महेन्द्रनगरमा प्रदर्शन सुरु, बजार र यातायात सेवा बन्द
महेन्द्रनगर : निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै दोस्रो दिन पनि महेन्द्रनगरमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।
स्थानीयले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा माग गरेका छन् । घटनाको सत्यतथ्य सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने आन्दोलनरत प्रदर्शनकारीले बताएका छन्।
घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठिक नभएको युवकलाई अपराधी बनाएर प्रहरीले सार्वजनिक गरेको बिरोधमा महेन्द्रनगरमा आन्दोलनले नयाँ मोड लिएको हो । मंगलबार दिनभर महेन्द्रनगर तनावग्रस्त बन्न पुगेको थियो।
स्थितिलाई नियन्त्रणमा लिन दिनभर प्रहरीले ३० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले बालिकाको हत्या भएको २६ औं दिनमा भिमदत नगरपालिका १९ बागफाटाका ४१ वर्षी दीलीप सिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।