हस्तकलाका हस्ती
पाटन सुन्धाराको सडकपेटीमा तरकारी र अम्बाको व्यापारबाट सुरु भएको श्रेष्ठको व्यावसायिक कारोबार वार्षिक झन्डै आधा अर्ब रुपैयाँ पुगेको छ। हस्तकला व्यवसायमा संलग्न महेश्वर श्रेष्ठ आज मुलुकका प्रमुख निकासीकर्ताको सूचीमा दर्ज भएका छन्।
२५ वर्षअघि १० हजार रुपैयाँमा सुरु गरेको उनको कम्पनीले अहिले दुई हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। सन् २००७ देखि लगातार उत्कृष्ट निर्यातकर्ताको सूचीमा रहेको उक्त कम्पनीले वार्षिक चार मिलियन डलर कारोबार गर्छ।
नुनदेखि सुनसम्म र सियोदेखि जहाजसम्म आयात गर्ने मुलुकमा महेश्वर भने विकसित मुलुकमा हस्तकला सामग्री निर्यात मात्र गर्छन्। ललितपुरको पाटन सुन्धाराको गल्लीबाट बिछ्याएको सपना अहिले खुमलटार र टौखेल गरेर नौ रोपनी क्षेत्रफलमा फैलिएको छ। उनको कम्पनीले वार्षिक ४२ करोड रुपैयाँको वस्तु निर्यात गर्छ।
‘पछिल्लो वर्ष ४२ करोड रुपैयाँको निर्यात गरेका छौ’, श्रेष्ठ भन्छन्, ‘यस वर्ष अझै बढ्न सक्छ। सबै हिसाब निकालिसकेका छैनौं।’ उनी सन् २००७ देखि नेपालको उत्कृष्ट निर्यातकर्ताको रूपमा पुरस्कृत हुँदै आएका छन्। उनले आठ वर्ष प्रथम र तीन वर्ष दोस्रो निर्यातकर्ताको ‘अवार्ड’ हात पारेका छन्। सन् २०१३ सालमा राष्ट्रपति डा. रामवरण यादवको हातबाट कमर्सियल इम्पोटेन्स पर्सन (सीआईपी) अवार्डसमेत पाइसकेका छन्।
२०२८ साल भदौमा पाटन सुन्धारस्थित सामान्य परिवारमा उनको जन्म भएको हो। बुबा सरकारी जागिरे। आमा निरक्षर। बाल्यकाल सुन्धारामै बित्यो।
२०४५ सालमा एसएलसी पास गरेपछि महेश्वरले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नाम निकाले। त्यहाँ मासिक दुई रुपैयाँ शुल्क लाग्थ्यो। पढाइमा अब्बल महेश्वर ‘टप स्कोर’ ल्याउँथे। एक सेमेस्टरमा टप स्कोररले हजार रुपैयाँ पाउथे। ‘त्यो बेलाको हजार रुपैयाँ साह्रै ठूलो थियो। त्यसले ६ महिना पढाइ खर्च पुग्थ्यो’, महेश्वर भन्छन्, ‘वर्षमा दुई सेमेस्टर हुँदा मलाई वर्षभरिको खर्च पुग्थ्यो।’
इन्जिनियरिङमा स्नातक गरेपछि १८ महिना त्यही फिल्डमा काम गरे। तर, सन्तुष्ट हुन सकेनन्। त्यसपछि उनले अरूको पसल, प्रेस हुँदै मूर्ति बनाउने काम पनि गरे। जति काम गरे पनि कतै उनको मन रम्न सकेन।
इन्जिनियरिङ पढ्दापढ्दै २०४२ सालमा उनका बुबा जागिरबाट अवकाश भए। अवकाशपछि पाएको पैसाले कार्पेट फ्याक्ट्री चलाए। फ्याक्ट्री फाइदामा जान नसकेपछि पाँच वर्षमै बन्द भयो। ‘कार्पेट फ्याक्ट्रीमा नाफा नभए पनि व्यापारको ठूलो ज्ञान पाएको थिएँ’, महेश्वरले सुनाए, ‘त्यही अनुभवले आज यो ठाउँमा आइपुगेको छु।’
एभरेस्ट फेसनको सुरुआत
अरू कसैको हस्तकला उद्योगमा १३ महिना काम गरे। हस्तकलालाई जीवनको लक्ष्य बनाउने निधो गरे। २०५१ सालमा १० हजार रुपैयाँ लगानीमा एभरेस्ट फेसन सुरु गरे। साथमा थिए भाइ रविन श्रेष्ठ र छिमेकी बहिनी बिन्दिरा चित्रकार। ‘घरकै एउटा कोठामा टोपी बुन्थ्यौं’, महेश्वर सुरुआती दिन सम्झिन्छन्, ‘१०–१५ वटा भएपछि ठमेलका सडकपेटीमा लगेर बेच्थ्यौं।’
अलिअलि आम्दानी हुन थालेपछि मासिक १५ सय रुपैयाँ भाडा तिरेर ठमेलको भित्री गल्लीमा एउटा कोठा लिए। त्यहीँबाट सुरु भयो महेश्वरको नेपाली हस्तकला निर्यात। दैनिक २–३ हजारको कारोबार हुन थाल्यो। एक दिन जापानी नागरिक अकिओ ठमेलका पसल चहार्दै उनीकहाँ आइपुगे।
अकिओले एक लाख ६० हजारको सामान एकैपटक अर्डर दिए। झन्डै आधाउधी मुनाफा बचेको उक्त अर्डरले उनको जीवनमा रङ भरिदियो। ‘२०५५ सालको कुरा हो’, महेश्वर भन्छन्, ‘मैले काम गर्ने ठाउँमै एउटा जापानी समूह आइपुग्यो, एउटा कार्ड दिएर गयो।’ यो कुरालाई उनले सामान्य ढंगले लिए।
कार्ड दिएको सात–आठ दिनपछि पत्र आयो। त्यस पत्रमा उनलाई जापानमा हुने व्यापार प्रदर्शनीमा सहभागी हुन निम्ता गरिएको थियो। उनी प्रदर्शनीमा सहभागी पनि भए। त्यसपछि उनलाई थाहा भयो पैसाको महत्त्व।
‘सामान प्रदर्शनीका लागि जापान गएपछि मैले पैसाको महत्त्व बुझेँ’, उनी भन्छन्, ‘पैसा कमाउन जापान, अमेरिका जहाँ गए पनि गाह्रो रहेछ।’ सन् १९९८ मा भएको उनको जापान भ्रमण जीवनमा सफलता भित्र्याउने महत्त्वपूर्ण घुम्ती भएको उनी सम्झन्छन्। त्यसपछि उनी हातमुख जोर्न मात्र व्यापार गरेनन्, हजारौंको घरमा खुसी ल्याउने माध्यम बने।
एभरेस्ट फेसनको उत्पादन निर्यात सिजनल हुन्छ। क्रिसमस आइटमसँगै सजावटका विभिन्न सामग्री विकसित राष्ट्रमा पुग्छन्। व्यापारको सिजन फेब्रुअरी, मार्च, अप्रिल, मे, जुन जुलाईसम्म रहन्छ। ‘क्रिसमसमा सबैभन्दा बढी व्यापार हुन्छ’, महेश्वर भन्छन्। एभरेस्ट फेसनको उत्पादन युरोप र अमेरिकामा पुग्छ। हस्तकला उत्पादन अमेरिका, अस्ट्रेलिया, जापान क्यानडा, कोरियाजस्ता विकसित मुलुकमा निर्यात हुन्छ।
महिला कामदारको बाहुल्य
एभरेस्ट फेसनमा न्यूनतम १४–१५ हजार एक लाख रुपैयाँसम्म तलब खाने कर्मचारी छन्। स्टाफ र दुई दर्जनभन्दा बढी आउटसोर्सिङ कम्पनी गरेर दुई हजार कामदार छन्। एभरेस्ट फेसनभित्र मात्रै ६ सयभन्दा बढीले रोजगारी पाएका छन्।
हस्तकला उद्योग भएकाले २१ पुरुषबाहेक सबै महिला कामदार छन्। ‘मसहित २१ जनामात्र पुरुष कामदार छौं’, उनी भन्छन्, ‘हातको काम भएकाले धेरै दिदीबहिनीले काम गर्नुहुन्छ।’
डिजाइनसँगै कम्पनीमा तीन प्रकारका काम हुन्छन्। निटिङ, स्टिचिङ र फेल्ट। निटिङ कुरुष र कैंचीको काम हो। स्टिचिङमा सियोको प्रयोग हुन्छ। फेल्ट जहाँ बलको प्रयोग हुन्छ। म्याटलगायत सामान घोटेरै बनाउनुपर्छ। कार्पेटदेखि वाल आर्टसम्मको काम गर्ने यस उद्योगमा हजारौं भेराइटीका हस्तकलाका सामान उत्पादन हुन्छन्। विशेष गरेर क्रिसमसमा धेरै सामान विदेश निर्यात हुन्छ। सजावटका सामग्री विदेशीले बढी प्रयोग गर्छन्।
फेयर ट्रेड सर्टिफाइडमा एक्लो
विश्वभरमा ४० वटा मात्र कम्पनी फेयर ट्रेड यूएस सर्टिफाइड छन्। त्यसमा नेपालको एकमात्र कम्पनी हो, एभरेस्ट फेसन। २०१५ बाट एभरेस्ट फेसन फेयर ट्रेडमा प्रमाणीकरण भएको हो। यसको मूल्यांकन हरेक वर्ष हुन्छ।
काम, व्यवस्थापन र स्टाफको सुविधालगायत विषयको पनि मूल्यांकन हुन्छ। कुनै एउटा विषयमा मात्र कमजोर रिपोर्ट आए बाहिरिनुपर्छ। फेयर ट्रेड भनेकै समान व्यवहार हो। कार्यक्षेत्रमा सबैलाई समान व्यवाहार गरिने भएकाले नै एभरेस्ट फेसनलाई फेयर ट्रेड प्रमाणीकरण प्राप्त भएको हो। ‘हामी मान्छे हौं। ठूलो सानो कोही छैन’, महेश्वर भन्छन्, ‘जिम्मेवारी मात्र फरक हो।’
देशमा निर्यात व्यापारको नीति नभएको उनको गुनासो छ। ‘हामी एक रुपैयाँ निर्यात गरेर १६ रुपैयाँ आयात गर्छौं अनि कसरी हुन्छ देश विकास ? ’, महेश्वर प्रश्न गर्छन्। सरकारलाई देश विकासको प्रमुख आधार निर्यात व्यापारको राम्रो ज्ञान नहुँदा देश माथि उठ्न नसकेको निष्कर्ष छ। ‘संसारमा कुनै देश धनी हुनु छ भने निर्यात नगरे सम्भव नै छैन’, महेश्वर भन्छन्, ‘जापान, जर्मनी, भारत, चीन, बंगलादेश, भियतनाम, कम्बोडिया, थाइल्याण्डमाथि उठेकै निर्यातबाटै हो।’
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपालको निर्यात व्यापारका लागि महत्त्वपूर्ण निर्णय गरेको महेश्वर सम्झिन्छन्। त्यसपछिका कुनै पनि सरकारले निर्यात व्यापारका निम्ति केही नगरेको उनको आरोप छ। ‘बाबुरामको सरकारले निर्यातमा दुई प्रतिशत अनुदान दिने निर्णय गरेको थियोे’, महेश्वर भन्छन्, ‘यो नै निर्यातमा व्यापारको सबैभन्दा ठूलो ‘अचिभमेन्ट’ हो।’
निर्यात व्यापारमा ठूलो योगदान पु¥याइरहेका महेश्वर सरकारले उद्योगी व्यवसायीलाई गर्ने व्यवहारबाट भने सन्तुष्ट छैनन्। राज्यलाई योगदान गर्ने व्यक्तिलाई काम गर्ने वातावरण नै नभएको उनको बुझाइ छ। २०१३ सालमा कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सीआईपी) अवार्ड अर्थात् व्यावसायिक रूपमा महत्त्वपूर्ण व्यक्तिलाई पहिचान गर्दै दिइने सम्मान पाएका महेश्वरलाई सन् २०१६ मा पनि अवार्ड दिने घोषणा भयो। तर, अझैसम्म अवार्ड प्रदान गरिएको छैन।
‘यो देशले राज्यका लागि योगदान गर्नेलाई सम्मानका नाममा अपमान गरिराखेको छ’, उनी भन्छन्, ‘एनसेल कर विवादका कारण अवार्ड वितरण रोकिएको रे ! विवाद हुनेलाई रोकेर अरूलाई दिए के बिग्रन्छ ? ’ यो शैलीलाई उनी राज्यको लाचारीको संज्ञा दिन्छन्। ‘अवार्डका लागि सिलाएको दौरा सुरुवाल पुरानो भइसक्यो, राज्यको यो भन्दा लाचारी के हुन सक्छ ? ’, उनले प्रश्न गरे, ‘एनसेललाई छोडेर गोरखापत्रमा नाम छापिएका २२ मध्ये २१ कम्पनीलाई अवार्ड दिए के बिग्रिन्छ ? ’
लक्ष्य : पाँच हजारलाई रोजगारी
दैनिक बिदेसिने युवालाई देखेर चिन्तित छन् उनी। ‘फिजिकल्ली साउन्ड पिपल खाडी मुलुकमा पसिना बगाउने, पढेलेखेका अमेरिका, अस्ट्रेलिया र युरोप पुग्ने ! के यहाँ अशक्त, वृद्ध र देश लुटेर खानेमात्र बस्ने ? ’, महेश्वर कुरा गर्दागर्दै आक्रोशित हुन्छन्। १० वर्ष सबै मिलेर मेहनत ग¥यो भने देशले मुहार फेर्ने उनको बुझाइ छ। त्यसमा राजनीति गर्नेलाई क्षणिक कार्यकर्ता रिझाउने कार्यक्रम ल्याउनेभन्दा दीर्घकालीन योजना बनाउन सुझाव दिन्छन्।
व्यवसायीले राज्यबाट केही चाहँदैनन्, बस मात्र काम गर्ने वातावरण भए पुग्छ। हरदम राज्यलाई केही दिउँ, केही गरौं भन्ने चिन्तनमा लागिरहने उनको बानी छ।
पाँच हजार व्यक्तिलाई रोजगारी दिलाउने यस कम्पनीको लक्ष्य छ। अहिले नै जनशक्ति अभाव खेपिरहेका उनले युवालाई बिना सीप विदेश जानुभन्दा सीप सिकेर देशभित्र पेसामा लाग्न सुझाव दिन्छन्। ‘मेरो सपना पाँच हजारलाई रोजगारी दिने हो’, महेश्वर भन्छन्, ‘जनशक्ति विदेश पठाउने प्रक्रिया नरोके यो देश उठ्दैन।’
राजनीति थिग्रियो भने व्यापार व्यवसाय पनि आफैं चम्किन्छ। स्वर्गजस्तो मुलुकमा विभिन्न बाहनामा राजनीति गरिरहनु राम्रो हुँदैन। व्यापार व्यवसायलाई राजनीतिबाट अलग गर्न सके कोही पनि बिदेसिनु नपर्ने उनको ठम्याइँ छ। परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ। पानीजहाज र मोनोरेलको सपना बाँड्नुभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका सानातिना कुरामा कुरामा परिवर्तन गरेर देखाउन उनी सुझाव दिन्छन्।
‘संसारको सबैभन्दा राम्रो देश नेपाल र खुसी मान्छे नेपाली हुन्। तर, पोलिटिसियन र कर्मचारीको एकदमै सानो मानसिकताले देश बदनाम भएको छ’, उनी प्रश्न गर्छन्, ‘म डिप्लोमा अर्थात् १३ कक्षा पढेको मान्छेले दुई हजारलाई रोजगारी दिन सकेको छु। पूरै राज्यले आम युवालाई रोजागरीका लागि किन विदेश पठाउनुपर्छ ? ’