अर्काे महिना झापा खुला दिसामुक्त
भद्रपुर : प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा आगामी वैशाख महिनाभित्र पूर्ण रूपमा खुला दिसामुक्त हुने भएको छ । आगामी वैशाखभित्र झापा खुला दिसामुक्त गराइसक्ने जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र सरोकारवालाले जनाएका छन् ।
झापाका ३९ हजार २ सय ८७ घरधुरीमा शौचालय निर्माण हुन बाँकी छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अनुरोधमा ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रमका साझेदार संस्थाहरूमार्पmत यो कार्यक्रम सुरु हुन लागेको हो ।
राजनीतिक प्रतिबद्धता, सार्थक मिडिया सहयोग, जनप्रतिनिधिको अपनत्व र अगुवाइ, निरन्तर सहजीकरण र कुशल रणनीतिक व्यवस्थापनका कारण एक वर्षको अवधिमा २९ हजार ७ सय ९ घरधुरीमा सुरक्षित शौचालयको पहुँच सम्भव भएको जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छताका खुला दिशामुक्त अभियानका संयोजक रुद्र न्यौपानेले जानकारी दिए ।
एक लाख ८२ हजार २ सय १५ घरधुरी रहेको झापामा पछिल्लो तथ्यांकअनुसार एक लाख ७२ हजार ६ सय ३७ घरधुरीमा सुरक्षित शौचालय निर्माण भइसकेका छन् ।
बाँकी रहेका ९ हजार ५ सय ७८ घरधुरीमध्ये ६ हजार ३ सय १४ घरधुरीमा शौचालय निर्माणाधीन अवस्थामा छन् भने ३ हजार २ सय ६४ घरधुरीमा शौचालय निर्माण थालनी गर्नुपर्नेछ । पछिल्लो एक महिनामा बनेका चर्पीको संख्या हेर्दा निर्माण गर्न बाँकी घरधुरीमा चर्पी निर्माण गर्नु ठूलो चुनौती नरहेको ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्माले जानकारी दिए ।
वैशाख महिनाभित्र बाँकी सम्पूर्ण गाउँपालिका र नगरपालिकाको खुला दिसामुक्त घोषणा पूर्वको अनुगमन, प्रमाणीकरण गर्ने योजना छ । घोषणाका लागि ९५ प्रतिशत काम पूरा भएको र बाँकी वैशाख अन्तिमसम्ममा गरिने लक्ष्य छ । २०७५ सालसँगै झापामा पूर्ण सरसफाइ अभियानको पनि सुरुवात गरिने जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले जानकारी दिए ।