स्वस्थ राजधानीको आशा

स्वस्थ राजधानीको आशा

संघीय गणतान्त्रिक संविधानको कार्यान्वयनसँगै संघीय राजधानी काठमाडौंमा जनसंख्याको चाप घट्ने अपेक्षा गरिएको थियो। राजधानीमाथि निर्भरतामा न्यूनीकरण र प्रादेशिक एवम् स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन भएकाले त्यस्तो अपेक्षा स्वाभाविक थियो। संघीय, प्रादेशिक एवं स्थानीय सरकार गठन भएपछि चुनावताका जनतासामु गरिएको प्रतिबद्धताअनुरूप पुनर्निर्माण एवं नवनिर्माण गतिवान् हुने पनि अपेक्षित थियो। विडम्बना, अपेक्षाअनुरूप प्रादेशिक एवम् स्थानीय सरकारहरू गठित भए पनि राजधानीमा जनसंख्याको चाप घट्ने लक्षण देखिन्न। यहाँका वासिन्दाको सकसमा कमी आउन सकेको छैन।

काठमाडौंप्रति नागरिकको यो स्वाभाविक आकर्षण हो वा बाध्यता ? यसको निक्र्योल हुन आवश्यक छ। राजधानीमा बसोवास गर्न बाध्य हुनुको पछाडि मोफसलमा भरपर्दो स्तरीय शिक्षा, स्वास्थ्य सेवाको अभाव महसुस भएर पनि हुन सक्छ। त्यहाँ स्तरीय विद्यालयको अभाव हुनु पनि मुख्य कारण हुन सक्छ। राजधानीमा पनि नजिकैको विद्यालय छाडेर आफ्ना बच्चालाई घन्टौंको ट्राफिक जाममा सकसपूर्ण यात्रा गराउने प्रवृत्ति व्याप्त छ अभिभावकमा। शिक्षा, स्वास्थ्य, उद्योग, रोजगार आर्थिक केन्द्र पनि उपत्यकामै सीमित रहनु नै नेपालको लागि विडम्बना हो। अन्यत्र भने यस्तो स्थिति छैन। भारतको नयाँदिल्ली होस् वा अमेरिकाको वासिंगटन डिसी, संघीय राजधानी भए पनि तिनीहरू आर्थिक केन्द्र होइनन्। तर नेपालमा मोफसलका ठूला सहर आर्थिक एवं वाणिज्यका दृष्टिले पनि काठमाडौंको तुलनामा आउनै सक्दैनन्।

यसरी एकातिर काठमाडौंमा बस्नुपर्ने बाध्यता सिर्जना हुनु र अर्कोतर्पm चालीस लाखजति वासिन्दा रहेको उपत्यकाको वायु औद्योगीकरणविना नै प्रदूषित हुनु दुःखद् हो।

विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये १६ वटा चीनमा पर्छन् तर ती सहर प्रदूषित हुनुका पछाडि तीव्र गतिमा भइरहेको औद्योगीकरण, सवारीसाधनको बढ्दो प्रयोग सहरीकरण हुन्। काठमाडौंमा भने ढल, बाटो, पानीको पाइप आदि संरचनाको निर्माण, ती संरचनाको निर्माण र व्यवस्थापनमा जिम्मेवार निकायबीच समन्वयको कमी, आर्थिक वर्षको अन्त्यतिर हतारमा निर्माण वा मर्मत गरिएका सडक भत्किनु आदि कारणले धुलो पैदा भएको छ।

काठमाडौंका जनताले नितान्त व्यक्तिगत अकर्मण्यताका कारण हानिकारक धुलो सेवन गर्नुपरेको छ।

काठमाडौंका जनताले नितान्त व्यक्तिगत अकर्मण्यताका कारण हानिकारक धुलो सेवन गर्नुपरेको छ। धुलोका कणहरूको आकारअनुसार शरीरमा फरक असर पर्छ। धेरै साना कणले सीधै फोक्सो हुँदै रक्तसञ्चारको माध्यमबाट शरीरका विभिन्न अंगमा असर पुर्‍याउँछन्। जताततै धुलोको साम्राज्य देख्दा सुन्दर नेपाल घुम्ने आशा बोकेर अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने पर्यटक निरास बन्ने गर्छन्। धुलो र सवारी साधनको मात्रै व्यवस्थापन गर्न सक्ने हो भने उपत्यकाका मानिसले धेरै हदसम्म स्वस्थ वायु पाउन सक्छन्। हाल विस्तारित हुन नसक्ने साँघुरा बाटामा एकतर्फी सवारी साधन चलाउन लगाउने, जथाभावी सवारी साधन प्रवेश गर्न नदिने र साना बसको सट्टा चौडाइ कम भएका तर लामालामा सवारीसाधन चल्न दिनुका साथै सरकारी कार्यालयमा व्यक्तिपिच्छे सवारी साधन प्रदान गर्नुभन्दा सुविधा दिई समूहमा नै कार्यालयबाट आवतजावतको व्यवस्था मिलाउने हो भने वायु प्रदूषणमा न्यूनीकरण हुन सक्छ। कम्तीमा बिहान र बेलुका कार्यालय खुल्ने र बन्द हुने समयमा सार्वजनिक यातायातको राम्रो प्रबन्ध मिलाइदिए सेवामा सहजता मिल्ने थियो।

काठमाडौं उपत्यकाको वातावरण जति अस्वस्थकर छ, त्यति नै यहाँ प्रवेश र यहाँबाट निकाश दुरुह छ। सार्वजनिक होऊन् या निजी, राजधानी आउने या यहाँबाट बहिर्गमन हुने सवारी साधनका यात्री एवम् सवारी चालकलाई धेरैजसो बाटो छिचोल्न निकै कठिन हुने गर्छ। राजधानी जोड्ने मुख्य सडक मुग्लिङ नारायणगढ खण्डको विस्तार आर्थिक रूपमा मात्रै होइन मानवीय दृष्टिले पनि ठूलो मूल्य चुकाउनुपरेको छ। एकैपटक भत्काउँदा केही ठाउँमा पहिरो जाँदा दर्जनौं सवारी साधन एवम् यात्रीको जीवनमा क्षति पुग्न गएको छ। राजकीय एवं प्राविधिक पक्षमा कमजोरी र मानवीय पक्षमा संवेदनहीनता व्याप्त हुँदा सामान्य नागरिकले भोग्नुपरेको कष्ट र सकसप्रति जिम्मेवारको ध्यान जाँदैन।

अर्को ठूलो समस्या हो लेन अनुशासनको उल्लंघन। साँघुरा र घुमाउरा बाटा वा सवारी चापको बीचमा देब्रेतिरबाट आभरटेक गर्ने, बीचको पिचको बाटो छाडेर किनाराबाट ओभरटेक गरी धुलो उडाइदिएर बाटो प्रदूषित गराइदिँदा पनि ट्राफिक प्रहरीले बेवास्ता गरेको देखिन्छ। केन्द्रीय, प्रादेशिक एवं स्थानीय सरकारको सामूहिक प्रयासबाट राजधानीलाई बस्नलायक स्वस्थ सहरका रूपमा विकास गर्न सम्भव छ। करिब ७० प्रतिशतभन्दा बढी कुहिएर जाने भएकाले निस्कासित फोहरको उपयोग गर्न सकिन्छ। मौसम मात्रै होइन, उब्जाउको दृष्टिले अत्यन्तै उपयोगी काठमाडौं वास्तव नै प्रकृतिक वरदान हो। के फेरि बागमती र विष्णुमतीलाई स्वच्छ गर्न सकिन्न ? जबसम्म राजनीतिक पार्टी, नेता, कार्यकर्ता, लगानीकर्ता एवम ठेकेदारबीच स्वार्थ गाँसिन्छ तबसम्म समृद्ध र सहज जीवनको परिकल्पना गर्नै सकिन्न।

करिब चालीस लाखजति वासिन्दा रहेको यो काठमाडौं उपत्यकाले विगतबाट पनि पाठ सिक्नैपर्ने हो। २०७२ सालको जस्तो भूकम्प जिम्मेवारहरूका स्मृतिको गर्तबाट नहराउने हो भने अब यहाँ भवनलगायतका भौतिक संरचनाको निर्माणदेखि सार्वजनिक जमिनको व्यवस्थापनमा ध्यान दिनैपर्ने हो। बाटोको आवश्यकता अन्य समयमा यातायातका साधनहरूको मात्रै होइन, भूकम्प, आगलागीजस्ता प्राकृतिक प्रकोपहरूको बेला उद्धारका लागि पनि अति आवश्यक हुने रहेछन् भन्ने तथ्य प्रमाणित भइसकेको छ। विगतबाट पाठ सिकेर यहाँका वासिन्दा पनि अब सतर्क हुनैपर्छ।

गरिबीको दुश्चक्रमा फसिरहेका अफ्रिकालगायत केही मुलुकसँग तुलना गर्दा हामीले हासिल गरेको राजनीतिक स्थायित्वका लागि केही सन्तोष मान्ने ठाउँ छ। तर यो राजनीतिक पद्धति अपेक्षाअनुरूप सुशासन, समृद्धि र लोककल्याणको माध्यम बन्न नसके नयाँ खाले विद्रोहको जन्म नहोला भन्न सकिन्न।

मौसमका दृष्टिले सायद संसारकै उपयुक्त राजधानीमध्ये एक काठमाडौंका वासिन्दाको जीवन सकसपूर्ण बन्नुको मूल कारण अव्यवस्था मात्रै हो। वर्तमान गणतान्त्रिक सरकारले राजधानीको उचित व्यवस्थापन गर्नैपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.