर अधिकारी, श्रीप्रसाद गौतम आदि थिए। कवि गोपालप्रसाद रिमाल र भुवनलाल प्रधान विद्यार्थी नभए पनि राजनीतिक अभियन्ता थिए। उनीहरूले आन्दोलनलाई ऊर्जा दिएका थिए।

म र रेग्मी दुवै विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका थियौं। त्यसैले पनि हामीबीच बडो आत्मीयता थियो। उनी जति समय कम्युनिस्ट आन्दोलनमा रहे, निकै प्रतिबद्ध भएर लागे। खासगरी किसान आन्दोलन उठाउन उनले खेलेको भूमिका उल्लेखनीय छ। उनीजस्तै प्रतिबद्ध नेताहरूको योगदानले नै नेपालमा कम्युनिस्ट आन्दोलनले उभार लिएको थियो। २०१७ सालको राजनीतिक हुरीले धेरै राजनीतिक व्यक्तित्वलाई कता-कता पुर्‍यायो। त्यो हुरीको झोक्कामा उड्नेमध्ये रेग्मी पनि एक थिए। त्यसपछि उनले जे भूमिका खेले, त्यो उनी र म हिँडेको फरक बाटोको कथा हो।

०१७ सालको राजनीतिक उथलपुथलको धेरै पछि म उनलाई आफ्नो पुस्तक ‘१९९७ सालदेखि २०१७ साल... एक अवलोकन’ दिन गएको थिएँ। त्यो पुस्तक पाउँदा प्रसन्न भएको उनको अनुहार आज पनि झलझली सम्झना हुन्छ। सो पुस्तक समग्र पढिसकेपछि उनले प्रतिक्रिया पनि जनाएका थिए। मैले उक्त पुस्तक एक राजनीतिक विद्यार्थीको जीवनका ७० वर्षको अवलोकन मात्र भएको उल्लेख गरेको थिएँ। रेग्मीले त्यसमा तीव्र असन्तुष्टि प्रकट गरेका थिए। उनले ‘यो नेपाल कम्युनिस्ट पार्टीको एउटा उल्लेखनीय ऐतिहासिक दस्ताबेज हो’ भनी गरेको सराहना आज पनि सम्झना हुन्छ। अनि आफूले पनि त्यस्तै ग्रन्थ लेख्न चाहेको तर नसकेको जनाएका पनि थिए।

हुन पनि इतिहासका पेचिला मोडहरूमा आफ्नो स्थानबाट उल्लेखनीय भूमिका निर्वाह गरेका व्यक्तिसँग भन्न पर्ने धेरै कुरा हुन्छन्। उनीहरूले आफ्ना भूमिका मात्रै उल्लेख गरे भने पनि इतिहास लेखनले धेरै सन्दर्भ पाउँछ। आफूले हिँडेका पाइलाका डोबहरू सँगाल्ने इच्छा रेग्मीले आफ्नो पुस्तक ‘आमा, म र पाल्पा’ मा केही हदसम्म भए पनि पूरा गरे।

रेग्मीको जीवन एक किसिमको अनौठो बेमेलले भरिएको थियो। उनी कुशल संगठनकर्ता थिए। उनमा लडाकु प्रवृत्ति पनि थियो। आफूसँग संगठन र आन्दोलनको मामिलामा रसायन नमिल्ने तत्कालीन पार्टी महामन्त्री डा. केशरजंग रायमाझीसँग जीवनभर राजनीतिक अवधारणाका कारण जीवनभर घनिष्टता बनाइरहे। अर्कोतर्पm संगठन तथा आन्दोलनका पयार्य बनेका पुष्पलालसँग राजनीतिक अवधारणाकै कारण अलग्गिए। नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेको यो बेमेल सरल भने अवश्य थिएन।

यो बेमेल कुन हदसम्म गएको थियो भने कम्युनिस्ट आन्दोलनका संस्थापक अध्यक्ष पुष्पलाल महासचिवबाट हटाइएको थियो। यहींनेर म एउटा तथ्यमा भने जोड दिन चाहन्छु। २००८ सालमा धनुषाको बटेश्वर गाउँमा भएको पार्टी पोलिटब्युरो बैठकले पुष्पलाललाई पार्टी महासचिवबाट हटाएको घटनालाई म बाह्य षड्यन्त्र ठान्दथें। तर पुष्पलाल आफैंले सो निर्णयलाई स्वीकार गरेकाले कमलराज भने त्यसलाई स्वाभाविक प्रक्रिया ठान्दथे। तथापि पुष्पलाललाई पार्टीको उच्च पदबाट हटाएकोमा उनी निकै दुःखी थिए।

इतिहास घुमाउरो बाटो हिँड्छ। यसको गति र दिशा सधैं एकैनास हुँदैन। नेपालको कम्युनिस्ट आन्दोलनले पनि नागबेली बाटो लिएको छ। सिंगो नेपाली राजनीतिले विभिन्न मोड लिएको छ। कुनै मोडमा सँगै भएका पात्रहरू अर्को मोडमा विपरीत ध्रुवमा उभिएका पनि छन्। तर, जो जहाँ थिए त्यहाँबाट कुनै न कुनै भूमिका खेलिरहेका थिए। नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास लेख्दा पार्टी र आन्दोलनमा सहभागी सबैलाई पूर्वाग्रहबिना र विकृतिबिना इतिहासमा उल्लेख गर्नैपर्छ। नत्र इतिहास सधैं एकांगी रहनेछ।

ट्राटस्की, जिनोभिएभ, कामेनेभ, बाखुनिन वा ख्रुश्चेभ र गोर्वाचेभको भूमिका उल्लेख नगरी सोभियत कम्युनिस्ट पार्टीको इतिहास पूरा हुँदैन। ली ली सान, वाङ मिङ आदिबिना चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास पूरा हुँदैन। पीसी जोशी, अजय घोषको समुचित भूमिकाको उल्लेखबिना भारतीय कम्युनिस्ट पार्टीको इतिहास अधुरो हुनेछ।

इतिहासप्रति सबैजसो राजनीतिक दल र मान्यताहरूको आफ्नै खाले पूर्वाग्रह रहनु र इतिहासलाई विकृत रूपमा प्रस्तुत गर्नु आफैंमा दुःखलाग्दो प्रवृत्ति हो। आफ्नै इतिहासप्रति पूर्वाग्रही, एकपक्षीय र विकृतिपूर्ण धारणा अनि राजनीतिमा बाह्य शक्तिको प्रभावबाट परेको भयानक हानिनोक्सानी त भारतीय कम्युनिस्ट पार्टीको एक केन्द्रीय नेता मोहित सेनको पुस्तक ‘द ट्राभलर एन्ड द रोड’ बाट नै छर्लंग हुन्छ।

समग्रमा रेग्मीले आफूलाई एक सचेत राजनीतिक पर्यवेक्षक, देशभक्त तथा साहित्यका सक्रिय सर्जकका रूपमा स्थापित गरेको सर्वमान्य नै छ।





प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.