केरा कर्म

केरा कर्म

विनोदको केराबारी हेर्न देशका अधिकांश भागका अगुवा किसान आउँछन्। खेती सुरु गर्दा बौलाएछ भन्नेहरूसमेत उनको प्रशंसा गर्छन्।


आईएस्सी पढ्ने युवाको सामान्यतः सपना हुन्छ, डाक्टर वा इन्जिनियर बन्ने। ती नभए बीएस्सी पढेर मास्टरी। यस्तै सपना थियो, पूर्वी तराईको सप्तरीका ४५ वर्षीय विनोद साहको। सामान्य किसान परिवारमा जन्मेका उनले तेस्रो विकल्प रोजे। बीएस्सी सकेर विज्ञान र गणित विषय पढाउन थाले।

नुवाकोटको विद्यालयमा अध्यापन सुरु गरेका विनोद ०५५ सालमा एक आफन्तको आग्रहमा कैलालीको टीकापुर आए। टीकापुर नगरपालिका–५, मनिकापुरको राष्ट्रिय माध्यमिक विद्यालयमा विज्ञान र गणित विषय पढाउन थाले। विनोदले कक्षामा मात्रै होइन अतिरिक्त ट्युसनसमेत पढाए। विद्यालयबाट सात हजार पाँच सय तलब बुझ्ने उनले ट्युसनबाटै मासिक २० हजार रुपैयाँसम्म कमाउँथे। घरपरिवार राम्रै चलेको थियो। तर पनि विनोद शिक्षणमा सन्तुष्ट हुन सकेनन्।

पढेलेखेको एक युवाले जागिर मात्रै नखाएर रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सोच उनमा पलायो। ०५८ सालमा देश द्वन्द्वमा फसेका बेला विनोदले बनाना किङ कालु हमालको केराबारी देखे। हमाल बीएस्सीएजी पढेर केराखेतीमा लागेका थिए। विनोदले पढाउने विद्यालयको वरिपरिको उर्वर जमिन बाँझै थियो। गाउँ सुनसान थियो। हमालको केराबारीले उनलाई आफ्नो बाल्यकाल सम्झायो।

‘८ कक्षा पढ्थेँ, छठ पर्वका लागि आमासँगै केराको घरी किन्न गएको थिएँ, ०४४ सालतिरको कुरा हो, आमाले एक घरी केराको तीन सय रुपैयाँ तिर्नुभयो’, विनोदले भने, ‘म तीनछक परेँ, एक घरीको यत्रो मूल्य ? ’ केरा भारतबाट आउँथ्यो। तर किन्नैपर्ने बाध्यता थियो।

कालु हमालको केराबारी, टीकापुरका बाँझा उर्वर फाँट र बाल्यकालको त्यो घटनाले विनोदको जीवनको मोड फेरियो। उनले जागिरबाट राजीनामा दिए। विद्यालय परिसरमै डेढ बिघा जग्गा भाडामा लिए। ट््युसन पढाएर बचाएको एक लाख आठ हजार रुपैयाँको लगानीमा केराखेती सुरु गरे। जागिर छाडेर केराखेतीमा लागेपछि विनोदलाई उनको घर, परिवार र आफन्तले ‘विनोद बौलाएछ’ भन्नसमेत भ्याए।

‘म रिस्क नलिई सफल भइँदैन भन्ने स्वभावको छु, जसले जे भने पनि मेरो बाटो मोडिएन’, विनोदले भने, ‘म एक नेपाली हुँ, नेपालमै केही गर्छु भनेर लागेपछि मलाई घरपरिवारको दबाब र द्वन्द्वले समेत खासै प्रभाव पारेन।’ टीकापुरको हावापानी, उर्वर माटो, नजिकैको केरा बजार आदिले विनोदलाई फर्केर हेर्नु परेको छैन। केराबाट कमाएको रकमले उनले बर्सेनि केराखेती थप्दै गएका छन्। उनले उत्पादन गरेको केरा अहिले टीकापुर, लम्की, धनगढी, महेन्द्रनगर, नेपालगन्ज, दाङ, सुर्खेत, बुटबल, पोखरा, काठमाडौंलगायत बजारमा बिक्री भइरहेको छ।

कैलालीको टीकापुर नगरपालिकाका वीरेन्द्र विद्यामन्दिर उच्च माविको २४ बिघा, पहाडीपुरको आठ बिघा, मनिकापुरको १२ बिघा, कोठारपुरको १० बिघा, वनगाउँको ६ बिघा र भजनी नगरपालिका, छचरीको १९ बिघासहित ८० बिघा क्षेत्रफलमा विनोदले केराखेती गर्दै आएका छन्। सिजनमा बिक्री भए प्रतिबिघा वार्षिक तीन लाख रुपैयाँसम्म बचत हुने गरेको छ। उनको बारीबाटै दुई सयभन्दा बढी स्थानीयवासीले रोजगार पाएका छन्। निरन्तर केराखेतीमै रमाइरहेका विनोद २०७३ सालमा देशभरिका किसानलाई पछि पार्दै ‘राष्ट्रपति सर्वोत्कृष्ट किसान पुरस्कार’बाट सम्मानित भए। टीकापुर जेसिजलगायत दर्जनौं संघसंस्थाबाट उनी सम्मानितसमेत भए।

वर्षैभर उनको बारी हेर्न देशका अधिकांश भागका अगुवा किसान आउँछन्। खेती सुरु गर्दा बौलाएछ भन्नेहरूसमेत उनको प्रशंसा गर्छन्। केराखेतीमै रमाइरहेका उनी भन्छन्, ‘मेरो नसानसामा केरा छ, दैनिक १८ घण्टा म केराबारीमै हुन्छु।’

उनी धेरै किसानका लागि प्रेरणास्रोत बनेका छन्। पछिल्लो समय केराखेतीमा नयाँ प्रविधि भिœयाइरहेका छन्। थोपा सिचाइँ प्रणाली, टिस्युकल्चर प्रविधिका बिरुवा यसका उदाहरण हुन्। कृषिमा युवाको आकर्षण बढाउन विनोद उत्प्रेरकका रूपमा काम गर्दै आएका छन्। आफूले सिकेको अनुभव र ज्ञान युवा पुस्तालाई बाँड्छन्। व्यावसायिक केराखेतीको सुरुआत गर्ने व्यक्तिका रूपमा परिचित विनोदले भने, ‘हाम्रा उत्पादनले हाम्रै देशमा प्राथमिकता नपाएसम्म देशमा आर्थिक प्रगति हुँदैन, त्यसका लागि युवा पुस्ताले देशमै कृषिमा लगानी गर्न आवश्यक छ।’

चुनौतीका चाङ

केराखेतीमा समेत थुप्रै चुनौती छन्। समयमा मलखाद, विषादी नपाउनु, बढी चिसो हुनु र हावाहुरीले केराका बोट ढाल्नु मुख्य चुनौती हुन्। ०७३ सालमा भारतीय केरा रोक्न बाँके जिल्ला प्रशासनमा किसानहरूको टोलीसहित पुगेका विनोद बर्दियाको बाँसगढीमा दुर्घटनामा परे। झन्डै ६ महिना काठमाडौंमा उपचार गरे। यो बेला उनले ठूलो नोक्सानी बेहोरे। ‘आफू पनि भइएन, भएको रकम उपचारमै गयो, त्यो वर्ष ठूलो नोक्सानी बेहोरेँ’, विनोदले भने, ‘तर पनि म केराखेतीबाट विचलित भइनँ, निरन्तर लागेपछि एक दिन सफलता मिल्छ भन्ने कुरामा म ढुक्क थिएँ।’
 
पाइँदैन जग्गा

ठूलो क्षेत्रफलमा केराखेती गर्न पर्याप्त जग्गा आवश्यक भए पनि प्लटिङका कारण जग्गा पाउनै मुस्किल छ। उचित जग्गा पाए एक हजार बिघासम्म केराखेती गरेर हजारौंलाई रोजगारी दिने विनोदको योजना छ। ‘सरकारले कृषिका लागि ठोस कदम लिनुपर्छ’, उनले भने, ‘पढेलेखेका हजारौं युवा कृषि पेसामा आउन तयार छन्, म आफैं हजार बिघासम्म केरा लगाएर हजारौंलाई रोजगारी दिने योजनामा छु।’

राम्रो उत्पादन हुँदाहुँदै पनि नेपालको केरालाई भारतीय केराले विस्थापित गर्न थालेपछि ०७३ सालदेखि नै कैलाली र कञ्चनपुरका केरा किसान एकजुट भए। नेपालमा पर्याप्त केरा उत्पादन भएकै बेला भारतले सस्तो मूल्यमा केरा नेपाल पठाउन थालेको छ। त्यसलाई रोक्ने प्रयत्न भइरहेको छ। बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला प्रशासनमा किसानले ज्ञापनपत्र बुझाएका छन्। भारतीय उत्पादनसँग नेपाली केरालाई प्रतिस्पर्धी बनाउन विनोदजस्तै युवा किसान लागिपरेका छन्। भारतीय किसानलाई पर्याप्त अनुदान उपलब्ध हुनु, बढी क्षेत्रफलमा उत्पादन हुनुले लागत कम पर्ने हुँदा भारतीय केरा नेपालको भन्दा केही सस्तो हुन्छ। भारतीय केरासँग प्रतिस्पर्धा गर्नु निकै चुनौती रहेको उनले बताए।

‘हामी भारतीय केरासँग प्रतिस्पर्धा गर्न त सक्दैनौं तर भारतकै गुणस्तरको केरा उत्पादन गरेर बजार कायम राख्न हामी लागिपरेका छौं’, उनले भने, ‘यसका लागि सरकारी मात्रै होइन, उपभोक्ताको पनि सहयोग चाहिन्छ।’

बाँझो रहेका तराईका उर्वर फाँट भाडामा लिएर केराखेती गर्दै आएका विनोदको प्रेरणाबाट कैलालीको टीकापुर क्षेत्रमा मात्रै पाँच सय हेक्टर बढी क्षेत्रफलमा केराखेती हुँदै आएको छ। विशेषगरी पछिल्लो समय युवापुस्ता केराखेतीमा आकर्षित छ। टीकापुर केराको पकेट क्षेत्रका रूपमा विकसित हुँदै गएको छ। नेपाललाई केरामा आत्मनिर्भर बनाउन लागिपरेका विनोद उच्च शिक्षा हासिल गरेर पनि कृषिबाटै सफलता प्राप्त गर्न सकिन्छ भन्ने पौरखी किसान हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.