धर्म परिवर्तन
हाम्रो देश त्रिकालदर्शी ऋषिहरूको बासस्थल, सृष्टिको सुरुआतदेखि नै वैदिक सनातन धर्मको केन्द्र, सार्वभौमसत्ता सम्पन्न, बहुजातीय, बहुभाषिक, बहुधार्मिक व्यक्तिहरूको बसोबास भएको विश्वको एकमात्र हिन्दु राष्ट्र थियो । यहाँको जनसंख्यामध्ये ९३ प्रतिशत हिन्दु धर्मावलम्बी छन् ।
अल्पसंख्यक अन्य धर्मावलम्बीसँग धार्मिक सहिष्णुता, सद्भाव कायम राख्दै हिन्दु धर्मको संरक्षण गर्न छाता संगठन विश्व हिन्दु महासंघ गठन भयो । विश्वभर छरिएर रहेका हिन्दुलाई एउटै छातामुनि राख्नुपर्छ भन्ने योगी नरहरिनाथको संकल्पअनुसार २०३७ साल चैत २९ गते देशविदेशका विशिष्ट सन्तहरूको उपस्थितिमा तत्कालीन राजा वीरेन्द्रले वीरगन्जको पिपरा मठमा प्रथम अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन उद्घाटन गरेपछि विश्व हिन्दु महासंघको प्रादुर्भाव भएको थियो ।
२०४० साल जेठ २ गते यो संस्थाको विश्व हिन्दु सम्मेलन नाम राखी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधान दर्ता भएपश्चात् २०४४ साल चैत १५ गते बसेको बैठकले विश्व हिन्दु संघ नामकरण गर्यो । २०४५ साल साउनमा 'महा' शब्द थपिँदा अहिले विश्व हिन्दु महासंघको नामले परिचित छ । स्थापनाकालका अध्यक्ष पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल थिए । कृष्णगोपाल टण्डन, जनरल भरतकेशर सिंह, कर्णेल हेमबहादुर कार्की हुँदै अहिले पुनः भरतकेशर सिंह २०७३ कात्तिक ६ देखि अध्यक्ष छन् । अन्य मुलुकमा यस संघका एक दर्जन जति राष्ट्रिय समिति छन् ।
संघले विभिन्न राष्ट्रमा राष्ट्रिय समिति गठन गर्ने निर्णय गरेअनुसार हाम्रो देशमा राष्ट्रिय समिति गठन गर्दा पहिलो सभापति अच्युतराज रेग्मी, २०५७ देखि नारायणप्रसाद पोखरेल, त्यसपछि २०६८ सम्म भोलानाथ झा र २०६९ चैत १३ देखि पंक्तिकार छु । यो हिन्दु समुदायको नाफारहित सेवामुखी अन्तर्राष्ट्रिय गैरसरकारी संगठन हो । यसको मुख्य उद्देश्य वसुधैव कुटुम्बकम् भन्ने आदर्शअनुरूप विश्व भ्रातृत्व कायम गरी विश्वभर छरिएर रहेका दुई अर्ब १३ करोड हिन्दु धर्म संस्कृतिका अनुयायीलाई एक सूत्रमा बाँधी वैदिक धर्मको संरक्षण गर्नु हो ।
दसवर्षे जनयुद्धको बेला माओवादीले मठमन्दिरमा पूजा गर्न जान नदिने, कीर्तिपुरको शिवलिंग तोडेर फालिदिने, चितवनको गुम्बा तोडफोड गर्ने, दाङको संस्कृत विश्वविद्यालय स्वर्गद्वारी आ श्रमका जग्गा कब्जा गर्ने, किरियापुत्रीलाई कुटपिटमात्र नगरेर मार्ने, गाई काटेर भोज खानेजस्ता क्रियाकलाप गरी हिन्दु धर्ममाथि आक्रमण गरेकाले नेपाल राष्ट्रिय समितिले खुला वातावरणमा काम गर्न पाएन । हाल आएर केन्द्रीय समितिलाई चुस्त र सक्रिय बनाउन नौवटा विभाग गठन गरी १४ अञ्चल ७५ जिल्लामा समिति गठन गरिएको छ । तापनि आर्थिक स्रोतको कमीले यज्ञयज्ञादि गर्न गराउन नसकेको अवस्थामा अर्को संकट आइलागेको छ ।
बाघ करायो भने मलाई नखाओस् भनेर खरायो आँखा चिम्म गरेर बाटामा बसिरहे खान्छ खान्छ । बुद्धि प्रयोग गरे बचाउँछ । त्यस्तै धर्मनिरपेक्ष राष्ट्र बनाए, धर्म परिवर्तन गराए भनेर चौतारामा बसी
कोलाहल मच्चाएर हिन्दु धर्म बाँच्दैन ।
२०६२÷६३ सालको जनआन्दोलनले धर्मनिरपेक्ष राष्ट्र बनाएपछि केही धार्मिक संगठनहरूले आफ्नो सम्प्रदायको धर्म प्रचार गर्न छुट पाए । गरिबीको रेखामुनिका, हिन्दु धर्मको महत्व नबुझेका विपन्न वर्गका नेपाली दाजुभाइ, दिदीबहिनीलाई आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गराउन थालेपछि स्थायी संविधान बन्दा पुनः हिन्दु राष्ट्र स्थापना गरियोस् भन्ने माग राखी देशभरका धार्मिक संघसंस्थाले सभा गर्ने, जुलुस निकाल्ने, अनशन बस्ने गर्दा पनि राजनीतिक दलले बेवास्ता गरी धर्मनिरपेक्ष राष्ट्र बनाइरहने दुष्प्रयास गर्दैछन् ।
सनातनदेखि राज्यले संरक्षण गर्दै आएको मोक्ष (निर्वाण) प्राप्त गराउने वैदिक सनातन वा हिन्दु धर्मको संरक्षण नहुने भएपछि यो दुई वर्षको अवधिमा करिब आठ हजार चर्च बने । चर्चमा र रेडियोबाट अन्य धर्मावलम्बीलाई सैतान भन्ने, हिन्दु धर्मको वास्तविक मर्म र आदर्शविपरीत जस्तो पूजापाठ गर्नु, व्रत बस्नु, मन्दिर जानु पाखण्डीपन हो भन्नेजस्ता प्रवचन दिने अभियान नै चल्न थालेका छन् ।
यस वर्ष कैलालीमा २५ वटा गाईको सामूहिक हत्या, शिवपुरीको जंगलमा तपस्या गर्न बसेका डेढ सय साधुलाई धपाउने गरेको पत्रिकामा छापिएको समाचार सबैलाई विदितै छ । यो क्रम बढ्दै गयो भने केही वर्षभित्र नेपालमा विश्वका अरू देशमा जस्तै वैदिक सनातन धर्म लोप हुनेछ । अथवा धार्मिक युद्ध हुन सक्छ । यीमध्ये जुन भए पनि देशको स्वतन्त्र पहिचान मेटिनेछ ।
संविधान संशोधन गरेर पुनः हिन्दु राष्ट्र बनाउने एकमात्र निकाय व्यवस्थापिका संसद् हो । प्रतिनिधिसभामा जनताको प्रतिनिधित्व गर्ने दलहरू नै हुन् । वैदिककालदेखि विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाललाई आवश्यकता नपरेको धर्मयुद्धको बीउ उम्रेर देशभर पैmलिन सक्ने सम्भावना जान्दाजान्दै धर्मनिरपेक्ष राष्ट्र बनाउने नेताहरूलाई संविधान संशोधन गरेर पुनः हिन्दु राष्ट्र बनाउन नेताहरूमा आवश्यक दबाब दिनु हाम्रो कर्तव्य हो ।
अर्को विकल्प भनेको देशभरका हिन्दु धर्मावलम्बीहरू बिस्कुनमा परेवाको बथान एकैचोटि झ्याप्पै आएजस्तो सडकमा उत्रेर आन्दोलन गरेर दबाब दिनु हो । यसो गर्नु भनेको वसुधैव कुटुम्बकम् भन्ने आदर्श भएको वैदिक धर्म मान्नेलाई सुहाउँदैन । शान्ति, सहिष्णुता र परोपकार बहुसंख्यक नेपालीको मौलिक चरित्र पनि हो ।
हामी नेपाली अशिक्षित भएर भौतिक उन्नति गर्न नसक्नु र ऋषिहरूले पत्ता लगाई प्रयोगमा ल्याइसकेका वैज्ञानिक आधार तथा हिन्दु धर्मग्रन्थ सबै संस्कृत भाषामा भएकाले वैदिक धर्मको मर्म साधारण व्यक्तिलाई थाहा नहुनु अस्वाभाविक भएन । अहिलेको शिक्षा प्रणालीले त संस्कृतलाई हटाइसकेकाले अन्य विषयमा पीएचडी गरेकाले बताउन सक्दैन । हो, हामी हिन्दु धर्मावलम्बीहरूको धर्म परिवर्तन गराएर संख्या बढाउने, धर्मको प्रचारप्रसार गर्ने चरित्र छैन ।
अरूलाई नभन्ने आफूमात्र बन्नेछन् । तर, समयसापेक्ष नबन्दा अरूले छिर्ने मौका पाएका हुन् । यो ध्रुवसत्य हो । बाघ करायो भने मलाई नखाओस् भनेर खरायो आँखा चिम्म गरेर बाटामा बसिरहे खान्छ खान्छ । बुद्धि प्रयोग गरे बचाउँछ । त्यस्तै धर्मनिरपेक्ष राष्ट्र बनाए, धर्म परिवर्तन गराए भनेर चौतारामा बसी कोलाहल मच्चाएर हिन्दु धर्म बाँच्दैन ।
तसर्थ हिन्दु धर्मावलम्बीले अब गर्नुपर्ने मुख्य काम हो, सचेत हुनु । आफ्नो पुर्खाले मानिआएको धर्म, रीतिरिवाज, सभ्यता, संस्कृतिलाई नछोड्ने, नबुझी पढ्नु, धर्म परिवर्तन गर्नु सुन्निएर मोटाएजस्तो हो भनेर विद्वत्वर्गले खास गरेर धार्मिक क्षेत्रमा काम गर्ने, राष्ट्रिय धर्मसभा, विश्व हिन्दु जागरण, विश्व हिन्दु परिषद्, आर्य समाज, गुरुकुल आ श्रमजस्ता सबै संघसंस्थाले हिन्दु धर्मको मर्म यो हो भनेर यो धर्म ठीक हो कि त्यो धर्म ठीक हो, भन्ने यकिन गर्न नसकी अन्योलमा परेकालाई धर्म परिवर्तनले परिवारमा, समाजमा झगडा, राष्ट्रलाई विखण्डनको खतरा हुन्छ भन्ने ज्ञान दिई परिवर्तन गर्न खोज्नेहरूको मनस्थितिमा परिवर्तन गराइदिएमा परिवर्तनको लहर अवश्य कम हुनेछ ।
कुनै पनि काम एक्लै गरेर सफल हुन सक्दैन र गर्न पनि सकिँदैन । फलानाले जस लेला अथवा जसको भागी ममात्र बनूँ भन्ने सोच्ने अवस्था अब छैन । वैदिक सनातन धर्म र राष्ट्रको पहिचान बचाउने यस पुनीत कार्यमा सबै सक्रिय हुन विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका तर्फबाट अनुरोध गर्दै देशविदेशमा बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई नव वर्ष २०७४ को शुभकामना ।
संविधानसभाबाट २०७२ असोज ३ मा घोषणा गरिएको स्थायी संविधान कार्यान्वयनको सिलसिलामा २०७४ सालमै पहिलोपटक सबै तहका जनप्रतिनिधि छान्ने निर्वाचन हुन गइरहेकाले अब आउने जनप्रतिनिधि वैदिक सनातन (हिन्दु) धर्मको रक्षा गर्ने सोच भएका पठाइदिन राष्ट्रदेव श्री पशुपतिनाथसँग प्रार्थना पनि गरिरहनेछु ।
(लेखक विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका सभापति हुन् ।)
प्रतिक्रिया दिनुहोस !